५ समस्याग्रस्त सहकारीका ३ हजारलाई रकम फिर्ता, १ लाखसम्म पाइने

काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम १ लाख रूपैयाँसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिए ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नेछन् । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो । यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य ढकालले राससलाई जानकारी दिए । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ । बचतकर्तालाई रकम फिर्ता गर्न करिब ९ करोड रुपैयाँ जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका १ लाख लाख रूपैयाँसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई १० हजार रुपैयाँसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै ५ सहकारीका करिब ३ हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए ।  समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

आज पनि भारी वर्षाको चेतावनी, बाढी-पहिरोको उच्च जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा र  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले वर्षा हुने क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनु हुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ ।

चोरी भएका ५१ ओटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सोमबार (आज) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३५ ओटा मोटरसाइकल र १६ ओटा स्कुटर धनीहरूलाई जिम्मा लगाउनुभएको हो ।  सर्वसाधारणबाट प्राप्त निवेदन र सूचनाका आधारमा खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले केही वास्तविक र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उपत्यकाका सिरुटार, वाफल, भिमढुङ्गा, मुड्खु, नेपालटार, कपन, सुन्दरीजल, गोकर्ण, साङ्ला, फर्पिङ, चुनदेवी, नयाँवस्ती, बौद्ध, मंगलबजार, भैसेपाटी र कंलकी लगायतका स्थानबाट ती सवारी साधनहरू फेला पारेको थियो ।  आज बुझाइएका ५१ ओटा सहित चालु आर्थिक वर्षको गत साउन महिना यता मात्रै कुल ५८७ ओटा चोरीका सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको कार्यालयले जनाएको छ । यसका साथै प्रहरीले चोरीका ३६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तहरूमा पठाइसकेको छ । सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए ।  सोही अवसरमा कार्यालय प्रमुख सुरेश प्रसाद काफ्लेले सवारी साधन चोरी तथा हराउनबाट रोक्न सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, एकान्त ठाउँमा नलगाउन तथा ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरन र जीपीएस जडान गर्न अनुरोध गरे ।  सवारी साधन हराएमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको १०० मा फोन गर्न वा नजिकैको कार्यालयमा निवेदन दिन समेत प्रहरीले आग्रह गरेको छ ।