मणिपाल शिक्षण अस्पतालको आम्दानी १.८९ अर्ब, ५० प्रतिशत कोटा विदेशी विद्यार्थीलाई
काठमाडौं । नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालि (मणिपाल शिक्षण अस्पताल) ले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब ८९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको १० महिनाको १ अर्ब ८४ करोड ८० लाख रुपैयाँको तुलनामा २.३२ प्रतिशत अर्थात् ४ करोड ३० लाख रुपैयाँले बढी हो । कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब २७ करोड रुपैयाँ, आव २०८०/८१ मा १ अर्ब ८८ करोड ९० लाख रुपैयाँ, आव २०७९/८० मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ७ करोड रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब १० करोड ५० लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब २२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पोखरास्थित नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको स्थापना सन् १९९४ मा भएको हो । सुरुमा भारतको मणिपालको लगानीमा स्थापना भएको यो कम्पनीको सम्पूर्ण स्वामित्व सन् २०२१ को अगस्टमा नेपाली कम्पनी बापो होल्डिङ्स निजी लिमिटेडले खरिद गरेको थिया । त्यसपछि सन् २०२३ फेब्रुअरीमा बापो होल्डिङ्स कम्पनीमा गाभिएको थियो । हाल कम्पनीको करिब ८३ प्रतिशत सेयर अटोवेज समूह र १७ प्रतिशत सेयर बतास समूहको स्वामित्वमा रहेको छ । अटोवेज समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायण प्रसाद पौडेल हुन् भने बतास समूहका अध्यक्ष आनन्दराज बतास हुन् । नेपालका निजी मेडिकल कलेजमध्ये एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने पहिलो संस्थामध्ये एक मानिने यस संस्थाले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा चिकित्साशास्त्र स्नातक, विज्ञान स्नातक (नर्सिङ) लगायत स्नातक, स्नातकोत्तर तथा अन्य स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोखरामा ५०० शय्याको अस्पताल सञ्चालन गरिरहेको कम्पनीको अस्पताल तथा मेडिकल कलेज करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल कम्पनी पूर्ण रूपमा नेपाली लगानीकर्ताको स्वामित्वमा रहे पनि ’मणिपाल’ ब्रान्ड नाम प्रयोग गरिरहेको छ । भारतको मणिपाल समूहको स्थापित ब्रान्ड छविका कारण कम्पनीले भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, सिंगापुर, थाइल्यान्ड, मध्यपूर्व, केन्या, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अष्ट्रेलिया र न्युजिल्यान्डलगायत विभिन्न देशका विद्यार्थी आकर्षित गर्दै आएको छ । यद्यपि, भविष्यमा ’मणिपाल’ ब्रान्डको प्रयोग निरन्तर रहने वा नरहने विषय अझै स्पष्ट नभएकाले त्यसले स्वदेशी तथा विदेशी विद्यार्थी भर्नामा पार्ने प्रभावलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये १ अर्ब ९४ करोड रुपैयाँ दीर्घकालीन र ५६ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । कम्पनीका अनुसार चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना सन्तोषजनक रहेको तथा अस्पताल सेवाबाट हुने आम्दानी निरन्तर बढ्दै गएको छ । अस्पतालको शय्या उपयोग दर ५७ प्रतिशतबाट घटेर ५३ प्रतिशतमा झरे पनि प्रति शय्या औसत आम्दानी तथा भर्ना भएर उपचार गराउने बिरामीको संख्या बढेकाले समग्र आम्दानी वृद्धि भएको हो । यद्यपि, कर्मचारी व्यवस्थापनसम्बन्धी खर्च बढेकाले सञ्चालन नाफा मार्जिन अघिल्लो वर्षको २९ प्रतिशतबाट घटेर गत आर्थिक वर्षको ९ महिनामा २४ प्रतिशतमा सीमित भएको छ । कम्पनीले एमबीबीएसको सिट संख्या १०० बाट १२० पुर्याएकाले आगामी वर्षहरूमा विद्यार्थी संख्या बढ्दै जाँदा नाफामा सुधार आउने अपेक्षा गरेको छ । विद्यार्थीबाट शैक्षिक सत्रको सुरुमै अग्रिम शुल्क संकलन हुने भएकाले कम्पनीको कार्यशील पुँजीको अवस्था सामान्यतया ऋणात्मक रहने गरेको छ । अग्रिम शुल्कको उपयोगसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा पूँजीगत लगानीमा खर्च हुने र त्यसले भविष्यमा नगद प्रवाहमा असन्तुलन ल्याउन सक्ने कम्पनीको भनाइ छ । साथै, सरकारी स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी ढिलो प्राप्त हुने अवस्थाले पनि कम्पनीको तरलतामा थप दबाब सिर्जना गरिरहेको जनाएको छ । यस्ता चुनौतीबीच पनि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४६ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपालको स्वास्थ्य सेवा क्षेत्रमा निजी तथा सरकारी अस्पतालबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । सरकारी अस्पतालहरूले पछिल्ला वर्षहरूमा पूर्वाधार र सेवा–सुविधामा सुधार गरेसँगै निजी अस्पतालहरूमा सेवा शुल्क तथा गुणस्तर दुवैमा दबाब बढेको छ । यस्तो अवस्थामा सेवा गुणस्तर कायम राख्दै बिरामी र विद्यार्थीको विश्वास जोगाउनु कम्पनीका लागि प्रमुख चुनौती रहने देखिएको छ । चिकित्सा शिक्षा क्षेत्रको नियामकीय वातावरण पनि कम्पनीका लागि अर्को महत्वपूर्ण जोखिम हो । एमबीबीएस कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीको शुल्क चिकित्सा शिक्षा आयोगले निर्धारण गर्ने व्यवस्था छ भने उपत्यकाबाहिरका मेडिकल कलेजका लागि अधिकतम शुल्क करिब ४६ लाख रुपैयाँ तोकिएको छ । विदेशी विद्यार्थीको शुल्क निर्धारणमा भने कम्पनीलाई केही लचकता रहेको छ र उनीहरूबाट नेपाली विद्यार्थीको तुलनामा ६० देखि ७० प्रतिशतसम्म बढी शुल्क लिने गरिएको छ । हाल एमबीबीएस कार्यक्रमका कुल सिटमध्ये ५० प्रतिशत विदेशी विद्यार्थीका लागि छुट्याइएको छ । भविष्यमा सिट बाँडफाँट, विदेशी विद्यार्थीको कोटा वा शुल्कको सीमामा हुने नीतिगत परिवर्तनले कम्पनीको आम्दानी तथा वित्तीय अवस्थामा प्रत्यक्ष प्रभाव पार्ने जनाएको छ ।
भोड्का र डायमन्ड बेच्ने कम्पनीको नाम परिवर्तन, ९ महिनामा १.२३ अर्ब आम्दानी
काठमाडौं । रुस्लान भोड्कालगायत विभिन्न ब्रान्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको विजय डिस्टिलरी प्रालिले आफ्नो नाम परिवर्तन गरेको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित कम्पनीले अबदेखि ’जावलाखेल डिस्टिलरी प्रालि’का नामबाट व्यवसाय सञ्चालन गर्ने भएको हो । सन् २०१३ मा स्थापना भएको कम्पनी ब्लेन्डिङ तथा बोटलिङ व्यवसायमा सक्रिय छ । कम्पनीले ब्राउन स्पिरिटतर्फ ’काला पत्थर’, ह्वाइट स्पिरिटतर्फ ’रुस्लान भोड्का’ र ’ब्लु डायमन्ड जिन’ तथा रेडी–टु–ड्रिंक श्रेणीमा ५ प्रतिशत अल्कोहलयुक्त ’रुस्लान आइस टी’ उत्पादन गर्दै आएको छ । यी सबै कम्पनीका स्वदेशी ब्रान्ड हुन् । कम्पनीको शतप्रतिशत स्वामित्व विजय कुमार शाहको रहेको छ । सन् २०२६ को अप्रिलसम्म कम्पनीको एकमात्र उत्पादन केन्द्र लुम्बिनी प्रदेशको परासी जिल्लामा सञ्चालनमा रहेको छ, जहाँ ब्लेन्डिङ तथा बोटलिङ कार्य हुँदै आएको छ । कम्पनीले देशभर २४० भन्दा बढी डिलरको सञ्जालमार्फत आफ्ना उत्पादनको बिक्री–वितरण गर्दै आएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको सुरुआत सन् १९७३ मा उद्योगी विजय कुमार शाहले जावलाखेल डिस्टिलरी स्थापना गरेसँगै भएको हो । हाल समूहअन्तर्गत चार डिस्टिलरी, एक ब्रुअरी, फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि, एक होल्डिङ कम्पनी र एक वितरण कम्पनी गरी आठ कम्पनी सञ्चालनमा छन् । कारोबारमा सुधार, नाफा पनि बढ्यो कम्पनीले आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको थियो भने २०८०/८१ मा १ अर्ब १० करोड रुपैयाँमा सीमित भएको थियो । