हाइड्रोका सयौं कर्मचारी अझै सम्पर्कविहीन, सुरुङभित्रै ६० जना थुनिए

काठमाडौं । बुधबार बिहान तिब्बतबाट आएको बाढीले मुलुकको जलविद्युत क्षेत्रमा गम्भीर असर परेको छ । बाढीका कारण हालसम्म १५ वटा जलविद्युत तथा सोलार आयोजनाहरू प्रभावित भएका छन् भने ४०० मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीले सञ्चालनमा रहेका ९ वटा र निर्माणाधीन ५ वटा आयोजनामा क्षति पुर्याएको हो । यसैगरी, नेपाल विद्युत प्राधिकरणको सोलारमा पनि क्षति पुगेको छ ।

बाढीले कतिपय आयोजनाका सब-स्टेसनहरूमा क्षति पुर्याएको छ भने कतिपय आयोजनाहरू बाढीको
जोखिमका कारण बन्द गर्नुपरेको छ । विभिन्न आयोजनाबाट प्राप्त विवरणअनुसार सयौं जना अहिले पनि सम्पर्कबाहिर छन् भने केही उद्धारको पर्खाइमा रहेका छन् ।

निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा मात्रै ९४ जना सम्पर्कविहीन भएका छन् । आयोजनामा काम गरिरहेको एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन छन् । तीमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन् । उनीहरूमध्ये ८ जना आयोजनामा कार्यरत कोरियन नागरिक हुन् । त्यस्तै, आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ ।

आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना तथा पावर हाउस क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको जनाइएको छ । आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको भन्ने अपुष्ट खबर प्राप्त भए पनि यसको यकिन विवरण आउन बाँकी रहेको इप्पानले जनाएको छ ।

त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन भएका छन् । टिमुरे क्षेत्रमा रहेका तीन जनाले अग्लो स्थानमा उक्लिएर ज्यान जोगाएको बताइएको छ । उनीहरूसँग समेत अहिलेसम्म सञ्चार सम्पर्क स्थापित हुन नसकेको खबर छ ।

५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको पावर हाउसमा कार्यरत ८ जना कर्मचारी बुधबारदेखि सम्पर्कविहीन छन् । उनीहरूसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन । हेलिकप्टर व्यवस्थापन गरी आयोजनास्थलको अवलोकन तथा सम्भावित उद्धारको प्रयास भइरहेको जनाइएको छ ।

१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका २ जना सम्पर्कविहीन भएका छन् । अन्य ५ जना भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरूमध्ये ३ जना चिनियाँ र २ जना नेपाली नागरिक रहेको बताइएको छ । गाउँमा शरण लिएर बसेकाहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरूको उद्धारका लागि हेलिकप्टर लैजाने तयारी भइरहेको जनाइएको छ ।

लाङटाङ खोलामा सुरुङभित्रै ६० जना थुनिए

२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा सुरुङभित्र थुनिएका ६० जनासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन । बुधबारदेखि सम्पर्कविहीन उनीहरूमध्ये २५ जना स्टाफ र ३५ जना कामदार रहेको बताइएको छ । उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ । उनीहरूको उद्धारका लागि विकासकर्ता कम्पनीका प्रतिनिधिहरू आयोजनास्थलमा पुगेर प्रयास अघि बढाए पनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा उद्धारमा कठिनाइ भइरहेको छ ।

बाढीका कारण रसुवाका जलविद्युत आयोजना क्षेत्रमा उद्धार तथा सञ्चार सम्पर्क स्थापना गर्न चुनौती देखिएको छ । सम्पर्कविहीनहरूको वास्तविक अवस्था यकिन हुन नसक्दा आयोजनामा कार्यरत कर्मचारी, कामदार र उनीहरूका परिवारमा थप चिन्ता बढेको छ ।

बाढीका कारण विभिन्न आयोजनामा कार्यरत सयौं कर्मचारी र कामदारहरू सम्पर्कविहीन भएका छन् । प्राप्त जानकारीअनुसार लाङटाङ जलविद्युत आयोजनाका मात्रै ६० देखि ७० जना कर्मचारीहरू सम्पर्कविहीन छन् । त्यसैगरी, एउटा निर्माण कम्पनीका करिब १२५ जना र नेपाल विद्युत प्राधिकरण का ३५ देखि ४० जना कर्मचारीहरू पनि सम्पर्क बाहिर रहेका छन् ।

विद्युत आयोजनाका कर्मचारी मात्र नभई बैंकका प्रतिनिधि र स्थानीय बजारका मानिसहरू पनि ठूलो संख्यामा बेपत्ता भएकोले स्थिति थप भयावह देखिएको छ । कतिपय कामदारहरू सुरङभित्र फसिरहेको र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बुझिएको छ ।

बाढी केवल पानीको मात्र नभई ढुङ्गा र लेदोसहितको भएकाले आयोजनाका इन्टेक र अन्य संरचनाहरू पुरिएका छन् । ती संरचनाहरू सफा नगरेसम्म भौतिक र आर्थिक क्षतिको यकिन विवरण आउन नसक्ने इप्पानले जनाएको छ । 

क्षतिको पूर्ण विवरण संकलन गर्न अझै एक हप्ता जति लाग्ने अनुमान गरिएको छ । केही आयोजना सुरक्षित बाढीको चपेटाका बीच १०२ मेगावाटको त्रिशूली आयोजनाका संरचनाहरूमा भने खासै क्षति नपुगेको जानकारी इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले दिए ।

उक्त आयोजनाले बाढीलाई केही हदसम्म नियन्त्रण गरेका कारण तल्लो तटीय क्षेत्रमा हुन सक्ने थप क्षति कम भएको उनको भनाइ छ । हालको प्राथमिकता टनेलमा फसेका र सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा रहेको अध्यक्ष डाँगीले बताए । 

यसैबीच इप्पानले आकस्मिक बैठक बोलाएर राहत र उद्धार कार्यलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरेको छ ।

Share News