२६ वर्षपछि सेबोनबाट नवराज अधिकारीको बिदाइ, ‘अध्यक्ष’ पदमा प्रतिस्पर्धा गर्नसक्ने सम्भावना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनिवार्य अवकाशमा गएका छन् । २०५६ असोज ३ गते धितोपत्र बोर्डमा अधिकृतका रूपमा प्रवेश गरेका अधिकारी ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन् । उनले धितोपत्र बोर्डमा २६ वर्ष ७ महिना बिताए । उक्त अवधिमा उनले सचिव, प्रवक्ता तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । कार्यकारी निर्देशकका रूपमा भने उनी २०७९ जेठ २६ गते नियुक्त भएका थिए । अवकाश भएसँगै धितोपत्र बोर्डले बिहीवार एक कार्यक्रमको आयोजना गरी अधिकारीलाई बिदाइ गरेको थियो । कार्यक्रममा सहभागीहरूले डा. अधिकारीको सेवाकालीन योगदानको मूल्यांकन गर्दै उनको आगामी जीवनको सुख, स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए । नीति निर्माण, कर्मचारी क्षमता विकास, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि, बजार सुपरीवेक्षण र अनुगमनमा अधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाल बोर्डमा अध्यक्ष पद रिक्त रहेको अवस्थामा अधिकारी यसपटक पनि प्रतिस्पर्धामा उत्रिनसक्ने सम्भावना देखिएको छ । यसअघि उनले पाँच पटक बोर्ड अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यही वैशाख ४ गते राजीनामा दिएपछि उक्त पद खाली छ । दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा श्रेष्ठको नाम पनि जोडिएपछि उनले राजीनामा दिएका हुन्। श्रेष्ठ २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त भएका थिए । अध्यक्ष भएपश्चात श्रेष्ठले बिचौलिया प्रयोग गरी जलविद्युत कम्पनीको आइपीओमा बार्गेनिङ गरेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बोलाएर बयान लिएको थियो ।
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए । नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन् । उक्त अवधिमा चार हजार १५४ जना भुटानी पर्यटक नेपाल आएका छन् । भुटानपछि अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया र संयुक्त अधिराज्य (बेलायत)का पर्यटक धेरै सङ्ख्यामा नेपाल आएका कार्यालयको अभिलेखमा उल्लेख छ । अमेरिकाबाट एक हजार ६१२, थाइल्यान्डबाट ५२५, अस्ट्रेलियाबाट २२९ र बेलायतबाट १८२ जना नागरिक नेपाल घुम्न आएका कार्यालयका प्रमुख भट्टराईले बताए । नेपाल आउने पर्यटकले लुम्बिनी, पोखरा, काठमाडौं, चितवन, गोर्खालगायत प्रमुख पर्यटकीयस्थल जाने बताउने गरेको उनले जानकारी दिए । आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन् । सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्याङ्क छ । आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए । चालु आवको सोही अवधिमा आगमन भएका पर्यटकको सङ्ख्यामा ४२८ ले कमी आएको छ । चालु आवको चैत महिनामा यो नाका भएर एक हजार छ जना पर्यटक नेपाल प्रवेश गरेको र एक हजार ५४३ जना प्रस्थान गरेको कार्यालयले जनाएको छ । यस अवधिमा छ हजार ६९१ वटा पर्यटक भिसा, एक सय २४ वटा नातेदार भिसा, २६ वटा वैवाहिक भिसा र ३६ वटा गैरआवासीय भिसा जारी गरिएका छन् । भिसा जारी गरेवापत दुई करोड ८० हजार ५२० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आइतबार (आज) स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरिनाथ गाउँपालिका–२ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन् । सडकका लागि बाटो खन्ने क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए । उक्त दुर्घटनामा चालक र सहचालक सकुसल रहेका बताउँदै उहाँले बेपत्ता भएका युवकको जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित नेपाली सेनाको समन्वयमा खोजी कार्य भइरहेको उल्लेख गरे । बाजुरा र कालीकोटको सिमाना रहेको लैफुडाँडामा स्काभेटर (डोजर)ले सडकका लागि बाटो खन्ने क्रममा दुर्घटना भएको हो ।