हर्मुज नखोल्ने इरानी अडान, अड्कियो वार्ता
काठमाडौं । इरान र अमेरिकाबीच खाडी क्षेत्रमा जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने विषयमा सहमति जुटाउने प्रयासमा अझै पनि मतभेद कायम रहेको एक वरिष्ठ इरानी स्रोतले जनाएको छ । उनका अनुसार जुनमा भएको अन्तरिम सम्झौतालाई पुनर्जीवित गर्ने र त्यसका प्रतिबद्धता कार्यान्वयन गर्ने समयसीमा तय गर्ने विषयमा भइरहेको वार्तामा कुनै प्रगति भएको छैन । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताविरुद्ध पुनः कडा टिप्पणी गरेको समयमा आएको हो । मंगलबार यस क्षेत्रमा पानीजहाजमाथि नयाँ आक्रमण भएका थिए, जसले संकट समाधानको आशामाथि थप धक्का पुगेको छ । जुनमा भएको सम्झौताले सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको थियो । तर सम्झौता चाँडै नै संकटमा परेको थियो । ट्रम्पले जुलाई ७ मा सम्झौता ‘समाप्त भइसकेको’ बताएका थिए भने त्यसको एक सातापछि इरानको विदेश मन्त्रालयले सम्झौता ‘स्थगित’ भएको घोषणा गरेको थियो । अमेरिकाले सम्झौताअनुसार इरानले महत्त्वपूर्ण सामुद्रिक मार्ग होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै आएको छ । तर तेहरानले अमेरिकाले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको बताएको छ इरानका अनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता पूरा गरेको छैन । इरानी स्रोतले रोयटर्ससँग भनेको छ, ‘मध्यस्थमार्फत छलफल भइरहेको विषयमध्ये एउटा अमेरिका अन्तरिम सम्झौतामा फर्किने र प्रतिबद्धता कार्यान्वयनका लागि समयसीमा तय गर्ने विषय हो। यस विषयमा बिल्कुलै प्रगति भएको छैन ।’ ट्रम्पले बुधबार अमेरिकाले होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरेका छन् । तर इरानले जलमार्ग व्यवस्थापनका लागि स्थापना गरेको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले भने जलमार्ग अझै अवरुद्ध रहेको र इरानका सर्त स्वीकार नभएसम्म पुनः नखोलिने जनाएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरानलाई लक्षित गर्दै ‘इरान कुरा मात्रै गर्छ, काम गर्दैन’ भन्दै मध्यपूर्वको ‘दादागिरी’ अब नरहेको टिप्पणी गरेका छन्। यस द्वन्द्वका क्रममा ट्रम्पले कहिले युद्ध थप चर्किने चेतावनी दिँदै आएका छन् भने कहिले शान्ति सम्झौता नजिकै पुगेको दाबी गर्दै आएका छन् । ६० दिनको समयसीमा बढाउने विषयमा छलफल नै छैन फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि जारी द्वन्द्वमा मुख्यतः इरान र लेबनानमा हजारौं मानिसको मृत्यु भएको बताइएको छ । इरानले ओमान, जोर्डन, कुवेत, इजरायल, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायत देशमा रहेका अमेरिकी सम्पत्ति तथा पूर्वाधारलाई समेत निशाना बनाएको छ । जुनमा भएको अन्तरिम युद्धविराम सम्झौतामा ६० दिनको समयसीमा तोकिएको थियो । आपसी सहमतिमा यो अवधि थप गर्न सकिने व्यवस्था थियो । यस अवधिभित्र इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकाले लगाएका प्रतिबन्ध हटाउने विषयमा अन्तिम सम्झौता गर्ने अपेक्षा गरिएको थियो । तर इरानी स्रोतले बुधबार टर्कीको अनादोलु समाचार एजेन्सीले दिएको एउटा रिपोर्टलाई अस्वीकार गरेको छ । उक्त रिपोर्टमा पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै ६० दिनको अवधि थप गर्न सहमति भएको उल्लेख गरिएको थियो । इरानी स्रोतले रोयटर्ससँग भनेको छ, ‘समयसीमा थप गर्ने विषयमा कुनै छलफल भएको छैन, किनभने इरानको दृष्टिकोणमा सुरु भएको कुनै अवधि नै छैन, त्यसैले थप गर्ने प्रश्न पनि आउँदैन । अमेरिकाले अन्तरिम सम्झौता भएको ४८ घण्टामै त्यसको उल्लंघन गरेको थियो र केही दिनपछि सम्झौताबाट बाहिरिएको थियो ।’ हर्मुज जलडमरूमध्यमा तनाव इरान र ओमानबीच तथा पर्सियन गल्फको प्रवेशद्वारमा रहेको साँघुरो हर्मुज जलडमरूमध्य युद्धअघि विश्वको कुल कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौं हिस्सा ओसारपसार हुने प्रमुख समुद्री मार्ग थियो । युद्ध सुरु भएयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको थियो, जुन युद्धअघिको स्तरभन्दा करिब ७५ प्रतिशत बढी हो । खाडी क्षेत्रबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता र शान्तिवार्तासम्बन्धी बदलिँदो संकेतका कारण तेल बजारमा उतारचढाव जारी छ । मंगलबार छुट्टाछुट्टै घटनामा पानीजहाजमाथि आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ । घटनापछि बुधबार तेलको मूल्य सुरुमा बढे पनि पछि केही स्थिर भएको थियो । सन् २०२६ मा विश्वव्यापी तेलको मागबारे गरिएको अनुमान घटाइएपछि पनि बजारमा उतारचढाव देखिएको छ । बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ८८ डलर र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य करिब ८३ डलरको आसपास कारोबार भइरहेको थियो । (रोयटर्सबाट अनुदित तथा सम्पादित) इरानी मिसाइल हमलाको डरले ट्रम्पले चुपचाप बदलेका थिए विमान हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासँग राख्यो चार सर्त
नाइमा एक्स्पोमा राखिएका ७ महँगा कार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला अटोप्रेमीहरुले भरिभराउ छ । बुधबार नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ । नाइमाका अनुसार २ दिनमै ५५ हजारले एक्स्पोको अवलोकन गरेका छन् । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजिएका छन् । नाइमा एक्स्पोमा करिब १९ लाखदेखि झण्डै ३ करोडसम्म पर्ने महँगा र सस्ता कारहरू प्रदर्शनीमा राखिएका छन् । विभिन्न अटो कम्पनीहरुले उक्त कारहरु प्रदर्शनमा राखेका हुन् । डेन्जा बी फाइभ नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा एक्स्पोमा डेन्जा बी फाइभ राखेको छ । जुन नाइमा एक्स्पोमै महँगो कारका रुपमा रहेको छ । कम्पनीले प्रिमियम लग्जरी एसयूभी डेन्जा बी फाइभको मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकेको छ । डेन्जा बी फाइभ दुई भेरियन्टमा उपलब्ध छ । यसको डाइनामिक भेरियन्टको लम्बाइ ४८८८ एमएम र प्रिमियम भेरियन्टको लम्बाइ ४९२१ एमएम छ । दुवै भेरियन्टको चौडाइ भने समान १९७० एमएम छ । यसमा २८०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वील साइज पनि फरक छ । डाइनामिक भेरियन्टमा १८ इन्चको ह्वील छ । माथिल्लो प्रिमियम भेरियन्टमा २० इन्चको ह्वील पाउन सकिन्छ । डेन्जा बी फाइभ मोडलमा १४९७ सीसी क्षमताको टर्बो इन्जिन दिइएको छ । यक्त इन्जिनको अधिकतम १८१ एचपी पावर प्रदान गर्छ । इन्जिनको पीकटर्क भने २६० न्युटन मिटर रहेको छ । यसमा ईएचएस इलेक्ट्रीक हाइब्रिड सिस्टम उपलब्ध छ । उक्त सिस्टमसँग ३१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसमा ८३ लिटर क्षमको इन्धन ट्याङ्की छ । फुल ट्याङकी इन्धन र फुल चार्ज ब्याट्री छ भने ८५० किलोमिटर चलाउन सकिने डब्लूएलटीपी टेस्टमा देखिएको छ । ईभी मोडमा मात्रै ९० किलोमिटर हाराहारी चलाउन सकिन्छ । विद्युतीय मोटर निकै पावरफुल प्रयोग भएको छ । अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने बी फाइभ एसयूभीको अगाडि २०० किलोवाट र पछाडि २२५ किलोवाटको मोटर दिइएको छ । इन्जिन र मोटरको संयुक्त पावर ४२५ किलोवाट हुनेछ । निकै पावरफुल मोटर भएको कारण यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ४.