बोर्डको अनुमतिबिना विज्ञापन प्रसारण गरे कारबाही हुने

काठमाडौं । विज्ञापन बोर्डले आफ्नो स्वीकृतिबिना श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सम्बन्धित पक्षलाई निर्देशन छ ।

बोर्डले सोमबार (आज) सूचना जारी गर्दै कानुनी प्रक्रिया पूरा नगरी प्रसारण भइरहेका विज्ञापन तत्काल परीक्षण गराई अनुमति लिन र कानुनविपरीतका सामग्री अविलम्ब हटाउन निर्देशन दिएको हो ।

बोर्डका अनुसार विभिन्न सञ्चारमाध्यममार्फत बोर्डको स्वीकृति नलिई विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देशजस्ता अनिवार्य विवरण नराखिएको, तथ्यहीन तथा अतिरञ्जित दाबी गर्दै उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भइरहेको पाइएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ख) र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार विज्ञापन सामग्री परीक्षण तथा प्रसारण अनुमति दिने अधिकार विज्ञापन बोर्डलाई रहेको छ । 

यसका लागि विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) समेत कार्यान्वयनमा रहेको बोर्डले जनाएको छ ।

बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई बोर्डबाट अनुमति प्राप्त गर्नुपर्ने स्पष्ट गरेको छ । 

हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्री पनि तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न आग्रहसमेत गरेको छ ।

बोर्डले कानुनी व्यवस्था विपरीत विज्ञापन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

Share News