सिके र उपेन्द्रको दाउपेचमा विश्वविद्यालय : बिजुलीको लाइन काटियो, कर्मचारी ६ महिनादेखि तलबविहीन

काठमाडौं । कृषि क्षेत्रमा उच्च शिक्षा प्रदान गरी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र कृषिबाट नागरिकको सामाजिक तथा आर्थिक जीवनस्तर उकास्ने भन्दै स्थापना भएको विश्वविद्यालय हो- मधेश कृषि विश्वविद्यालय । करिब ४ वर्ष पहिले २०७८ मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना भएको कलेजले  कृषि, पशुपालन, माछापालन, वन विज्ञान, खाद्यान्न, प्रविधि लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ भने यस्ता विषयमा अनुसन्धान गर्ने लक्ष्य राखेको छ । तर, ४ वर्षसम्म न यो विश्वविद्यालयले लक्ष्यअनुसार केही अनुसन्धान गर्न सकेको छ न राम्रो शिक्षा नै दिन सकेको छ । बरु अहिलेसम्म पनि भाडाको घरमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । विश्वविद्यालयभित्र पसेको राजनीतिक किचलोले कुनै पनि काम अगाडि बढाउन नसकेको विश्वविद्यालयका कर्मचारीहरू नै बताउँछन् । आफ्नो नाम नबताउने सर्तमा विश्वविद्यालयका एक कर्मचारी भन्छन्, ‘चार वर्षको अवधिमा कुनै एक काम गतिलो भएको छैन, कहिले कुनै पार्टीले अवरोध सिर्जना गर्ने कहिले कुनैले यति सम्म की कर्मचारीले काम गरेवापतको पैसा नै पाउन सकेका छैनन् ।’  ६ महिनादेखि तलबविहीन यो विश्वविद्यालयमा अहिले १९ जना कर्मचारी छन् । उनीहरू सबैले भदौ महिनादेखि काम गरेको तलब पाउन सकेका छैनन् । विश्वविद्यालयको सिनेट बैठक बस्न नसक्दा तलब पाउन मुस्किल परेको विश्वविद्यालयका प्रशासन प्रमुख विनोद ठाकुर बताउँछन् । यता कर्मचारीले समयमा तलब पाएका छैनन् भने विश्वविद्यालयले ६ महिनादेखि भाडा तिर्न नसक्दा बिजुलीको लाइनसमेत काटिसकेको अवस्था छ । ठाकुर भन्छन्, ‘बिजुलीको लाइन काटिसक्यो, अब पानी पनि हट्ने होला । कुन दिन भाडा तिर्न नसकेको भन्दै भवनबाटै हटाउँछ कि भन्ने पीर परिसक्यो । अझै समस्या कहिले सम्बोधन हुन्छ जानकारी छैन ।’ विश्वविद्यालयका अर्का एक कर्मचारीले ६ महिनासम्म तलब नपाउँदा छोराछोरीको स्कुलको शुल्कसमेत तिर्न नसकेको दु:खेसो पोखे । ‘केही महिनासम्म त साथीभाइबाट ऋण निकालेर खर्च चलाएँ, अब यसरी पनि खर्च चलाउन मुस्किल छ । काम गरेर पैसा नपाउँदा घरखर्च चलाउन मुस्किल भइसक्यो, ’ उनले भने । एक दुईजनाको मात्र होइन, अहिले कृषि विश्वविद्यालयका अधिकांश शिक्षक कर्मचारीको गुनासो यस्तै छ । उनीहरू कहिले पैसा पाइन्छ भन्दै आशामा बसिरहेका छन् । विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतोले विश्वविद्यालय सभाको बैठक बस्न नसकेर यो सबै समस्या आएको बताए । ‘हामीले खाने तलब र खर्च गर्ने पैसा विश्वविद्यालय सभाको बैठकबाट पारित हुनुपर्छ तर, पटक-पटक प्रयास भएपनि बैठक नै राम्रोसँग बस्न सकेको छैन, जस कारण यो समस्या भोग्नुपरेको छ, ’ उनले भने । किन सभाको बैठक बस्न नसकेको हो भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्-  ‘त्यो त मन्त्रीज्यूलाई सोध्नुपर्छ, हामीले दुई-तीन पटक बैठकको बारेमा जानकारी गराइसक्यौं तर कुनै प्रतिक्रिया आएन ।’  