८ सेकेण्ड मात्रै लाग्नेछ । यसको टप स्पीड क्षमता प्रतिघण्टा २१० किमी छ । डेन्जा बी फाइभले १०० किलोवाटको डीसी र ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । यो नाइमा एक्स्पोकै महँगो गाडी हो । एमजी मेजेस्टर इन्डिया मेड एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले पनि नाइमा एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक गरेको हो । कम्पनीले मेजेस्टर एसयूभीको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ । एमजी मेजेस्टर एसयूभीमा निकै शक्तिशाली इन्जिन छ । यसले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर गिनिज वल्र्ड रेकर्ड समेत बनाएको थियो । एमजी मेजेस्टरमा २.० लिटरको ट्विन टर्बोचाज्र्ड डिजेल इन्जिन छ । उक्त इन्जिनले २१५.५ पीएस पावर तथा ४७८.५ न्युटन टर्क उत्पादन गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । मेजेस्टर एसयूभी रियर ह्वील र फोर ह्वील दुवै ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, चौडाइ १८७६ एमएम र २९५० एमएम लामो ह्वीलबेस छ । यसको अगाडि विशाल ठूलो ग्लसी ब्ल्याक कलरको ग्रिल प्रयोग गरिएको छ । पछाडि दिइएको दुई वटा ‘एग्जस्ट पाइप’ले गाडीलाई थप स्पोर्टी बनाएको छ । एमजीको म्याक्सस डी ९० मा आधारित म्याजेस्टरले ठूला गाडी चाहनेहरूको आवश्यकता पूरा गर्नेछ । मेजेस्टरको ग्रिलको दुवै छेउमा ठाडो आकारमा दिइएको एलईडी हेडलाइट छ । हेडलाइटको माथि आइब्रो डिजाइनमा स्लीक एलईडी डे टाइम रनिङ लाइट दिइएको छ । अगाडिको बम्परको तल्लो भागमा रग्ड देखिने कालो बडी क्लाडिङ पाउन सकिन्छ । एमजीले यसमा १९ इन्चको ड्यूल टोन ह्वील दिएको छ । पछाडि कनेक्टेड एलईडी टेल लाइट दिएको छ ।पछाडि बम्परको तल्लो भागमा सिल्भर कलरको स्कीड प्लेट दिएको छ । एमजी मेजेस्टर जस्तोसुकै अफरोडमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेगरी आएको छ । यसमा १० वटा अफरोड मोडहरू सहितको फोर ह्वील ड्राइभ सिस्टम, ट्रिपल डिफरेंशियल लक (अगाडि, पछाडि र बीच), क्रल कन्ट्रोल र २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यसलाई ८१० एमएम गहिरो पानीमा पनि चलाउन सकिन्छ । सुरक्षाका लागि मेजेस्टरमा लेभल २ एडास दिइएको छ । यसको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इन्फर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील दिएको छ । थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउण्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिटले यात्रुको लागि यो उत्कृष्ट मोडल बनाएको छ । आयोनिक नाइन हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि नाइमा एक्स्पोमा आयोनिक नाइन बिक्री सुरु गरेको हो । कम्पनीले लक्जरी एसयूभी आयोनिक नाइनको मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकेको छ । ७ सिट क्षमताको यो एसयूभी लामो ड्राइभिङ रेन्ज, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा फिचर तथा तीव्र चार्जिङ क्षमताका कारण विश्व बजारमा चर्चित छ । आयोनिक नाइनलाई कम्पनीले आफ्नो ई जीएमपीमा आधारित रहेर बनाएको हो । ८०० भोल्ट विद्युतीय आर्किटेक्चर प्रयोग भएको एसयूभीले उच्च कार्यक्षमता, उत्कृष्ट स्थिरता, राम्रो तौल सन्तुलन कायम गर्छ । १६० किलोवाटको