क्यानका पूर्व अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्व अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

इन्डोनेसियाको जकार्तामा सम्पन्न असोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२७/२८ कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै सन् २०२२ देखि असोसियोको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले सन् २०२२–२०२४ र २०२५–२०२६ कार्यकालमा समेत उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

पुनः उपाध्यक्षमा निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय सूचना प्रविधि मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताएका छन् ।

उनले असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली विकास गर्दै नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थापित गर्न सकिने बताए । यसबाट नवप्रवर्तन, प्रविधि विकास र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसर सिर्जना हुने उनको भनाइ छ ।

नयाँ कार्यसमितिमा मलेसियाका स्टान सिंह जितको नेतृत्वमा नेपालसहित मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिंगापुर र फिलिपिन्सका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधि निर्वाचित भएका छन् ।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले कुँवरको नेतृत्वमा नेपाली सूचना प्रविधि क्षेत्र र संस्थाहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह भएकाले पुनः सर्वसम्मत निर्वाचित हुने वातावरण बनेको बताए ।

उनले आगामी कार्यकालमा पनि कुँवरबाट उल्लेख्य योगदान पुग्ने र त्यसबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् ।

भुर्तेलले असोसियोमा कुँवरको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच विस्तार गर्दै सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल निर्माण गर्ने क्यान महासंघको प्रयासमा सहयोग पुग्ने बताए ।

Share News