एक वर्ष अघिको विवाद अझै सल्टेन जनता समाजवादी पार्टीका नेता मोहम्मद लालबावु राउत मुख्यमन्त्री हुँदा मधेश कृषि विश्वविद्यालयको स्थापनाको कुरा चल्यो । विश्वविद्यालय कस्तो बनाउने भन्ने कुनै तयारीबिना हतारमै स्थापना भयो । किनकि त्यो बेला स्थानीय तहको निर्वाचनको मिति नजिकिएको थियो । जनताको मत बटुल्न हतारमै विश्वविद्यालयको स्थापना गरियो । राउतकै सिफारिसमा तत्काल उपकुलपतिमा डा. वैद्यनाथ महतो र रजिष्टारमा भगवान ठाकुरलाई नियक्त गरियो । विश्वविद्यालयको आफ्नै भवन थिएन । जग्गा पनि आफ्नो थिएन । यस्तो अवस्थामा राजविराज नगरपालिकाले पालिकाको वडा नम्बर १३ मा जग्गा उपलब्ध गरायो । जग्गा भेटिएपछि तत्काल संरचनाको काम अगाडि बढ्यो । तर यहाँ भवनको शिलान्यास कसले गर्ने भन्ने कुरामा विवाद भयो । गएको वर्ष अथवा २०८० माघ ८ गते विश्वविद्यालयको शिलान्यास कार्यक्रम थियो । जहाँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई  विश्वविद्यालयको शिलान्यासका लागि बोलाइयो ।  कार्यक्रममा प्रमुख अतिथिको रूपमा जसपाका नेता उपेन्द्र यादवलाई बोलाएर कार्यक्रम गर्दा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री तथा जनमतका नेता महेन्द्रप्रसाद यादवलाई यो कुराको जानकारी नै थिएन। जहाँ विश्वविद्यालय सञ्चालन भइरहेको छ, त्यो क्षेत्र जनमत पाटीका अध्यक्ष सिके राउतको निर्वाचन क्षेत्र हो । आफ्नो पार्टीको अध्यक्ष रहेको क्षेत्रमा सञ्चालन भइरहेको विश्वविद्यालयबारे मन्त्रीलाई नै जानकारी नदिँदा विवाद सिर्जना भयो । कुरो विवादमा मात्र रोकिएन त्यहाँ तनावको अवस्था नै सिर्जना भयो । सुरक्षाकर्मीको लाठीबाट विश्वविद्यालयका तत्कालीन सहउपकुलपति एवं शिक्षामन्त्री महेश यादवको टाउकोमा चोट लाग्यो । हालका मुख्यमन्त्री सतिशकुमार सिंह पनि घाइते भए । जसपा अध्यक्ष यादव र तत्कालीन मुख्यमन्त्री सरोज यादवले सुरक्षा घेरामा शिलान्यास गरे । यता जनमतले विश्वविद्यालयमा ताला लगायो । दुई सातापछि विश्वविद्यालयको ताला खुल्यो । यही घटनापछि जसपा नेतृत्वको मधेश सरकारबाट जनमत पार्टी बाहिरियो । तर जब जनमत मधेश सरकारको नेतृत्वमा पुग्यो, त्यसपछि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरियो । तर एक वर्ष भइसक्दा पनि समितिको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । यही कारण विश्वविद्यालय सभाको बैठक भए पनि कुनै निर्णय हुन सकेको छैन । जसका कारण अहिले कर्मचारीले तलब मात्र पाएका छैनन्, विश्वविद्यालयको काम पनि तीव्र रूपमा बढेको छैन ।  