प्रतिज्ञा रेग्मीको बिषेशले गर्यो साढे ६ अर्ब आम्दानी, बैंकमा ऋण १.४ अर्ब

काठमाडौं । बिषेश एण्ड कम्पनीले ९ महिनामा साढे ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ६ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ३१.१७ प्रतिशत अर्थात् २ अर्ब ३ करोड २० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले ६ अर्ब ५१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो वृद्धि शाखा विस्तार तथा नजिकका क्षेत्रहरूमा बजार पहुँच विस्तारका कारण सम्भव भएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार आव २०७९/८० मा ६ अर्ब २२ करोड ३० लाख रुपैयाँ र आव २०७८/७९ मा ६ अर्ब ९४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै आव २०७७/७८ मा कम्पनीले ४ अर्ब ८१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेपालमा निर्माण सामग्रीको आयात तथा वितरण क्षेत्रमा सक्रिय बिषेश एण्ड कम्पनीको स्थापना २० अगस्ट २०१८ भएको हो । यसको प्रधान कार्यालय भरतपुर-१०, चितवनमा रहेको छ । कम्पनीले सिमेन्ट, टिएमटी डण्डी, जस्तापाता (शीट), पाइप, ग्रिल सामग्री, बिटुमिन लगायतका विभिन्न निर्माण सामग्रीहरूको आपूर्ति तथा वितरण गर्दै आएको छ । कम्पनीले नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, नारायणगढ, इटहरी, हेटौंडा, बुटवल लगायत स्थानहरूमा १८ वटा आधिकारिक शाखा तथा १४ वटा वितरण आउटलेटमार्फत कारोबार विस्तार गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १६ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीमा प्रतिज्ञा रेग्मीको सतप्रतिशत सेयर स्वामित्वमा रहेको छ । प्रबन्ध निर्देशक रेग्मीसँग निर्माण सामग्री आपूर्ति क्षेत्रमा एक दशकभन्दा बढी अनुभव छ । उनले सन् २००८ देखि बिषेश इन्टरप्राइजेज सञ्चालन गर्दै आइरहेकी छन् । कम्पनीलाई परिवारका सदस्य उत्सव श्रेष्ठले सहयोग गर्दै आएका छन् ।

उच्च सञ्चालन आय भए पनि कम्पनीको नाफा मार्जिन अत्यन्त न्यून रहेको छ । कच्चा पदार्थको मूल्य, विशेषगरी स्टिलको मूल्य वृद्धि लगायतका कारण नाफा मार्जिनमा दबाब परेको देखिएको छ । न्यून नाफा संरचनाका कारण लागत वा आम्दानीमा सानो परिवर्तन भए पनि कम्पनीको नाफामा ठूलो असर पर्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ । 

निर्माण सामग्री आपूर्ति क्षेत्र अत्यन्त चक्रीय प्रकृतिको भएकाले माग र नगद प्रवाहमा निरन्तर उतारचढाव रहने सम्भावना उच्च रहेको छ । यसले कम्पनीको आम्दानी र नाफा दुवैमा असर पार्न सक्छ । साथै अत्यन्त प्रतिस्पर्धात्मक तथा विखण्डित रहेको यो क्षेत्रमा धेरै संगठित तथा असंगठित खेलाडीहरू सक्रिय छन् । कम प्रवेश अवरोध, न्यून प्रविधि आवश्यकताका कारण प्रतिस्पर्धा अझ तीव्र रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ८ करोड ७५ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ३३ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । 

Share News