इलेक्ट्रीक मोटर रहेको यो एसयूभीमा ११० किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । यसले एक पटकको फुलचार्जमा ६२० किलोमिटरसम्म रेन्ज डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई करिब १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २४ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ । विभिन्न भेरियन्टमा उपलब्ध यो एसयूभीमा रियर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । विकल्पमा डुअल मोटर भएको अल ह्वील ड्राइभ सिस्टम पनि छ । तीव्र एक्सेलेरेसन, उच्च टर्क र सहज पावर डेलिभरीले यसलाई प्रिमियम इलेक्ट्रिक एसयूभी बनाएको छ । डिजाइनका हिसाबले पनि आयोनिक नाइनले हुन्डाईको नयाँ एरो एस्थेटिक डिजाइन दर्शनलाई पछ्याएको छ । एरोडाइनामिक बडी, पिक्सेल शैलीका एलईडी लाइट, क्लोजअफ ग्रिल पाउन सकिन्छ । इन्टेरियरमा डुअल प्यानोरामिक डिस्प्ले, डिजिटल ककपिट, प्रिमियम सामग्री, आरामदायी सिट, मल्टि जोन क्लाइमेट कन्ट्रोल, ओटीए सफ्टवेयर अपडेट, डिजिटल की, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६० डिग्री क्यामेरा पाउन सकिन्छ । हाइलक्स र र्याभ फोर नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुईवटा मोडल नाइमा एक्स्पोमै लन्च गरेको छ । जसमा हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी लन्च गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा र्याभ फोर हाइब्रिडको २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । बलियो निर्माण, अफरोड क्षमता र व्यावसायिक तथा व्यक्तिगत प्रयोगका लागि लोकप्रिय हाइलक्सको नयाँ संस्करणमा डिजाइन, प्रविधि र सुविधामा अपडेट गरिएको छ । नयाँ र्याभ फोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ । सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने र्याभ फोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ, जुन अहिले बजारमा रहेको र्याभ फोरको तुलनमा १८ पीएसले बढी हो । सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध हुनेछ । एचएस पीएचईभी एमजी (चीन)को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि नाइमा एक्स्पोमा एमजी एचएस पीएचईभी बिक्री सुरू गरेको हो । कम्पनीले एचएस प्लगइन हाइब्रिडको मूल्य १ करोड २० लाख रुपैयाँ तोकेको छ । पर्फमेन्स, विद्युतीय रेन्ज, व्यावहारिकता र मूल्यका कारण यो एसयूभी विश्व बजारमा निकै सफल छ । एमजी एचएस एसयूभीमा १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनसँगै १३५ किलोवाटको इलेक्ट्रीक मोटर जोडिएको छ । दुवैको संयुक्त रूपमा २९५ बीएचपी रहने छ । पावरफुल इन्जिन भएको कारण एचएस हाइब्रिड एसयूभीले ० देखि १०० किलोमिटरको स्पीड केबल ६.१ सेकेण्डमै भेट्टाउने छ । ब्याट्री र इलेक्ट्रीक मोटर प्रयोग भएको कारण चलाउन पनि निकै सहज लाग्छ । एमजी एचएस प्लगइन हाइब्रिड एसयूभीको सबैभन्दा ठूलो आकर्षण यसको विद्युतीय रेन्ज हो । कम्पनीले यसको आधिकारिक इलेक्ट्रीक रेन्ज १२० किलोमिटर दाबी गरेको छ । विभिन्न परीक्षणमा ११० किलोमिटर माथि प्योर ईभी रेन्ज पाइएको छ । रोचक कुरा के छ भने एमजी एचएस हाइब्रिड मोडलले प्रति किलोमिटर कार्बन उत्सर्जन केबल १२ ग्राम मात्रै गर्छ । औसत पेट्रोल कारले १०० किलोमिटरको यात्रा गर्दा १७ केजी कार्बन उत्सर्जन गर्छ । एमजी एचएसको अर्को बलियो पक्ष यसको फराकिलो इन्टेरियर हो । यसको ५०७ लिटर क्षमताको बुट स्पेस सेग्मेन्टकै ठूलो मानिन्छ । ड्यासबोर्डमा दुईवटा १२.