भरत महर्जनले ४ अर्ब अपचलन गरेको प्रहरीको निष्कर्ष, डेढ दर्जन कम्पनी र फर्जी व्यक्तिका नाममा लगानी
काठमाडौं । ललितपुरस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष भरत महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अभियोगपत्र दायर गरेको हो । अपचलनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको हो । अदालतमा दायर अभियोग–पत्र अनुसार महर्जनले डेढ दर्जन निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर करिब ४ अर्ब अर्थात् ३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेका छन् । उनले सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ । तीमध्ये केही कम्पनी अहिले बन्द अवस्थामा रहेको प्रहरीको दाबी छ । अहिले उनी बेलायत रहेको प्रहरीको भनाइ छ । नेपाल सरकारले उनलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा १९ माघ २०८० मा रेड नोटिस जारी गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीका अनुसार महर्जन २०५७ साउनदेखि २०७५ पुससम्म सहकारीमा कार्यकारी अध्यक्ष थिए । सम्बन्धित सामग्री ः सुमेरु ग्रुपको सम्पत्ति बचेर बचतकर्ताको पैसा फिर्ता गर्ने सुमेरु सहकारीको प्रतिवद्धता, भन्छ : महर्जन भागेका छैनन् सुमेरु सहकारीसँग ‘भरत महर्जन’को नाम जोडेकोमा खोजतलास मिडियाको आपत्ति सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म सहकारी ठगी : समितिले जेलमा रहेका भीआईपी सञ्चालकसँग छलफल गर्ने, ‘फरारहरु पनि सम्पर्कमा’ सहकारी ठग्ने अर्बपतिको नक्कली डिभोर्स, सदस्य दम्पत्तिहरुको दुःखदायी बिच्छेद हाई प्रोफाइल व्यवसायी आर्थिक संकटमा पर्दा बैंकरलाई तनाव, २२ अर्ब ऋण डिफल्ट सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो
३२ जिल्लामा पुग्यो शतप्रतिशत बिजुली, एक वर्षभित्र घरघरमा पुर्याइने
काठमाडौं । अहिले नेपाल विद्युतमा आत्मनिर्भर हुने गतितिर लम्किरहेको छ । पछिल्लो समय देशभरि नै उज्यालो अभियान चलिरहेको छ । उसो त सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको दायित्व नै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो । यहीं उद्देश्य र लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘उज्यालो र सफाइ सहर अभियान’ लाई प्राथमिकता दिएको पाइन्छ । जुन अभियान हाल सुदूरपश्चिम प्रदेशमा तीव्र गतिमा चलिरहेको छ । प्रदेशभरि हालसम्म ८६ दशमलव ५८ प्रतिशत घरधुरीमा विद्युतीकरण गर्ने काम पुरा भएको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले बताए । उनका अनुसार प्राधिकरणले विद्युतीकरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आगामी २ वर्षभित्रै शतप्रतिशत काम पुरा गर्ने गरी काम भइरहेको छ । प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा करिब ९९ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको र पहाडी जिल्लामा पनि तीव्र गतिमा