सुक्खा पहिरोका कारण सडक अवरुद्ध
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज (शनिबार) बिहान सडक माथिबाट अचानक सुक्खा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो । पहिरोका कारण दुवैतर्फका सवारीसाधन रोकिएका छन् । सडकमा सुक्खा पहिरो खसेको जानकारी प्राप्त हुनेबित्तिकै अस्थायी प्रहरी पोष्ट तुम्च, हुम्लाबाट प्रहरी सहायक निरीक्षक टेकराज पाण्डेयको कमाण्डमा चार जनाको प्रहरी टोली उक्त सडकखण्डमा खटिएको छ । सडक खुलाउनका लागि जेसिबी परिचालन गर्ने प्रयास भइरहेको छ भने सर्केगाड गाउँपालिकाको जेसिबी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले बताए । उक्त सडकमा सुक्खा पहिरो खस्दा दुवैतर्फका एक दर्जनभन्दा बढी सवारीसाधन रोकिएको स्थानीय तथा सम्बन्धित ठाउँमा पसल व्यवसाय गरिरहेका डिलबहादुर कार्कीले बताए । सडकमा सुक्खा पहिरो खस्दा करिब एक घण्टा बढीसम्म पैदल हिँडेर गाडी भएको ठाउँमा पुग्नुपरेको र उक्त सडक खण्डमा पटकपटक सुक्खा पहिरो खस्दा यात्रुलाई आवतजावतमा समस्या बनाएको कार्कीले बताए ।
१२ दिनमै २३ जनाको ज्यान लिने विपद्
काठमाडौं । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको छ । ती घटनाबाट ७३ जना घाइते भएका र ५२७ परिवार प्रभावित भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सात जनाको आगलागीमा परे ज्यान गएको छ । चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ । घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३ जना घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले विपद्जन्य घटनाका सावधानी अपनाउन र घटना भएमा तत्काल सम्बन्धित ‘फोकल पर्सन’ वा प्रहरी कार्यालय तथा प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।
सामाजिक सुरक्षा भत्ता अब घरदैलोमै
काठमाडौं । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो । उपाध्यक्ष गोलेले भने, ‘हाम्रो पालिकाका धेरै वडाहरू टाढा र दुर्गम क्षेत्रमा छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्तता भएका नागरिकले पालिका केन्द्र गोटीखेलस्थित बैंकसम्म पुगेर भत्ता लिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । त्यसैले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य अघि बढाएका छौं ।’ उनका अनुसार महाङ्काल गाउँपालिका-६ ठूलादुर्लाङबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो । घरदैलोमै भत्ता पाउँदा ज्येष्ठ नागरिक, अशक्तता भएका व्यक्ति तथा एकल महिलाले खुसी व्यक्त गरेका छन् । पालिकाले आगामी दिनमा यो सेवा सबै वडामा विस्तार गर्ने तयारी गरेको जनाएको छ । त्यसैगरी, उपाध्यक्ष गोलेले घुम्ती शिविरमार्फत नागरिकता सिफारिस, सामाजिक सुरक्षा सेवा तथा व्यक्तिगत घटना दर्तालगायत सेवा वडास्तरमै उपलब्ध गराइने जानकारी दिए । ‘अब पालिकामा होइन, सेवा तपाईंको घरमै’ भन्ने नारासहित सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिक केन्द्रित बनाउने अभियानलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।