सुधारिएन घरजग्गाको कारोबार, राजस्वमा भने वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पौष महिनामा घरजग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ ।घरजग्गाको कारोबार उल्लेख्य रूपमा वृद्धि नभए पनि त्यसबाट संकलन हुने राजस्व भने ह्वात्तै बढेको हो । चालु आवको पौष महिनामा घरजग्गा क्षेत्रबाट ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत आवको पौष महिनाको तुलनामा यो ३२.६६ प्रतिशतले बढी हो । विभागका अनुसार गत आवको पौष महिनाा ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । चालु आवको पौष महिनामा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ६८ करोड ७८ लाख र पुँजीगत लाभकर १ अर्ब ६० करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको पौष महिनामा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब १२ करोड १२ लाख र पुँजीगत लाभकर १ अर्ब १० करोड ९ लाख रुपैयाँ राजस्वमा योगदान भएको थियो । कारोबार झिनो वृद्धि राजस्वमा भएको वृद्धिको तुलनामा घरजग्गाको कारोबारमा भने झिनो वृद्धि देखिएको छ । गत वर्षको तुलनामा चालु आवको पौष महिनामा घरजग्गाको कारोबार २.८१ प्रतिशतले मात्रै वृद्धि भएको छ । चालु आवको पोषमा घरजग्गासम्बन्धी १ लाख ४० हजार ६२१ वटा कारोबार भएको छ । जसमध्ये ४८ हजार १५६ वटा लिखत पारित भएको छ । गत वर्षको पौष महिनामा १ लाख ३६ हजार ७७० वटा कारोबार हुँदा ४५ हजार २७५ वटा लिखत पारित भएको विभागको तथ्यांकले देखाउँछ । कित्ताकाट घट्यो यस वर्षको पौषमा गत वर्षको सोही अवधिको तुलनामा जग्गाको कित्ताकाट सामान्य घटेको देखिन्छ । गत वर्षको पौष महिनाा ५२ हजार २१० वटा कित्ताहरू कित्ताकाट भएर १ लाख १९ हजार २७६ वटा कित्तामा परिणत गरिएको थियो । चालु आवको पौष महिनामा ५२ हजार १०८ वटा कित्ताहरू कित्ताकाट गरेर १ लाख १५ हजार १३४ वटा कित्तामा परिणत गरिएको छ । राजस्व बढ्नुको कारण व्यवसायीहरूले खरिद मूल्यलाई नै थैली राखेर किनबेच गर्दा घरजग्गाको कारोबार नबढेपनि राजस्वमा वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले व्यवसायीहरूले सरकारी मूल्यभन्दा खरिद मूल्य नै राखेर घरजग्गा पास गरेकाले राजस्वमा उछाल आएको बताए । जग्गाको कारोबारमा खासै सुधार नआएपनि यसबाट हुने राजस्व संकलन ह्वात्तै बढ्नुको कारण बताउँदै उनले भने, ‘व्यवसायीहरूले सरकारी मूल्य नराखी किनबेच भएको मूल्य थैलीमा राख्दा राजस्वमा सुधार देखिएको हो ।’ यस्तै, अध्यक्ष घिमिरेले वास्तविक थैलीमा किनबेच गर्नुपर्ने माग महासंघको रहेको बताउँदै यसो गर्दा राजस्व अझै बढ्ने दाबी गरे । उनले भने, ‘हामीले वास्तविक थैलीमा नै किनबेच गर्नुपर्छ भनेर पटक पटक भन्दै आएका छौं । यसले गर्दा राजस्वमा पनि वृद्धि हुन्छ ।’ यसका साथै उनले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले घरजग्गा कारोबारलाई चलायमान हुन मद्दत पुग्ने बताए । अध्यादेशअनुसार हदबन्दी छुट भएको खण्डमा व्यवसायीहरूले धेरैवटा कम्पनी खोलिरहनु नपर्ने र धेरै कम्पनीको नाममा जग्गाहरू राख्नु नपर्ने अवस्था सृजना हुने उनले बताए । यसो हुँदा व्यवसायीहरूको खर्च पनि कम हुने, काम गर्न सजिलो हुने र एउटै कम्पनीबाट कारोबार गरिरहँदा कम्पनीको कारोबार परिणाम पनि वृद्धि हुने गर्दछ । यसले गर्दा बैंकले पनि विश्वास गर्ने र ऋण लिन पनि सजिलो हुने उनको भनाइ छ । तर, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सुधार गर्नुपर्ने व्यवस्थाहरू नसुधारेसम्म घरजग्गाको कारोबार उल्लेखनीय रूपमा सुधार नदेखिने अध्यक्ष घिमिरेको दाबी छ । उनले घरजग्गाको कारोबार सुधारका लागि राष्ट्र बैंकले कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने, अनुमति प्राप्त रियल स्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने, रियल स्टेट कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनालगायत व्यवस्था कायम गर्नुपर्ने बताए । यसले गर्दा घरजग्गाको कारोबरमा उछाल आउने उनको दाबी छ ।

अमेरिकामा धेरै खर्च भएपछि नेपालमै जमे अल्बर्ट, बाँचिरहेका छन् तनावरहित र आनन्दमय जीवन

काठमाडौं । अल्बर्ट ग्रिनवुड हाल ५६ वर्षका भए । उनले आफ्नो करिअरभर राम्रो तलब दिने जागिर गरे तर, उनी अमेरिकामा बढ्दो मुद्रास्फीतिप्रति चिन्तित थिए । अवकाशपछि जीवन कठिन हुनेछ भन्ने डरले उनलाई गाजेको थियो । बढ्दो खर्चबाट थकित ग्रिनवुडले धेरै अमेरिकीहरूजस्तै विदेश जाने निर्णय गरे । ग्रिनवुड नेपाल आएका हुन्, यहाँ थोरै अमेरिकीहरू बस्छन् । उनकी श्रीमती काठमाडौंमै हुर्केकी थिइन् । उनी आफ्नो परिवारसँग नजिक रहन र कम लागतमा राम्रो जीवन बिताउन यहाँ सरेका हुन् । धेरै अमेरिकीहरू आजकल अवकाश लिनको लागि सस्तो ठाउँ खोजिरहेका छन् । ग्रिनवुड सन् २०२३ मा यहाँ आएका हुन् । त्यसबेलादेखि उनको बचत र अवकाश आम्दानीले जीवनलाई कम तनावपूर्ण र रमाइलो बनाएको छ । ग्रिनवुड दर्जनौं अमेरिकीहरूमध्ये एक हुन् जो अवकाश पछि विदेशमा बसोबास गरिरहेका छन् । उनले अमेरिकामा अवकाशको लागतको बारेमा चिन्ता व्यक्त गरे । धेरै अमेरिकीहरू अवकाशको लागि पूर्ण रूपमा तयार छैनन् । धेरै सेवानिवृत्तहरू भन्छन् कि उनीहरूको बचत प्रायः पर्याप्त हुँदैन । न्यूयोर्क र बोस्टनमा अध्ययन ग्रिनवुड फिलाडेल्फियामा हुर्केका थिए । उनले आफ्नो कलेज शिक्षा न्यूयोर्क र बोस्टनमा गरे । उनले एमबीए गरेका छन् । धेरै ब्रान्ड व्यवस्थापन र व्यवसाय विकास कार्यहरू उनले सम्हालेका छन् । आफ्नो करिअरको केही वर्षभित्रै उनले राम्रो कमाउन थाले । त्यसपछि उनी न्यूयोर्क सहरको एक एसियाली खाद्य कम्पनीको बिक्री प्रमुख बने । ग्रिनवुडले ५५ वर्षको उमेरमा अवकाश लिए । ग्रिनवुडलाई थाहा थियो कि उनी अमेरिकामा आरामसँग अवकाश लिन सक्छन् । तर, उनी बढ्दो स्वास्थ्य सेवा