काम भइरहेको प्राधिकरणको दाबी छ । प्रदेशभित्र हाल एक सय ६५ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। सरकारीस्तरबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना र बाँकी एक सय ३५ मेगावाट निजी क्षेत्रले लगानी गरेको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । प्रदेशभित्र विद्युत उत्पादन बढेसँगै नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने काममा तीव्रता दिएको छ । कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामा पछिल्लो समय धमाधम विद्युतीकरणको काम भइरहेको प्रमुख चन्दले जानकारी दिए । उनले भने, ‘हामीले विद्युतको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाइरहेका छौं । जसमा तराईका कैलाली र कञ्चनपुरमा लगभग बिजुली पुगिसकेको र पहाडी जिल्लाहरूमा भने विद्युतको काम धमाधम भइरहेको छ । हाललाई विद्युतका पोल तथा खम्बा ठड्याइँदैछ । तारहरूलाई भूमिगत गर्नेलगायत कामहरू अगाडि बढाइरहेका छौं ।’ तराईका २ जिल्लासँगै पहाडी ७ जिल्लामा आगामी २ वर्षभित्रै सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने गरी काम भइरहेको उनको भनाइ छ। कति पुग्यो विद्युत ? हालसम्म प्रदेशभरमा सबैभन्दा बढी कञ्चनपुरमा ९९ दशमलव ९८ प्रतिशत विद्युतीकरणको काम पुरा भइसकेको छ भने त्यसपछि कैलालीमा ९९ दशमलव १२ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको छ । यसैगरी, डडेल्धुरामा ९१ दशमलव शून्य ३ प्रतिशत, बैतडीमा ५७ दशमलव ६ प्रतिशत, डोटीमा ८० दशमलव ४५ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको छ । यस्तै, अछाममा ६४ दशमलव ४६ प्रतिशत, दार्चुलामा ८९ दशमलव ६४ प्रतिशत, बझाङमा ६६ दशमलव ७४ प्रतिशत र बाजुरामा २९ दशमलव २४ प्रतिशत घरधुरीको विद्युतीकरणमा भइसकेको सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको छ । बाँकी काम आगामी २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अन्य ६ प्रदेशमध्ये मधेशमा शतप्रतिशत विद्युतीकरण भइसकेको छ । जसमा प्रदेशका ८ वटै जिल्लामा पूर्ण रुपमा विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणका अनुसार कोशी प्रदेशमा ९९.३० प्रतिशत विद्युतीकरण भएको छ। प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र संखुवासभाबाहेक अन्य जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । सोलुखुम्बुमा ८९.०४ र संखुवासभामा ९३.९९ प्रतिशत विद्युतीकरण भएको छ । झापा, मोरङ, सुनसरी र धनकुटामा शतप्रतिशत विद्युतीकरण गरिएको छ । बागमतीमा ९९.९७ प्रतिशत विद्युतीकरण भएको छ। प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, नुवाकोट र चितवनमा शतप्रतिशत विद्युतीकरण भएको छ। बाँकी जिल्लामा पनि ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको छ। यस्तै, गण्डकीमा ९९.४० प्रतिशत विद्युत पुगेको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङमा ८७.