अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास
काठमाडौं । नेपालमा हुन्डाईले सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । उक्त एसयूभीमा गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मज्जाले गुड्न सक्ने र हरेक उमेरका ग्राहकलाई सुहाउने भएकाले यो नेपालमा धेरैको रोजाइ बन्न सफल भयो । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार क्रेटा १० हजार ग्राहकले किनिसकेका छन् । मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुुँदै एसयूभी सेगमेन्टमा क्रेटाले प्रभावकारी स्थान बनाउन सफल भएको हो । यो पनि भन्ने गरिन्छ कि नेपालमा एसयूभी सेग्मेन्टलाई अगाडि बढाउने काम क्रेटाले नै गरेको हो । लक्ष्मी ग्रुपको प्रतिष्ठित कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले २०६६ सालबाट हुन्डाई कम्पनीका गाडी बिक्री गर्न थालेको थियो । यो ग्रुपले हुन्डाईका गाडी बिक्री गर्न थालेको छोटो समयमै हुन्डाई कम्पनीको आधिकारिक डिलर बन्न सफल बन्यो । अहिले लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका १२ मोडेलका कार बिक्री गर्दै आइरहेको छ । जसमा स्यान्ट्रो, ग्रान्ड आई टेन एनआईओएस, आई ट्वान्टी, ओरा, भेन्यु, वर्ना, अल न्यु क्रेटा, टक्सन, सान्टा फे, पैलिसेड, आयोनिक इलेक्ट्रिक र कोना इलेक्ट्रिक छन् । नेपालमा हुन्डाईको सान्ट्रोदेखि लिएर आयोनिक फाइभ ईभीसम्मका सबै गाडी निकै रुचाइएको छ । सर्भिस पनि राम्रो भएकाले धेरैको रोजाइमा हुन्डाई पुग्न सफल भएको हो । मेड इन नेपाल एसयूभी हुन्डाईलाई सबैको मनमा राज गराउन सफल लक्ष्मी इन्टरकन्टिनेन्टलले चैत ११ गते (मार्च २४) सोमबार बहुप्रतीक्षित क्रेटा ईभी र क्रेटा आईस (इन्टर्नल कमबस्टन इन्जिन– यी गाडीहरू पेट्रोल, डिजेल वा ग्यासजस्ता इन्धन जलाएर ऊर्जा उत्पन्न गर्छन् र त्यसैबाट इञ्जिन चल्छ ।) लञ्च गर्यो । केही समयअगाडि भारतमा लञ्च भएको क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रहेको छ । क्रेटा ईभी विभिन्न चार भेरियन्टमा उपलब्ध छ । क्रेटा आइस नेपालमै बनेको गाडी हो । यो गाडी विभिन्न ५ भेरियन्टमा उपलब्ध छ । अब क्रेटा आईस नेपालमा आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आयातभन्दा नेपालमै बनेको गाडी सस्तो पर्न गएको छ । क्रेटा आईसको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले आयात गरेको भन्दा नेपालमै बनेको गाडी उपभोक्तालाई सस्तो पर्ने बताए । उनले आगामी दिनमा आवश्यकताअनुसार अन्य गाडी पनि बनाउने जानकारी दिए । लक्ष्मी ग्रुपको लगानी र हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा लक्ष्मी मोटर कर्पोरेशन स्थापना गरिएको हो । लक्ष्मी मोटर कर्पोरेशनले यसभन्दा अगाडि सन् २०२४ मा नेपालमा बनेको भेन्यू गाडी सार्वजनिक गरेको थियो । कर्पोरेशनले भेन्यूपछि क्रेटा आइस बनाएको हो । नेपालमा उत्पादन हुने गाडी कोरिया र भारतमा उत्पादित मोडल सरहकै हुने कम्पनीले दावी गर्दै आएको छ । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, कुल ग्राहस्थ उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्यले नेपालमा गाडी बनाउन थालिएको जनरल म्यानेजर थपलियाले जानकारी दिए । हुन्डाई एसेम्बल प्लान्ट कोशेढुंगा हुन्डाईको एसेम्बल प्लान्ट नेपालको नवलपरासीमा गत वैशाखदेखि सञ्चालनमा आएको थियो । लक्ष्मी मोटर कर्पोरेसनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरे पनि सरकारी नीतिका कारण प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । सरकारले बजेटमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएपछि कर्पोरेसनले प्लान्ट निर्माणको