लागतको बारेमा चिन्तित थिए । उनले कम्पनीबाट स्वास्थ्य बीमा पनि लिएका थिए, तर त्यो त्यति राम्रो थिएन । उनी न्यूयोर्कको जाडो र देशको राजनीतिक वातावरणबाट पनि थकित थिए । उनी र उनकी ३९ वर्षीया श्रीमती आईभीएफमार्फत बच्चा चाहन्थे । तर, यसको लागत ६० हजार डलर (८३ लाखभन्दा बढी) अनुमान गरिएको थियो । बढ्दो घर भाडाले उनीहरूलाई अन्य विकल्पहरू पनि विचार गर्न बाध्य बनायो । उनी न्यूयोर्क सहरको उत्तरमा रहेको वेस्टचेस्टर काउन्टीमा रहेको एउटा सानो घरको भाडा प्रति महिना ३ हजार ५०० डलर (४ लाख ८४ हजार ५००) तिर्थे । भाडा र अरू सबै कुराको बीचमा राम्रो तलब हुँदा पनि बचत गर्ने धेरै ठाउँ थिएन । उनलाई न्यूयोर्कको सामाजिक वातावरण धेरै आक्रामक लाग्यो । उनी अवकाशमा बाँच्न सक्षम हुन सक्थे होला । तर, उनी कुन स्तरमा यो काम गर्छन् भन्ने सोचमा थिए । २०२३ मा श्रीमतीसँग नेपालमा बसोबास ग्रिनवुड र उनकी श्रीमती अवकाशपछि नेपाल जान चाहन्थे । केही वर्षको आर्थिक योजनापछि उनीहरू मे महिनाकाे पहिलाे दिनै यहाँ आए । काठमाडौं आउनुभन्दा एक वर्ष अगाडि ग्रिनवुडले आफ्नो घर बेचेका थिए । उनले सबै महत्त्वपूर्ण काम पहिले नै सम्पन्न गर्ने प्रयास गरे । उनले आफ्ना बिरालाहरूलाई नेपाल कसरी लैजाने भनेर पनि निर्णय गरिसकेका थिए । उनी आफ्नी श्रीमतीमार्फत प्राप्त गरेको दीर्घकालीन भिसालाई अन्तिम रूप दिँदै राजाको दरबार नजिकै भाडाको घरमा केही समय बसे । उनले सहरको एक भव्य क्षेत्रमा बगैंचासहितको चार बेडरुम भएको घर लगभग १,१५० डलर (१ लाख ५९ हजार १९७ रुपैयाँ) मा भाडामा लिए । अमेरिकाकाे तुलनामा यहाँ भाडामात्र सस्तो नभइ खानाको मूल्य लगभग आधा छ । जबकि औषधिहरू प्रायः एक तिहाइ मूल्यमा उपलब्ध हुन्छन् । ग्रिनवुड र उनकी श्रीमतीले बिजुलीमा महिनाको ३५ डलर (करिब ५ हजार रुपैयाँ) खर्च गर्छन्, जुन सधैं लगभग उस्तै रहेको उनको भनाइ छ । उनीहरूको मोबाइल योजना प्रति महिना लगभग ७ डलर (करिब एक हजार ) छ । उनी फोहोर व्यवस्थापनको लागि हरेक छ महिनामा २२ डलर (३ हजार रुपैयाँ) तिर्छन् । ग्रिनवुडले लगानीबाट प्रति महिना लगभग ३ हजार (४ लाख १५ हजार) कमाउँछन् । उनले आफ्नो अवकाशमा यात्रालाई महत्त्व दिएका छन् । यसमा थाइल्याण्ड, जापान र सिंगापुरको यात्रा समावेश छ । उनले लामो पैदल यात्रा, लेखन र सामुदायिक संलग्नताको दिनचर्या अपनाएका छन् । बालबालिका हुर्काउन अमेरिकाभन्दा यहाँ सस्तो र सुरक्षित छ । आईभीएफ उपचारको लागत लगभग ३ हजार डलर (४ लाख १५ हजार रुपैयाँ ) छ । काठमाडौंमा बालबालिकाको स्वास्थ्य सेवा राम्रो छ । उनकी श्रीमतीका आफन्तीहरू उनीहरूनजिकै बस्छन् जसले आफ्नो बच्चाको हेरचाह गर्न मद्दत गर्न सक्छन् । उनीहरूले कसरी आरामदायी रहने भन्ने बारेमा मार्गदर्शन दिइरहेका छन् ।

ब्रिटिस सरकारको अनुदानमा बनेको पुल ५० वर्षमै ‘ड्यामेज’, कसरी गुड्न दिइयो ११० टनको ट्रक ?

