दुई पांग्रे ईभीमा एथरले मानक स्थापित गर्दैछ: प्रदिप अधिकारी [अन्तर्वार्ता]
काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सावरीसाधन (ईभी)को आयात र व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ । गत भदौमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाडा अटो शो २०२४ मा पनि ईभीकाे वर्चश्व रह्यो । नेपालमा आईसीई इन्धन गाडीभन्दा धेरै ईभी भित्रने क्रम जारी नै छ । त्यसका लागि बिक्रेता कम्पनीहरूले ईभीको ईकोसिस्टम डेभलपमेन्टमा पनि आक्रामक रूपले काम गर्दै आएका छन् । नेपाल विद्युत प्राधिकरणले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका निम्ति विभिन्न स्थानमा ६० भन्दा धेरै चार्जिङ स्टेशन निर्माण गरिसकेको अवस्था छ । अझै देशभरका विभिन्न स्थानमा ठूलो मात्रामा चार्जिङ स्टेशन निर्माणको तयारीमा प्राधिकरण लागि परेको छ। एक हिसावले भन्नुपर्दा नेपाल ईभीमय भएको भान हुन थालेको छ । तर यो ईभीमय केवल चार पांग्रेले मात्र बनाएको छ । अर्थात नेपालमा चार पांग्रे ईभी ठुलो मात्रामा आयात तथा बिक्री भएपनि तुलनात्मक रूपमा दुई पांग्रे ईभीको आयात र बिक्री सुस्त छ । हाल दुई पांग्रे साधनमा ईभीको हिस्सा केवाल ५ प्रतिशतमा सीमित रहेको छ ।नेपालमा सरकारले ईभीको प्रोत्साहनका लागि विगतमा विभिन्न करमा छुट दिएको अवस्था छ । त्यसको फाइदा उठाउँदै चार पांग्रेले देश ईभीमय हुदा दुई पांग्रे ईभीको व्यपार किन बढ्न सकेन ? दुई पांग्रे ईभीको व्यापार बढाउन सरकार र सरोकारवाला निकायले के-कस्तो भूमिका निर्वाह गर्नु पर्दछ ? दुई पांग्रे ईभीका लागि देशमा कस्तो ईकोसिस्टम रहेको छ ? यी लगायतका विषयमा नेपालमा एथर ब्राण्डको ईभी स्कुटर आयात तथा बिक्री गर्दै आएको वैद्य इनर्जी प्रालिका बजार प्रमुख प्रदिप अधिकारीसँग विकासन्यूजले गरेको कुराकानीको सम्पादित अंश : हाल नेपालमा दुई पांग्रे विद्युतीय सवारीसाधनको बजार कस्तो छ ? गत वर्षहरूको तुलनामा दुई पांग्रे सवारीको बजार केही हदसम्म सुधार भएको छ । दुई पांग्रे ईभीको बजार पनि बिस्तारै बढ्दै गएको अवस्था छ । दुई पांग्रे सवारीमा ईभीको हिस्सा ४ देखि ५ प्रतिशत रहेको छ । तर, बढ्दो क्रममा रहेको छ । बजारमा केही विश्वासिला ब्राण्डहरू भित्रिएको अवस्था छ । आजभन्दा ३ वर्ष अघि दुई पांग्रे ईभीको आयात अत्यधिक भएको थियो । धेरै चाइनिज ब्राण्ड थिए । वर्षमा १० हजार यूनिटसम्म आयात भएको अवस्था थियो । केही ब्राण्डहरूले बिक्री गरे तर सर्भिस र पार्ट्समा ध्यान दिएनन् । त्यस प्रकारका ब्राण्ड बिस्तारै पलायन हुँदै गए अनि नयाँ र विश्वासिला ब्राण्डहरू भित्रिए । यसले दुई पांग्रे ईभीमा जनताको विश्वास बढदै गएको छ । नेपालमा दुई पांग्रे ईभीको भविश्य कस्तो छ ? भविष्यमा दुई पांग्रे सवारीमा ईभीको संख्या बढदै जानेछ । तर, चेतना विस्तारमा भने समय लाग्ने देखिन्छ । दुई पांग्रे ईभीको ईकोसिस्टममा अलिक ध्यान दिन जरुरी छ । दुई पांग्रेमा चार्जिङ स्टेशन, स्पेयर पार्ट्स, सर्भिसको विषय सहज तरीकाले उपलब्ध गराउने ब्राण्डहरूकाे कमी थियो, तर अब विश्वासिला ब्राण्डहरूले उक्त विषयमा ध्यान दिएका छन् । पूर्वाधार विस्तार गर्दै आएका छन् । जसले जनताको विश्वास बढ्दै गएको छ । यसले गर्दा दुई पांग्रे बजार ईभीतिर लोभिनेछ । दुई पांग्रे ईभीमा एथर कस्तो ब्राण्ड हो, कतिको विश्वासिलो ब्राण्ड हो ? एथर एक भारतीय ब्राण्ड हो । हाम्रो नारा नै छ- मेड ईन ईण्डिया, मेड फर नेपाल ।’ नेपाल धेरैजसो भूभाग पहाडी भएकाले यसका लागि एथर निकै भरपर्दो छ । यो स्मार्ट, भरपर्दाे र टिकाउ पनि छ । २०२३ को नोभेम्बरमा हामीले एथर भित्र्यायौं । त्यस समयदेखि नै हामीले पूर्वधार निर्माणमा ध्यान दियाैं । फास्ट चार्जिङ स्टेशन, स्पेयर पार्ट्स, बिक्रीपछिको सर्भिस सेवा उपलब्ध गराएका छौं । जसले आमजनताको मन एथर ब्राण्डले जितिरहेको छ । नेपालमा एथर भित्रिएकाे एक वर्षमा हामीले ८ सय भन्दा धेरै यूनिट डेलिभरी गरिसकेका छौं । १६ वटा चार्जिङ स्टेशन निर्माण गरेका छौं । हामीले दुई पांग्रे ईभीको सबैभन्दा ठूलो सर्भिस सेन्टरको विकास गरेका छौं । अब हाम्रो ध्यान सर्भिस सेन्टर, सेल्स, स्पेयर पार्ट्स र चार्जिङ स्टेशन विस्तारमा रहनेछ । एथरका ३ वटा ब्राण्डहरू नेपालमा उपलब्ध छन् । ४५० एक्स एचआर, ४५० एक्स एलआर र ४५० एस । जुन ३ लाख ५० हजारदेखि ४ लाख ४० हजार रुपैयाँसम्म मूल्य पर्दछ । उपभोक्तालाई एउटै मूल्य भएको