ड्युटी छाडेर ११ प्रहरी सम्पर्कविहीन, ७ दिनको अल्टिमेटम

काठमाडौं । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले सम्पर्क विहीन भएका ७ जना कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन ताकेता गरेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि खोजतलास गर्नुका साथै सम्बन्धित कार्यालयमा सूचना टाँस गर्दा पनि उनीहरू सम्पर्कमा आएका थिएनन् । तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिमको कसुरमा नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । 

आफूखुसी ड्युटीमा गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन अन्तिम अवसर प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्पर्क विहीन हुनेमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक तीर्थबहादुर बुढा र इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका प्रहरी सहायक निरीक्षक दुर्गाराज मल्ल रहेका छन् । 

यस्तै, ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान नागेश्वर यादव, मधेस प्रदेश प्रहरी तालिम केन्द्रका प्राविधिक प्रहरी जवान सुबोधप्रसाद पटेल, भरतपुर विमानस्थल सुरक्षा गार्डका प्रहरी जवान देवकृष्ण राउत, इलाका प्रहरी कार्यालय चन्द्रावती, तनहुँकी प्रहरी जवान जयन्ती थापामगर तथा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी जवान सञ्जय परियारलाई पनि स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिइएको छ । 

त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी जवान गीता मेदासी, प्रहरी जवान राजकुमार रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान ध्रुवराज पाध्या तथा कारागार सुरक्षा गार्ड, लमजुङमा कार्यरत प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल पनि लामो समयदेखि सम्पर्क विहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

null

Share News