श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवाद निर्माणको राजनीतिक रूपरेखा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवाद निर्माणको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन् । इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेन्ड्स अफ एसिया’ सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिक्नुपर्ने पाठबारे आफ्नो धारणा राखेका हुन् । उनले बदलिँदो विश्व शक्ति सन्तुलन र महाशक्तिबीच बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा असंलग्न परराष्ट्र नीति र समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि राजनीतिक रूपरेखा पनि प्रस्तुत गरे । सम्मेलनमा श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण कार्यक्रमका कडा सर्तबीच जनमुखी विकासको वैकल्पिक मोडल निर्माणका विषयमा धारणा राखेका थिए । यस्तै, विश्वप्रसिद्ध मार्क्सवादी लेखक तथा इतिहासकार विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै समकालीन अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनका क्रममा प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेतासँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसैबीच सम्मेलनको साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकका शीर्ष वामपन्थी नेताहरूसँग पनि भेटवार्ता गरेका छन् । सम्मेलनको दोस्रो सत्रमा नेपाल कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
सेयर बजारमा अफवाह फैलाएर लगानीकर्ता तर्साउने खेल
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारमा फैलिएका अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ । शुक्रबार नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा जारी सन्देशमा सचिवालयले सरकार गठनयता सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्तामा असन्तुष्टि देखिएको स्वीकार गर्दै बजारसम्बन्धी गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको जनाएको छ । सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै अर्थतन्त्रका विभिन्न सूचकमा सुधार देखिएको दाबी गरिएको छ । प्रशस्त तरलता, घट्दो ब्याजदर, कर नीतिमार्फत लगानी तथा खर्चलाई प्रोत्साहन गर्ने व्यवस्था र राजस्व विवादमा परेकाहरूलाई छुट सुविधा उपलब्ध गराएर आर्थिक गतिविधि बढाउने प्रयास गरिएको सचिवालयको भनाइ छ । ‘अर्थतन्त्रका सूचकहरू केही राम्रा र केही तीव्र सुधारोन्मुख छन् । प्रशस्त तरलता छ, ब्याजदर घटेको छ । सरकारले नियमित ठूलो आम्दानी हुनेलाई आयकर छुट दिएर खर्च र लगानी गर्न प्रोत्साहन हुने कर नीति लिएको छ । राजस्व विवादमा परेका हजारौँलाई एकै पटक ऐतिहासिक छुट सुविधामार्फत पुनः सुरुवातको मौका दिइएको छ,’ सचिवालयले भनेको छ । सन्देशमा स्थिर सरकार रहेको, अर्थमन्त्री विज्ञ रहेको तथा नियामक निकायहरूमा विज्ञ, पारदर्शी र इमानदार नेतृत्व चयन भएको र केही निकायमा त्यस्तो प्रक्रिया जारी रहेको उल्लेख छ । नियामक निकायमार्फत सेयर बजार सुधारका लागि योजनाबद्ध रूपमा काम अघि बढेको पनि सचिवालयले जनाएको छ । नियामक निकायलाई प्रभावमा पारेर भारतको सन् १९९१ को चर्चित हर्षद मेहता प्रकरणजस्तै अवस्था सिर्जना गर्न खोज्ने व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको दाबी पनि गरेको छ । यद्यपि, बजारमा सरकारको कामबारे गलत सन्देश फैलाइएको र ‘सबै कुरा ठीक चलिरहेको छैन’ भन्ने भाष्य निर्माण गरेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाइएको छ । सरकार कम बोल्ने तर धेरै काम गर्ने भएकाले त्यसको फाइदा उठाउँदै केही समूहले परिस्थितिजन्य लाभ लिन भ्रामक प्रचार गरिरहेको सचिवालयको भनाइ छ । सरकारलाई थाहा नभएका विषयका नाममा त्रास बेच्ने, मानिसलाई आतङ्कित बनाउने र अमुक व्यक्ति पक्राउ पर्दैछ वा अनुसन्धानमा छ भन्ने जस्ता प्रायोजित हल्ला फैलाइएको सूचना प्राप्त भएको सचिवालयले जनाएको छ । यस्ता गतिविधिलाई ‘आफ्नो टाउको फुटेपछि मितको टाउको बेलै सरी’ भन्ने उखानसँग तुलना गर्दै सचिवालयले लगानीकर्तालाई सचेत रहन आग्रह गरेको छ। सरकारले त्यसरी मनोवैज्ञानिक त्रास सिर्जना गरेर काम नगरेको र नगर्ने स्पष्ट पारिएको छ । सचिवालयले सेयर बजारसम्बन्धी आधिकारिक सरकारी सूचना क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह तथा ‘टाई-सुट लगाएका झिल्के सङ्घका नेता’ वा ‘इमानदारी बेचेका मिडिया’बाट नआउने उल्लेख गर्दै त्यस्ता माध्यमले आफ्नै स्वार्थका लागि डर देखाउन सक्ने दाबी गरेको छ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, अफवाहको पछि नलाग्न तथा आवश्यक जानकारी आधिकारिक सरकारी निकायबाट लिन लगानीकर्तालाई आग्रह गर्दै सचिवालयले नआत्तिन पनि अनुरोध गरेको छ ।
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले धितोपत्र तथा बीमासम्बन्धी कसुरमा बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार र थुनछेक आदेश जारी गर्दै बीमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो। त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ । हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्री गरेको अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।