सिद्धबाबा सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न, दशैंपछि गाडी गुड्ने

पहिरोको जोखिम सधैंका लागि हट्ने

काठमाडौं । नागढुंगा सुरुङमार्ग सोमबार (भोलि) देखि औपचारिक रुपमा सञ्चालनमा आउँदै गर्दा नेपालको अर्को निर्माणाधीन सुरुङमार्ग सिद्धबाबामा पनि काम धमाधम भइरहेको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पा–बुटवल खण्डको सिद्धबाबामा निर्माणाधीन उक्त सुरुङमार्गको ७० प्रतिशत भौतिक काम सम्पन्न भएको आयोजनाले जनाएको छ । 

आयोजना प्रमुख नवराज बास्तोलाले सुरुङ खन्ने (ब्रेकथ्रु) र भित्री सिभिल संरचना निर्माणको काम सकिएसँगै अब ३० प्रतिशत काम मात्र बाँकी रहेको जानकारी दिए । उनका अनुसार हाल सुरुङभित्र रङ-रोगन र प्राविधिक भवनहरूको निर्माण कार्य भइरहेको छ । ११० मिटर लम्बाइको यस सुरुङमार्गलाई सुरक्षित र आधुनिक बनाउन अब इलेक्ट्रो-मेकानिकल सामानहरू जडान गर्ने तयारी थालिएको छ ।

यसअन्तर्गत सुरुङभित्र भेन्टिलेसन (हावा ओहोरदोहोर गर्ने प्रणाली), अग्नि नियन्त्रण उपकरण, सीसीटीभी क्यामेरा र विद्युतीय बत्ती जडान गर्न बाँकी रहेको बास्तोलाले विकासन्युजलाई जानकारी दिए । यसका साथै सुरुङको बाहिरी भागमा पहिरो र ढुङ्गा खस्नबाट जोगाउन रक सेड, रकफल ब्यारियर र स्लोप प्रोटेक्सन जस्ता सुरक्षा संरचनाहरूको निर्माण कार्य पनि अघि बढाइएको छ । 

निर्माण कार्यमा प्रगति भए तापनि केही प्राविधिक र प्राकृतिक चुनौतीहरू भने कायमै छन् । वर्षायाम सुरु भएसँगै खस्ने ढुङ्गा र पहिरोका कारण काममा बेलाबेला अवरोध पुग्ने गरेको छ । साथै सुरुङका लागि आवश्यक धेरैजसो प्राविधिक सामानहरू चीनबाट ल्याउनुपर्ने र केरुङ नाकातर्फको बाटो खराब भएका कारण ती सामग्रीहरू समयमै निर्माण स्थलसम्म आइपुग्न कठिन भइरहेको आयोजनाले जनाएको छ ।

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको यस आयोजनालाई आगामी दसैं अर्थात् अक्टोबरको अन्त्यसम्ममा परीक्षण सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यदि सामानहरू समयमै उपलब्ध भएमा निर्धारित समयभित्रै काम सकेर सुरुङमार्गलाई सञ्चालनमा ल्याइने बास्तोलाले दावी गरे । 

आयोजनाका अनुसार बर्सेनि वर्षायाम सुरु हुनासाथ पहिरो खस्ने, सडक अवरुद्ध हुने र यात्रुले सास्ती भोग्ने अवस्था दोहोरिरहेपछि २०७५ सालमा स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) ले विस्तृत अध्ययन गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । त्यसपछि मात्रै आयोजना निर्माणले औपचारिक गति लिएको हो । 

२०७८ जेठ ९ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको आयोजना सोही वर्ष फागुन २५ गते चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो । सुरुमा करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रतिस्पर्धात्मक बोलपत्रमार्फत झण्डै ३ अर्ब रुपैयाँ कम लागतमा ठेक्का लागेको थियो । 

यद्यपि सम्झौतापछि विभिन्न प्राविधिक तयारी, डिजाइन तथा प्रक्रिया पूरा गर्नुपरेकाले वास्तविक सुरुङ खन्ने काम २०७९ सालको अन्त्यतिरबाट मात्रै सुरु भएको थियो । अहिले भने आयोजना अन्तिम चरणमा पुगेको छ ।

आयोजना प्रमुख बास्तोलाका अनुसार साढे १० मिटर चौडा र करिब ७ मिटर अग्लो सुरुङको सेकेन्डरी लाइनिङ तथा इन्भर्ट निर्माण सम्पन्न भइसकेको छ । अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, पंखालगायत अत्याधुनिक विद्युतीय तथा सुरक्षा उपकरण जडानको काम तीव्र गतिमा भइरहेको छ ।

यससँगै पहुँच सडक, सुरक्षा संरचना र अन्य सहायक पूर्वाधार निर्माणको काम पनि समानान्तर रूपमा अघि बढाइएको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टल निर्माण यसअघि नै सम्पन्न भइसकेको छ ।

नेपालमै पहिलोपटक ‘रकसेड’ प्रविधि

सुरुङमार्गबाट बाहिर निस्किएपछि पनि माथिबाट पहिरो खस्ने जोखिम रहने भएकाले सिद्धबाबा क्षेत्रमा नेपालको सडक पूर्वाधार इतिहासमै पहिलोपटक ‘रकसेड’ प्रविधि प्रयोग गर्न लागिएको छ । यो प्रविधिअन्तर्गत पहिरो धेरै खस्ने स्थानमा सडकमाथि आरसीसी ढलान वा बलियो स्टिलको भिरालो छाना निर्माण गरिन्छ । जसले माथिबाट खस्ने ढुंगा सिधै सडकमा पुग्न नदिई यात्रुको सुरक्षा सुनिश्चित गर्छ ।

यसका लागि ७८० मिटर लामो रकसेड निर्माणको डिजाइन स्वीकृत भइसकेको आयोजनाले जनाएको छ । रकसेडमा प्रयोग हुने उच्च क्षमताको सुरक्षा जालीले ५ हजार किलोग्राम (५ टन) सम्म तौल भएका विशाल ढुंगासमेत रोक्न सक्ने आयोजनाको भनाइ छ । 

सिद्धबाबा सुरुङमार्ग ‘इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा निर्माण भइरहेको आयोजना हो । यस मोडलअनुसार डिजाइनदेखि निर्माण सम्पन्न गर्ने दायित्व निर्माण कम्पनीकै भएको आयोजनाले जनाएको छ । 

निर्माण सम्पन्न भएपछि पनि कम्पनीले ५ वर्षसम्म सुरुङ सञ्चालन, मर्मतसम्भार तथा सुरक्षा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आफैं वहन गर्नुपर्ने बताइएको छ । यस व्यवस्थाले सुरुङको गुणस्तर, नियमित मर्मतसम्भार र सुरक्षित सञ्चालन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी र बाग्लुङलगायत जिल्लाका हजारौं सवारीसाधन दैनिक आवतजावत हुने गरेका छन् ।

सुरुङ सञ्चालनमा आएपछि वर्षेनी दोहोरिने पहिरोका कारण हुने सडक अवरोध, यात्रुको जोखिम र आर्थिक क्षतिमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।

Share News