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, आव २०७५/७६ मा ८२ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा करिब ४८ प्रतिशतले घटेको कारोबार आर्थिक वर्ष २०८१/८२ मा करिब ५० प्रतिशतले बढ्दै पुनः सुधारको मार्गमा फर्किएको कम्पनीले जनाएको छ । बिक्री वृद्धि, उत्पादनको मूल्यमा गरिएको सन्तुलित समायोजन तथा लागत नियन्त्रणका कारण सञ्चालन नाफा पनि सुधारिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन नाफा मार्जिन २७ प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा यो बढेर करिब ३१ प्रतिशत पुगेको छ । ब्लु डायमन्ड जिनमै बढी निर्भर कम्पनीका प्रमुख उत्पादनमध्ये ब्लु डायमन्ड जिनले नेपालको ह्वाइट स्पिरिट बजारमा बलियो ब्रान्ड पहिचान बनाएको छ । कम्पनीको कुल आम्दानीमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा यही उत्पादनबाट आउने गरेको छ। यद्यपि एउटै उत्पादनमा उच्च निर्भरता दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने जनाएको छ । नेपाल सरकारले तयारी मदिराको आयातमा उच्च भन्सार शुल्क तथा अन्य आयात अवरोध कायम राखेकाले स्वदेशी मदिरा उद्योगले संरक्षण पाउँदै आएको छ । तर भविष्यमा आयात शुल्क घटाइए वा हटाइए विदेशी ब्रान्डसँगको प्रतिस्पर्धा बढ्न सक्ने र त्यसले कम्पनीको आम्दानी, नाफा तथा ऋण भुक्तानी क्षमतामा असर पार्न सक्ने जनाएको छ । त्यसैगरी, मदिरामा प्रत्येक वर्ष अन्तःशुल्क वृद्धि हुँदै जाँदा बढेको लागत पूर्ण रूपमा उपभोक्तामा सार्न नसकिए कम्पनीको नाफा खुम्चिन सक्ने जोखिम रहेको छ । साथै, मदिराको विज्ञापन, बिक्री तथा वितरणसम्बन्धी सरकारी नीतिमा थप कडाइ गरिए व्यवसायमा प्रत्यक्ष असर पर्न सक्ने कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को सुरुदेखि कम्पनीले राष्ट्रिय वितरकमार्फत हुने बिक्री प्रणाली हटाएर प्रत्यक्ष वितरण सुरु गरेपछि ग्राहकबाट उठाउन बाँकी रकम र मौज्दात बढेको छ । यसले कार्यशील पुँजीमा थप दबाब सिर्जना गरेको कम्पनीले जनाएको छ । अप्रिल २०२६ सम्म कम्पनीसँग करिब २१ प्रतिशत अर्थात् २२ करोड २० लाख रुपैयाँ बराबरको थप कर्जा उपयोग गर्ने क्षमता बाँकी रहे पनि बढ्दो मौज्दात, ग्राहकबाट उठाउन बाँकी रकम तथा सम्बन्धित कम्पनीसँगको अग्रिम रकम फछ्र्योट गर्नुपर्ने अवस्थाले आगामी दिनमा कार्यशील पुँजीको आवश्यकता बढ्न सक्ने कम्पनीको भनाइ छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४७ करोड २० लाख रुपैयाँ दीर्घकालीन र ८७ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ३४ करोड ७० लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीले आगामी दिनमा ऋणको स्तर नियन्त्रण, नाफाको वर्तमान दर कायम राख्ने तथा ऋण भुक्तानी क्षमता सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।
होङ्शी शिवम् सिमेन्टको आम्दानी १०.३१ अर्ब, वितरण हुन सकेन १.५० अर्ब लाभांश
काठमाडौं । होङ्शी शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो, जुन अघिल्लो आर्थिक वर्षको १० अर्ब ९६ करोड ७० लाख रुपैयाँको तुलनामा २०.७५ प्रतिशत अर्थात् २ अर्ब २७ करोड ६० लाख रुपैयाँ बढी हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ४ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा १६ अर्ब २० करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ, आव २०७६/७७ मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँ तथा आव २०७५/७६ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो। सुधारिएको बिक्री मूल्य (रियलाइजेसन) का कारण कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ मा करिब २१ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा पनि आम्दानीमा १८ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ । बिक्री मूल्यमा सुधार तथा विद्युत् र इन्धन खर्च घटेका कारण सञ्चालन नाफा मार्जिन पनि ९ महिनामा करिब ३१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २४ प्रतिशत थियो । नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा रहेको होङ्शी शिवम् सिमेन्ट नेपालकै सबैभन्दा ठूलो एकीकृत ग्रीनफिल्ड सिमेन्ट उद्योग हो । कम्पनीको वार्षिक उत्पादन क्षमता २० लाख मेट्रिक टन क्लिंकर र २३ लाख मेट्रिक टन सिमेन्ट रहेको छ । कम्पनीले ‘होङ्शी’ ब्रान्डअन्तर्गत अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट र पोर्टल्याण्ड पोजोलाना सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । सन् २०१५ सेप्टेम्बरमा स्थापना भएको कम्पनीमा हङकङ रेड लायन सिमेन्ट नं. ३ लिमिटेडको ७० प्रतिशत र शिवम् होल्डिङ्स लिमिटेडको ३० प्रतिशत स्वामित्व रहेको छ । चीनको अग्रणी सिमेन्ट उत्पादकमध्ये एक मानिने हङकङ रेड लायन समूहले चीनमा करिब ५० वटा ठूला सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ भने लाओस, इन्डोनेसिया र म्यानमारमा पनि यसको उपस्थिति छ । शिवम् होल्डिङ्स, शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत स्वामित्व रहेको सहायक कम्पनी हो । कम्पनीका अनुसार गत आर्थिक वर्षको ९ महिनासम्म स्वीकृत कर्जा सीमाभित्र करिब २३ प्रतिशत अतिरिक्त कर्जा उपयोग गर्ने क्षमता रहेको थियो । साथै, कम्पनीसँग करिब ३ अर्ब २० करोड रुपैयाँ नगद मौज्दात रहेकाले खुद ऋणको स्तर न्यून रहेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ लिएको छ । यद्यपि, नियामकीय स्वीकृतिमा ढिलाइ र भावी लगानी योजनाका कारण पछिल्ला दुई आर्थिक वर्षका करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको लाभांश वितरण हुन बाँकी छ । तर, आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण अनुपात खुद नाफाको करिब ४३ प्रतिशतमा सीमित रहेको कम्पनीले जनाएको छ । अघिल्ला दुई वर्षमा यो औसत २९६ प्रतिशत पुगेको थियो । कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा क्लिंकर बिक्रीको शतप्रतिशत तथा सिमेन्ट बिक्रीको करिब ३५ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकबाट आएको थियो । सीमित ग्राहकमा उच्च निर्भरताका कारण कर्जा असुली र व्यापार नवीकरणसम्बन्धी जोखिम कायम रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, कुल बिक्रीमा क्लिंकरको योगदान पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा करिब ४० प्रतिशत रहेको क्लिंकरको हिस्सा घटेर आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २७ प्रतिशतमा झरेको छ । आफ्नै क्लिंकर उत्पादन गर्ने ग्राइन्डिङ–आधारित सिमेन्ट उद्योगहरूको संख्या बढेसँगै तेस्रो पक्षबाट हुने क्लिंकरको माग घटेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सिमेन्ट उद्योग निर्माण क्षेत्रको गतिविधिमा प्रत्यक्ष निर्भर हुने भएकाले माग मौसमी र आर्थिक चक्रअनुसार उतारचढाव हुने गर्छ । यसले उत्पादन क्षमता उपयोग, बिक्री, आम्दानी र नाफामा प्रभाव पार्न सक्छ । निर्माण गतिविधि सुस्त हुने वा कर्जा ब्याजदर बढ्ने अवस्थामा नगद प्रवाहमा दबाब पर्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ । साथै, आयातित सिमेन्टमाथिको भन्सार तथा संरक्षणात्मक नीतिले नेपाली सिमेन्ट उद्योगलाई केही हदसम्म संरक्षण गरे पनि सरकारी नीतिमा हुने परिवर्तन तथा कच्चा पदार्थको मूल्य र उपलब्धतामा आउने उतारचढावले उद्योगको समग्र प्रदर्शन प्रभावित हुन सक्ने कम्पनीको भनाइ छ ।