आज कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको छ । हाल देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार हिमाली र पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ । आज हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्तै, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा, चट्याङ र सम्भावित बाढी-पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।
करिब ३२० किलो गाँजासहित १ जना पक्राउ
काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ३२० किलो अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी मधुवनीगाउँबाट खटिएको टोलीले शङ्का लागेर कुखुरा फार्ममा अवैध लागुऔषध भए/नभएको तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र०१-०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु४७प २५२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालमै पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढी कन्टेन्ट क्रिएटर प्रतिस्पर्धामा
काठमाडौं । नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ । नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुनेछ । गत जेठ महिनामै आवेदन आह्वान गरिए अनुसार देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्नो कन्टेन्टहरु उपलब्ध गराइसकेका छन् । निर्णायक समुहले यो प्रतियोगिताका लागि प्राप्त कन्टेन्टको मूल्यांकनको आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउने छन् । आयोजक संस्थाले निर्णायकको निर्णयका आधारमा आगामी साता मनोनयन सूचि सार्वजनिक गर्दैछ । ग्राण्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिने छ, जसका लागि हरेक विधामा १०/१० क्रिएटरलाई मनोनयनमा समावेश गरिने छ । प्रतियोगिताको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक (जज) रहने छन् । निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् । कार्यक्रमको ग्राण्ड फिनाले हुने स्थान भने पछि घोषणा गरिने छ । प्रतियोगिताको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेन्मेन्टले गरिरहेको छ । आयोजकका अनुसार यो कार्यक्रमले नेपालमा डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नयाँ प्रतिभाहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ । सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेका बेला कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले ल्याइएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो प्रकारको अवार्ड कार्यक्रमका रूपमा रहेको आयोजकको दावी छ । कार्यक्रमबारे विस्तृत जानकारी, निर्णायकहरूको परिचय, विभिन्न विधा तथा आवेदन प्रक्रियासम्बन्धी विवरण आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ ।