अमेरिकाले नेपाललाई गर्यो करिब ८ करोड सहयोग

काठमाडौं । अमेरिकाले रसुवामा आएको बाढीपीडित तथा उद्धारका लागि पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ । बुधबार रसुवामा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति गरेको थियो ।

अमेरिकी दूतावासले गरेको सहयोगले करिब ७ करोड ६० लाख रुपैयाँको सहायता पनि उपलब्ध गराएको जनाएको छ । बाढीबाट प्रभावित समुदायहरूलाई आपत्कालीन आश्रय र राहत सामग्रीका साथै पानी, सरसफाइ र स्वच्छतामा मद्दत पुर्याउने दूतावासले उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले प्राकृतिक विपत्तीलाई नजिकबाट नियालिरहेको जनाएको छ । यस्ता घटनामा सहयोग गर्न विपद् प्रतिकार्य सल्लाहकारलाई यस क्षेत्रमा खटाउँदै दूतावासले जानकारी दिएको छ ।

मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेसलाई प्रदान गरेको वैश्विक अनुदानमार्फत पाँच लाख अमेरिकी डलर दिएको जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी र मद्दत गर्न स्थानीय जिल्ला प्रशासनसँग नजिक रहेर काम गरिरहेको जनाएको छ ।

नेपालमा रहेका अमेरिकी नागरिकहरूलाई बाढीसँग सम्बन्धित आकस्मिक सहयोग आवश्यक भएमा [email protected] मार्फत अमेरिकी दूतावासमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।

Share News