प्रभु बैंककी मुख्य बिजनेस अफिसर पन्त पक्राउ
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । कर्जा प्रवाहमा अनियमितता गरेपछि उनी पक्राउ परेको सीआईबी प्रवक्ता अनुप शमशेर जबराले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार त्रिपुरेश्वरबाट उनलाई आजै पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट दुई दिनको म्यादसमेत थप गरिएको छ । नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको सीआइबीले जनाएको छ ।
काठमाडौंका एसपी खटाइए पर्सा, तानिए पाठक
काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी)सुदीपराज पाठकलाई त्यहाँबाट फिर्ता बोलाएको छ । उनको स्थानमा एसपी पवनकुमार भट्टराईलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले एसपी पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरिएको हो । एसपी भट्टराई यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । उनी परिसरको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिरहेका थिए । यस्तै, भट्टराई पर्सा सरुवा भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी आर्थिक अपराध अनुसन्धान महाशाखाका एसपी दानबहादुर थापालाई काजमा दिइएको छ । थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए ।
कर छुटको प्रभाव : महिलाको नाममा जग्गा दर्ता बढ्दै
दाङ । सरकारले महिलाको नाममा जग्गा खरिद गर्दा कर छुट दिने व्यवस्था गरेसँगै दाङमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन पास गर्नेको सङ्ख्या बढ्दै गएको छ । नेपालको कानुनी व्यवस्थाअनुसार महिलाको नाममा जग्गा पास गर्दा सामान्यतया २५ देखि ३५ प्रतिशतसम्म कर छुट दिने व्यवस्था छ । आर्थिक वर्ष २०७९/०८० मा रु आठ करोड ४५ लाख ४० हजार ४७६, आव २०८०/०८१ रु छ करोड ६१ लाख ६१ हजार, आव २०८१/०८२ मा रु तीन करोड ६९ लाख ९७ हजार ६२६ र आव २०८२/०८३ मा दलित तथा जनजातिले रु ६९ लाख ४८ हजार १३३ जग्गा रजिष्ट्रेसनबापत छुट पाएका छन् । सरकारले यसप्रकार राजस्व छुट दिएका कारण दाङमा घर, जग्गा र व्यवसायको मालिक पनि महिला हुन थालेका छन् । महिलाको नाममा सम्पत्ति जोड्दा उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् भन्ने अड्कलबाजी अन्ततः यहाँ क्रमशः हराउँदै जान थालेको पाइन्छ । नेपालको संविधानमा कानुनले अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारण जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो । आव २०७९/०८० मा सात हजार ७९९, आव २०८०/०८१ मा नौ हजार ८९३, आव २०८१/०८२ मा छ हजार २९८, आव २०८२/०८३ मा ३९५ महिलाले आफ्नो नाममा जग्गा पास गरेका दाङका प्रमुख मालपोत अधिकृत शान्तराज गौतमले जानकारी दिए । 'बुहारी पनि छोरीसरह हुन् । उनको नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने ?,' तुलसीपुर उपमहानगरपालिका–६ का ६५ वर्षीय रामु चौधरीले भने।