कामलाई अगाडि बढाएको थियो । नेपालमै पाँच भेरियन्टका गाडी (क्रेटा आइस) बन्नुले हुन्डाई एसेम्बल प्लान्ट नेपाली अटो उद्योगमा कोशेढुंगा साबित हुनसक्ने जानकारहरू बताउँछन् । प्लान्ट स्थापनाको पाँच वर्षभित्र वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने योजनामा लक्ष्मी कर्पोरेसनको रहेको छ । त्यस्तै, प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि भने वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गरिने बताइएको छ । विस्तारै नेपालमै कम्पनीले पाट्र्स पनि उत्पादन गर्ने लक्ष्य राखेको छ । अहिले विदेशबाट पार्टस् मगाएर गाडी उत्पादन गरिन्छ । एसेम्बल प्लान्टमा २०० जनाले रोजगारी पाएको थपलिया बताउँछन् । भेन्यूको बिक्री र ग्राहकको प्रतिक्रिया जनरल म्यानेजर थपलिया नेपालमा ५०० वटा भेन्यू गाडी बनेको बताउँछन् । उनका अनुसार ४५० हाराहारीमा भेन्यू गाडी बिक्री भइसकेको छ । थपलियाले आजसम्म कुनै पनि ग्राहककले नेपाल मेड भेन्यूलाई लिएर कुनै गुनासो नगरेको बताए । उनले भने, ‘हामीले ५०० भेन्यू गाडी नेपालमै बनाएका थियौं । जसमध्ये ४५० को हाराहारीमा गाडी बिक्री भइसकेको छ । आजका दिनसम्म यो गाडीको बारेमा कुनै नकारात्मक प्रतिक्रिया पाएका छैनौं । हाम्रा ग्राहक सन्तुष्ट हुनुहुन्छ ।’ पुष्टकारी बिक्रीदेखि सुरु भएको यात्रा सुरुवातकालीन अवस्थामा पुस्टकारी बेच्ने लक्ष्मी ग्रुपले हालसम्म आइपुग्दा आफूलाई निकै परिष्कृत गराएको छ । हाल लक्ष्मी ग्रुपले मिठाइबाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । देशभरि ग्रुपका २० भन्दा धेरै कम्पनी छन् । जसमा करिब २ हजारले रोजगारी पाइरहेका छन् । सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन् । गरिब किसानको छोराले बनाएको हुन्डाई हुन्डाईको व्यवसाय अटो र निर्माणलगायत धेरै क्षेत्रमा फैलिएको छ । तर, संसारमा यो कम्पनी केबल आफ्नो गाडीको लागि धेरै परिचित छ । हुन्डाईको स्थापना चुङ जु-युङले गरेका थिए, जसलाई लिएर आज दक्षिण कोरियाका हरेक नागरिक गर्व गर्दछन् । हुन्डाई समूहमा ८६ कम्पनी थिए । यसले चिप्सदेखि जहाजसम्म सबै कुरा बनाउँथ्यो । यसैबीच, चुङले अटो क्षेत्रमा सम्भावना देखे र कारको डिजाइनमा काम गर्न थाले । उनी मध्यम वर्गका लागि गाडी बनाउन चाहन्थे । करिब ८ वर्षको कडा परिश्रमपछि कम्पनीले सन् १९७५ मा आफ्नो पहिलो स्व–निर्मित कार पोनी लन्च ग¥यो । यो सस्तो र यसको डिजाइन पनि उत्कृष्ट थियो । पोनी यति सफल भयो कि यसले बजारको ६० प्रतिशत कब्जा ग¥यो । हुन्डाई १९८२ मा बेलायती बजारमा प्रवेश गरेको थियो र पहिलो वर्ष नै कम्पनीले त्यहाँ करिब ३ हजार कार बिक्री गरेको थियो । वर्षमै १ लाख ७० हजार कार बिक्री सन् १९८४ मा कम्पनीले क्यानडामा पोनी २ बिक्री गर्न थाल्यो, जुन राम्रो संख्यामा बिक्री भयो । सन् १९८६ मा कम्पनीले अमेरिकामा एक्सेल कार लन्च गरेको थियो र पहिलो वर्षमै १ लाख ७० हजार कार बिक्री गरेर हलचल मच्चाएको थियो । यो धेरै वर्षको लागि अमेरिकामा सबैभन्दा राम्रो बिक्री कार थियो । आज हुन्डाई विश्वको शीर्ष १०० सबैभन्दा मूल्यवान ब्रान्डहरूमा पर्छ । साथै यो टोयोटा र फक्सवागनपछि उत्पादनको हिसाबले तेस्रो ठूलो अटो कम्पनी हो । कम्पनीको व्यवसाय विश्वका १९३ देशमा फैलिएको छ । पुष्टकारीदेखि कार उत्पादनसम्म, हजारदेखि अर्बौंको यात्रा
ज्ञानेन्द्रको एक्जिटपछि ‘इनहाउस’बाटै सीईओ रोज्दै नबिल, सुजित र मनोजबीच ‘नेक टु नेक’
