सडक बोर्डले माग्यो कार्यकारी निर्देशक, के-के चाहिन्छ योग्यता ?

काठमाडौं । सडक बोर्ड नेपालले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक पदका लागि नियुक्ति गर्ने भएको छ । तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ ।

बोर्डले कार्यकारी निर्देशक पदका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र इन्जिनियरिङ वा सडक व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ ।

दरखास्तसँग व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, कार्य अनुभवसम्बन्धी प्रमाणित कागजात तथा नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र पेस गर्नुपर्नेछ । सरकारी निकायमा कार्यरत कर्मचारीले सम्बन्धित निकायको पूर्वस्वीकृति पनि पेस गर्नुपर्नेछ ।

यस्तै, सडक बोर्ड ऐन, २०५८ तथा सम्बन्धित नियमावलीको उद्देश्यअनुसार कार्यकारी निर्देशकका रूपमा पु¥याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति र कार्ययोजनासहितको कार्यपत्र पेस गर्नुपर्नेछ ।

गैरनेपाली नागरिक, ३५ वर्ष पूरा नभएका वा ६० वर्ष उमेर नाघेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् । प्रचलित कानुनबमोजिम कालोसूचीमा परेका, तोकिएका गम्भीर फौजदारी कसुरमा सजाय पाएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति पनि अयोग्य हुने बोर्डले जनाएको छ ।

कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ । सेवा सुविधा, मूल्याङ्कनका आधार तथा नियुक्तिसम्बन्धी अन्य व्यवस्था सडक बोर्ड ऐन, २०५८ र सम्बन्धित नियमावलीबमोजिम हुने जनाइएको छ ।

Share News