काठमाडौं । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने निर्णय गरेको छ ।
उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझावका आधारमा सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो । उनलाई तत्काल विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैं खटिएका थिए भने सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरिएको थियो ।
सरकारले नेपालीका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्म लैजाने सम्पूर्ण बन्दोबस्त मिलाएको थियो । यसअघि नै उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय पनि सरकारले गरिसकेको थियो ।
तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम अझ बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्। त्यसपछि उनलाई तत्काल भारत नलैजाने निर्णय गरिएको हो ।
चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन् । त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू बिहीबार रातिदेखि वीर अस्पतालमै तयारी अवस्थामा खटिएका छन् ।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको छ ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली उनको उपचारमा खटिएको छ ।
चिकित्सकहरूको टोलीले उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्था स्थिर बनाउन निरन्तर विशेष औषधि उपचार गरिरहेको छ ।