काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासंघले गीतमा महिला शिक्षकप्रति लक्षित अपमानजनक शब्द र भाव प्रयोग गरिएको दाबी गर्दै उक्त सामग्री तत्काल हटाउन तथा सच्याउन माग गरेको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा गीतमा प्रयोग गरिएका शब्द र प्रस्तुतीकरणले शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरेको छ ।
विशेषगरी महिला शिक्षकको चरित्र र सम्मानमा आँच पुग्ने खालका अभिव्यक्ति समावेश गरिएको भन्दै महासंघले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
गीत तत्काल नसच्याए वा नहटाए महासंघ आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । साथै गीतका कारण समाजमा गलत सन्देश जाने तथा शिक्षक समुदायमा असहज अवस्था उत्पन्न हुन सक्ने भन्दै त्यसबाट उत्पन्न हुने परिणामप्रति चलचित्र निर्माता र सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने महासंघले स्पष्ट पारेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक समुदायको सम्मान र शिक्षण पेशाको मर्यादा जोगाउन सबै सरोकारवाला पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।