केन्द्रीय बैंकको एकै इशारामा शीर्ष धनीहरूले गुमाए ७५ बिलियन डलर, कसलाई धेरै घाटा ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक (फेड)ले नीतिगत ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेको छ । साथै अर्को वर्ष दुईपटक मात्र कटौती गर्ने संकेत दिएको छ । यसअघि सेप्टेम्बरमा अर्को वर्ष चार पटक ब्याजदर घटाउन सकिने बताएको थियो । फेडले ब्याजदरमा कटाैती गर्ने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । डाउ जोन्स इन्डस्ट्रियल औसत १ हजार १२३ अंकले घटेको छ । यो परिसूचकमा लगातार दशौं गिरावट आएको छ । सन् १९७४ पछि यति लामो अवधिसम्म सूचकांक घटेको यो पहिलो पटक हो । एस एन्ड पी फाइभ हन्ड्रेड ३ प्रतिशत र नासडक कम्पोजिट सूचकांक ३.६ प्रतिशतले घट्यो । यसले अमेरिकाका शीर्ष धनीहरूको नेटवर्थमा लगभग ७५ बिलियनको गिरावट ल्याएको छ । एलन मस्क बुधबार अमेरिकी सेयर बजारमा आएको गिरावटका कारण एलन मस्कले सबैभन्दा धेरै घाटा बेहोरेका छन् । टेस्ला, स्पेसएक्स र एक्स लगायतका धेरै कम्पनीहरू सञ्चालन गर्ने मस्कको कुल सम्पत्ति एकै झट्कामा २८.४ बिलियन डलरले झरेर ४५८ बिलियन डलर पुगेको छ । टेस्लाको सेयर ८.२८ प्रतिशतले घटेको छ । विश्वकै धनी व्यक्ति मस्कको यस कम्पनीमा करिब २३ प्रतिशत सेयर रहेको छ । जेफ बेजोस अमेजनका सह-संस्थापक जेफ बेजोसको कुल सम्पत्ति बुधबार ९.७२ बिलियन डलरले घटेको छ । अमेजनको सेयर ४.६० प्रतिशतले घटेर बन्द भयो । बेजोसको कुल सम्पत्ति अहिले २४० अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ६३.२ बिलियन डलरले बढेको छ । मार्क जुकरबर्ग विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्गको कुल सम्पत्ति ७ अर्ब ६९ करोड डलरले घटेको छ । उनी २११ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८३.२ बिलियनले बढेको छ । ल्यारी एलिसन सफ्टवेयर कम्पनी ओरेकल कर्पोरेशनका सह-संस्थापक ल्यारी एलिसनलाई बुधबार ५.५३ अर्ब डलरको झटका लागेको छ । अहिले उनको कुल सम्पत्ति १८८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ६४.९ बिलियन डलरले बढेको छ । ल्यारी पेज ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गुगलका संस्थापक ल्यारी पेजको नेटवर्थ बुधबार ५.५३ बिलियन डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले १६८ अर्ब डलर पुगेको छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा छैटौं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ४१.९ बिलियन डलरले बढेको छ । बिल गेट्स माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको २.६२ बिलियन डलरको गिरावट आएको छ । उनी विश्वका धनी व्यक्तिको सूचीमा सातौं नम्बरमा छन् । अहिले उनको कुल सम्पत्ति १६२ अर्ब डलर छ । यो वर्ष उनको सम्पत्ति २१.५ अर्ब डलरले बढेको छ । बुधबार कम्पनीको सेयर ३.