काठमाडौं । गत शुक्रबार पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडकखण्डको दुम्किबासमा ट्रकको कारण पुल भाँचिएपछि पुनः एक पटक नेपाली सडक र पुलको गुणस्तरको विषयमा बहस सुरु भएको छ । विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा भाँचिएपछि यस विषयलाई अहिले धेरैले चासोका साथ हेरेका छन् । भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा पुल एक्कासि भाँचिएको थियो । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ११० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको थियो । जुन ट्रक पुलको बीच भागमै फसेको छ । पुलको झन्डै ६० मिटर भाग पूरै भत्किएको प्रहरीको भनाइ छ । पुलको तलपट्टिको भागमा पनि क्षति पुगेको बताइएको छ । ट्रकको ओभरलोड र पुल पुरानो भएकाले भाँचिएको सरोकारवालाहरूको तर्क छ । नेपालका सडक तथा पुलमा मापदण्डभन्दा बढी तौल भएका सवारीसाधनले समस्या निम्त्याउने गरेको विषयले बेला बखत चर्चा पाउने गरेको छ । यो विषयले अहिले थप चर्चा बढेको हो । ५० वर्ष पुरानो पुल धेरैले पुल पुरानो भएकोले भाँचिएको तर्क गरेका छन् । यो पुल वि.सं २०३२ सालमा ब्रिटिस सरकारको अनुदानमा बनेको हो । पुल महेन्द्रराजमार्ग निर्माण हुँदा नै बनेको बताइन्छ । पुल बनेको झण्डै ५० वर्ष पुरा भइसकेको छ । पुलको एक ठाउँमा पुरै ड्यामेज भएको छ भने अर्को ठाउँमा पुरै भाँचिएको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख तथा हाल उक्त आयोजनाका प्रमुख नारायणप्रसाद लामेछानेले बताए । उनले भने, ‘पुलमा चार स्थान छन् जसमा पूर्वतिरको फलामको भाग पुरै भाँचिएको छ । अर्कोतर्फ ड्यामेज भएको छ । त्यो ट्रक पुलको बीचमै अड्किएको छ । हालसम्म उक्त ट्रकलाई निकालिएको छैन ।’ यस्तै, पुलको स्थलगत अध्ययनमा गएको सडक विभागको पुल महाशाखाका प्रमुख तथा उपमहानिर्देशक ललिजन खनालले ओभरलोड भएको ट्रकले पुलको एउटा भागलाई ठक्कर दिएपछि पुल भत्किएको बताए । ट्रकले बोकेको जेनरेटर ट्रलीबाट चिप्लिएर पुलको मेम्बरलाई लागेर भाँचिएको उनको भनाइ छ । पुल मर्मतका गर्नका लागि ठूलो लगानी नलाग्ने उनको बुझाइ छ । यस्तो खालको पुलमा एउटा मात्रै अंशले काम गरेन भने सबै फेल हुन सक्ने जोखिम हुने उनको भनाइ । नारायणगढ–बुटवल सडक परियोजनाका सूचना अधिकारी शिव खनालले उक्त ट्रकले बोकेको जेनरेटरको तौल ६० टन र ट्रेलर ट्रकको मात्रै ५० टन रहेको जानकारी दिए । ट्रकको कुल वजन ११० टन हुँदा पुल भाँचिएको हुन सक्ने उनको भनाइ छ । प्रतिवेदन पेस गर्न समिति सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख तथा हाल उक्त आयोजनाका प्रमुख नारायण प्रसाद लामिछानेले पुलको तत्काल मर्मत असम्भव भएको