काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । बाढीपछि विभिन्न जिल्लाका नदी किनारमा प्रहरी तथा उद्धार टोलीले खोजतलास गर्दा हालसम्म २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र पहिचान नखुलेका २० जना गरी कुल ९५ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीको अद्यावधिक तथ्याङ्क अनुसार बाढीको बहावले बगाएर ल्याएका शवहरू विभिन्न जिल्लामा भेटिएका छन् । जसमध्ये रसुवामा १ पुरुष, नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जना तथा धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जना गरी १८ जनाको शव फेला परेको छ ।
यसैगरी, गोरखामा १ महिला, ४ पुरुष, १ बालक र पहिचान नखुलेका १० जना गरी १६ जना तथा चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जना गरी ३३ जनाको शव भेटिएको छ ।
यस्तै, तनहुँमा ३ पुरुष, १ बालिका र १ बालक गरी ५ जना तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ पुरुष र ३ बालिका गरी ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रभावित क्षेत्रहरूसहित तटीय इलाकामा अझै पनि बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी रहेको छ ।