सुनसरी घटनापछि ठूलो प्रशासनिक हेरफेर, सीडीओसहित सुरक्षा प्रमुख फिर्ता

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक हेरफेर गरेको छ ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।

यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ । 

उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ ।

यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ। 

 त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । झडपमा परी गम्भीर घाइते भएका अर्का एक जनाको पनि आज मृत्यु भइसकेको छ ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयले जनाएकाे छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

Share News