बताएका छन् । उनका अनुसार पुल बन्न केही समय लाग्नेछ । सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपनिर्देशकको संयोजकत्वमा छानबिन समिति पनि गठन गरिएको छ । समितिले पुल कसरी भाँचियो भन्ने प्रतिवेदन तयार गरिरहेको र उक्त प्रतिवेदन यहीं साताभित्र आइसक्ने उनले जानकारी दिए । प्रमुख लामिछानेले ओभरलोड नै सडक बिग्रनु र पुल भाँचिनु प्रमुख कारण हुन सक्ने बताए । उनले भने, ‘क्षमताभन्दा बढी लोडका भारतीय सवारीहरूलाई निर्वाध सञ्चालन गर्न दिँदा सडक तथा पुलहरू भाँचिनुका साथै सडक जीर्ण हुने गरेको छ ।’ आयोजनाका प्रमुख लामिछानेले उक्त पुलको मर्मतसहितका विषयमा सडक विभागको टोलीले स्थलगत अध्ययन गरेर फर्किसकेको जानकारी दिए । डाइभर्सनमार्फत सवारी आवागमन दायाँबायाँ डाइभर्सन गरेर सवारीसाधनको आवागमन गराएको नवलपरासी पूर्वका प्रहरी प्रमुख यादव ढकाल बताउँछन् । उनले दुर्घटनाग्रस्त स्थानभन्दा २०० मिटर परबाट वैकल्पिक बाटो खोलिएको र दुवैतर्फका सवारीसाधनहरू सञ्चालनमै रहेको जानकारी दिए । हाल डाइभर्सन निर्माण गरेर पुलको काम नहुँदासम्मका लागि वैकल्पिक मार्गको प्रयोग गरिएको उनको भनाइ छ । उनका अनुसार सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने गरी डाइभर्सन निर्माण गरिएको छ । यस्तै, करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गर्ने गरिएको छ । दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ । प्रमुख ढकालले भने, ‘एउटै रुट र दुईवटा डाइभर्सन गरेर तीन ठाउँबाट सवारी वारपार भइरहेको छ ।’ उनका अनुसार सडक विभागका अधिकारीहरूले प्रतिवेदन बुझाएपछि उक्त पुल निर्माणको कार्य थालिनेछ । बुटवल-नारायणघाट सडकखण्डको एउटा पुल नजिकै बनिरहेकाले त्यसलाई प्राथमिकता दिएर निर्माण गर्ने वा बेलिब्रिज बनाउने विकल्पमा पनि छलफल भइरहेको जनाइएको छ । उनले पुल भाँच्चिएको देखिएको भए पनि दुर्घटनाको प्राविधिक विश्लेषण हुनुपर्ने बताउँदै पुलको अन्तिम बिन्दुमा पुगेपछि उक्त ट्रकले पुलको ट्रसमा ठक्कर दिएको उनको भनाइ छ । सो भारतीय ट्रक कपिलवस्तु भन्सारबाट सामान लिएर हेटौंडातर्फ गइरहेको थियो । ओभरलोड नियन्त्रण गर्न नसक्दा समस्या ओभरलोडलाई राज्यले नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था आएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीको गुनासो छ । उनले करिब ५० वर्ष पुराना यो पुलको फाउन्डेसन क्षेत्रमा अनावश्यक सडक क्षमताभन्दा बढी लोडभार साधन सडकमा गुड्न दिइनु मूल कारण भएको बताए । ओभरलोडकै कारण पुल भाँचिएको र सडक क्षमताभन्दा बढी लोड भएका भारतीय गाडीहरू गुड्दा पुल तथा बाटोमा क्षति भएकाले यसको जिम्मा संग्लनहरू हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष गिरीले भने, ‘यो चरम लापरवाही हो । धेरै ओभरलोड भएका सवारीसाधनलाई चेकजाँच गरी चलाउन दिनु हुँदैन । यदि यसरी चलाइएको पाइएमा कारबाही गरिनुपर्छ । यस सम्बन्धी नियम छ, जुन यो ट्रक नियमभन्दा बाहिर गएको छ ।’ चरम लापरवाहीका कारण पुल भाँचिएको उनले दाबी छ । यसबारेमा गहिरो अनुसन्धान हुने उनको भनाइ छ । ‘नेपाली व्यवसायीलाई रोक्ने तर भारतीय गाडीलाई निर्वाध ओभरलोडमा गुड्न दिने, बाटोको क्षमतालाई वेवास्ता गरी अगाडि बढ्ने नियामक निकाय यसको जिम्मेवार हो,’ उनले भने । नियममा २१ टनभन्दा बढी सामान बोक्न दिने र यसको भारवाहन क्षमता ४० टनभन्दा बढी नकट्ने गरेर नेपाल सरकार, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरूले यो व्यवस्था लागू गरेको उनको भनाइ छ । मापदण्डभन्दा बढी तौल बोक्ने नेपाली वा भारतीय कुनै पनि मालवाहक गाडीहरूलाई सडकमा गुड्न नदिने र यसलाई कडाइका साथ नियमन गर्नुपर्ने अध्यक्ष गिरीले बताए । प्रत्येक मालवाहक सवारीसाधन सञ्चालकले उक्त सवारीसाधनले बोकेको कुल तौलको लोडसीट खुल्ने गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था छ । त्यस्तो प्रमाणका आधारमा यातायात व्यवस्था विभाग वा अन्य सरकारी निकायले सवारीसाधनको अनुगमन गर्नुपर्छ । त्यसबाहेक भारवहन अनुगमन तथा नियन्त्रणका लागि सम्बद्ध निकायहरूले व्यक्ति, फर्म वा कम्पनीहरूले स्थापना गरेका तौल पुलको प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ । भारवहन नियमनसम्बन्धी निर्देशिका अनुसार मालवाहक सवारीसाधनको अगाडिको एक्सलको अधिकतम एक्सल लोड ६ मेट्रिक टनभन्दा बढी हुनु हुँदैन । उक्त नियमले पछिल्लो प्रतिएक्सल (चार पाङ्ग्रा) १०.२ मेट्रिक टन वजन राखेर सवारीसाधन सडकमा सञ्चालन गर्न सकिने जनाएको छ । सो निर्देशिकाको अनुसूचीमा पाँच एक्सल (१८ पाङ्ग्रा) भएका सवारीसाधनको भारवहन क्षमता ४०.२ मेट्रिक टन रहने उल्लेख गरिएको छ । सर्वाधिक वजन परिकल्पना गरिएको यस्तो सवारीसाधनमा अगाडिको एक्सलमा दुई पाङ्ग्रा, बीचको एक्सलमा चार पाङ्ग्रा र पछाडिको तीनवटा एक्सलमा १२ पाङ्ग्रा रहने उल्लेख छ । तर, उक्त अनुसूचीको सवारीले बोक्न पाउने अधिकतम् वजन सवारीको अगाडिको वा अन्य दुईपाङ्ग्रा जोड्ने एक्सल, एकल एक्सल, ट्यान्डम एक्सल र ट्राइडम एक्सलको योगफल हुने भनिएको छ । उक्त मापदण्डअनुसार अधिकतम कुल वजन ५९.२ हुन आउँछ । यस्तै, पुल भाँचिएपछि ट्रक व्यवसायीहरूले बढी ओभर लोड भएका भारतीय ट्रकहरू नेपाल प्रवेश गरेको भन्दै तिनलाई सीमामा नै नरोकिए आफूहरूले नेपालमा गुड्न नदिने चेतावनी दिइरहेका छन् । भन्सार बिन्दुमै भारतीय ट्रकको ओभरलोड नियन्त्रण गरिनुपर्ने उनीहरूको माग छ ।