भक्तपुरमा ७७७ घरटहरा भत्काउन सुरु, बस्ती खाली गराउन डोजर प्रयोग

काठमाडौं । भक्तपूरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आइतबार बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।       उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैं आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।       प्रहरी उपरीक्षक खड्काले भने, ‘यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।’ यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए ।  त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुमवासीले आक्रमण  गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए ।    

धरौटीको रकम फिर्ता लैजान १७ जनालाई १५ दिनको ताकेता

काठमाडौं । कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीले विभिन्न व्यक्ति, फर्म तथा सरकारी कार्यालयका नाममा रहेको धरौटी तथा विविध खाताको रकम फिर्ता लैजान आग्रह गरेको छ । कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ अनुसार लामो समयदेखि फिर्ता लिन नआएको प्रयोजन विहीन धरौटी रकम सदरस्याहा गरी राजस्वमा दाखिला गर्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ सम्मको विवरणअनुसार विभिन्न व्यक्ति तथा संस्थाका नाममा धरौटी रकम बाँकी रहेको छ । तीमध्ये जिल्ला स्वास्थ्य कार्यालयको नाममा १२ लाख ४१ हजार ५६७ रुपैयाँ, शिक्षा तालिम केन्द्रको नाममा ११ हजार ५५७ रुपैयाँ, जिल्ला पशु सेवा कार्यालयको ४ लाख २३ हजार ८२७ रुपैयाँ, सूर्योदय ऊर्जा प्रालिको ४५ हजार ७०० रुपैयाँ, गोपाल बहादुर बोहराको ५० हजार रुपैयाँ, पदम बहादुर साउदको १२ हजार रुपैयाँ, महेन्द्र विकको ३८ हजार रुपैयाँ, मन्धिरे झाक्रीको ५ हजार रुपैयाँ रहेको छ ।  यस्तै, यदु भण्डारीको ३० हजार रुपैयाँ, क्षेत्रीय प्रशासन कार्यालयको २ लाख २० हजार ३३९ रुपैयाँ, महराको १२ हजार रुपैयाँ, दल बहादुर साउँदको ५ हजार रुपैयाँ, गजराज निर्माण सेवाको ६ हजार ३१९ रुपैयाँ, लोकेन्द्र बमको १० हजार रुपैयाँ, क्षेत्रीय शसस्त्र प्रहरी गण न. १ को १ लाख ५१ हजार १२९ रुपैयाँ, कोलेनिका डोटीको १ लाख ९५५ रुपैयाँ र कोलेनिका डोटीको विभिन्न खातामा रहेको १८ लाख ९७ हजार २५५ रुपैयाँ रहेको छ ।  उक्त रकम फिर्ता पाउनुपर्ने कुनै आधार वा प्रमाण भए १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ । तोकिएको अवधिभित्र दाबी नआएमा उक्त रकम नियमअनुसार सदरस्याहा गरी सरकारी खातामा दाखिला गरिने कार्यालयले जनाएको छ

भारतीय सीमामा लुकीछिपी, जाँच बिनै भित्रिन्छ भारतीय तरकारी

काठमाडौं । सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने गरेका छन् । वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमा नाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ताजा तरकारी भित्रिने गरेको छ । यहाँ दैनिक ‘क्यारिङ’ गर्ने साइकल चालकले ताजा तरकारी र फलफूल वीरगन्ज ल्याउने गर्छन् । पर्सा र बारासँग सीमा जोडिएको बाराको विश्रामपुर गाउँपालिका, वीरगन्ज महानगरको नगवा, इनरुवालगायत खुला नाकाको फाइदा उठाउँदै साइकल चालकले दैनिक तरकारी तथा फलफूल भित्र्याउने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले खुला सीमा नाकाबाट क्वारेन्टिन जाँच बिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा असर पार्ने भएकाले पनि नियन्त्रणमा लिनुपर्ने बताए ।  ‘खुला सीमा नाकाको फाइदा उठाउँदै विभिन्न समूहले छपकैया, इनरुवा, विश्रामपुरलगायत स्थानबाट साइकलमार्फत दैनिक ठूलो मात्रामा तरकारी भित्र्याउने गरेका छन्,’ उनले भने, ‘स्थानीय प्रशासन र सशस्त्र प्रहरीले त्यसमा ध्यान दिन जरुरी छ ।’ वीरगन्जमा दैनिक साइकल चालकले बिहान सबेरैदेखि प्रति साइकलमा क्वारेन्टिन जाँच बिनै भारतीय तरकारी भित्र्याउने गरेका छन् । स्थानीय प्रशासन तथा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैनन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया पूरा गरेर क्वारेन्टिन जाँचमा योग्य भएका भएका तरकारी तथा फलफूलमात्र भित्र्याउन पाइने बताए ।  ‘क्वारेन्टिन जाँच बिनै ताजा तरकारी तथा फलफूल ल्याउन पाइँदैन । कोही कसैले ल्याएका रैछन् भने आवश्यक अनुगमन गरेर नियन्त्रणमा लिइनेछ,’ उनले भने ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्साको सीमा क्षेत्रबाट भन्दा पनि बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट क्वारेन्टिन जाँच बिनै तरकारी भित्रिएर वीरगन्ज बजारमा पुग्ने गरेको बताए ।