पढाइ प्रभावित विश्वविद्यालयभित्र विवाद हुँदा विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ । मधेश कृषि विश्वविद्यालयमा अहिले एक सय जना विद्यार्थी विभिन्न विषयमा अध्ययन गरिरहेका छन् । तलब नपाउँदा शिक्षकले पढाउन मन गरिरहेका छैनन् भने विद्यार्थी कलेज गएर पनि नपढेर फर्कनुपर्ने अवस्था छ । प्रशासन प्रमुख ठाकुर विश्वविद्यालयको किचलोले विद्यार्थीको पढाइ पनि प्रभावित भएको बताउँछन् । उनले अहिले भर्ना भएका विद्यार्थीको पढाइमात्र प्रभावित नभइ नयाँ भर्ना हुने विद्यार्थीको प्रवेश परीक्षा नै प्रभावित भएको बताए । बिएससी तर्फको १ सय १० जना विद्यार्थीको प्रवेश परीक्षा रोकिएको ठाकुरले बताए । पालिकाले उपलब्ध गराएको २६ बिगाह जग्गा  विश्वविद्यालय निर्माणका लागि राजविराज नगरपालिकाले विश्वविद्यालयका लागि २६ विगाह जग्गा उपलब्ध गराएको छ । अहिले यो जग्गामा भवनका जग बसेका छन् । तर, कहिलेसम्म ठडिसक्छन् भन्नेबारे भने अझै अन्योल छ । राजविराज नगरपालिकाकी उपप्रमुख इसरत परिवनका अनुसार पालिकाले नेपाल सरकारको जग्गा विश्वविद्यालयका लागि हस्तान्तरण गरिएको हो । उनी भन्छिन्, ‘हामीले जग्गा उपलब्ध गरायौं, यही जग्गामा भवन शिलान्यास गर्दा अर्कै कलह भयो, जुन कलह अहिलेसम्म पनि शान्त हुन सकेको छैन ।’ ‘हामीले शिक्षा जस्तो क्षेत्र राम्रै हुन्छ, पालिकाको मात्र होइन मधेशकै नाम उँचो बनाउँछ भन्ने आशा गरेका थियौं,’ उनी भन्छिन्, ‘विकास गरौं भन्ने भावना कसैको छैन, कलेजमा पनि राजनीति जताततै राजनीति यो राजनीतिले गर्दा यहाँको विद्यार्थीको भविष्यसमेत बिग्रने पीर भयो ।’  विश्वविद्यालयको कामसमेत सुस्त विश्वविद्यालयको किचलोले निर्माण भइरहेको संरचनामा पनि यसको असर परेको छ । बजेट पास नहुँदा यता कम्पनीलाई पैसा भुक्तानी गर्न समेत समस्या भएको छ । विश्वविद्यालय र कम्पनीबीच भएको सम्झौताअनुसार २०८३ माघ ९ गतेभित्र निर्माण कार्यसक्नुपर्ने छ । चारवटा प्रशासनिक, एउटा प्रयोगशाला, एकेडेमिक ब्लक, डिर्पाटमेन्ट ब्लक, छात्रावास, उपकुलपति र रजिस्टारसहित कर्मचारी आवास गृह, क्यान्टिन र शौचालय गरी कुल १० वटा भवन यो अवधिभित्र सक्नुपर्ने भएपनि समयमा भुक्तानी नहुँदा समयमै काम सकिनेमा भने आशंका पैदा भएको छ । विश्वविद्यालयले संरचना निर्माणमा पनि नराम्रो असर परेको जनाएको छ । भाडाको घरमा अध्ययन र प्रशासनिक काम चलाउँदै आएको विश्वविद्यालयले जग्गा पाइसकेपछि गएको वर्ष १ अर्ब २१ करोडमा टेण्डर आह्वान गर्‍यो । ओम साइराम कन्ट्रक्सन सातदोबाटोले भ्याटबाहेक ८९ करोड ५० लाख २७ हजार ८ सय ७३ रुपैयाँमा विश्वविद्यालयको ठेक्का लियो । कम्पनीले समयमै भुक्तानी नपाए काम रोक्ने चेतावनी दिइसकेको छ । विश्वविद्यालयका अनुसार अहिलेसम्म कम्पनीलाई पहिलो पटक २०८१ जेठ ३२ गते ८ करोड ४३ लाख ३ हजार ६ सय ४० र २०८१ असार २३ गते ५ करोड ४५ लाख ३ हजार ८२ रुपैयाँ भुक्तानी गरिसकेको छ । २०८१ भदौ १६ गते ४ करोड ७९ हजार ३ सय १५ र २०८१ असोज १५ गते ३ करोड ५१ लाख ३६ हजार ९ सय ८० रुपैयाँ माग गरे पनि भुक्तानी दिन नसकेको बताइएको छ ।  स्थानीयको गुनासो जुनसुकै क्षेत्रमा पनि राजनीति हाबी हुँदा नागरिक भने दिक्क हुन थालेका छन् । कृषिका विषयमा विशेष शिक्षा दिने र नागरिकलाई सहज हुने अपेक्षा गरेका स्थानीय भने विश्वविद्यालयको अवस्थाले चिन्तित बनेका छन् । राजविराज नगरपालिकाका स्थानीय एवं पालिकाको शिक्षा शाखाका प्रमुख भोगेन्द्रप्रसाद यादव राजनीतिले नागरिकलाई सेवा दिनुपर्ने नीति बनाउनुको सट्टा बिगारनीति बनाउने गरेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो देश कृषिप्रधान हो, हामी सबै यही पेशामा आवद्ध छौं, यसलाई कसरी नयाँ समय सुहाउँदो बनाएर लाने भन्ने अध्ययन अनुसन्धान गर्नुपर्ने निकाय आफै किचलोमा पर्नु राम्रो होइन ।’   

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १५ प्रतिशतले बढ्यो, २ वटाको घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा बढेको छ । विकास बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुको खुद नाफा १४.७८ प्रतिशतले वृद्धि भएको हो । हाल नेपालमा ८ वटा राष्ट्रि स्तरका विकास बैंकहरु रहेका छन् । ८ मध्ये ६ वटाको नाफा वृद्धि हुँदा २ वटा विकास बैंकको नाफा भने घटेको छ । नाफा वृद्धिमा सबैभन्द अगाडी ज्योति विकस बैंक रहेको छ । ज्योतिले १४७.५५ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म ज्योतिले १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जियो । चालु आवको सोहि अवधिमा यस्तो नाफा २५ करोड १ लाख रुपैयाँ पुगेको छ ।साङग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा १० करोड रुपैयाँ नाफा क्माएको साङग्रिलाले चालु आवको सोहि अवधिमा १९ करोड ६५ लाख रुपैयाँ कमाएको छ । कामना सेवा विकास बैंकले गत आवको दोस्रो त्रैमासमा २५ करोड ८९ लाख नाफा कमाएको थियो । चालु आवको सोहि अवधिमा यस्तो नाफा वृद्धि गरेर ३२ करोड २४ लाख पुर्याएको छ । जुन २४.५५ प्रतिशत वृद्धि हो । १९.७९ प्रतिशतले वृद्धि गरेर मुक्तिनाथ विकास बैंकले खुद नाफा ५० करोड ३१ लाख पुर्याएको छ । गत आवको सोहि अवधिमा विकास बैंकले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गरिमा विकास बैंकको नाफा ७.१६, महालक्ष्मी विकास बैंकको खुद नाफा ३.४० प्रतिशतले बढ्दा साइन रेसुङगा डेभलपमेन्ट बैंकको नाफा १०.८७ र लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेको छ । गरिमाले गत आवको दोस्रो त्रैमासमा ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोहि अवधिमा गरिमाको खुद नाफा ५४ करोड ९२ लाख रहेको छ । यसैगरी, महालक्ष्मी विकास बैंकले २७ करोड ८० लाख रुपैयाँबाट खुद नाफ वृद्धि गरेर २८ करोड ७४ करोड रुपैयाँ पुर्याएको छ । साइन रेसुङगाको नाफा ३७ करोड १२ लाखबाट घटेर ३३ करोड ८ लाखमा झरदा लुम्बिनीको नाफा २१ करोड २२ लाखबाट १४ करोड ७६ लाखमा सिमित भएको छ । समग्रहमा ८ विकास बैंकले गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब २५ करोड ४२ लाख नाफा आर्जन गरेका थिए । चालु आवको सोहि अवधिमा यस्तो नाफा बढेर २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

