५ निर्माण कम्पनी सरकारी ठेक्काबाट आउट, १ देखि ३ वर्षसम्म कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले भदौ १७ गते गरेको निर्णयअनुसार पाँच कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

कार्यालयका अनुसार शिक्षा विकास निर्देशनालय दिपायल, डोटीको सिफारिसमा काठमाडौं महानगरपालिका–१० स्थित इन्द्रायणी बिल्डर्स एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति सुमित्रा भण्डारी हुन् ।

त्यस्तै, इटहरी उपमहानगरपालिकाको सिफारिसमा दुहबी–५, सुनसरीस्थित बस्नेत निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति प्रेम बस्नेत र निश्चल राज शाक्य रहेका छन् ।

गढवा गाउँपालिका, दाङको सिफारिसमा घोराही–४, दाङस्थित सी. ब्रोदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति मनोज चौधरी हुन् ।

यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, पालुङटार, गोरखाको सिफारिसमा तिनकुने, काठमाडौंस्थित गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति तुलसीराम भण्डारी रहेका छन् ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहल, काठमाडौंको सिफारिसमा धनुषास्थित अभिनाश निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति दीपक कुमार साह हुन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको छ । कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले स्पष्ट पारेको छ ।

Share News