ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न थप १६ सय साइट निर्माणको तयारी
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो धेरै आउने गरेको र त्यसको समाधानका लागि मन्त्रालय गम्भीरतापूर्वक लागिपरेको बताए । उनले दूरसञ्चार सेवाको विस्तार तथा स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा नेपाल टेलिकममार्फत मन्त्रालयको बजेटभन्दा बढी रकम लगानी हुने जानकारी दिए । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले मात्रै आगामी आर्थिक वर्षमा ६ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको उनको भनाइ थियो । सञ्चारमन्त्री डा. तिमिल्सिनाका अनुसार हाल देशभर चार हजार ८२९ साइट सञ्चालनमा रहेका छन् । तीमध्ये कोशी प्रदेशमा ७६०, मधेशमा ५६८, बागमतीमा एक हजार २७७, गण्डकीमा ५९९, लुम्बिनीमा ८१९, कर्णालीमा ३०५ र सुदूरपश्चिममा ५०१ साइट सञ्चालनमा छन् । उनले सेवाको पहुँच र गुणस्तरका आधारमा थप पूर्वाधार आवश्यक रहेको अध्ययनले देखाएको बताउँदै कोशीमा २५७, मधेशमा २२८, बागमतीमा ३८९, गण्डकीमा ७६, लुम्बिनीमा २००, कर्णालीमा १२१ र सुदूरपश्चिममा १७२ गरी देशभर एक हजार ४४३ नयाँ साइटको आवश्यकता पहिचान गरिएको जानकारी दिए । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको मूल्याङ्कनअनुसार यी अतिरिक्त साइट सञ्चालनमा आएपछि देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँचमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गर्दै मन्त्री डा. तिमिल्सिनाले आवश्यकताभन्दा बढी पूर्वाधार निर्माणलाई लक्ष्य गरी करिब १६ सय साइटका लागि खरिद प्रक्रिया अघि बढाउन लागिएको बताए । दूरसञ्चार उपकरणको अधिकांश सामग्री विदेशबाट खरिद गर्नुपर्ने भएकाले केही समय लाग्ने भए पनि मन्त्रालयले सम्बन्धित सेवा प्रदायक संस्थाहरूसँग नियमित समन्वय गरी समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएको उनले जानकारी दिए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार सेवा सम्बन्धी जनगुनासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै नागरिकले गुणस्तरीय सञ्चार सेवा प्राप्त गर्ने सुनिश्चितताका लागि तीव्र गतिमा काम भइरहेकोसमेत बताए ।
श्रम संस्कृति पार्टीको अवरोधपछि संसद १५ मिनेटका लागि स्थगित
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका थिए। यसैबीच श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै बैठकमा विरोध जनाएका थिए । उनीहरूको लगातारको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि संसद स्थगित गरेका हुन् । संसद स्थगित भएसँगै विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल र मन्त्रीहरूको जवाफ दिने कार्यसमेत प्रभावित भएको छ ।
थप दुई जना नियन्त्रणमा, अनुसन्धान गर्न ३ दिनको म्याद
काठमाडौं । ई–पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई नियन्त्रणमा लिएको छ । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान गर्न जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई आयोगले नियन्त्रणमा लिएको हो । उनीहरूलाई विशेष अदालतले अनुसन्धान गर्न ३ दिनको म्याद थप गरेको छ । केही दिनअघि मात्र आयोगले विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई पक्राउ गरेको थियो । अदालतले उनीहरूलाई चार दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको छ । महानिर्देशक अर्यालले सोमबार प्रधानमन्त्रीलाई भेटेका थिए, यस्तो छ घटनाको नालीबेली