अर्थमन्त्री र गर्भनरले कृषि विकास बैंकको प्रशंसा गर्दै भने- ‘बैंकको व्यवस्थापन अब्बल’

काठमाडौं । कृषि विकास बैंकको व्यवस्थापनबारे अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरले खुलेर प्रशंसा गरेका छन् । सोमबार बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीले खुलेर प्रशंसा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय कृषि विकास बैंक अब्बल र प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले उक्त बैंकले विगतमा धेरै समस्या झेल्दै अघि बढेको उल्लेख गर्दै अब्बल व्यवस्थापन र कर्मचारीका कारण अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले भने,  ‘कृषि विकास बैंकले जुन समस्या झेल्दै आएको थियो, बैंकिङ क्षेत्रको प्रतिस्पर्धामा पछाडि पर्दै गएको थियो । तर, पछिल्ला दिनमा बैंकको व्यवस्थापन र कर्मचारीले गरेको सामूहिक प्रयासका कारण आज अब्बल बैंक, राम्रो बैंक, अन्य बैंकको तुलनामा प्रतिस्पर्धा गर्न सामर्थ्य राख्ने बैंकका रूपमा आफूलाई चिनाएको छ ।’ यस्तै, अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बैंकले गरेको प्रगतिमा रमाएर बस्न नहुने धारणा व्यक्त गरे । उनले कर्मचारी र व्यवस्थापनलाई सुझाव दिँदै भने,  ‘पछिल्लो समय बैंकले गरेको प्रगतिमा रमाएर बस्ने होइन । थप उपलब्धी आर्जन गर्ने, थप सफलता आर्जन गर्न स्पेस छ । त्यो स्पेसलाई यहाँहरूले भरपुर सदुपयोग गर्नुहोस् ।’ बैंकका कर्मचारी र व्यवस्थापनको राम्रो सम्बन्ध भएको बैंकले धेरै प्रगति गर्ने सम्भावना धेरै हुने उल्लेख गर्दै उनले बैंकका कर्मचारी तथा संगठनका पदाधीकारीहरूलाई बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउन अनुरोध गरे । ‘बैंक सफल भयो, प्रभावकारी भयो र बैंकको इज्जत माथि उठ्यो भने समग्र कर्मचारीको इज्जत माथि उठ्छ । यसैगरी, बैंकको प्रतिष्ठा, पफर्मन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिने भएकाले बैंकको उन्नति र प्रगतिमा प्रहिलो प्राथमिकता दिनुपर्छ,’  उनले भने । कर्मचारी र व्यवस्थापनबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको तीतो अनुभव रहेको बताउँदै अर्थमन्त्री पौडेलले भने,  ‘कृषि विकास बैंकमा अन्यको तुलनामा सम्बन्ध राम्रो रहेको महशुस मैले गरेको छु । यो सम्बन्धलाई अझै राम्रो बनाउनु पर्दछ ।’ यस्तै, गभर्नर अधिकारीले कर्मचारी र व्यवस्थापनको सुमधुर सम्बन्ध रहेको भन्दै बैंक बधाईको पात्र भएको उल्लेख गरे । उनले सम्बोधन गर्नुअघि बैंकका कर्मचारी यूनियनका पदाधीकारीहरूले आ-आफ्नो मन्तव्य राखेको थिए । कर्मचारीहरूले खुलेर आफ्नो कुराहरू राखेको विषयलाई उदृत गर्दै उनले यसरी सञ्चालक र व्यवस्थापनको बारेमा कर्मचारीले खुलेर कुरा राखेको दुर्लभ पाइने गरेको बताए । त्यसकारण पनि कर्मचारी, व्यवस्थापन र सञ्चालकहरू बधाईको पात्र भएको उनको भनाइ थियो । कृषि विकास बैंकको विगतलाई कोट्याउँदै गभर्नर अधिकारीले उक्त बैंकको सुधारका लागि राष्ट्र बैंक र नेपाल सरकार मिलेर लगानी गरेको इतिहास सम्झिए । त्यस्तै, उनले कृषि विकास बैंकले हाल धेरै अब्बल व्यवस्थापकहरूमध्यको व्यवस्थापक पाएको दाबी गरे । उनले भने,  ‘व्यवस्थापकीय सीपको सन्दर्भमा केही सीमित व्यवस्थापकहरूको व्यवस्थापन बैंकले पाइरहेको महसुस भएको छ ।’ राष्ट्र बैंकले निरीक्षण गर्दा र तथ्यांकहरू केलाउँदा पनि सो बैंकको पफर्मेन्स राम्रो रहेको पाइएको उनले बतए । यसका साथै गभर्नर अधिकारीले गत वर्षको मुनाफाबाट बैंकले १० प्रतिशत लाभांश वितरण गरेको, कर्मचारी र कर्मचारी युनियनको गुनासो बैंकले राम्रोसँग सम्बोधन गरेको उल्लेख गर्दै उनले साैहार्द किसिमले बैंक अघि बढेको बताए । यस्तै, उनले बैंकको ऋण नतिर्न उक्साउने गतिविधिहरू रहेको बताउँदै कृषि विकास बैंकको लाहान शाखामा भएको घटनाप्रति नेपाल राष्ट्र बैंक र नेपाल सरकार संवेदनशील रहेको बताए । त्यस विषयमा आफूहरू सरकारका निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी उनले दिए । सम्बन्धित निकायहरूलाई बैंकिङ क्षेत्रमा यस्तो अराजकताको असर कति पर्छ ? अर्थतन्त्रमा कति असर पर्छ भनेर विषय उठान गराएको पनि उनले जानकारी दिए । कृषि विकास बैंक वाणिज्य बैंक भए पनि कृषि कर्जामा यस बैंकले नेतृत्व गरिरहेको गभर्नर अधिकारीले बताए । उक्त बैंकले कृषिमा गरेको लगानी समग्र बैंकिङ क्षेत्रमा ठूलो योगदान रहेको भन्दै साना तथा मझाैला उद्योगमा पनि सो बैंकले लगानी बढाउँदै गएको उनले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले ५ वर्षे व्यावसायीक रणनीती ल्याएको जानकारी दिए । ‘साझा समृद्धिका लागि सबैको रोजाइको बैंक’ भन्ने दूरदृष्टिका साथ २०८१ देखि २०८६ सम्मको ५ वर्षे व्यावसायीक योजना बैंकले अघि सारेको उनले बताए । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७९ करोड खुद नाफा आर्जन गरेको उल्लेख गर्दै सीईओ गुरुङले अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले नाफा वृद्धि गरेको बताए । खुद नाफाको आधारमा २० वटा बैंकमध्ये कृषि विकास बैंक ७औं नम्बरमा रहेको छ । गत आवको मुनाफाबाट बैंकले ७.५३ प्रतिशत नगत र ३ प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । धेरै लाभांश वितरण गर्ने वाषिज्य बैंकको चौथो नम्बरमा कृषि विकास बैंक रहेको पनि उनले जानकारी दिए ।