७६ प्रतिशतले घटेको छ । सर्गेई ब्रिन सेयर बजारमा आएको गिरावटका कारण गुगलका सहसंस्थापक सर्गेई ब्रिनको कुल सम्पत्ति ५.१५ अर्ब डलरले घटेको छ । अहिले उनको कुल सम्पत्ति १५८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा आठौं नम्बरमा छन् । यो वर्ष उनको सम्पत्ति ३८.३ अर्ब डलरले बढेको छ । बुधबार गुगलको मूल कम्पनी अल्फाबेटको सेयर ३.५४ प्रतिशतले घटेको छ । स्टिभ बाल्मर माइक्रोसफ्टका पूर्व सीईओ र कम्पनीका प्रारम्भिक कर्मचारीहरूमध्ये एक स्टिभ बाल्मरले बुधबार ५.४७ बिलियन डलर गुमाए । उनको कुल सम्पत्ति अहिले १५२ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा नवौं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति २०.९ बिलियन डलरले बढेको छ । वारेन बफेट प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेटको कुल सम्पत्ति बिहीबार २.७६ बिलियन डलरले घटेको छ । उनी १४० अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १० औं स्थानमा छन् । बफेटको कुल सम्पत्ति यस वर्ष २०.३ बिलियन डलरले बढेको छ। माइकल डेल डेल कर्पोरेशनका संस्थापक माइकल डेलको नेटवर्थ बुधबार ५.८३ अर्ब डलरले घटेको छ । उनी १२२ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ४३.१ अर्ब डलरले बढेको छ । बुधवार डेलको सेयर ४.७४ प्रतिशतले घटेको छ ।

‘ईभीयुगमा व्यापक दृष्टिकोणलाई ध्यान दिइयोस् ताकि अर्थतन्त्रको सन्तुलन अनुभव होस्’ [अन्तर्वार्ता]

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारी (ईभी)को आयात बढेको छ । विशेषगरी दुई पाङ्ग्रेभन्दा पनि चार पाङ्ग्रे ईभीको आयात ह्वात्तै बढेको हो । तर, जुन गतिमा ईभीको आयात बढ्यो, त्यो गतिमा इकोसिस्टम भने बनेन । चार्जिङ स्टेशन, आफ्टर सेल्स सर्भिस, ईभीको लागि अनुकूल सडक, ईभी मर्मतका लागि मेकानिकलगायत विषयको बोरेमा अनुसन्धान र पूर्वतयारी बिना नै नेपालमा ईभीको प्रयोग बढ्यो। यस्तै, पछिल्लो समय ईभीको ब्याट्रीको डिस्पोजको विषय पनि विश्वव्यापी बहसको विषय बनेको छ । आज हामीले नेपालका लागि हुण्डाईको आधिकारिक आयातकर्ता तथा बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुण्डाई)का जनरल म्यानेजर दीपक थपलियासँग यिनै विषयमा कुराकानी गरेका छाैं । प्रस्तुत छ थपलियासँगको कुराकानीको सम्पादित अंश । पछिल्ला वर्षहरूमा नेपालको अर्थतन्त्रमा केही सकस छ भन्छन् । यो असरले अटो क्षेत्रमा कस्तो प्रभाव परेको छ ? त्यति ठूलो असर नपरे पनि केही असर भने परेको नै छ । नेपालमा राम्रो समयमा गाडी आयात वार्षिक रुपमा १५/१६ हजारको हाराहारीमा आयात हुन्थ्यो । अहिले पनि १४ हजारको हाराहारीमा नै गाडी आयात भइरहेको छ । भन्नुको मतलब नेपालमा गाडी भित्रिइरहेको छ । तर, बजारमा भने जस्ताे मन्दी नै छैन त भन्ने प्रश्न आउला । तर, अन्य क्षेत्रमा भने मन्दी छाएको देखिन्छ । नेपालमा आयात भएको गाडीको संख्या हेर्दा मन्दी छैन । तर, अन्य क्षेत्रमा मन्दी छ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ कि सरकारले पेन्सन खर्च जुटाउनका लागि ऋण लिएको छ । अर्थात, जनताले गाडी किन्ने हैसियत गुमाएका छैनन् । तर, देश भने गरिब भइरहेको रहेछ । अहिले पनि हामीले हेर्‍याैं भने राति ८ बजेपछि बजारका सबै सटर बन्द भइसकेको हुन्छ । तसर्थ मन्दीको प्रभाव अन्य क्षेत्रमा भने छ । गाडी केही ग्लामरस वस्तु भएकाले पनि मानिसहरूले ऋण नै लिएर पनि खरिद गरेका पनि हुन सक्छन् । नेपालको अटो बजारमा कार र जीप सेग्मेन्टमा हुण्डाईको हिस्सा कति छ ? नेपालको अटोमोबाइल्स क्षेत्रमा विगत १५ वर्षदेखि हुण्डाईले नेतृत्व गर्दै आएको छ । तर, पछिल्लो समय नेपालमा ईभीको आयात ह्वात्तै बढिरहेको छ । यो अवस्थामा ईभीमा भने हाम्रो हिस्सा कम नै छ । तर, आईसीई इन्जीन (खनिज इन्जनबाट सञ्चालन हुने सवारी) मा अझै पनि हामि नम्बर वानमै छाैं । आईसीई इन्जिनमा भने यो वर्ष हुण्डाईले ४५ प्रतिशत बजार ओगटेको छ । ईभी र आईसीई कम्बाइन गरेर हेर्दा हुण्डाईले १२ प्रतिशत बजार ओगटेको छ । आईसीई क्षेत्रमा हाम्रो बजार ठूलो छ । अन्य ब्राण्डलाई हुण्डाईले धेरै पछि छोडेको छ । आईसीई इन्जिन जसरी नै ईभीमा पनि बजार हिस्सा बढाउँन के कस्तो योजना अपनाउँदै हुनुहुन्छ ? ईभीमा हामीसँग के-कस्तो प्रडक्ट छन् त्यसमा भर पर्दछ । आईसीईमा हामीसँग ईन्ट्री लेभलदेखि प्रिमियम लेभलको सेग्मेन्टको प्रडक्ट छ । ईभीमा चाहीँ सीमित प्रडक्ट छ । ईभीको दुइटा प्रडक्ट छ । जुन अलि प्रिमियम सेग्मेन्ट हो । हामीसँग कोना र आयोनिक फाइभ छ । आयोनिक आफैंमा प्रिमियम भेइकल भएकाले त्यसको लक्षित ग्राहक सीमित छन् भने कोना भने सहरी क्षेत्रका लागि लक्षित गरिएको छ । प्रडक्टको हिसाबले हामी जुन स्पेसमा बस्नु पर्ने हो, त्यसमा छौं । नराम्रो छैन । कुनै समयमा एसयूभीमा क्रेटा नम्बर वान थियो । पछिल्लो समय त्यो क्रेज घटेको हो ? क्रेज घटेको भन्ने कुरामा म सहमत छैन । क्रेज घटेको छैन । हुण्डाईको कुनै समयमा स्यान्ट्रो एउटा ब्राण्ड थियो भने पछि क्रेटा ब्राण्ड भएर आयो । क्रेटाप्रतिको ट्रष्ट मानिसहरूमा उच्च छ । नेपालमा ७० प्रतिशत गाडी ईभीमा आएको अवस्थामा क्रेटा त्यो सेग्मेन्टमा छैन । म १०० मिटरको रेसमा सहभागी छैन भने मेरो क्रेज कमजोर भयो भन्न मिल्दैन । क्रेटा आफ्नो सेग्मेन्टको रेसमा सबैभन्दा अगाडि नै छ । आईसीई सेग्मेन्टमा हुण्डाईको बजार ४५ प्रतिशत, त्यसमा पनि ४० प्रतिशतभन्दा धेरै क्रेटाको छ । भनेपछि ग्राहकले क्रेटा रुचाएका छन्, जुन बेला तुलनात्मक रूपमा ईभीको गाडी सस्तो छ । पछिल्लो ३ महिनामा ३५० यूनिट क्रेटा हामीले डेलिभरी गरिसकेका छौं । अहिले कुनै क्षेत्रबाट पनि आईसीईलाई फेवरेवल नभएको अवस्थामा पनि हामीले राम्रो सेल्स गरिरहेका छौं । केही महिनाअघि नेपाल भित्रिएको हुण्डाईको नयाँ क्रेटाको आकर्षण बढ्दो देखिन्छ । यसमा खास के-के विशेषता छन्, जुन कुरामा उपभोक्ता आकर्षित भएका छन् ? क्रेटा आफैमा पूर्ण एसयूभी हो । जसमा कुनै पनि उपभोक्ताले एक्पेन्सिभ पैसा नहालिकन फुल फङ्सन एसयूभीको जे फिचर्स हो, त्यो इन्जोए गर्न पाउँछन् । मुख्यत: क्रेटाको आकर्षण बढ्नुको कारण त्यो नै हो । कोना र आयोनिक मास सेग्मेन्टमा विश्वको नम्बर वान ब्राण्ड हो । ग्राहकले पनि यसको खुलेरै प्रशंसा गर्ने गर्दछन् । तर, नेपालमा यसको बिक्री भने तुलनात्मक रूपमा कम देखिन्छ । किन यस्ताे भयो ? मार्केटिङ र सेल्समा कम्पनी चुकेकै हो ? दुबै गाडी फेन्टास्टिक छन् । २०१९ मा हामीले उक्त गाडी भित्र्याउँदा डिमाण्ड एकदम उच्च थियो । तुलनात्मक रूपमा मूल्यले ग्राहकहरूलाई गाइड गरिरहेको छ ।सरकारले ईभीलाई छुट दिएको छ । त्यो छुटमा हामीले ल्याउन सकेनौं । त्यसले तुलनात्मक रूपमा कोना र आयोनिक थोरै महँगो हुन गयो । अन्य ब्राण्डको तुलनामा १५ देखि २५ लाख महँगो हाम्रो गाडी पर्न गयो । प्रडक्टको उच्च क्यालिटी र एभरेज मूल्य हुँदाहुँदै पनि कर प्रणालीका कारण सोही सेग्मेन्टका अन्य ब्राण्डको मूल्य तुलनात्मक रूपमा कम देखियो । मूल्य नै मुख्य आकर्षण भैदिएका कारण तुलनात्मक रूपमा कोना र आयोनिकको बिक्री कम भएको हो । तर, बिक्री पछिकाे कुरालाई पनि ग्राहकले ध्यान दिनु जरुरी छ । ईभीको ब्याट्रीको विषयले समस्या आएको भन्ने ग्राहकको गुनासो आउँछ । रिप्लेस र डिस्पोज समस्याको सामाधान के हो ? ब्याट्री भनेको ईभीको एउटा पार्टमात्रै हो । ईभीको धेरै समस्याहरू बुझ्नुपर्छ । ईभी टेक्नोलोजी आफैंमा नयाँ हो । ईभीसम्बन्धी सिप भएका जनशक्ति नै कम छन् नेपालमा । ईभी आफैंमा प्रविधिले भरिपूर्ण हो । आईसीई इन्जिनभन्दा धेरै फिचर्सहरू ईभीमा जडान गरिएका हुन्छन् । धेरै फिचर्सहरू जडान गरिएकाले ईभी गाडी आफैंमा खर्चालु हो । खरिद मूल्य पनि विदेशमा आईसीई इन्जिनभन्दा ईभी अलि महँगो नै छ । नेपालमा आईसीईमा २६० प्रतिशत कर लाग्छ भने ईभीमा ६० प्रतिशत मात्रै लाग्छ । त्यसले गर्दा नेपालमा सस्तो पर्न गएको हो । इन्ट्री सेग्मेन्टको ग्राहकलाई ईभी त्यति अनुकूल होइन, सुरुमा सस्तो परे पनि यसका धेरै फिचर्सहरू भएकाले पछि खर्चालु हुन सक्छ । हामीसँग ईभीको इकोसिस्टम नै बनेको पनि छैन । पछिल्लो दुई वर्षमा हात्तै ईभीको आयात बढ्यो । यसका लागि चाहिने पूर्वाधारहरू जस्तै- चार्जिङ स्टेशन, बाटो, ईभी मर्मतका लागि दक्ष जनशक्ति, स्पेयर पार्ट्स, प्रयोग भइसकेको ब्याट्रीको डिस्पोजलगायत विषयको अध्ययन, उत्पादन र विकास नगरी देशलाई ईभीमय बनाइयो । यसले गर्दा ठूलो समस्या आउनेवाला छ । १०/१२ वर्षपछि ईभीको ब्याडी फेर्नुपर्ने हुन्छ । त्यो पुरानो ब्याट्रीको व्यवस्थापनको बारेमा हामीले सोचेका छैनौं । कसैले यसमा सोच्ने इफोर्ट पनि लगाएको छैन । ब्याट्रीको विषयमा लिथियम आफैमा रिसाइकल हुँदैन । भए पनि धेरै खर्चिलो प्रविधि