आईसीई इन्धन दुई पांग्रे कि ईभी किन्दा फाइदा ? यसमा खासगरी ईभी वा आईसीई किन्दा फाइदा भनेर सर्फेसमा भन्न सकिने अवस्था छैन । कुन ब्राण्ड किन्ने हो त्यसमा भर पर्दछ । केही वर्षअघि नेपाल भित्रिएका चाइनिज ब्राण्डहरूमा दुई-तीन वर्षमा ब्याट्री परिवर्तन गर्नुपर्ने हुन्थ्यो । त्यस प्रकारका ईभी किन्नुभन्दा आईसीई ब्राण्ड नै किन्दा फाइदा हुन्छ । तर, एथरजस्ता केही विश्वासिला ब्राण्डहरू पनि नेपाल भित्रिएका छन् । एथरले ब्याट्रीमा ५ वर्षको ग्यारेन्टी दिएको छ । तर, ८ वर्षसम्म ब्याट्रीमा समस्या आएको पाएका छैनौं । आईसीईभन्दा यस एथरजस्ता विश्वासिला ईभी ब्राण्ड किन्दा उपभोक्तालाई फाइदा हुन्छ । ब्याट्री रिसाइकल वा व्यवस्थापनको बारेमा के योजना बनाउनु भएको छ ? हामीले ब्याट्रीमा ५ वर्षको ग्यारेन्टी दिएपनि ८ देखि १० वर्षसम्म ब्याट्रीमा खासै समस्या आएको हामीले पाएका छैनौं । ८ वर्ष पछिको योजनामा ब्याट्रीको रिसाइकलको बारेमा हामीले अध्ययन गर्दैछौं । ब्याट्री रिसाइकल र रिस्टोरेशनको लागि छुट्टै कम्पनी खडा गर्नेबारे पनि छलफल भइरहेको छ । हामी कम्पनी नै खोलेर रिसाइकल, रिस्टोरेशनको काम गर्न सक्छौं । नेपालको दुई पांग्रे ईभीमा एथरको हिस्सा कस्तो छ ? अहिलेको अवस्थामा दुई पांग्रे सवारीमा ईभीको हिस्सा नै सानो छ । त्यसमध्ये एथर पहिलो नम्बरमा छ । दुई पांग्रे ईभीको व्यापार नै सानो भएर डेलिभरी यूनिट कम देखिएला । तर, बिस्तारै बजार बढदै गएपछि हामी आईसीईसँग पनि प्रतिस्पर्धा गर्न सक्छौं भन्ने लागेको छ । यो एक वर्षमा ८ सय भन्दा धेरै एथर डेलिभरी गरेका छौं । आउँदो वर्षमा ३ हजार बढी यूनिट डेलिभरी गर्ने योजना छ । एथरको बजार विस्तार र वृद्धिका लागि के कस्तो योजना बनाउनु भएको छ ? ढिलो चाँडो मानिसहरूलाई ईभीमा कन्भर्ट गर्नुपर्ने अवस्था छ । नेपालमा नै उत्पादन भएको ऊर्जा प्रयोग गरेर सुलभ मूल्यमा नै मानिसले सवारी चढनु पर्छ भन्ने मान्यतामा हामीले काम गर्दैछौं । हाल आईसीई ब्राण्डका सवारीले जसरी सर्भिस पाउन सहज भएको छ, ईभीलाई पनि त्यसरी नै सहज सर्भिस उपलब्ध गराउनु पर्दछ ।जसका लागि हामीले यो वर्षका लागि काठमाडौं उपत्यकामा नै ३ वटा सर्भिस सेन्टरको प्लानिङ गरेका छौं । उपत्यका बाहिर चितवन, पोखरा, बुटवल, इटहरी, विराटनगर, दमक, बिर्तामोड, नेपालगञ्ज, धनगढीमा पनि हामीले सर्भिस सेन्टर विस्तार गर्ने योजना बनाएका छौं । जहाँ पनि हामि शोरुम राख्छौं त्यस क्षेत्रमा चार्जिङ स्टेशन, सर्भिस सेन्टर र स्पेयर पाटर्स डिलर पनि विस्तार गछौं । दुई पांग्रे ईभीको बजार विस्तार गर्न सरकार, व्यवसायी लगायत सरोकारवालाले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ ? व्यवसायीले कुने पनि ब्राण्ड लिएर आउँछ भने त्यसले उपभोक्ताको हितलाई मध्यनजर गर्नु पर्दछ । सर्भिस, स्पेयर र चार्जिङ स्टेशनको पार्टमा काम गर्नु पर्दछ । सरकारले अलिक लचकता अपनाएर दुई पांग्रे ईभीलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । दुई पांग्रे ईभीका लागि सरकारले हालसम्म कुनै पनि चार्जिङ स्टेशन निर्माणको योजना बनाएको छैन । चार्जिङ गर्ने पोर्टहरू पनि फरक-फरक ब्राण्डहरूको फरक-फरक छ । चार्जिङ पोर्टहरू एउटै हुनुपर्ने नियम लागू गरेको खण्डमा एउटा ब्राण्डले निर्माण गरेको चार्जिङ स्टेशनमा सबै ब्राण्डका सवारीले चार्ज गर्न सकिने हुन्छ । यसले गर्दा थोरै पूर्वाधारले पनि धेरै सवारीलाई चल्न सहज हुन्छ । अहिले एउटा ब्राण्डको चार्जिङ स्टेशनले त्यही ब्राण्डको साधनमात्रै चार्ज गर्न मिल्छ । यो दुइपांग्रेमा मात्रै हो । चार पांग्रेमा यस्तो समस्या छैन । यो समस्याको समाधान भएमा मात्रै पनि केही हदसम्म दुई पाग्रे ईभीको बजार बढ्छ । यसैगरी, विद्युत प्राधिकरणले दुई पांग्रेका लागि पनि चार्जिङ स्टेशनहरू निर्माण गरिदिनु पर्यो । यसैगरी, विदेशमा ईभीलाई प्रोत्साहन गर्न सरकारले अनुदान दिने गर्दछ । तर, नेपाल सरकारले त्यसो गरेको छैन । त्यसो नहुँदा विदेशमा ईभीको मूल्य र नेपालमा त्यसको मूल्य तुलना गर्दा नेपालमा केही महँगो पर्दछ । यी विषयमा सरकारले ध्यान दिनु पर्दछ । ईभीमा केही समस्या आएको खण्डमा स्वयं चालकलाई पनि त्यस विषयमा ज्ञान नहुने र प्राविधिक पनि नपाइने समस्या छ । यो समस्या कसरी समाधान गर्न सकिन्छ ? यो विषय समस्याको विषय नै हो । हामीले पनि एथर नेपाल ल्याउँदा त्यस विषयमा जानकार भएका प्राविधिकहरू पाउन कठिन भएको थियो । त्यसैले भारतबाट नै प्राविधिकहरू यहाँ ल्याएका थियाैं । भारतमा लगेर धेरैलाई तालिम पनि लिने अवसर पनि हामीले जुराएका थियौं । अन्य ब्राण्डहरूले पनि यस विषयमा गर्भिर हुनुपर्दछ । वर्कसपहरूलाई पनि केही विषयहरूलाई तालिम दिनुपर्ने अवस्था छ । ताकि सवारीमा समस्या भएर सर्भिस सेन्टर पुग्न नसकेको अवस्थामा नजिकैको वर्कसपमा गएर समस्याको समाधान गरोस् । व्यापकरूपमा तालिम सञ्चालन गर्नुपर्ने जरुरत छ ।