८१ प्रतिशत विद्युतीकरण भएको छ । तनहुँ, स्याङ्जा, पर्वत र कास्कीमा शतप्रतिशत विद्युतीकरण भएको छ भने बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण गरिएको छ । लुम्बिनीमा ९८.४९ प्रतिशत विद्युत पुगेको छ । प्रदेशका १२ जिल्लामध्ये रुकुम-पूर्वमा सबैभन्दा कम अर्थात् ३२.२४ प्रतिशत र रोल्पामा ८५ प्रतिशत मात्र विद्युतीकरण भएको छ । नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बर्दियामा शतप्रतिशत विद्युतीकरण भएको छ । बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भईसकेको छ । यस्तै, कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् ७४.३८ प्रतिशत मात्र विद्युतीकरण भएको छ । जसमा प्रदेशको रुकुम-पश्चिममा सबैभन्दा बढी अर्थात् ९५.०८ प्रतिशत र मुगुमा सबैभन्दा कम अर्थात् ३१.८० विद्युतीकरण भएको छ । सुर्खेतमा ८६.४८, दैलेखमा ८१.०५, सल्यानमा ७९.५०, जाजरकोटमा ४९.८०, कालीकोटमा ७०.९६, जुम्लामा ६२.४७, डोल्पामा ४२.७५ र हुम्लामा ३२.५१ प्रतिशत विद्युतीकरण भएको छ । प्राधिकरणले २ वर्षभित्र देशभरि नै विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसका अनुसार हाल देशभरि नै विद्युतीकरण गर्ने काम तीव्र गतिमा भइरहेको छ । उनले भने, ‘हामीले यो आर्थिक वर्षभित्रै पुर्याउने लक्ष्य लिएका छौं । तर भौगोलिक चुनौतीका कारण समय अल्लि बढी समय लाग्न सक्छ ।’ हाल देशभर घरका आधारमा ९८ प्रतिशत विद्युतीकरण भइसकेको प्रवक्ता घोसको भनाइ छ । शतप्रतिशत विद्युतीकरण भएका जिल्लाहरू नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार ३२ जिल्लामा शतप्रतिशत बिजुली पुगेको छ । मधेशमा शतप्रतिशत विद्युतीकरण भइसकेको छ । जसमा प्रदेशका ८ वटै जिल्लामा पूर्ण रूपमा विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । उक्त प्रदेशमा हाल सुदृढीकरणको काम भइरहेको छ । यस्तै, कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ, सुनसरी र धनकुटामा शतप्रतिशत विद्युतीकरण भएको छ । बागमतीमा प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, नुवाकोट र चितवनमा शतप्रतिशत विद्युतीकरण भएको छ। बाँकी जिल्लामा पनि ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको छ । यस्तै, गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँ, स्याङ्जा, पर्वत र कास्कीमा शतप्रतिशत विद्युतीकरण भएको छ भने बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बर्दियामा शतप्रतिशत विद्युतीकरण भएको छ। बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको छ । कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा कम विद्युतीकरण भएको छ । प्रदेशको रुकुम-पश्चिममा सबैभन्दा बढी विद्युतीकरण भएको छ भने मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोटमा सबैभन्दा कम विद्युतीकरण भएको बताइएको छ । बाँकी जिल्लामा शतप्रतिशत पुर्याइँदैछ ।