हुन्छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुनै कम्पनीले पनि प्रि-प्लान बनाएका छैनन् । कागजमा प्लान देखाए पनि व्यावहारिक रूपमा कसैले प्लान बनाएका छैनन् । सरकारले तेल आयात घटाउँछु भन्ने सोचले ईभीमैत्री नीति निर्माण गर्‍यो । तर, तेल आयात घटाउँदा र ईभीमा कर छुट दिँदा त्यसले नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने सोचेन । नेपालमा ४ पाङ्ग्रेको पहिलो एसेम्बल प्लाण्ट हुण्डाईले सञ्चालनमा ल्याएको छ । आफैं एसेम्बल गर्न थालेपछि बजारमा कस्तो प्रभाव पाउनु भयो ? चारपाङ्ग्रे म्यानुफ्याक्चर गर्ने पहिलो कम्पनीभन्दा गर्व महसुस  हुन्छ । हामी सबै पार्ट एसेम्बल गर्छाैं । च्यासिस भने हामी बाहिरबाट नै ल्याउँछाैं । हुण्डाईले नै विश्वको सबै एसेम्बल प्लाण्टभन्दा नेपालको एसेम्बल प्लाण्ट राम्रो भनेको छ । नेपालमा एसेम्बल गरिरहँदा त्यो एसेम्बल प्लान्टमा टेक्निसियन, इन्जिनियर्स र इन्टर्नहरूले काम गरिरहेका छन् । यसले रोजगारी पनि दिएको छ । यससँगै विश्व बजारको टेक्नोलोजीको ज्ञान पनि सेयरिङ भइरहेको छ । जसले नेपाली युवाले विश्वबजारको टेक्नोलोजीको काम जान्न पाएका छन् । त्यो प्लान्टको रेगुलेसनका लागि हुण्डाईको माउ कम्पनी कोरियाबाट नै जनशक्तिहरू खटिएका हुन्छन् । उनीहरूको प्रोटोकलअनुसार त्यो प्लान्ट सञ्चालनमा रहेको छ । त्यसैले प्लान्टमा उत्पादन हुने प्रडक्ट अन्य देशबाट आएका प्रडक्ट जस्तो हो, त्यस्तै हुन्छ । २० मा १९ होइन । २० मा २० नै हुन्छ । यो एसेम्बल प्लान्टले एउटा नयाँ ऊर्जा दिएको छ । एसेम्बलबाट उत्पादित गाडीहरू ५ लाख रुपैयाँसम्म सस्तो पर्दछ । एसेम्बल गर्दा २० प्रतिशतको हाराहारीमा कर छुट हुन्छ । जसमध्ये उपभोक्तालाई हामीले १० प्रतिशत छुट दिएका छौं । बाँकी १० प्रतिशत प्लान्ट सञ्चालनका लागि खर्च गरेका छौं । त्यसमा पनि हामीले रोजगारी पनि दिएका छौं । थोरै भए पनि आयात कम भएको छ । विदेशि विनिमय सञ्चिति बढाउन थोरै भएपनि योगदान गरेका छौं । हामीले एसेम्बलबाट ५ सयको हाराहारीमा उत्पादन गरिसकेका छौं । बाहिरबाट नेपाल भित्र्याउँदा सोही गाडीको मूल्य ५० लाख पर्न जान्छ । नेपालमै एसेम्बल गरेको सोही गाडी हामीले ४५ लाखमा बिक्री गरिरहेका छौं । म अन्य ब्राण्ड बिक्री गर्ने कम्पनीहरूलाई पनि एसेम्बल प्लान्ट बनाउन सुझाव दिन्छु । यदि मार्केटको २० प्रतिशतभन्दा धेरै बजार ओगटेको ब्राण्डले एसेम्बल गर्दा राम्रो हुन्छ । तर, सानो स्केलमा प्रडक्ट गर्नका लागि भने एसेम्बल उपयुक्त हुँदैन ।

‘कन्टेन्ट क्रिएट’मा जम्दै विद्यार्थी, पढ्दै-कमाउँदै