सुलभ बुढाथोकी : १५ सयको जागिरदेखि दुई दर्जन कम्पनी मालिकसम्म, बिलियन डलरको यात्रामा (भिडियो स्टोरी)
काठमाडौं । नेपालका निजी तथा सरकारी स्कूल/कलेजले विद्यार्थीहरू पाएनौं भनेर रोइकराइ गरिरहँदा सुलभ बुढाथोकीले सञ्चालन गरेका एक दर्जन शैक्षिक संस्थाहरू भरिभराउ छन् । देश बिग्रियो, आर्थिक मन्दी भयो भन्ने आवाज बढिरहँदा बुढाथोकी भने देश बन्छ, बन्दैछ भन्ने आत्मविश्वास बढाइरहेका छन् । धेरैले देशमा वस्तु आयातमात्रै बढ्यो, व्यापार भएन, अब डलर पाउन पनि हम्मेहम्मे हुन्छ भन्ने धारणा राखिरहँदा उनी भने केही वर्षभित्रै देशमा ‘मिलियन्स अफ डलर’ अर्थात् सयौं मिलियन डलर नेपाल भित्र्याउने रणनीति बुनिरहेका छन् । युवाहरू देशमा रोजगारी पाएनौं भनेर पलायन भइरहँदा उनी आफ्नो प्रत्येक विद्यार्थीलाई पढाइसकेको भोलिपल्टै जागिर लगाउँछन् । बुढाथोकी यो किसिमको आत्मविश्वास, यो दृढता र जाँगर कसरी आयो ? हामीले उनलाई सुरुमा यही जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘कसैले तैंले यो काम गर्न सक्दैनन् भन्यो भने मैले त्यो कामलाई जसरी पनि गर्नैपर्छ, एउटा कामको पछि लागेपछि त्यो काम नसकिँदासम्म पछि हट्दिनँ, घरपरिवारले पनि मलाई लिँडे भन्छन्, समस्याबाट भाग्ने बानी ममा छैन, बरु समस्याभित्रै अवसर खोजेर हिँड्छु ।’ सानैदेखि केही पृथक किसिमको काम गर्न रुचाउने बुढाथोकीको जन्म ललितपुरको इमाडोलमा भयो । मीनभवनमा रहेको ईपीएस स्कूलबाट विद्यालय तह पास गरेका उनले सन् १९९४ मा एसएलसी (हालको एसईई) सकाए । शंकरदेव कलेज र मीन भवन क्याम्पसबाट उच्च शिक्षा पुरा गरे । एसएलसी पास गरेदेखि नै सूचना प्रविधि (आईटी) पढ्ने रुचि थियो उनमा । तर त्यतिबेला अहिले जस्तो सूचना प्रविधि पढ्ने कलेज नै खुलेका थिएनन् । सुरुमा बुढाथोकीको परिवारको स्टेशनरी कारखाना थियो । मोटरसाइकल चलाउनैका लागि भएपनि त्यो कारखानामा गइरहने दैनिकी थियो उनको । तर, विडम्बना पछि कारखाना बन्द भयो । त्यो तीतो अनुभव सुलभसँग छुट्टै छ । त्यही बेला उनले आईटी पढ्ने योजना बनाए । त्यतिखेर आईटीको औपचारिक शिक्षा थिएन । विगत स्मरण गर्दै उनी भन्छन्, ‘जमलमा रहेको एनएआईएटी नामक ट्रेनिक इन्स्टिच्युटमा तालिम लिएँ, कम्युटरको आधारभूत ज्ञान पनि थिएन, सरले कम्प्युटर बन्द गर्न लगाउँदा मैले अर्कै बटन थिचेको अहिले पनि सम्झिन्छु । बिस्तारै ट्रेनिङ लिँदै सिक्दै गइयो, कम्प्युटरमा लेवलअप गर्दै अघि बढियो ।’ सिकाइसँगै बुढाथोकी कम्प्युटर ट्रेनिङ सेन्टरमा काम गर्न थाले । मासिक १ हजार ५ सय रुपैयाँ तलब थियो उनको । ल्याबमा काम गर्नु र विद्यार्थीलाई पढाउनु उनको दैनिकी बन्यो । तर, विस्तारै त्यो संस्था पनि वित्तीय रूपमा समस्यामा पर्न थाल्यो । विद्यार्थी तीन जना मात्रै बाँकी रहे । सन् २००२ मा सञ्चालकहरूले संस्था नै बन्द गर्ने निर्णय गरे । त्यतिबेलासम्म बुढाथोकीले भारतको बैंगलोरमा गएर आईटीमा उच्च शिक्षा पनि हासिल गरेका थिए । आईटीमा राम्रो ज्ञान बनाइसकेका उनीभित्र अमेरिका जाने इच्छा पनि पलाएको थियो । तर, त्यो बन्द गर्ने संस्था नै चलाउने कि भन्ने योजना पनि बनाए उनले । ‘मैले अमेरिका जाने साेंच बनाएको थिएँ । तर, देश छोडेर विदेश किन जानु भनेर यही संस्था किन्ने विचार गरेँ । तर, सुरुमा उनीहरूले दिन मानेनन्, पछि म सक्छु भनेर कन्भिन्स गरेपछि मलाई बिक्री गरे,’ उनी विगत सम्झिँदै भन्छन्, त्यतिखेर वित्तीय रूपमा समस्यामा परेको संस्था नै मैले टेकओभर गरेपछि अहिलेको इस्लिङ्टन र आईएनजी बनेको हो ।’ सुरुको डुबेको बिआरएस इन्फोटेक पछि नाम परिवर्तन गरेर इस्लिङ्टन राखिएको बुढाथोकीको भनाइ छ । त्यो संस्था किन्दा उनको परिवार उनीसँग रिसाएका थिए । आईटीमा राम्रो ज्ञान भएको आफ्नो छोरोले राम्रो जागिर खानसक्छ भन्ने आत्मविश्वास उनको आमाबुबामा थियो । उनको बुबाले अमेरिका गए पनि हुन्छ नभनेका होइनन् । किनकि अमेरिकामा उनले राम्रो कमाइ गर्न सक्थे । तर, उनले डुबेको संस्था किने । परिवार भने उनको त्यो निर्णयमा सन्तुष्ट थिएन । २ दर्जन कम्पनी हाँक्दै एक हजार ५ सय रुपैयाँको तलब खाने बुढाथोकी अहिले दुई दर्जन कम्पनीको मालिक बनेका छन् । त्यसमा एक दर्जन शैक्षिक संस्था छन् । तीन जना विद्यार्थी, एक/दुई जना शिक्षक र डुबेको संस्थाबाट सुरु भएको उनको यात्रा लाख बढी विद्यार्थी, सयौं शिक्षक र दर्जन शैक्षिक संस्थामा बिस्तार भएको छ । यो छोटो अवधिमा उनी शिक्षा र सूचना प्रविधिको क्षेत्रमा एक सफल उद्यमीका रूपमा स्थापित भएका छन् । अहिले उनले इनोभेट नेपाल ग्रुप (आईएनजी) मार्फत व्यवसाय बिस्तार गरिरहेका छन् । आईएनजी ग्रुपमार्फत् २५ वटा संस्था सञ्चालित छन् । त्यसमध्ये १० वटा स्कुल तथा कलेज छन् । ती शैक्षिक संस्थामा उच्च शिक्षातर्फ ११ हजार, टेक्नोलोजीतर्फ माई सेकेण्ड टिचरमा झन्डै एक लाखको संख्यामा विद्यार्थी रहेको उनले जानकारी दिए । बुढाथोकीले ती शैक्षिक संस्थामा १७ सय कर्मचारी रहेको सुनाए । ‘हामीले आईएनजी ग्रुपमार्फत एउटा प्रणाली नै विकास ग¥यौं । माई सेकेण्ड टिचरले स्कुल शिक्षा सुधार गर्छ, त्यस्तै ब्याचलर एजुकेशनको लागि पनि हाम्रो आफ्नै इकोसिस्टमले काम गर्छ । ब्याचलर पूरा गरेर निस्किएको जनशक्तिलाई नै प्रयोग गरेर हामी प्रडक्ट मार्केटमा गयौं, अहिले कक्षा ११ र १२ को एकेडेमिक टिम बाहेक ९० प्रतिशत जनशक्ति हाम्रो आफ्नै विद्यार्थीहरू हुन्,’ उनले भने । व्यवसायहरू इस्लिङ्टन कलेज, कमलपोखरी हेराल्ड कलेज, नक्साल इटहरी इन्टरनेश्नल कलेज इन्फोमेरिक्स कलेज, पोखरा विराटनगर इन्टरनेश्नल कलेज काव्य स्कुल, नयाँ वानेश्वर एपेक्स कलेज, मध्येवानेश्वर माई सेकेण्ड टिचर स्किल एकेडेमी आईएनजी कन्सल्टिङ भैरव टेक इनोभेट टेक साइबर साथी आईएनजी फुड वान मोर कप वान मोर बाइट आईएनजी एआरसी आईएनजी स्टुडियो कलेजसँगै आईएनजी ग्रुपले नेपालमा पहिलो पटक अर्थात सन् २०११ मा साइबर सेक्युरटीको पनि पढाइ सुरु ग¥यो । आज देशको सबैभन्दा ठूलो साइबर सेक्युरेटी कम्पनीका रूपमा आईएनजी ग्रुपकै भैरव टेक अगाडि छ । ‘आजभन्दा १३ वर्ष अगाडि नेपालमा पहिलो पटक साइबर सेक्युरेटी पढाउन सुरु गर्यौं, त्यही प्रडक्ट प्रयोग गरेर आईटी उद्योगको सेटअप गर्यौं, आज भैरव टेक नेपालको पहिलो र सबभन्दा ठूलो साइबर कम्पनी भनेर सुन्दा गर्व लाग्छ,’ बुढाथोकीले खुसी हुँदै भने । भैरव टेकले यूरोप, अमेरिकादेखि जापान, अस्ट्रेलिया, बंगलादेश लगायतका विकसित राष्ट्रका ठूल्ठूला कम्पनीसँगै कतिपय क्लाइन्टहरूको लागि साइबर सेक्युरेटी सेवा दिँदै आएको छ । नेपालबाट विदेशको सेक्युरेटी कम्पनीले हेरिरहेको छ । टोयोटा फाइनान्सियल सर्भिसेसको साइबर सेक्युरिटी, युनाइटेड नेशन्स स्विट्जरल्याण्डको एउटा पार्ट, केही समयअघि सम्पन्न भएको पेरिस ओलम्पिकको साइबर सेक्युरिटी यही भैरव टेकले गरेको हो । आईएनजीको इकोसिस्टममा आज विभिन्न ५५ वटा देशमा उपस्थिति रहेको बुढाथोकीले सुनाए । इस्लिङ्टनले थाइल्याण्डको कलेजलाई यहींबाट व्यवस्थापन गरिरहेको पनि जानकारी दिए । एउटा डुबेको संस्थालाई सुधार्न सक्छु भन्ने जुन आँट र जोश उनले लिए, त्यसले सार्थकता मात्रै पाएको छैन, आज ५५ देशमा आफ्नो उपस्थिति देखाएका छन् । ‘समस्यासँग लड्दै र जुद्दै अगाडि बढ्दैछु, कोरोना महामारीको बेला धेरै मानिस घरभित्रै बसे, हामीले सबै कलेजलाई अपग्रेड ग¥यौैं, माई सेकेण्ड टिचरको ग्रोथ कोरोनाकै बेला भएको हो, चुनौतीको बेला अरू सुते, हामीले १८ घण्टा काम ग¥यौं, आज यो सफलता मिलेको छ,’ बुढाथोकीले सुनाए । अहिले आईएनजीले काठमाडौंसँगै पोखरा, विराटनगर र इटहरीमा कलेज चलाइरहेको छ । काठमाडौंमै प्रविधिबाटै शिक्षा दिने काभ्या स्कूल पनि सञ्चालित छ । माई सेकेन्ड टिचर अहिले देशका एक सयभन्दा बढी विद्यालयमा चलिरहेको छ । एक लाख विद्यार्थीले यसैको प्रविधिबाट पढिरहेका छन् । विद्यार्थी नै बिजनेस पाटर्नर बुढाथोकीले विद्यार्थीलाई पढाएर मात्रै आफ्नो ड्युटी सकियो सोचेका छैनन् । पढेका विद्यार्थीलाई काम दिनुलाई उनले आफ्नै जिम्मेवारी ठाने । ‘यस वर्ष १ हजार ९५७ जनाले स्नातक उत्र्तीण गरे । ‘ग्र्याजुएट भएको एक महिनाभित्र १९०० जनालाई जब जागिर दिलायौं । सम्पर्कमा नआएकाले ५७ जनालाई काम लगाउन बाँकी छ । मेरा विद्यार्थीमध्ये एक जनालाई मात्र जब प्लेसमेन्ट गर्न बाँकी थियो भने तपाईंसँगको अन्तरवार्ता मेरो प्राथमिकतामा पर्दैन थियो,’ उनले भने । विद्यार्थीसँगको सहकार्यमा बुढाथोकीले अर्को राम्रो अभ्यास गरेका छन् । आफ्ना विद्यार्थीहरूलाई सकेसम्म आफ्नै व्यवसायमा जागिर दिने । व्यवसाय गर्न चाहनेलाई व्यावसायिक साझेदार पनि बनाउने । उनको यही रणनीतिअनुसार आईएनजी अन्तर्गतको शैक्षिक संस्थामा आवद्ध अधिकांश कर्मचारी सोही संस्थाका पूर्वविद्यार्थी रहेका छन् भने व्यावसायिक साझेदार पनि उनका विद्यार्थीहरू नै रहेका छन् । ‘यो ग्रुपको नेतृत्व मैले गरेको छु । तर, मेरो सवल पक्ष भने पनि मेरो मन, मुटु र मस्तिष्क जे भने पनि त्यो सबै मेरो टिम हो, आज आफ्नो टिम देखेर गर्व लाग्छ,’ उनी भावुक हुँदै भन्छन्, ‘मेरो टिमले मभन्दा बढी दुःख गरेको छ ।’ हाल यो ग्रुपको उच्च शिक्षातर्फको नेतृत्व गरिरहेका प्रकाश श्रेष्ठ आईएनजीकै प्रडक्ट हुन् । बुढाथोकी भन्छन्, ‘प्रकाश हाम्रो संस्थामै पढेको, एकदमै दुःख गरेको व्यक्ति हुन्, उनले पढाइ सक्नासाथ टिचिङ असिस्टेन्टबाट काम सुरु गरेर जुनियर लेक्चरल, लेक्चरल हुँदै हेराल्ड कलेजको सीईओ भएर अहिले सम्पूर्ण उच्च शिक्षाको नेतृत्व गरिरहेका छन् ।’ इटहरी इन्टरनेशनल कलेजका सीईओ सत्यव्रत कोइराला, इस्लिङ्टनको सीईओ रोहित पाण्डे, स्किल एकेडेमीका अभिनव दाहाल र साइवर सेक्यरिटीमा संसार हाँकिराखेका भैरव टेकको सीईओ विजय लिम्बु, माई सेकेण्ड टिचरकी मीरा भट्टराई बुढाथोकीकै विद्यार्थी हुन् । उनीहरू सानोबाट अपग्रेड हुँदै अहिले नेतृत्वमा पुगेका हुन् । ‘यी सबैजना कतैबाट बोकेर ल्याएर नेतृत्वमा राखिदिएको होइन, शून्य अवस्थाबाटै नङ्ग्रा खियाएर दुःख गर्दै माथि पुगेकाहरू हुन्, अरु पनि धेरै जना हुनुहुन्छ मेरो टिममा, ९० प्रतिशत कर्मचारी सानोदेखि नै ग्रुम भएका छन्, उनीहरू नै मेरो भविष्यको बिजनेस पार्टनर हुन्,’ उनले भने । बुढाथोकी टिममा विश्वास गर्छन् । टिम नै आफ्नो स्ट्रेन्थ मान्छन् । ‘स्नातक पास गरेका आफ्ना विद्यार्थीलाई विश्वास गर्दै आउँदा आज अधिकांश ९० प्रतिशत नेतृत्वमा हुनेहरू आफैले पढाएकाहरू छन्, उनीहरू नेतृत्वमा छन्, हामीले एक किसिमको इकोसिस्टम विकास गर्न सफल भएका छौं,’ उनले खुसी हुँदै भने । विद्यार्थी यस कारण रोज्छन् आईएनजी अहिले अधिकांश विद्यालय तथा कलेजहरू विद्यार्थी नपाएर बन्द हुने अवस्थामा हुँदा आईएनजीले सञ्चालन गरेका शैक्षिक संस्थामा भने विद्यार्थी भरिभराउ छन् । यो कसरी सम्भव भयो ? बुढाथोकी यसको जवाफ दिँदै भन्छन्, ‘हामीले विद्यार्थीले चाहेको कुरा सिकायौं, व्यवस्थापन, पाठ्यक्रम समयानुकूल हुनुप¥यो, पुराना पाठहरू घोकाएर अहिलेको विद्यार्थी बस्न सक्दैनन् ।’ स्कुल/कलेजका आन्तरिक व्यवस्थापनदेखि शैक्षिक प्रवृत्तिमा नयाँ जेनेरेशन अनुकूलको वातावरण, अहिलेको पुस्ताको रुचिअनुसारको सिकाइ प्रणाली र सीपयुक्त शिक्षा दिन सकेमा विद्यार्थीहरू विदेश नजाने र विदेश गएकाहरू पनि फर्किने वातावरण बन्ने उनको भनाइ छ । देशभित्रको स्कुल/कलेजमा विद्यार्थीको संख्यामा ह्रास आउने, विदेसिनेले डलरमा खर्च गर्नुपर्ने बाध्यताको पछाडि एउटै कारण रहेको बुढाथोकीले सुनाए । विद्यार्थीलाई नचिन्दा र उनीहरूको अपेक्षा पूरा गर्न मद्दत गर्ने शिक्षा नहुँदा अहिले युवाको रोजाइ विदेश बन्ने गरेको उनको भनाइ छ । ‘अहिलेको ‘जेन जी’ जेनेरेशनका विद्यार्थीलाई उही दशकौं पुरानो शिक्षा पद्धतिमा जवर्रजस्त जोड्न खोजेपछि उनीहरूमा सीप र क्षमता विकास कसरी हुन्छ ?,’ उनी प्रश्न गर्दै भन्छन्, ‘अनि समय सुहाँउदो भविष्य खोज्न वैदेशिक शिक्षा र रोजगारीमा विद्यार्थी पलायन नभएर के गरुन् त ?’ ‘पढाउने शिक्षण संस्थाको हालत हेरौं, चार÷पाँच पुस्ताले प्रयोग गरेको उही पुरानो फर्निचर, त्यसपछिका पुस्ता आउँदा समेत फेरिएको हुँदैन । हालको जेनेरेशन निकै पर साेंचेर बसेका छन्, उनीहरूको सोचलाई बुझेर सन्तुष्टि दिने किसिमका स्रोतसाधन नेपालका स्कुल÷कलेजमा छैनन्, गतिलो कोर्स छैन, विश्वको कुन कुनामा के भइरहेको छ भनेर विद्यार्थीले घरमै थाहा पाउँछन् अनि स्कुल÷कलेजको त्यो हाल देखेपछि विदेश जान उप्रेरित हुनु स्वाभाविक हो,’ उनी थप्छन्, ‘हाम्रा स्कुल÷कलेज विद्यार्थीलाई ९० को दशकको शिक्षा प्रणालीमै तान्न चाहन्छन्, त्यो कसरी सम्भव छ अबको समयमा ?’ बुढाथोकी विद्यार्थीहरूले राम्रो नम्बर ल्याएर पास गरेपछि राम्रो जागिर पाइन्छ भन्ने मानसिकतालाई त्यागेर घोकेर नम्बर ल्याउनेभन्दा आफै बुझेर सिकेर अघि बढ़ने मनोवृत्ति विकास गर्न आवश्यक रहेको बताउँछन् । शैक्षिक प्रणालीको विकास नै नयाँ तवरले गर्न जरुरी रहेको उनको भनाइ छ । अहिले धेरै कम्पनीले सीपयुक्त जनशक्ति नपाएको उनको भनाइ छ । आफूहरूले कम्पनी र विद्यार्थीबीचको दूरीलाई जोड्ने कामको व्यवस्थापन गरिरहेको सुनाए । ‘बालबालिकालाई नम्बरको पछि कुदाएर मात्र सामथ्र्यवान बनाउन सकिँदैन, ‘बच्चाहरूसँग समस्यासँग जुध्न सक्ने क्षमताको विकास गराउन आजको शिक्षाले सकेको छैन, भावनात्मक रूपमा पनि उनीहरू स्वयंलाई सम्हाल्न सक्ने मनोवृत्ति विकास गर्ने शिक्षाको खाँचो छ, त्यसमाथि विश्वविद्यालयसम्म पुगेर डिग्री लिएकालाई पनि डिग्रीको उपयोगिता यो वा त्यो क्षेत्रमा छ भनेर बुझाउनुपर्ने भएको छ । त्यहाँनिर हामी सबैले काम गर्न जरुरी छ,’ उनले भने । विश्वविद्यालयहरूको प्रणाली नै खराब रहेको बुढाथोकी सुनाउँछन् । राजनैतिक नेतृत्व र व्यवस्थापन पक्षले सोंच नै परिवर्तन गर्न नसकेको उनको बुझाइ छ । ‘म आफै पोखरा विश्वविद्यालयमा आवद्ध छु, त्यहाँ पनि सुधार जारी राखेका छौं, यही रफ्तारमा अघि बढे त्यसले नेपालको शैक्षिक प्रणालीमै सुधार ल्याउँछ । तर, हामीले परिवर्तन कहाँ गर्नु पर्छ भने जति धेरै विद्यार्थीलाई विश्वविद्यालयले फेल गरायो उति नै विश्वविद्यालय तगडा हुन्छ भन्ने जुन भ्रम बाहिर छरिएको छ, त्यसलाई जति सक्दो चाँडो चिर्नु आवश्यक छ,’ उनले भने । अर्को यति जनाभन्दा विद्यार्थी पढाउन पाइँदैन भन्ने कोटा सिस्टमको थ्रेसहोल्ड हटाउन आवश्य रहेको उनको बुझाइ छ । अर्बौंको कारोबार, डलर कमाउने रणनीति केही वर्षअघि सिङ्गापुरमा बेलायतका स्कुल/कलेजहरूमा आधुनिकीकरणको शिक्षा के कसरी अगाडि बढाउने, अबको डिजाइन कस्तो हुन्छ भन्ने विषयमा एउटा कार्यक्रम भयो । संयोगवस बुढाथोकी त्यहाँ पुग्ने अवसर पाए । छलफलका लागि फिलिपिन्स, भारत, सिङ्गापुर र भियतनाम लगायतका देशका शिक्षाविदहरू त्यहाँ पुगे । ‘त्यहाँ एउटा डिजाइन तयार भयो । नेपालमा मैले काम गर्छुभन्दा त्यहाँ भएका अधिकांश मानिस हाँसे,’ उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘उनीहरूले हामीलाई नेपाली भनेर पत्याएका थिएनन्, अहिले पनि नेपाललाई आईटीमा अझै पत्याउँदैनन् । त्यो छलफलमा रहेका मुख्य व्यक्ति र मेरो पनि मेन्टर एवं व्यवसायिक पार्टनर पनि भएकोले अन्तिममा प्रोजेक्ट मैले पाएँ, त्यतिबेला मैले आफ्नै स्रोतसाधनबाट सिस्टम बनाएर दिन्छौं भन्ने सर्त थियो ।’ ११ हजार विद्यार्थी, १ हजार ७०० कर्मचारी, २५ वटा कम्पनी, ५५ देशमा आईटी व्यापार गरिरहेको आइएनजी ग्रुपका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकी आगामी ४ वर्षपछि आफ्नै नेतृत्वमा रहेका कम्पनीले वार्षिक कम्तिमा २०० मिलियन अमेरिकी डलर नेपाल भित्र्याउनेमा विश्वस्त छन् । बुढाथोकी आफैले सिस्टम बनाएर दिने, सोही सिस्टम नेपालमा प्रयोग गर्न पाउनुपर्ने, कपिराइट पनि आफ्नो अधिनमा हुनुपर्ने र रोयल्टी फ्रि चलाउन पाउनुपर्ने सर्त राखे । त्यतिबेला प्रोजेक्टको १० मिलियन डलर भ्यालु थियो । तर, उनले पैसा नलिएर नेपालको शैक्षिक गुणस्तर सुधार गर्ने ठाने । अहिले उनलाई नेपाल मात्र होइन, साउथ एसियाकै स्वामित्व छ । यसरी सुरु भएको हो ‘माई सेकेण्ड टिचर’ । भारतमा कसैले यो नाममा चलाउन चाहन्छ भने बुढाथोकीको अनुमति चाहिन्छ । अहिले ५१ वटा देशले यो सिस्टम प्रयोग गर्छन् । यसको डिजाइनर क्याम्ब्रिज विश्वविद्यालयका शिक्षाविद्हरू हुन् । आईएनजी ग्रुपको वार्षिक ३ सय करोडको कारोबार छ । अहिले इस्लिङ्टन कलेज, हेराल्ड कलेज, इटहरी इन्टरनेशनल कलेज, इन्फोमेरिक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, काव्य स्कुल, एपेक्स कलेज र माई सकेण्ड टिचर लगायतको माउ अर्गनाइजेसन आईएनजी ग्रुप नै हो । ‘हाम्रो वार्षिक कारोबार ३ सय करोडको हाराहारीमा पुग्छ, सेल्फमेड आईटीमा आधारित, शैक्षिक, ट्रेनिङ र सामाजिक उद्यमशीलताबाट बिलियन डलर कमाउने युनिकर्न कम्पनी बनाउने लक्ष्य छ । बिलियन डलर कमाउने युनिकर्न कम्पनी बनाउँछु भन्दा धेरैलाई हाँसो लाग्ला । तर, सपना देख्दा मिडियम साइजभन्दा निकै माथि उठेर देख्नुपर्छ,’ उनी भन्छन्, यो एकदिन पक्कै सम्भव हुनेछ ।’ बुढाथोकीले अहिले पनि विदेशबाट नेपालमा डलर भित्र्याउने काम गरिरहेका बताए । उनी भन्छन्, ‘अघिल्लो वर्ष एक मिलियन डलर हामीलाई आएको थियो, कुनै पनि टेक्नोलोजी प्रडक्टमा आइसकेपछि बजारमा पुगेर साइकल समात्न समय लाग्छ । त्यो साइकल कम्तिमा १० वर्षको हुने रहेछ, हामी अहिले छैटाैं वर्षमा छौं । अबको चार वर्षमा जे जति हामीलाई आउँछ, सायद अहिले नेपालले त्यसको कल्पना पनि गरेको छैन, त्यो लेवलको लाभ हामीलाई हुन्छ ।’ अबको चारदेखि पाँच वर्षको समयावधिभित्र कम्तिमा असफल नै भए भने पनि २ सय मिलियन डलर नेपाल ल्याउने लक्ष्य रहेको बुढाथोकीले सुनाए । त्यो भनेको अहिलेको नेपालको २७ अर्ब बढी हो । ‘हामीले जग बलियो हालेका छौं, डिपीसी बाक्लो छ,’ उनी भन्छन्, ‘यही रफ्तारमा गयौं भने टार्गेट पूरा गर्न अर्थात् छत हाल्न धेरै समय लाग्दैन ।’ नेपाल उद्योग परिसंघले आगामी १० वर्षभित्र ३० खर्बको आईटी निर्यात गर्न सकिने प्रक्षेपणसहित सरकारलाई वातावरण बनाउन सुझाव दिएको छ । सरकार पनि सकारात्मक नै देखिन्छ । त्यो लक्ष्य पूरा गर्न निजी क्षेत्रले भरपुर सहयोग गर्ने बुढाथोकीको भनाइ छ । ‘सरकारले देख्दै नदेखेको आईटी क्षेत्रले गत वर्ष सवा खर्बको आईटी निर्यात गरेको छ, आईटीमा लागेर ८/१० लाखको कमाइ गर्ने धेरै छन् । फ्रिलान्सिङ गरेर पनि एक/डेढ लाख रुपैयाँ कमाइ गरिरहेका छन्, त्यसैले आईटी क्षेत्रको भविष्य निकै उज्वल छ, अवसरहरू धेरै छन्,’ उनी भन्छन्, ‘सरकारले आईटी क्षेत्रलाई अब प्राथमिकतामा नराख्नुको विकल्प छैन ।’ पहिला आफै सस्टेन भएर समाजलाई रिटर्न दिने सामाजिक उद्यमशीलताको मोडलमा आफू लागिरहेको उनको भनाइ छ । ‘शिक्षातर्फ कलेजहरूको नाफाबाट माई सेकेण्ड टिचर बनायौं, आईटीमा भैरवलाई ग्रोथ गरायौं । अबको पाँच वर्षपछि यी दुई संस्थाले २ सय मिलियन डलर नेपाल भित्र्याउँछन्,’ उनी भन्छन्, ‘त्यसपछि युवाहरू किन विदेश जानु प¥यो ?’ ‘हामीले एउटा इकोसिस्टम बनाएका छौं, अब नेपालमै युवाहरूलाई रोजगारी दिएर राख्छौं । युवा सक्षम हुनासाथ उसको परिवार सुखी हुन्छ, उनीहरू सक्षम भएपछि समाजलाई कुनै न कुनै रूपमा सेवा गर्छन्, त्यसरी नैं अघि बढ्दै जाने हो भने देश बन्छ । मैले गर्न चाहेको सामाजिक उद्यमशीलता पनि यही नै हो,’ उनी भन्छन्, ‘आपसमा जोडिएर आफू पनि ग्रोथ गर्ने समाजलाई पनि हेर्ने योजना छ।’ देशमा भविष्य छैन भनेर पलायन भइरहेका विद्यार्थीका लागि एउटा उदाहरण हुन् बुढाथोकी जसले सुरुमा अमेरिका जाने योजना बनाएर पछि आफ्नै देशमा केही गर्ने प्रण गरे । डुबेको संस्थालाई किनेर एउटा ब्राण्ड स्थापित गरे । ‘विद्यार्थी भाइबहिनीलाई नेपालमै अवसर छ भन्ने सन्देश हामीले दिएका छौं, स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्दैछौं, हामीसँग जोडिएका विद्यार्थीलाई ग्रुम गर्दै अगाडि बढाइरहेका छौं, आईएनजी आफू सफल हुँदै गर्दा स्टेक होल्डर्सलाई समेत सफल बनाउन काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘परिवर्तन छिट्टै देखिने छ ।’ व्यवसायीप्रतिको दृष्टिकोण नेपालमा व्यवसायीलाई हेर्ने हेय दृष्टिकोणले धेरै व्यवसायी तथा उद्यमी आजित छन् । व्यवसायमा सफल भएकाहरूलाई माफियाको ट्याग लगाउने समाजले उनीहरूलाई निरुत्साहित बनाउँछ । तर, बुढाथोकी यो भाष्य चिर्नतर्फ लागेका छन् । ‘मिहिनेत गरेर सफल हुँदा पनि माफिया भइन्छ, व्यापारी जति सबै ठग हुन् भन्ने भ्रम चिर्न जरुरी छ, त्यसको पहल राज्यले नै गर्नुपर्छ,’ उनी भन्छन्, ‘पहिलो कुरा त राज्यले व्यापारीजतिलाई एउटै टोकरीमा राख्यो, यो विलकुल गलत हो । व्यापारी को पनि वर्ग छुट्याएर प्रस्ट्याउन सकियो भने सुधार हुन्छ ।’ म्याद नाघेका वस्तुलाई जालझेल गरेर बेच्दै हिँड्नेहरू पनि व्यापारी बनेका छन्, नराम्रो बाटोमा लागेका पनि व्यापार गरेकै छन् । राज्यले सबैलाई एउटै टोकरीमा राख्दा समस्या सिर्जना भएको उनको बुझाइ छ । ‘समाज र राज्यलाई सेवा दिएर त्यहींबाट आर्जन गर्छु, देशमै रोजगारी सिर्जना गर्छु, समाजलाई नि बनाउँछु आफू पनि बन्छु भनेर लागेका पनि होलान् नि,’ उनी भन्छन्, ‘यसैका लागि अब व्यवसायीको पनि वर्ग छुट्याउनुपर्छ ।’ देश बनाउने जिम्मा राजनीति गर्नेहरूको मात्र हो भन्ने गलत भाष्य पनि समाजका लागि खतरा हो । निजी क्षेत्रबाट लागेका व्यवसायीको देश निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । राजनीतिक दलका शीर्ष नेतालाई गाली गरेर पनि केही नहुने बुढाथोकीको तर्क छ । ‘उहाँहरूले आफ्नो काम गरिसक्नु भएको छ, कुनै बेलाको बन्द समाजलाई उहाँहरूले खुल्ला बनाइदिनुभयो, प्रजातन्त्रदेखि लोकतन्त्र-गणतन्त्र ल्याइदिनु भयो, संविधान बनाइदिनु भयो, डेलिभर गर्नुपर्ने जति गरिसक्नु भयो, अब पनि त्यही पुस्तासँग हामीले अपेक्षा गर्ने होइन,’ उनी भन्छन्, ‘एउटै जमातसँग हामीले भएभरको विकासको आशा र अपेक्षा धेरै गरेर मात्र त्यो पूरा हुँदैन, अब देश निर्माणका लागि हामी आफै जाग्नुपर्छ ।’
भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी
काठमाडौं । भारतमा कार्यरत अटोमेकरहरूले सन् २०२५ मा करिब एक दर्जन नयाँ इलेक्ट्रिक कार मोडलहरू लन्च गर्ने योजना बनाएका छन् । विश्वव्यापी रूपमा इलेक्ट्रिक सवारी (ईभी) को माग घट्दै गए पनि खरिदकर्तालाई आकर्षित गर्न धेरैजसो प्रिमियम बजारमा लामो ड्राइभिङ रेन्ज र छिटो चार्जिङ समय भएका मोडलहरू ल्याउन लागेका हुन् । शुक्रबारदेखि नयाँ दिल्लीमा सुरु भएको पाँच दिने अटो शोमा ईभी कारहरूले मुख्य स्थान पाएका छन् । यहाँ भियतनामी नवप्रवेशी भिनफास्ट, स्वदेशी ब्राण्ड मारुति सुजुकी र महिन्द्रा एण्ड महिन्द्राका साथै विश्वव्यापी प्रतिस्पर्धी बीवाईडी, टोयोटा र हुन्डाइका मोडलहरू प्रदर्शन गरिएको छ । भारतको ईभी बजारका अग्रणी टाटा मोटर्स र चीनको एसएआईसी मोटरको आंशिक स्वामित्व भएको जेएसडब्लु-एमजी मोटरले विश्वको तेस्रो ठूलो कार बजारमा विस्तारित लाइनअप प्रदर्शन गरे । भारतको ईभी बजार सानो छ, जहाँ २०२४ मा बिक्री भएका ४० लाख ३० हजार कारहरूमध्ये इलेक्ट्रिक मोडलहरूको हिस्सा करिब २.५ प्रतिशत मात्र छ । उच्च मूल्य र अपर्याप्त चार्जिङ नेटवर्कले खरिदकर्तालाई रोकिरहेको जनाइएको छ । सरकारले यसलाई २०३० सम्ममा ३० प्रतिशत पुर्याउन चाहन्छ । विश्वव्यापी रूपमा ईभी बिक्रीको वृद्धिदर २०२४ मा गत वर्षको तुलनामा १३ प्रतिशतमा झरे पनि यसले पहिलो पटक एक लाख युनिट नाघेको छ । भारतमा पनि ईभी बिक्री वृद्धि सुस्त गतिमा भइरहेको छ । २०२४ मा गत वर्षको तुलनामा २० प्रतिशतले बढेर करिब १ लाख युनिट पुगेको छ, जुन समग्र कार बजारको सोही अवधिको ५ प्रतिशत वृद्धिभन्दा बढी हो । अटो उद्योगका कार्यकारीहरूका अनुसार लामो रेन्ज र छिटो चार्ज हुने नयाँ मोडलहरूले माग बढाउन सक्छन् । विश्लेषकहरूले भारतमा २०२५ मा ईभी बिक्री दोब्बर हुने अनुमान गरेका छन् । भारतमा पहिलेका इलेक्ट्रिक सवारीहरू जसमध्ये धेरैजसो टाटा मोटर्सका थिए, पेट्रोल कारलाई इलेक्ट्रिकमा रूपान्तरण गरिएका थिए, जसले एक पटक चार्ज गर्दा ३०० किलोमिटर (१८६ माइल) सम्म मात्र गुड्न सक्थे । जसलाई धेरैले बाहिर यात्राका लागि अपर्याप्त मान्थे । नयाँ लन्च हुने अधिकांश मोडलहरू सुरुदेखि नै इलेक्ट्रिक सवारीको रूपमा डिजाइन गरिएका छन् र न्यूनतम ४०० किलोमिटरको रेन्ज दिन्छन् । महिन्द्राजस्ता केही अटोमेकरहरूले ६०० किलोमिटरभन्दा बढीको रेन्ज र २० मिनेटभन्दा कममा २० देखि ८० प्रतिशतसम्म फास्ट चार्जिङको सुविधा दिइरहेका छन् । महिन्द्राका यस वर्षका दुई इलेक्ट्रिक एसयूभी लन्चको मूल्य २२ देखि ३५ हजार डलर छ । भारतमा कारको औसत मूल्य करिब १२ हजार डलर छ, जहाँ सस्ता मोडलहरूको तुलनामा महँगा मोडलहरूको वृद्धि तीव्र छ । इलेक्ट्रिक सवारी निर्माता भिनफास्ट जसले दक्षिण भारतमा कार कारखाना निर्माण गरिरहेको छ, आफ्नो मिनी-एसयूभी भिएफ थ्री, तीन पङ्क्तिको एमपीभी, भिएफ नाइन लगायत प्रदर्शन गर्नेछ । ‘भारतको बढ्दो मध्यम वर्ग र इलेक्ट्रिक सवारी अपनाउन सरकारी प्रोत्साहनले भिनफास्टको विश्वव्यापी विस्तारका लागि यो स्वाभाविक केन्द्र बनेको छ,’ कार निर्माताले भन्यो । दक्षिण कोरियाली हुन्डाईले भारतमा निर्मित आफ्नो लोकप्रिय क्रेटा एसयूभीको इलेक्ट्रिक संस्करण प्रदर्शन गर्यो, जसले प्रतिस्पर्धीहरूलाई टक्कर दिन मद्दत गर्ने आशा गरेको छ । यता बीवाईडीले आफ्नो सिलायन सेभेन इलेक्ट्रिक एसयूभी प्रदर्शन गर्यो । भारतको सबैभन्दा ठूलो कार निर्माता मारुतिले आफ्नो पहिलो इलेक्ट्रिक सवारी, ई भिटारा एसयूभी प्रदर्शन गर्यो, जुन यस वर्षको अन्त्यतिर लन्च हुनेछ । यो कार मारुतिको मूल कम्पनी सुजुकी मोटर र टोयोटाले संयुक्त रूपमा विकास गरेका हुन् । केही कार निर्माताहरूले इलेक्ट्रिक सवारीका साथै प्लग-इन हाइब्रिड कार, फ्लेक्स-फ्युल मोडल, हाइड्रोजन फ्युल सेल सवारी र ग्यासमा आधारित कारहरू पनि प्रदर्शन गर्ने योजना बनाएका छन् । ‘छिटो इलेक्ट्रिक अपनाउने बाटो सबै इलेक्ट्रिफाइड सवारीलाई समानुपातिक रूपमा प्रोत्साहन गर्दा राम्रोसँग काम गर्छ,’ टोयोटाको भारतीय एकाइका कन्ट्री हेड र कर्पोरेट मामिला तथा गभर्नेन्सका कार्यकारी उपाध्यक्ष विक्रम गुलाटीले भने । बीवाईडीको ‘याङवाङ यू नाइन’ सुपरकार जो ६ मिटर उफ्रिन सक्छ (भिडियोसहित) अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस