काठमाडौं । श्रम संस्कृति पार्टीको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक बुधबार पुनः सञ्चालनमा भएको छ । तर बैठक पुनः सुरु भएलगत्तै संसद् भवनभित्र देखिएको दृश्यले सभामा सांसदहरूको उपस्थितिमाथि भने प्रश्न उठाएको छ ।
मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहँदा सदनका अधिकांश कुर्सी खाली देखिएका छन् ।बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी छ ।
विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन मन्त्रीहरू रोस्ट्रममा उभिएका छन् । तर मन्त्रीहरूको जवाफ सुन्नुपर्ने सांसदहरूको उपस्थिति भने अत्यन्त न्यून देखिएको छ ।
यसअघि बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका थिए । पार्टीका प्रमुख हर्क साम्पाङसहितका सांसदहरू सभामुखको आसनअगाडि पुगेर नाराबाजी र विरोधमा उत्रिएपछि बैठक सञ्चालन प्रभावित बनेको थियो । लगातारको अवरोधपछि सभामुख डोरप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
स्थगनपछि पुनः बसेको बैठकमा मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भए पनि धेरै सांसदहरू बैठक कक्षमा फर्किएका छैनन् । केही सांसद संसद् परिसरभित्रै विभिन्न छलफल र भेटघाटमा व्यस्त देखिएका छन् भने कतिपय सांसद सिंहदरबार बाहिर नै रहेका छन् । यसका कारण संसद् बैठकको मुख्य कार्यसूची अगाडि बढिरहेका बेला सदनको उपस्थिति फितलो देखिएको एक सांसदले बताए ।
प्रतिनिधिसभामा बजेट तथा विनियोजन विधेयकमाथिको छलफललाई सरकारको नीति, कार्यक्रम र खर्च योजनामाथि सांसदहरूले निगरानी गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ । सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले औपचारिक जवाफ दिने यो प्रक्रिया संसदीय जवाफदेहिताको महत्त्वपूर्ण अभ्यास मानिन्छ । तर जवाफ दिने समयमै सांसदहरूको उपस्थिति न्यून रहनुले सांसदहरूले मन्त्रीको उत्तरलाई खासै महत्त्व नदिएको रूपमा बुझ्नुपर्ने बताउँछन् नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ ।
विगतका वर्षहरूमा पनि संसद् बैठकका क्रममा सांसदहरूको न्यून उपस्थितिको विषय पटक–पटक सवाल उठ्दै आएको थियो । विशेषगरी मन्त्रीहरूको जवाफ, विधेयकमाथिको दफावार छलफल तथा बजेटमाथिको विस्तृत छलफलका क्रममा सदन खालीजस्तै देखिने प्रवृत्तिप्रति नागरिक समाज र राजनीतिक वृत्तबाट विगतमा पनि आलोचना हुँदै आएको थियो ।