अर्बपति स्लिम : १२ वर्षको उमेरमै बैंकको सेयर किने, मेक्सिकोमा ऋण संकट हुँदा उदाए

  काठमाडौं । मेक्सिकन अर्बपति कार्लोस स्लिम ल्याटिन अमेरिकाको सबैभन्दा ठूला टाइकुन हुन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ८५.४ बिलियन अमेरिकी डलर छ । उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा १८ औं स्थानमा छन् । स्लिमको साथमा ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो मोबाइल फोन अपरेटर ‘अमेरिका मोभिल’ नियन्त्रण गर्ने हिस्सेदारी छ । गत वर्ष यस कम्पनीको राजस्व ४६ अर्ब डलर थियो । स्लिमको करिअर कार्लोस स्लिम हेलुको जन्म मेक्सिको सिटीमा सन् १९४० मा भएको थियो । उनका आमाबाबु लेबनानबाट आएर मेक्सिकोमा बसोबास गरे । उनले १९६१ मा मेक्सिकोको नेशनल अटोनोमस युनिभर्सिटी स्कूल अफ इन्जिनियरिङबाट सिभिल इन्जिनियरिङको डिग्री हासिल गरेका थिए । २५ वर्षको उमेरमा उनले आफ्नै निर्माण कम्पनी ‘इनमाेबिलिएरी कार्सो’ सुरु गरे र ८० को दशकमा तम्बाकू, तामा र खानीमा ठूलो लगानी गरे । त्यतिबेला मेक्सिको ऋण संकटको सामना गरिरहेको थियाे । स्लिमले सन् १९९० को दशकमा रेस्टुरेन्ट र रिटेल चेन सानबोर्न हर्मानोस पनि खरिद गरे । यस अवधिमा उनले सरकारी दूरसञ्चार कम्पनी टेलमेक्स र तार तथा फाइबर अप्टिक केबल उत्पादन गर्ने कम्पनी ग्रुपो कन्ड्युमेक्स पनि खरिद गरेका थिए । कसरी सफलता हासिल गरे ? एक दशकपछि स्लिमले अमेरिकन मोभिलको ब्यानरमा ल्याटिन अमेरिकाभरि मोबाइल फोन अपरेशन खरिद गरे । २०११ मा उनले यसलाई टेलमेक्समा मर्ज गरे । स्लिमको धेरै वाणिज्य बैंक र ऊर्जा कम्पनीहरूमा पनि हिस्सेदारी छ । आफ्नो पारिवारिक लगानी कम्पनी ग्रुपो कार्सोमार्फत उनले मेक्सिकोको निर्माण उद्योगमा पनि लगानी गरेका छन् । स्लिमको सम्पत्तिको ठूलो हिस्सा सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनीहरूबाट आउँछ । उनको आधा दर्जनभन्दा बढी सार्वजनिक कम्पनीमा सेयर छ जसबाट उनले लाभांश पाउँछन् । सन् २००८ मा उनले न्यूयोर्क टाइम्सको ६.४ प्रतिशत सेयर पनि किनेका थिए । एक अन्तर्वार्तामा स्लिमले बाल्यकालदेखि नै उद्यमी बन्ने र बुबालाई काममा सघाउने इच्छा व्यक्त गरेका थिए । सानै उमेरमा उनले बुबाबाट व्यवसायको कला सिके । उनका बुबाले उनलाई वित्त, व्यवस्थापन र लेखाको बारेमा सिकाए । उनले पहिलो पटक ११ वर्षको उमेरमा सरकारी बचत बन्डमा लगानी गर्दा चक्रवृद्धि ब्याजको बारेमा थाहा पाएका थिए । १२ वर्षको उमेरमा उनले मेक्सिकन बैंकमा आफ्नो पहिलो सेयर किनेका थिए । १३ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो । बुबाको व्यवसायको जिम्मेवारी उनको काँधमा आयो । उनले सिभिल इन्जिनियरिङसँगै अर्थशास्त्र पनि पढे ताकि व्यवसायका जटिलताहरू बुझ्न सकियोस् । मौकामा चौका स्लिमले आफ्नो बुबाको व्यवसाय लिन स्टक ट्रेडरको रूपमा कडा मेहनत गरे । सोही मेहनतको बाबजुत २५ वर्षको उमेरमा उनले ३ मिलियन डलर पाए । मेक्सिकोमा ऋण संकट र तेलको अभाव उनीहरूको लागि ठूलो सम्भावना बन्यो । यही मौकाको फाइदा उठाउँदै उनले धेरै कम्पनीहरू सस्तो मूल्यमा किने । त्यसपछि उनले नाफा कमाएर यी कम्पनीहरू बेचेका थिए । (एजेन्सीहरूको सहयोगमा)

३ बैंकले ब्याजदर बढाउँदा ३ बैंकले घटाए, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले ब्याजदर बढाएका छन् । २० वाणिज्य बैंकमध्ये १४ वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राख्दै मंसिर महिनाको ब्याजदर कायम राखेका छन् । साथै, ३ बैंकल मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् । पुसमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् भने कृषि विकास बैंक, एनएमबि बैंक प्राइम बैंकले ब्याजदर बढाएका छन् । नेपाल बैंकले ०.३५ प्रतिशत, सानिमा बैंकले ०.१ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशत ब्याजदर घटाएका हुन् । साथै, कृषि विकास बैंकले ०.०३ प्रतिशत, प्राइम बैंकले ०.५ प्रतिशत र एनएमबि बैंकले १.०३ प्रतिशत ब्याजदर बढाएका हुन् । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज बैंक एनआईसी एशिया बैंकले दिने भएको छ । यस बैंकले अधिकतममा ६.६ प्रतिशत ब्यादर तोकेको छ ।

विश्व बैंकले नेपाललाई साढे १३ अर्ब बढी ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो । नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो । ‘कार्यक्रममा आधारित यो डीपीओ शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्ने छ,’ नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भने । पछिल्लो तीन वर्षयता नेपालले वातावरणीय दिगोपना, सहनशीलता र समावेशी विकासका क्षेत्रमा महत्त्वाकांक्षी कार्ययोजना अघि सार्दै आएको छ । बेरोजगारी, महामारी, कमजोर समूहका लागि आर्थिक अवसरको विस्तार र जलवायु तथा अन्य वातावरणीय जोखिम जस्ता परस्पर जोडिएका चुनौतीलाई सम्बोधन गर्न सरकारले बैंकसँग ऋण लिएर खर्च गर्दै आएको जनाइएको छ । वायु गुणस्तर सुधार, विपद् जोखिम न्यूनीकरणका लागि जलवायु मौसमी सेवा विस्तार, वर्षभर सिंचाइ र सुरक्षित पानी आपूर्ति प्रवर्द्धन गर्दै जल सुरक्षा सुधार, सामुदायिक वन व्यवस्थापन सुदृढीकरण र भूमि सम्बन्धी योजना सुदृढीकरण गर्ने लक्ष्य अन्तर्गत कार्यक्रम सञ्चालनमा छन् ।