आज तराईमा तातो दिन, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ ।  यसैगरी  मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ । त्यसैगरी आज राति देशको हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।  कोशी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।

मेलम्चीको पानी घरघरमा पुर्‍याउन तीव्र काम, सबैभन्दा ठूलो पाइप जडान हुँदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो । भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।  ‘पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ । अब चाँडै अन्य प्रक्रिया सुरु हुन्छ,’ इन्जिनियर श्रेष्ठले भने । उनका अनुसार मेलम्चीको पानीलाई काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा काम भइरहेको छ । हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिने जनाइएको छ । ‘सिस्टम’ हस्तान्तरणपछि काठमाडौंबासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताए । 

निःशुल्क हवाई उद्धारले ७१ गर्भवती र सुत्केरीको ज्यान बचाइयो

काठमाडौं । गण्डकी प्रदेश सरकारले विकेट क्षेत्रका गर्भवती तथा सुत्केरीको उद्धारका लागि सञ्चालन गरेको ‘निःशुल्क हवाई उद्धार’ सेवा प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले ग्रामीण क्षेत्रमा उपचार हुन नसकेर ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पु¥याउन उक्त सेवा सञ्चालन गरिरहेको छ । ७ वर्ष अगाडि सुरु गरेको सेवाबाट हालसम्म ७१ जना गर्भवती तथा सुत्केरीले सेवा लिएको जनाएको छ । आर्थिक वर्ष २०७६/'७७ बाट सुरु हवाई उद्धार सेवाबाट सबैभन्दा बढी बागलुङका सेवाग्राही लाभान्वित भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार वि.सं २०७६ मा १० जना, वि.सं २०७७ मा ३३ जना, वि.सं २०७८ मा ८ जना, वि.सं २०७९ मा ५ जना, वि.सं २०८० मा ४ जना, वि.सं २०८१ मा १ जना र वि.सं २०८२ मा ६ जनाले उक्त सेवा लिएका छन् । वि.सं २०७६ अगाडि ४ जनाले सेवा लिएको मन्त्रालयले जनाएको छ । बागलुङबाट मात्रै ३० जना गर्भवती तथा सुत्केरीले सेवा लिइसकेको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले जानकारी दिए । उनका अनुसार म्याग्दीका १८ जना, गोरखाका ६ जना, मुस्ताङका ५ जना, लमजुङका ४ जना, पर्वत र मनाङका २/२ जना महिलाले सेवा लिएका छन् । अधिकारले २०७८ सालपछि हवाई उद्धार सेवा लिनेको सङ्ख्या कम हुँदै गएको बताए । प्रदेश सरकार र स्थानीय तहहरूले स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि कम गर्भवती तथा सुत्केरीको उद्धार गर्नुपरेको उनको भनाइ छ । अधिकृत अधिकारीले भने, ‘पछिल्लो समय जिल्ला तह र स्थानीय तहमा अस्पताल राम्रो बन्दै गए, ति अस्पतालबाट प्रसूति सेवा प्रभावकारी बन्न थाले, त्यसले गर्दा हवाई उद्धार कम भएको हो, यद्यपि २०७८ सालपछि २०८२ सालमा उद्धार सङ्ख्या बढेको देखिन्छ ।’  गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता समस्या आइ परेमा प्रदेश सरकारले हेलिकप्टर मार्फत निःशुल्क उद्धार गर्दै आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले भौगोलिक विकटताका कारण गर्भवतीलाई सहज रुपमा अस्पताल पु¥याउन नसकिने हुँदा हेलिकप्टर मार्फत उद्धार गर्नुपर्ने बाध्यता आएको बताए ।  गण्डकी प्रदेश सरकारले आगामी आवमा हवाई उद्धारका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवमा पनि १५ लाख बजेट विनियोजन भएको थियो ।