कांग्रेस महामन्त्री पाैडेल भन्छन्- असफलता लुकाउन सरकार अराजकताको प्रायोजक बन्यो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेलले केही प्रमुख सञ्चारगृहका प्रवेशद्वार र कांग्रेस सभापति गगन थापाको निवासअगाडि नियोजित रूपमा गाडी तेर्स्याएर प्रवेशमार्ग अवरुद्ध गरिएको घटना अत्यन्तै निन्दनीय, अराजक र सस्तो स्टन्ट रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले राज्यशक्तिको दुरुपयोग गरेर गरिएको यस्तो हर्कतको सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्ने मागसमेत गरेका छन् । पार्किङकै विषयमा राज्यको कठोर र अव्यवहारिक रवैयाका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको हृदयविदारक घटना हाम्रो सामु रहेको उल्लेख गर्दै पाैडेलले भनेका छन्, 'उक्त दुःखद घटनापछि नागरिक र सञ्चारमाध्यमले उठाएका जायज प्रश्नहरूको जवाफ दिनुको सट्टा, 'ल हेर, पार्किङ व्यवस्थित नहुँदा कस्तो हुन्छ' भन्ने शैलीमा राज्य संयन्त्रकै आडमा आज जुन स्तरको स्टन्ट प्रदर्शन गरियो, यसले सरकारको नियत र कार्यशैली दुवै उदाङ्गो पारेको छ ।' मिडियाले राज्यका कमी-कमजोरी औंल्याएर समाचार लेखेकै वा प्रश्न सोधेकै भरमा, राज्य आफै नागरिक र प्रेससँग सिधै प्रतिशोध लिन यसरी सडकमा उत्रिनु सत्ताको चरम दुरुपयोग र विधिको शासनमाथिको भद्दा मजाक रहेको पाैडेलले बताएका छन् । 'राज्यको दायित्व समस्याको दीर्घकालीन, व्यावहारिक र न्यायोचित समाधान खोज्ने हो; आफ्ना असफलता लुकाउन अराजकताको प्रायोजक बन्ने होइन', पाैडेलले भनेका छन्, 'स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिहरूलाई यस्ता प्रायोजित अवरोध र हर्कतले तर्साउन सकिन्छ भन्ने भ्रम कसैले पाल्नु हुँदैन ।'
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीएमा भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् । मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डा. वाग्लेले नियुक्तिपत्र प्रदान गरे । नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए । सो अवसरमा बोल्दै नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरे । स्याङ्जा स्थायी घर भएका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन् । उनको यो नियुक्ति अवैतनिक हो ।
रास्वपाको दोहोरो नीतिः प्रेस स्वतन्त्रताको पक्षमा विज्ञप्ति, आफ्नै नेताको गाडीबारे मौन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाको कडा भर्त्सना गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । तर, ती गाडीमध्ये एक आफ्नै पार्टीका नेता रवि जयसवालको रहेको खुलेपछि रास्वपाको विज्ञप्तिमाथि नै प्रश्न खडा गराएको छ । महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने, प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने तथा त्रास फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ । तर, सञ्चारगृह बाहिर भेटिएका तीन सवारीमध्ये कान्तिपुर मिडिया समूहको कार्यालयको गेटमा छाडिएको कालो रंगको बा प्र ०१–०३४ च ८४८० नम्बरको ‘जेको जे-सिक्स’ गाडी रास्वपाका नेता रवि जयसवालको रहेको खुलेको छ । जयसवाल रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य हुन् । यद्यपि पार्टीको विज्ञप्तिमा भने आफ्नै नेताको नाम जोडिएको घटनाबारे कुनै टिप्पणी गरिएको छैन । गाडी पार्टीका नेताको रहेको तथ्य सार्वजनिक भइसके पनि त्यसबारे पार्टीले कुनै स्पष्टीकरण नदिनुले रास्वपामाथि दोहोरो मापदण्ड अपनाएको आरोप लाग्न थालेको छ । सार्वजनिक रूपमा प्रेस स्वतन्त्रताको पक्षमा उभिने र आफ्नै नेताको संलग्नताबारे मौन बस्ने व्यवहारले पार्टीको विश्वसनीयतामै प्रश्न उठाउने राजनीतिक विश्लेषकहरू बताउँछन् ।