स्वास्थ्य क्षेत्रको उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित
काठमाडौं। सरकारले गत आर्थिक वर्ष (आव) २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन्। आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। सोही मेसोमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो। आव ०७३/७४ मा स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले तिरेको छ। आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो। सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे। कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो। २०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको सञ्चालक डा.सुनिल शर्माले बताए।
चिकित्सा विधेयक पहिलो कार्यसूचीमा प्रस्तुुत गर्ने
काठमाडौँ । पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि उक्त विधेयक प्रस्तुत गर्ने भएको छ । उपसमितिको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्य सम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले बताएका छन् । उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्न व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ । बैठकले न्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सरकारसँग प्रतिवेदन माग्ने निर्णय पनि गरेको छ । रासस
वीर अस्पतालकाे अत्याधुनिक शल्यक्रिया भवन बन्दै, लागत तीन अर्ब ८५ करोड
काठमाडौ । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुई वर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेश थिएटर) रहने छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ । नेपाल सरकारको तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । विनाशकारी भूकम्पले क्षति पुर्याएको न्याम्सअन्तर्गतको नर्सिङ कलेजको पुरानो भवनको संरचना भत्काई सोही स्थानमा शल्यक्रिया भवन निर्माण गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विस २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । स्वास्थ्य क्षेत्रका चिकित्सक, जनशक्ति, औषधि तथा भौतिक पूर्वाधार तयार गर्न रकमको अभाव नहुने बताए । विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको रहेको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबिबिएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठानपाठन तथा तालिमका कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् । नाम्सको कुलपति पद खाली भएको पाँच महिना बितिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेल विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भैसकेकाले छिटै पदपूर्ति हुने उनको भनाई रहेको छ । वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० शथ्यासम्मको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायतका पूर्वाधार तयार गर्ने भएको छ । सरकारी स्तरमा पहिलो पटक हेलिप्याडको सुविधा समेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिएका छन् । आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने गरी भवन निर्माण भइरहेको छ । वीर अस्पताल सेवा विस्तार केन्दीय अस्पतालले दिँदै आएको चिकित्सकीय सेवा विस्तार गर्दै जाने स्वास्थ्य मन्त्रालयको नीतिअनुसार वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट गत असोज २४ गतेदेखि आफ्नो सेवा थालनी गरेको छ । बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) बाट सेवा सुरु गरेको अस्पतालले क्रमशः शल्यक्रिया सेवा दिँदै जाने जनाएको छ । अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले सो स्थानमा नाम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृत समेत दिएको छ । ओपिडी सेवा बिहान ९ वजेदेखि ५ बजेसम्म सञ्चालन भैराखेको छ भने थप उपचार गर्नुपरेमा वीर अस्पतालमा अर्को टिकट लिन नपर्ने व्यवस्था अस्पतालले मिलाएको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा भौतिक संरचना गर्न करीब ५७० रोपनी जमिन उपलब्ध गराएको थियो । निर्देशक प्राडा बस्नेतले ओपिडी सेवा प्रदान गर्न आवश्यक मेडिकल अधिकृत, नर्स, अहेबसहित आवश्यक कर्मचारीको व्यवस्था एवं आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा उपकरणको व्यवस्था मिलाउँदै जाने जानकारी दिएका छन् । सो स्थानमा भौतिक संरचनालगायतका कामको सुरुवात गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार ३० करोड रकम विनियोजन गरेको छ । रासस