विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं । मौसम बदलीसँगै आज (शनिबार) देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ ।  प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४।६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।  यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताए ।  आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ ।  हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।  विभागका अनुसार भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ ।  यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ ।  यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना कायम रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ ।  

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काठमाडौं । दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडक खण्ड दिउँसो ३:३० बजेदेखि बन्द गराएको हो ।   वर्षाका कारण रोसी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।  वर्षाका कारण रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गत सालको बाढी पहिरोले राजमार्गको रोसी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।  यसैबीच राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रे भन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ । गत साल असोजको बाढी पहिरोले चौकीडाँडा-नेपालथोक सडक खण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

१ हजार सुकुम्वासीलाई आश्रय दिने काठमाडौंका होटलहरूको घोषणा

काठमाडौं । काठमाडौंका होटलहरूले थापाथली लगायत विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई आश्रय दिन तयार रहेको बताएका छन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी (शंकर)ले थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका सुकुम्बासी नागरिकहरूको सुरक्षित व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए । उनका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका महासंघमा आबद्ध होटलहरूमार्फत आवश्यक समन्वय गरी करिब एक हजार जनासम्म नागरिकलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन महासंघ सक्षम छ। उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने प्रतिबद्धता महासंघले जनाएको छ । यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन तथा सहकार्य गर्न महासंघ तत्पर रहेको अध्यक्ष भण्डारीले बताए ।