काठमाडौं । ग्रेस चौलागाईं काठमाडौं वर्ल्ड स्कुलमा ए लेभल दोस्रो वर्षमा अध्ययनरत छन् । उनी विज्ञान विषय लिएर अध्ययन गरिरहे पनि उनलाई डिजिटल एड बनाउन खुब मनपर्छ । अहिले पनि फुर्सदको बेला उनी मोबाइलबाटै ब्लगहरू बनाइरहन्छन् । मन पर्ने मात्र होइन, उनलाई भिडियो खिच्न अनि इडिट गर्न पनि आउँछ ।  तर, कुनै इन्स्टिच्युटमा भने उनले सिकेका छैनन् । युट्युबमै गएर कसरी भिडियो बनाउने भन्ने विषयमा हेर्दै सिकेको उनी बताउँछन् । डिजिटल प्लेटफर्ममा यति पोख्त भइसकेका ग्रेसलाई भिडियो खिच्न इडिट गरी आफै मिक्सिङ गर्न आउँछ । ‘मेरो मार्केटिङ क्षेत्र होइन, साइन्स लिएर पढिरहेको छु,’ ग्रेस भन्छन्, ‘अहिले जमाना प्रविधिको छ, टेक्स्ट, अडियोभन्दा पनि भिडियो त्यो पनि सर्ट भिडियोले कम समयमा धेरै सन्देश दिरहेको छ, यो अहिलेको आवश्यकता पनि हो ।’  ग्रेसले सोंचेका थिएनन्, रहरले सिकेको भिडियो बनाउने तरिकाले एक दिन डिजिटल कन्टेन्ट निर्माण प्रतियोगितामा भाग लिनुपर्ला भनेर । तर उनले यस्तै प्रतियोगितामा भाग लिएर टप थ्रीमै पर्न सफल भए ।  आजभोलि कुनैपनि वस्तुको प्रचारप्रसार गर्ने थलो भनेको सामाजिक सञ्जाल बनेको छ । अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अमेरिकामा रहेको वेबस्टर विश्वविद्यालयले नेपाली विद्यार्थीलाई डिजिटल मार्केटिङको विषयमा जानकारी गराइ प्रतिस्पर्धा नै गराएको छ । नेपालमा रहेको सुजिकी नेपाल , सुबिसु र द प्लाजा ब्रान्डसँग समन्वय गर्दै विश्वविद्यालयले विभिन्न ६ वटा विद्यालयका विद्यार्थीलाई डिजिटल मार्केटिङ ‘द कन्टेन्ट मास्टर्सको आयोजना गर्‍यो । विद्यालयभित्रका विभिन्न समूह बनाएर तीनवटै ब्रान्डको ३० सेकेन्डको भिडियो विज्ञापन गर्न लगायो । भिडियो कसरी बनाउने, कसरी खिच्ने यो विषय विद्यार्थी आफैले खोजे । काठमाडौंमा रहेको जेम्स स्कुल, काठमाडौं वर्ल्ड स्कुल काष्ठमण्डप विद्यालय, मालपी इनटरनेसनल कलेज, प्रिमियर कलेजमा अध्ययनरत विद्यार्थीको समूह बनाएर प्रतिस्पर्धा नै गराएको छ । ६ स्कुलका ६३ वटा समूह, समूहमा ३ सय ७८ विद्यार्थीले डिजिटल एड बनाउन सिकेका छन् । यसका लागि  वेबस्टर विश्वविद्यालयले अनलाइनमार्फत् साताकाे २ दिन एक घण्टा कसरी विज्ञापन बनाउने भन्नेबारेमा जानकारी सिकाएको थियो । विद्यार्थीहरूले सुजिकी मोटर्स, सुबिसु र प्लाजाको विज्ञापन बनाएका थिए । ६३ समूहले बनाएका विज्ञापनमध्ये उत्कृष्ट तीन समूहलाई छनोट गरेर प्रथम, द्वितीय र तृतीय छनोट गरी अवार्डसमेत गरेको छ ।  अहिलेको आवश्यकता कन्टेन्ट मास्टर्स वर्कसपमा सहभागी विद्यार्थी यो विषयमा जानकारी लिन पाउँदा खुसी भएको बताउँछन् । ‘मलाई मार्केटिङको बारेमा थाहा थिएन, यसमा भाग लिने थाहा पाइसकेपछि त यसले अनलाइनमा सिकाउने रहेछ,’ ग्रेस भन्छन्, ‘मलाई यो विषयमा झन् चासो बढ्यो ,के रहेछ भनेर बुझ्दै गएँ, त्यहीअनुसार काम गर्दै गएँ, पहिलो कन्टेन्ट बनाइसकेपछि त टप थ्रीमा परें ।’  काठमाडौंका सोनम घिसिङ तामाङ काठमाडौं वर्ल्ड स्कुलमै अध्ययन गरिरहेका छन् । म्यानेजमेन्टमा अध्ययनरत उनले डिजिटल मार्केटिङका विषयमा अध्ययन गर्नुपर्छ  । किताबमा पढेको कुरालाई कसरी प्रयोग गर्ने भन्नेबारे सिकेका थिएनन् । कक्षामा पढाइ भएपनि कसरी वस्तुहरूको डिजिटल मार्केट गर्ने, सबै उपभेक्तालाई आकर्षण गर्ने गरी कसरी विज्ञापन बनाउने भन्ने विषय थाहा थिएन । बजारमा कुनै पनि नयाँ सामग्री ल्याउँदा त्यो सामानबारे जनमानसलाई थाहा हुनुपर्छ । ता कि त्यो सामग्रीको बजार बढोस् । मार्केटिङ विषयमा कसरी आफ्नो वस्तुको मार्केटिङ बढाउने ? यसलाई डिजटल प्रविधिबाट कसरी प्राप्त गर्ने भन्ने विषयमा पढाइन्छ । तर, यसमा कसरी वस्तुको प्रचारप्रसार गर्ने भन्नेबारे विद्यार्थीलाई सिकाइएको हुँदैन । अहिले आफै सर्ट भिडियो बनाउन थालेपछि यो कुरामा सहज भएको उनी बताउँछन् । ‘पढेको कुरालाई प्रयोगमा ल्याउन पाउँदा सहज हुँदो रहेछ । आज हामी आफैले प्रयास गर्दा थाहा भयो,’ उनी भन्छन्, ‘भिडियो सुट कसरी गर्ने, यसको कस्तो पाटोलाई फाल्ने, कस्तो राख्ने, ३० सकेण्डमा एउटा वस्तुको कसरी विज्ञापन गर्ने भन्ने विषयमा थाहा भयो । ’ सुजिकी नेपालका ब्राण्ड एक्सपर्ट करुण शाक्य अहिलेको पुस्तामा डिजिटलाइजेशन भएको बताउँदै कुनै पनि ब्रान्डको जानकारी डिजिटलबाटै दिनुपर्ने बताउँछन् । अहिलेको पुस्ता यो विषयमा निकै अगाडि रहेको बताउँदै उनी मार्केटिङ अध्ययन गर्ने विद्यार्थीमात्र नभइ सबैले यो विषयमा जानकारी लिन आवश्यक रहेको बताए  । विद्यार्थीहरूले बनाएको भिडियो हेरिसकेपछि विभिन्न ब्राण्डका एक्सपर्टले सोचेभन्दा राम्रो विज्ञापन विद्यार्थीले बनाएको बताएका थिए  । सुबिसु केबल नेटका ब्राण्ड एक्सपर्ट सुजन प्रधानले विद्यार्थीहरूसँग अद्भूत क्षमता रहेको बताउँदै आवश्यक ठाउँ चहिएको बताए । आफूले सोचेको भन्दा बिल्कुल फरक थोरै समयमा धेरै जानकारी दिने विज्ञापन बनाउन सफल भएको बताए । नयाँ किसिमको प्रयास नेपाली विद्यार्थीले पढ्न पाउने भनेको पाठ्यक्रममा रहेको विषय हो । कतिपय कलेजले विद्यालयले पढाएको कुरालाई प्रयोग गरेर देखाउने अवसर दिए पनि धेरै ठाउँमा यो सुविधा छैन । उनीहरूले कुनै सीप सिक्न अथवा पढेको कुरा व्यवहारमा लागू गर्न पाएका हुँदैनन् । यही विषयलाई मध्येनजर गर्दै अमेरिकामा रहेको वेबस्टर विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि डिजिटल मार्केटबारे ज्ञान दिने उद्देश्यले कन्टेन्ट मास्टर्स कार्यक्रम गरेको हो । शिक्षा क्षेत्रमा बिरलै मात्र गरिने यो कार्यक्रमले धेरै विद्यार्थीले डिजिटल मार्केटबारे ज्ञान लिएका छन् । वेबस्टर विश्वविद्यालयकी नेपाल प्रतिनिधि जसवानी राना नेपालमा म्मार्केटिङ पढिरका विद्यार्थीलाई मात्र नभए अहिलेका सबै विद्यार्थीमा यो सीप अनिवार्य रहेको बताउँछिन् । नेपालमा अहिले प्रविधिले निकै फड्को मारेको अवस्थामा कलेजमा म्यानेजमेन्ट र मार्केटिङ लिएर पढ्नेको संख्या धेरै रहेकाले यो कार्यक्रम गरेको बताइन् । ‘अहिले मार्केट डिजिटल र एआएआईमा गइरहेको छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा विद्यार्थीलाई पनि यसमा तयार पर्न आवश्यक देखिएकाले वर्कसप गरिएको हो ।’