बागमती विश्वविद्यालयले सार्वजनिक गर्यो स्नातक तह प्रथम सत्रको भर्ना तालिका
काठमाडौं । बागमती विश्वविद्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा शास्त्र एवं सामाजिक विज्ञान सङ्कायअन्तर्गत सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु गर्ने जनाएको हो । विश्वविद्यालयले असार ३ गते प्रकाशित गरेको सूचनाअनुसार आवेदन फाराम वितरण तथा बुझाउने कार्य असारको पहिलो सातादेखि मसान्तसम्म सञ्चालन हुनेछ । प्रवेश परीक्षा साउनको पहिलो सातामा हुने छ भने दोस्रो सातादेखि भर्ना प्रक्रिया सुरु गरिनेछ । नयाँ शैक्षिक सत्रका कक्षाहरू साउनको तेस्रो सातादेखि सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ । सूचनाअनुसार पुसको अन्तिम सातामा प्रथम सत्रको अन्तिम परीक्षा सञ्चालन गरिनेछ भने नतिजा २०८४ माघको पहिलो सातामा प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ । विश्वविद्यालयका सम्बन्धन प्राप्त छ वटा क्याम्पसमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुनेछन् । जसमा कपनस्थित कपन क्याम्पस, काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस, चितवनको खैरहनीस्थित भुवानीशङ्कर क्याम्पस, माडी क्याम्पस, हेटौंडा क्याम्पस तथा काभ्रेपलाञ्चोकको बनेपास्थित चैतन्य क्याम्पसमा स्नातक तहका कार्यक्रम सञ्चालन गरिनेछ । विश्वविद्यालयले विद्यार्थीले प्रवेश लिन चाहेको प्रत्येक शैक्षिक कार्यक्रमका लागि सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्ने व्यवस्था गरेको जनाएको छ । साथै, विस्तृत जानकारी सम्बन्धित क्याम्पसबाट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ । बागमती विश्वविद्यालयले प्रकाशित शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थी भर्ना, कक्षा सञ्चालन तथा परीक्षा सञ्चालन गर्न सम्बन्धित सबै छ वटा क्याम्पसलाई समेत निर्देशन दिएको छ ।
पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड
काठमाडौं । पैचो पसल प्रालिले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स समिट २०८३ तथा डिलर मिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नारालाई आत्मसाथ गर्र्र्दै आएको कम्पनीले नेपालको उत्पादनलाई प्रवर्धन र स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनलाई राज्यले समेत प्राथामिकता दिनु पर्ने आवश्यकता औल्याइएको थियो । पैचो पसल प्रालिका प्रवन्ध निर्देशक धुब्रराज न्यौपानले स्वदेशी उत्पादन प्रति उपभोक्ताको रोजाई बढ् गएको भन्दै प्रतिस्पर्धी बजारमा पैचोले फरक र मौलिक स्वाद दिदाँ उपभोक्ताले पैचोका उत्पादन मन पराइरहेको बताए । उनले भने ‘कृषि सम्बधी उद्योगमा लगानी निकै कम छ । कृषि क्षेत्रको विकासको लागि स्वदेशी उत्पादनको बजारीकरणको आवश्यकता छ । पछिल्लो समय नेपाली उत्पादन स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगिरहेको अवस्थामा नेपालको मार्केट समेत बिस्तार भइरहेको छ । अब राज्यले लगानी प्रवर्धनको लागि वातावरण बनाउनु पर्छ ।’ पैचो पसल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशवराज न्यौपानले पछिल्लो समय नेपाली उत्पादनले बिदेशी उत्पादनसंग प्रतिप्रर्धा गर्न सक्षम भएको बताए । उनले भने, राज्यले अझै पनि कृषि उद्योगलाई प्राथामिकता दिन नसक्दा अर्बाैको कृषि उत्पादन आयात भइरहेको छ । त्यसलाई रोक्न र ग्रामिण अर्थतन्त्रलाई अगाडी बढाउनका लागि पैचोले गाँउमै उद्योग खोलेर बजार बिस्तार गरिरहेको बताए । पैचो पसल प्रालिका बजार बिभाग प्रमुख लक्ष्मण गैरले भने ‘नेसनल सेल्स समिट तथा डिलर मिटले नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाएर अगाडी बढाउने छ । बजारमा प्रतिपर्धी बन्न टिमको आवश्यकता रहेको भन्दै बलियो टिमको साथमा पैचोले काम गरिरहेको छ ।’ स्वदेश तथा बिदेशमा रहेका उपभोक्तालाई सहज रुपमा पैचोका गुणस्तरिय उत्पादनलाई पु¥याउने काम मार्केटिङ बिभागले गरिरहेको उनले बताए । कार्यक्रममा पैचो पसल प्रा.लि.को बजार विभागमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा ‘उत्कृष्ट कर्मचारी सम्मान-२०८२’ द्वारा रिजलन म्यानेजर तर्फबाट संगम पोखरेल, ‘उत्कृष्ट सेल्स सुपरभाइजर सम्मान-२०८२’ हरिहर खड्कालाई सम्मानित गरिएको थियो । यस्तै ‘उत्कृष्ठ डिएसआर सम्मान-२०८२’ मा रञ्जिता राउत, बिक्रम भण्डारी र रञ्जिता बस्याल पुरस्कृत भए । डिलरहरूले पैचोसंग जोडिएर काम गर्दा अपनत्व महसुस भएको बताएका थिए । उनीहरुले आफ्नो व्यावसायिक अनुभव, कम्पनीले गर्नु पर्ने रणनीति र अवसरहरूबारे छलफल गरेका थिए । पैचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट टमाटो केचअप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत सय भन्दाबढी वस्तु उत्पादन गर्दै आएको छ ।
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनको अल्टिमेटम
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक/कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो । सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ । यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अघि बढाइएको हो । विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ । तर केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाई छ । त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकहरूले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ ।