काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसको प्रभाव तराईका विभिन्न क्षेत्रमा फैलिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपालीबीच सद्भाव, एकता र मेलमिलाप कायम राख्न सबैलाई आग्रह गरेका छन् ।
बिहीबार (आज) सद्भाव सन्देश जारी गर्दै उनले नेपाल निर्माणकालदेखि नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका नेपालीहरू आपसी प्रेम, सद्भाव र सहअस्तित्वका साथ बस्दै आएको उल्लेख गरेका छन् ।
यही बहुजातीय, बहुभाषिक, धार्मिक तथा सांस्कृतिक विविधताले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिलाएको भन्दै यसमा कुनै पनि प्रकारको खलल पुग्न नदिन सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।
पूर्वराजा शाहले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको असर कोशी क्षेत्र र तराईका अन्य भागसम्म फैलिनु दुःखद रहेको बताएका छन् ।
समाजका सबै समुदायबीच सद्भाव कायम रहेको नेपालमा यस्ता अप्रिय घटना हुनु चिन्ताको विषय भएको उनको धारणा छ ।
उनले यस्ता गतिविधि नेपालको मौलिक मूल्य, मान्यता र सामाजिक सहिष्णुताविपरीत रहेको उल्लेख गर्दै जुनसुकै भूभागमा बसे पनि सबै नेपालीबीच आपसी भाइचारा, मेलमिलाप र सहिष्णुता कायम राख्न आग्रहसमेत गरेका छन्।
उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबै नेपालीलाई संयमता अपनाउन आह्वान गरेका छन् ।