काठमाडौं । आफूलाई अब्बल बैंकका रूपमा परिचित गराइरहेको नबिल बैंक अब नयाँ नेतृत्वको खोजीमा छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले गभर्नर बन्ने दौडमा लागेर सीईओ पदबाट राजीनामा दिएसँगै अब बैंक नयाँ नेतृत्वको खोजीमा लागेको हो । यद्यपि बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत भने गरेको छैन । बैंक उच्च स्रोतका अनुसार उनले आइतबारको मिति राखेर सोमबार बैंकको सीईओबाट राजीनामा दिएका हुन् । औपचारिक रूपमा सोमबारमात्रै राजीनामा दिए पनि उनले यसअघि नै बैंकको सञ्चालक समिति र बैंकको उच्च व्यवस्थापकहरूलाई पनि आफू बाहिरिने जानकारी गराइसकेका थिए । सोही किसिमले बैंकले पनि तयारी र योजना गर्दै आएको थियो । तत्कालीन नेपाल बंगलादेश बैंकलाई नबिलमा गाभ्न ठूलो भूमिका खेल्ने ढुङ्गाना पछि नबिल बैंकको सीईओ बनेका थिए । २०७९ असारमा नबिल बैंकको सीईओका रूपमा काम गरेका उनी कार्यकालको बीचैमा नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा लागेका छन् । उनी गभर्नर बन्ने प्रतिस्पर्धामा लागेपछि नबिलले अब नयाँ नेतृत्व चुन्नेछ । विगतमा बाहिरबाट सीईओ ल्याउने अभ्यास भए पनि पछिल्लो समय भने बैंकिङ क्षेत्रमा इनहाउसबाट नेतृत्व राेज्ने अभ्यास देखिँदै आएको छ । त्यो अभ्यास हालै सीईओ नयाँ नियुक्त गरेका बैंकहरू स्ट्याण्डर्ड चार्टर्ड, एनएमबि, राष्ट्रिय वाणिज्य बैंक, कुमारी र प्राइम कमर्सियल बैंकले देखाइसकेका छन् । यी बैंकहरूमा भित्रैकै उच्च वरीयतामा रहेका कर्मचारीलाई सीईओमा नियुक्त गरेका हुन् । विकास बैंकहरूमा पनि यो अभ्यास देखिएको छ । नबिल बैंकमा पनि अब सोही अभ्यास देखिनेछ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकभित्रै क्षमतावान बैंकरहरू भएकोले बाहिरबाट सीईओ नियुक्त गर्नुपर्ने अवस्था नभएको धारणा राखे । यद्यपि उनको यो धारणा अन्तिम भने होइन । सञ्चालक समितिको बैठकको निर्णयअनुसार नै सीईओ नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ । ‘ढुङ्गानाको राजीनामा स्वीकृत भएको छैन, नयाँ सीईओको नियुक्ति अब सञ्चालक समितिको बैठकपछि मात्रै भन्न सकिन्छ, बैंकभित्र पनि क्षमतावान साथीहरू हुनुहुन्छ, बाहिरिबाट ल्याउनुपर्ने आवश्यकता नहोला कि,’ उनले विकासन्युजसँग भने । नबिल बैंकमा हाल दुई जना वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत छन् भने एक जना डेपुटी सीईओ र तीन जना महाप्रबन्धक छन् । ज्ञानेन्द्रपछि वरीयताको पहिलो नम्बरमा रहेका सुजित शाक्य र मनोज ज्ञवाली वरिष्ठ डीसीईओका रूपमा काम गरिरहेका छन् । तत्कालीन नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरिसकेका भूपेन्द्र पाण्डे डीसीईओ भएर काम गरिरहेका छन् । नबिल बैंकले इनहाउसबाटै नेतृत्व रोज्ने रणनीति बनाएमा सीईओ बन्न सक्ने सम्भावित पात्र शाक्य र ज्ञवाली नै हुन् । शाक्य एक अनुभवी बैंकर हुन् । यसअघि पनि उनले नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिमेवारी निर्वाह गरिसकेका छन् । सुजित शाक्य । फाइल तस्बिर नेपाली बैंकिङ क्षेत्रमा साढे दुई दशक अनुभव भएका शाक्यलाई नबिल बैंकभित्र अबको सम्भावित सीईओका रूपमा हेरिएको छ । उनले यसअघि हिमालयन, लक्ष्मी बैंक, तत्कालीन बैंक अफ एशिया, एनआईसी एशिया, तत्कालीन सिभिल, तत्कालीन जनता बैंक, ग्लोबल आइएमई र तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकमा पनि काम गरेको अनुभव छ । शाक्यले इन्स्टिच्युट अफ प्रोडक्टिविटी म्यानेजमेन्ट लखनउ भारतबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । हाल वरीयताको हिसाबमा अगाडि भएकोले पनि उनलाई सीईओको बलियो र सम्भावित पात्रका रूपमा हेरिएको छ । यस्तै, वरिष्ठ नायव सीईओ ज्ञवाली पनि सीईओ बन्न सक्ने सम्भावित दाबेदार हुन् । २०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर नबिल बैंकमा काम सुरु गरेका ज्ञवालीले यो चार वर्षको अवधिमा आफूलाई एक सक्षम बैंकरका रूपमा देखाएका छन् । नबिल बैंकमा डीजीएममा नियुक्त भएर काम सुरु गरेका उनी हाल वरिष्ठ डेपुटी सीईओ भएर काम गरिरहेका छन् । उनी नबिल बैंकमा आएपछि तीन पटक बढुवा भइसकेका छन् । उनी यो चार वर्षको बीचमा नायब महाप्रबन्धकबाट महाप्रबन्धक, डेपुटी सीईओ हुँदै वरिष्ठ डेपुटी सीईओमा बढुवा भएका हुन् । मनाेज ज्ञवाली । फाइल तस्बिर उनी गत पुसमा मात्रै बैंकको डेपुटी सीईओमा बढुवा भएका थिए । सञ्चालक समिति र सेयरधनीहरूसँग नजिक भएर काम गरिरहेका ज्ञवाली एक क्षमतावान र प्रष्ट वक्ताको रूपमा पनि परिचित छन् । यो हिसाबले उनी सीईओ बन्न सक्ने अनुमान धेरैको छ । युवाहरूमाझ पनि उत्तिकै चर्चित ज्ञवालीले नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहको फ्लेवर बैंकमा चखाइरहेका छन् । ज्ञवालीलाई सीईओ बनाउनकै लागि गत पुसमा मात्रै वरिष्ठ डेपुटी सीईओमा बढुवा गरेर बाटो खुला गरेको भन्ने चर्चा पनि बैंकभित्र छ । कर्णालीको दैलेखमा जन्मिएका मनोजको संर्घष र मिहिनेतको तारिफ गर्नेहरू पनि बैंकिङ क्षेत्रमा धेरै छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनीसँग नेपाल राष्ट्र बैंकमा पनि काम गरेको पनि अनुभव छ । नबिल बैंकको सञ्चालक समितिले अब आन्तरिक पफर्मेन्सका आधारमा दुई जना वरिष्ठ डीसीईओमध्ये एक जनालाई सीईओमा नियुक्त गर्ने सम्भावना बढेको छ । सीईओ ढुङ्गानाको राजीनामा स्वीकृत भएपछि कार्यवाहक सीईओ पाउनेले नै सीईओको नियुक्ति पाउन सक्ने सम्भावना रहेको बैंक स्रोतको दाबी छ ।
राम्रो काम गरिरहेकालाई हटाएर विवादित व्यक्तिलाई नियुक्ति, कस्ता पात्र हुन् हितेन्द्र र नारद ?
काठमाडौं । सरकारले राम्रो काम गरिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई बर्खास्त गरेर विवादित व्यक्तिलाई नियुक्ति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल घिसिङलाई बर्खास्त गर्दै उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । कुलमानले एक कार्यकाल सफलताका साथ सम्पन्न गरेर दोस्रो कार्यकालको अन्तिममा थिए । उनले दोस्रो कार्यकालमा पनि विद्युत प्राधिकरणलाई विद्युत उत्पादन तथा व्यवसायमा अब्बल संस्थानका रुपमा देखाएका छन् । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरणलाई कुलमानले नेतृत्व गरेपछि निरन्तर नाफामा लगेका थिए । प्राधिकरणले गत आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरिसकेको छ । प्राधिकरणका अनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । अहिले नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ । यो किसिमको फड्को मारिरहेको प्राधिकरणको नेतृत्वलाई सरकारले प्रतिसोध साँध्दै बर्खास्त गरेको हो । कुलमानलाई हटाएर सरकारले हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । शाक्यको प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा यो दोस्रो कार्यकाल हो । शाक्यको स्थायी घर इलाम हो । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् । उनी ओलीको श्रीमती राधिका शाक्यको भाइ हुन् । लामो समय उपकार्यकारी निर्देशक भएर काम गरेका उनी पछि प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । तर, सरकारले उनलाई उर्जा मन्त्रालयमा तानेर कुलमानलाई प्राधिकरणको जिम्मेवारी दिएको थियो । उनी सो निर्णयको विरुद्द अदालत पनि पुगेका थिए । उनीमाथि कमजोर व्यवस्थापको रुपमा पनि आलोचना हुने गरेको छ । यस्तै, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गरेको छ । उनी पनि विवादित पात्र हुन् । लुइँटेल यस अगाडि तारागाउँ विकास समितिको सदस्य सचिव रहँदा नै विवादित थिए । उनी पनि एमाले निकट मानिन्छन् ।