काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सोमबार (आज) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३५ ओटा मोटरसाइकल र १६ ओटा स्कुटर धनीहरूलाई जिम्मा लगाउनुभएको हो ।
सर्वसाधारणबाट प्राप्त निवेदन र सूचनाका आधारमा खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले केही वास्तविक र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उपत्यकाका सिरुटार, वाफल, भिमढुङ्गा, मुड्खु, नेपालटार, कपन, सुन्दरीजल, गोकर्ण, साङ्ला, फर्पिङ, चुनदेवी, नयाँवस्ती, बौद्ध, मंगलबजार, भैसेपाटी र कंलकी लगायतका स्थानबाट ती सवारी साधनहरू फेला पारेको थियो ।
आज बुझाइएका ५१ ओटा सहित चालु आर्थिक वर्षको गत साउन महिना यता मात्रै कुल ५८७ ओटा चोरीका सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको कार्यालयले जनाएको छ ।
यसका साथै प्रहरीले चोरीका ३६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तहरूमा पठाइसकेको छ । सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए ।
सोही अवसरमा कार्यालय प्रमुख सुरेश प्रसाद काफ्लेले सवारी साधन चोरी तथा हराउनबाट रोक्न सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, एकान्त ठाउँमा नलगाउन तथा ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरन र जीपीएस जडान गर्न अनुरोध गरे ।
सवारी साधन हराएमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको १०० मा फोन गर्न वा नजिकैको कार्यालयमा निवेदन दिन समेत प्रहरीले आग्रह गरेको छ ।