पढ्न नपाउनेको सहारा बन्दै ‘हामी सक्षम छौं’, नेपालमै बस्न सिकाउँदै सुलभ
काठमाडौं । सिन्धुपाल्चोकको कालामाराङकी सबिना धनुकी कक्षा १० सम्म गाउँमै पढिन् । एसईईपछि के पढ्ने, कहाँ पढ्ने, पढ्ने कि नपढ्ने भन्ने दोधारमा थिइन् । घरमा आर्थिक अवस्था राम्रो नहुँदा पढ्ने इच्छा भएपनि आशा मार्नुपर्ने अवस्था थियो । उनको गाउँमा अहिलेसम्म धेरै पढेका व्यक्ति भेट्न गाह्रो छ । केटाकेटी कक्षा ९-१० सम्म पढ्ने त्यसपछि कोही विदेश जाने त कोही बिहे गरी बस्ने चलन जस्तै बनिसकेको छ । सबिनाको गाउँमा भने अहिलेसम्म स्नातक र स्नातकोत्तर पढेको मान्छे छैन । सपनालाई आफ्नो दैनिकी अरू दिदीबहिनीको जस्तै हुने पीर थियो । तर, उनले मनको एउटा कुनामा जसरी भएपनि कक्षा १२ सम्म पढ्ने भन्ने अठोट थियो । उनको परिवार आर्थिक रूपमा सक्षम थिएन । घरकी जेठी छोरी उनले नै सबै जिम्मेवारी बहन गर्नुपर्थ्यो । भनिन्छ नि- आँट्नुपर्छ, आँटे सफल भइन्छ । सविनाको जीवनमा पनि यस्तै भयो । उनी गाउँमा अन्य केटाकेटीजस्तै बस्नु परेन । उनले पढ्ने अवसर पाइन् । उनलाई पढाउने व्यक्ति खोजी गर्दै उनको घरमा गए । अहिले उनी काठमाडौंको इस्लिङ्टन कलेजमा बीबीए अन्तिम वर्षमा अध्ययन गरिरहेकी छिन् । उनी भन्छिन्, ‘म यहाँसम्म पुग्छु सोचेको थिइनँ । तर, मलाई आइएनजीले यो सुन्दर अवसर दिलायो र अहिले म तपाईंसँग बोल्न सक्ने हैसियतमा पुगेकी छु ।’ कसरी पुगे सुलभ घरमै ? सविना कक्षा ८ मा पढ्थिन् । स्कुलमा अङ्ग्रेजी पढाउने शिक्षकले एक दिन सबै विद्यार्थीलाई सोधे, ‘कक्षा १० सकेपछि तिमीहरू के बन्ने सपना छ, म सोधेर भिडियो बनाउँछु, कोही बाल्न चाहन्छौ ? ’ सविनाले हतपत हात उठाउँदै बोलिन् । उनले बोलेको कुरा शिक्षकले भिडियोसहित सामाजिक सञ्जालमा राखे । त्यो भिडियो माइ सेकेण्ड टिचरका सह-संस्थापक सुलभ बुढाथोकीको नजरमा पर्यो । देश बनाउन देशको शिक्षालाई जोड दिनुपर्छ, सबै विद्यार्थीले नेपालमै सीपमूलक शिक्षा पढेर नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले शिक्षा सुधारमा लागिरहेका सुलभ सिन्धुपाल्चोकमै पुगे । सविनाजस्तै आफ्नो सपना बताउने राम, लक्ष्मणको घरमा पनि उनी पुगे । उनको इच्छा, चाहना अठोट र पारिवारिक अवस्था थाहा पाएपछि उनीहरू चारै जनालाई पढाउने जिम्मेवारी उनैले लिए । परिवारको सहमतिमा उनीहरू काठमाडौं आए । उनी भन्छिन्, ‘भगवानले त आँट म पुर्याउँछु भन्छन् रे भन्ने सुनेको थिएँ, मेरो भेट सुलभ सरसँग भयो । त्यसपछि ममा पढ्न पाउने आशा झन पलायो। एसईई पास गरिसकेपछि सविना र उनका साथीहरू काठमाडौं आए । उनलाई सुरुमा काठमाडौं आउँदा मनमा डर लागिरहेको थियो । उनको साथमा तीनजना केटा साथी हुँदा उनी एक्लै केटी थिइन् । ‘मनमा डर लागिरहेको थियो, तर जब काठ्माडौं पुगेर होस्टेलमा सुरक्षित तरिकाले बसें, त्यसपछि ढुक्क भएँ,’ उनी भन्छिन्, ‘पहिलो पटक गाउँ छोडी एक्लै आउँदा यस्तो डर लाग्नु स्वाभाविक थियो तर उनलाई सँगै अर्को डर लागेको थियो, अब कलेजमा कसरी जाने होला ?’ सविनाका लागि काठमाडौं ठाउँमात्र नयाँ थिएन, साथीभाइ कलेज, शिक्षक सबै नयाँ थिए । सरकारी विद्यालयमा पढेकी उनलाई अंग्रेजी कसरी सिक्ने भन्ने चुनौती पनि थियो । सुरुका दिन सम्झिँदै उनी भन्छिन्, ‘सर कक्षाकोठामा आउनुहुन्थ्यो, फररर अंग्रेजीमा पढाएर जानुहुन्थ्यो, केही बुझिँदैनथियो, एक-एक शब्द टिपेर त्यसको अर्थ खोज्नुप्रथ्यो, यतिसम्म कि स्कुलमा सरले पढाएको कुरा नेपालीमा लेखेर अंग्रेजीमा कसरी लेख्ने भन्ने कुरा सिक्नुपर्थ्यो ।’ पछि होस्टेलमा बस्दा सविनाको अरू साथीहरूसँग चिनजान हुँदै गयो । उनले साथीहरूबाट पनि सहयोग माग्न थालिन् । यसरी सिक्दा उनलाई बिस्तारै सहज हुँदै गयो । त्यसपछि उनमा म पनि सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो । अहिले उनलाई अङ्ग्रेजी सजिलो लाग्छ । जेभियर इन्टरनेसनल कलेजमा प्लस टु पढेर अहिले उनी इस्लिङ्टन कलेजमा बीबीए अन्तिम वर्षमा अध्ययन गरिरहेकी छिन्। सविनासँगै पढ्ने राम नेपाली, लक्ष्मण नेपाली र सीताराम थिङको कथा पनि यस्तै छ । उनीहरू पनि सविनाको जस्तै आजभन्दा ६ वर्ष अगाडि काठमाडौं आए । जेभियर इन्टरनेसनल कलेजमै उनीहरूले इच्छाअनुसारको विषय रोजे । चारैजनाले कम्प्युटर साइन्स विषय पढ्ने निधो गरे । ‘तर कम्प्युटर चलाउन आउँदैनथियो । गाउँमा सिक्ने अवसर पाइएन, देखेका मात्र थियौं, सुरुमा कसरी सिक्ने होला भन्ने पनि लागेको थियो,’ सीताराम भन्छन्, ‘तर सिक्दै जाँदा सहज हुने रहेछ ।’ उनलाई काठमाडौं आउँदा सुरुमा नयाँ ठाउँ, नयाँ साथीहरू कसरी बस्ने भन्ने पीर लागेको थियो तर, उनले आफ्नो आँट यथावत राखे । उनले कक्षा ११ र १२ मा कम्प्युटर साइन्स लिएर पढे । गाह्रो त थियो नै, अङ्ग्रेजी आउँदैनथियो, कम्पयुटर देखेको मात्र थिए तर मिहिनेत गरेर प्लस टुमा ए प्लस नै ल्याएर पास गरे । चारैजनाले राम्रो नतिजा ल्याएपछि उनीहरू इस्लिङ्टन कलेजमा आए । उनीहरूको थप फरक अनुभव भयो । यहाँ त कलेजमै हल, क्याफे पनि थियो । सबैले आ-आफ्नो अनुभव बताए । उनीहरू चारैजनाले कम्प्युटर साइन्स रोजे पनि चलाउन भने पाएका थिएनन् । इस्लिङ्टन कलेज आएपछि उनीहरूको पहिलो सेमिस्टर कम्पयुटर सिक्दैमा बित्यो । अगाडि गएर बोल्ने बानी थिएन, यहाँ त प्रिजेन्टेसन प्रस्तुत गर्दा अगाडि जानुपर्थ्यो, कतै बिग्रन्छ कि भन्ने लागेको थियो, डराइडराइ बोल्थ्यौं तर, अहिले सब नर्मल लाग्न थालिसकेको छ,’ उनीहरू चारैजना भन्छन्, ‘आइटी पनि सुनेका थिएनौं, आज आएर आफै पढेका छौं ।’ उनीहरू चारैजना अहिले पढ्दै काम गर्न थालेका छन् । खुसी अभिभावक जसोतसो कक्षा १० सम्म स्कुल पठाउन सकेका अभिभावकहरू छोराछोरी यहाँसम्म पुग्छन् भन्ने सोचेका समेत थिएनन् । इस्लिङ्टन कलेजमा आइटी पढाउने हैसियत परको कुरा थियो । तर अहिले तिनै छोराछोरी यहाँसम्म पुग्दा उनीहरूसँग खुसी व्यक्त गर्ने शब्द नै छैन । सोमबार इनोभेटिभ नेपाल ग्रुप (आइएनजी)ले गरेको पत्रकार सम्मेलनमा उनीहरू चारैजनाका अभिभावक पनि पुगेका थिए । सविनाका बुवा धनबहादुर धनुक पनि अहिले खुसी छन् । छोरीलाई पढाइ नसकेर आफ्नोजस्तै जिन्दगी बन्छ कि भन्ने पीरमा रहेका उनी अहिले छोरीले काठमाडौं आएर पढ्न पाउँदा खुसी छन् । छोरीसँगै सोमबार याक एण्ड यति होटेलमा भेटिएका उनी अब छोरीले आफ्नोमात्र नभइ पछाडिका भाइ बहिनीको पनि भष्यिष उज्यालो परेको बताए । विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘पहिले छोरीलाई पढाउन नसक्ने पीरमा थिएँ, अहिले छोरीले अर्को बहिनीलाई पनि यही पढाइरहेकी छिन्, मलाई निकै खुसी लागेको छ ।’ हामी नेपाली सक्षम छौं नेपालको शिक्षा र प्रविधि क्षेत्रमा योगदान पुर्याउने एक उद्यमी हुन् सुलभ बुढाथोकी । उनले नेपालको शिक्षालाई समय सुहाउँदो बनाइ नेपाली युवालाई नेपालमै केही गर्न सकून् भन्ने उद्देश्य राखी नेपालमा शिक्षाको नयाँ अभियान सञ्चालन गरिरहेका छन् । सुलभ बुढाथोकी आइएनजी अध्यक्ष, माइ सेकेण्ड टिचरका संस्थापक तथा इस्लिङ्टन कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । सुलभ बुढाथोकी । नेपालको उच्च शिक्षाको क्षेत्रलाई आधुनिक बनाउन उनले देशव्यापी रूपमा ‘हामी नेपाली सक्षम छौं’ अभियान सञ्चालन गरिरहेका छन् । यही अभियानमा उनले आर्थिक अवस्था कमजोर भएका सिन्धुपाल्चोकका चार जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्तिको सुविधा दिएका छन् । सोमबार विकासन्यूजसँग कुरा गर्दै बुढाथोकीले भने, ‘कसले भन्छ, नेपालमा केही छैन, विदेशमा सबै थोक छ, मात्र चाहना, इच्छा र अठोट हुनुपर्छ, नेपालमै सबै कुरा सम्भव छ । हामी यही कुरा प्रमाणित गरेर देखाउँदै आएका छौं ।’ बुढाथोकीले यो अभियानमार्फत सयौं विद्यार्थीले छात्रवृतिमा अध्ययन गरिरहेको बताए । २५ वर्षदेखि नेपाली शिक्षामा नवीनता ल्याउनुपर्छ भन्दै लागेका बुढाथोकीले यही अभियानमा १० हजारभन्दा बढी विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेकाे जानकारी दिए । यसैगरी, आइटीतर्फ पनि १० हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यो अभियानमा १७ सय जना कर्मचारी आवद्ध रहेको उनको भनाइ छ । ‘दुर्गममा जन्मेका बच्चा अहिले युकेमा रहेको विश्वविद्यालयको शिक्षा नेपालमै लिइरहेका छन्,’ बुढाथोकी भन्छन्, ‘चाहने हो भने नेपालमै गर्न सकिन्छ, कुनै पनि चुनौतीले यसलाई रोक्न सक्दैन ।’ उनी यसका लागि नेपालभरि नै पुगेर स्कुल कलेजमा गएर अवस्था बुझ्ने र अभिभावकसँग भेटेर छात्रवृत्ति दिने काम गरिरहेको बताउँछन् । बुढाथोकीले आफ्नो योजना नै नेपाली युवाहरूलाई नेपालमै रोक्ने देश विकास गर्ने, हामी अब्बल छौं, सक्षम छौं भन्ने प्रमाणित गरी नेपाललाई सम्वृद्धितर्फ पुर्याउने रहेको सुनाए । उनी यो लागू गर्न नेपालमा सम्भव भएको बताउँछन् । भन्छन्, ‘हाम्रो नेपाल बन्दैछ, पक्कै बन्छ, नेपालमा केही गर्न हुँदैन भन्ने भाष्य गलत हो ।’