काठमाडौं । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी पक्राउ परेका हुन् ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताअनुसार सन् २०२४ मा नेपालबाट इजरायलमा केयरगिभरका लागि कामदार पठाउन परीक्षा सञ्चालन गरिएको थियो ।
उक्त परीक्षामा सहभागी भई लक्की ड्रमा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी पीडितलाई विश्वासमा लिएका थिए ।
उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ लिएर इजरायल पठाइदिने भन्दै १५६ जनाबाट जम्मा २ करोड ५० लाख रुपैयाँ लिएको प्रारम्भिक विवरण छ ।
ठगीमा परेको भन्दै पीडितहरूले कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई २०८३ असोज १ गते पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।