राज्य बनाउन कर चाहिन्छ, अजुर्नदृष्टि लगाएर कर संकलन गर्नूहोस् : वाग्ले

काठमाडौ‌ं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उनले भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए । नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई मिसन मोडमा अघि बढाउन पनि उनले निर्देशन दिए । ‘नेपालमा कर संकलनको विगतको तथ्याङ्क हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ । अब यो सैह्य हुँदैन । राजस्व संकलनको लक्ष्य, डेटलाइन र उद्देश्यमा यहाँहरू स्पष्ट हुनुहुन्छ,’ अर्थमन्त्री डा.वाग्ले भने, ‘अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस् । करदातालाई कर लगाएर होइन, उत्साहित गरेर कर संकलन गर्नुहोस् ।’ कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उनले कर संकलनको जिम्मेवारीमा रहेका कर प्रशासकहरूले अनुकूल वातावरणबाट बाहिर निस्किएर यथार्थमा जोड दिनुपर्ने बताए । ‘कर प्रशासकहरू कम्फरटेबल जोनबाट बाहिर निस्कनुहोस्, वैज्ञानिक र यथार्थतामा जोड दिनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘राज्य बनाउन कर चाहिन्छ, कर उठाउन तपाईंहरूको साथ । इमान र मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड ।’ भन्सार, राजश्व र आन्तरिक करतर्फका कर प्रशासकहरूलाई सरकारको राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक सबै खाले स्रोत साधन उपलब्ध गराउन राज्य तयार रहेको मन्त्री वाग्लेले बताए । नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको छुट योजनालाई कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहनको उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए । सो क्रममा उहाँले राजस्व छली रोक्न प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । उनले भन्सार विभागलाई तीन महिनाभित्रै देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न पनि निर्देशन दिए । ‘भन्सार विभागका महानिर्देशकज्यू, १४ प्रमुख नाकामा सवारीसाधन स्क्यानर जडान गर्न अगाडि बढिहाल्नुहोस्। के(कस्तो सहयोग चाहिने हो, मन्त्रालयबाट भन्नुहोस्,’ अर्थमन्त्रीले भने । उनले यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिन पनि मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन कार्यालयहरूलाई निर्देशन दिए । भन्सार र करको चुहावट भइरहेका क्षेत्रहरूको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर होइन, प्रणाली सिकाएर करको दायरामा ल्याउन पनि उनले आग्रह गरे । कार्यक्रममा बोल्दै अर्थसचिव डा. घनश्याम उपाध्यायले कर र राजस्वका विविध क्षेत्रको ह्रासको कारण पहिल्याउन मातहतका अधिकृतहरूलाई निर्देशन दिए । बाहिर देखिएको आर्थिक गतिविधि र कर तथा राजस्वको तथ्याङ्कमा केही बेमेल रहेको भन्दै उनले कमजोरी के–कहाँ रह्यो हेर्न र सच्याउन निर्देशन दिएका हुन् । कार्यक्रममा मन्त्रालयका राजस्व महाशाखा प्रमुख एवम् सहसचिव उत्तरकुमार खत्रीले राजस्व संकलनको विगत, वर्तमान स्थिति र आगामी आर्थिक वर्षको लक्ष्य प्राप्तिको चुनौतीबारे प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक यमलाल भूसालले गत वर्ष भन्सार विभागले पाएको राजस्व लक्ष्य र प्राप्तिको अवस्था तथा आगामी वर्षको लक्ष्य प्राप्तिको योजना प्रस्तुत गरेका थिए । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको राजस्व छुट योजना र कर प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि विभाग लागिपरेको बताए ।

बोर्डको अनुमतिबिना विज्ञापन प्रसारण गरे कारबाही हुने

काठमाडौं । विज्ञापन बोर्डले आफ्नो स्वीकृतिबिना श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सम्बन्धित पक्षलाई निर्देशन छ । बोर्डले सोमबार (आज) सूचना जारी गर्दै कानुनी प्रक्रिया पूरा नगरी प्रसारण भइरहेका विज्ञापन तत्काल परीक्षण गराई अनुमति लिन र कानुनविपरीतका सामग्री अविलम्ब हटाउन निर्देशन दिएको हो । बोर्डका अनुसार विभिन्न सञ्चारमाध्यममार्फत बोर्डको स्वीकृति नलिई विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देशजस्ता अनिवार्य विवरण नराखिएको, तथ्यहीन तथा अतिरञ्जित दाबी गर्दै उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भइरहेको पाइएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ख) र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार विज्ञापन सामग्री परीक्षण तथा प्रसारण अनुमति दिने अधिकार विज्ञापन बोर्डलाई रहेको छ ।  यसका लागि विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) समेत कार्यान्वयनमा रहेको बोर्डले जनाएको छ । बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई बोर्डबाट अनुमति प्राप्त गर्नुपर्ने स्पष्ट गरेको छ ।  हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्री पनि तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न आग्रहसमेत गरेको छ । बोर्डले कानुनी व्यवस्था विपरीत विज्ञापन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

सुनसरी घटनापछि ठूलो प्रशासनिक हेरफेर, सीडीओसहित सुरक्षा प्रमुख फिर्ता

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक हेरफेर गरेको छ । गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ ।  उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ । यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ।   त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।