३ इन्चका स्क्रीन दिइएको छ । यसमा १९ इन्चको एलोय ह्वील, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामेरा र किलेस इन्ट्रीजस्ता सुविधा उपलब्ध छन् । साथै, भेन्टिलेटेड फ्रन्ट सिट, हेडअप डिस्प्ले र वायरलेस स्मार्टफोन चार्जिङ सुविधा छ । कम्पनीले यसको मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीमा ८ वर्ष वा डेढ लाख किलोमिटर (जुन पहिला आउँछ) वारेन्टी दिएको छ । बीजे३० चिनियाँ अटोमोबाइल ब्राण्ड बीएआईसी (बेइक)को हाइब्रिड एसयूभी बीजे३० सार्वजनिक भएको छ । यो गाडी लक्ष्मी मोटरले नाइमा एक्स्पोमा सार्वजनिक गरेको हो । अफ-रोड डिजाइन र आधुनिक विद्युतीय प्रविधिको संयोजनको बीजे३०ईको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा बीएआइसी ब्राण्डको प्रवेशसँगै कम्पनीले हाइब्रिड प्रविधिसहितको एसयूभी बजारमा उतारेको हो । बीजे३०ई यसको हाइब्रिड पावरट्रेनले पेट्रोल इन्जिनसँग विद्युतीय मोटरको संयोजनमार्फत सञ्चालन गर्छ । यसले परम्परागत पेट्रोल एसयूभीको तुलनामा इन्धन खपत कम गर्ने तथा ड्राइभिङमा थप सहजता दिने लक्ष्य राख्छ । आकर्षक बक्सी डिजाइन, एलईडी लाइटिङ, ठूलो ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरूफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्मेन्ट स्क्रिन तथा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता फिचरले यसलाई प्रिमियम सेग्मेन्टमा प्रतिस्पर्धी बनाउने कम्पनीको विश्वास छ ।
मिसन रिकभरी, बिजनेश ग्रोथमा सहकार्य
काठमाडौं । खराब कर्जा बढेर पाँच प्रतिशतको हाराहारीमा पुग्ने देखिएपछि नबिल बैंकका उच्च व्यवस्थापक नै समस्यामा परेका ऋणीसँग प्रत्यक्ष संवाद गर्न शाखा-शाखामा पुगे । ऋणीको वास्तविक समस्या पहिचान गर्ने, समाधानका उपाय खोज्ने र आवश्यक सहजीकरण गरेपछि बैंकले खराब कर्जा घटाउन सफलता पायो । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आदर्श बजगाईंले भने, ‘ग्राहकको मुख्य समस्या के रहेछ भनेर पत्ता लगाउन सक्षम भयौं । उहाँहरूका समस्या बुझेर त्यसलाई समाधान गर्नतर्फ लाग्यौं । कतिपय विषयमा ग्राहकलाई राम्रोसँग प्रक्रिया बुझाएर समन्वयात्मक रूपमा काम गरेको हुँदा खराब कर्जा घटाउन सफल भयौं ।’ जसको परिणामस्वरूप अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४.४८ प्रतिशत रहेको नबिलको खराब कर्जा गत आर्थिक वर्ष २०८२/८३ मा ४.२० प्रतिशतमा झरेको छ । गत वर्षको प्रयासले खराब कर्जा घटे पनि चुनौती सकिएको छैन । विशेषगरी निर्माण क्षेत्र अझै कठिन अवस्थामा रहेकाले त्यस्ता ऋणीलाई समस्याबाट बाहिर निकालेर पुनः व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउनु बैंकको प्राथमिकतामा छ । ‘अझै पनि असुली गर्नुपर्ने धेरै छ । निर्माण क्षेत्रका व्यवसायीहरू अझै अप्ठ्यारो अवस्थामा छन् । उहाँहरूलाई सहयोग गर्नुपर्नेछ, उहाँहरूलाई अप्ठ्यारोबाट बाहिर निकाल्नुपर्नेछ,’ डीसीईओ बजगाईंले भने । असुलीमा गरिएको जोडको सकारात्मक प्रभाव बैंकको नाफामा पनि देखिएको छ । नबिलले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेको हो । खराब कर्जा नियन्त्रण र असुलीका लागि बैंकको व्यवस्थापन परिचालन हुँदा त्यसको सकारात्मक प्रभाव बैंकको वित्तीय विवरणमा परेको बजगाईंको भनाइ छ । साथै चाइनिज ग्यारेन्टसम्बन्धी मुद्दामा बैंकले लडेको कानुनी लडाइँबाट प्राप्त परिणामले पनि नाफामा सकारात्मक योगदान गरेको उनले बताए । उक्त प्रकरणबाट कर कट्टीपछि करिब ६३ करोड रुपैयाँले बैंकको नाफामा सकारात्मक प्रभाव परेको उनले जनाए । गौरवका आयोजना प्राथमिकतामा गत असारसम्म बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन १२.९५ प्रतिशत र कर्जा लगानी १२ प्रतिशत बढी हो । सञ्चालक समितिको मार्गदर्शन, व्यवस्थापनको सामूहिक प्रयास, कर्मचारीबीचको सहकार्य, संस्थागत सुशासन र ग्राहकको विश्वासले बैंकको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको डीसीईओ बजगाईंको भनाइ छ । चालु आर्थिक वर्षमा पनि बैंकले सोही हाराहारी व्यवसाय विस्तारको लक्ष्य राखेको उनले बताए । विशेषगरी सरकारले अघि सारेका गौरवका आयोजना तथा ठूला परियोजनालाई नबिलले आगामी व्यवसाय विस्तारको अवसरका रूपमा लिएको छ । सरकारले घोषणा गरेका परियोजनाको काम अघि बढे अग्रणी बैंकका रूपमा आफूहरू पनि त्यसमा सहभागी हुने बजगाईं बताउँछन् । ‘नयाँ परियोजनामा हामीले योगदान गर्न सक्छौं र त्यसबाट बैंकको व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने । बैंकले संस्थागत छवि निर्माण, ग्राहकको विश्वास, सुशासन र सामाजिक उत्तरदायित्वलाई पनि व्यवसाय विस्तारको आधार बनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुले समेत संस्थाप्रतिको विश्वास बलियो बनाउन सहयोग गरेको बजगाईंको भनाइ छ । उनका अनुसार बैंकको व्यवसाय केवल कर्जा प्रवाह बढाएर मात्र विस्तार हुँदैन । संस्थाको प्रतिष्ठा, बजार प्रवर्द्धन, सञ्चालन जोखिम व्यवस्थापन, विद्युतीय सुरक्षा, डिजिटल क्षमता, परियोजना विश्लेषण र कर्जा मापदण्डजस्ता पक्षले ग्राहक तथा व्यापारिक समुदायमा विश्वास निर्माण गर्छन् । ‘एउटा संस्था चलाउँदा बजार प्रवर्द्धन, सञ्चालन जोखिम, विद्युतीय सुरक्षा जोखिम, डिजिटल क्षमता, परियोजनाको विश्लेषण, कर्जा मापदण्डलगायत धेरै पक्षमा काम गर्नुपर्छ । ती सबै पक्षमा काम गरिसकेपछि व्यापारिक जगत र ग्राहकसँग एउटा किसिमको विश्वास सिर्जना हुन्छ । त्यही विश्वासले व्यवसाय बढ्ने हो,’ उनले भने । बैंकले नियामकले तोकेका क्षेत्रमा अनिवार्य कर्जा लगानीसँगै अवसर देखिएका अन्य क्षेत्र हाइड्रोपावर, सोलार पावर, एसएमई, विद्युतीय सवारीसाधन (ईभी) मा लगानी विस्तार गर्ने योजना अघि सारेको छ । व्यवसाय विस्तारका लागि बैंकले विज्ञ टोलीसँगको राय सुझाव पनि लिने गरेको उनको भनाइ छ । ‘बैंकले रिसर्च एनालिस्टहरू, इकोनोमिस्टहरू पनि राखेको छ । उहाँहरूले पनि हामीलाई रणनीतिक रूपमा कहाँ अवसर छ, तथ्याङ्कसहित सुझाव-सल्लाह दिनु हुन्छ । कहाँ कस्तो अवसर छ, कहाँ के भइरहेको छ भन्ने विषयमा हाम्रो छलफल हुन्छ स्ट्राटेजी कमिटीमा । अनि त्यो स्ट्राटेजी कमिटीमा गरेकाे छलफलअनुसार हामी अगाडि बढ्छौं,’ उनले भने । सुशासन र अनुपालनमा नो कम्प्रमाइज नबिल बैंकले व्यवसाय विस्तारसँगै सुशासन, अनुपालन र जोखिम व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै आएको छ । बैंक हालसम्म नेपाल राष्ट्र बैंकको कारबाहीमा नपर्नुको एउटा कारण सुशासनलाई प्राथमिकतामा राखेर काम गर्नु रहेको डीसीईओ बजगाईं बताउँछन् । उनका अनुसार छोटो समयका लागि व्यापार विस्तार गर्न सुशासन, अनुपालन र जोखिम व्यवस्थापनमा सम्झौता गर्ने हो भने त्यस्तो व्यवसाय दीर्घकालीन रूपमा टिक्दैन । ‘दुई-चार वर्ष व्यापारमा मात्रै जोड दिएर व्यापार राम्रो गर्ने तर अनुपालन र सुशासनमा सम्झौता गर्ने हो भने त्यो दुई-चार वर्षभन्दा बढी टिक्दैन भन्ने छर्लङ्ग छ । त्यसकारण हामीले देखेर पनि सिक्नुपर्छ । अनुपालन, सुशासन र जोखिमलाई सम्झौता गरियो भने दुई-तीन वर्ष राम्रो गरिएला, तर त्यो टिकाउ र दीर्घकालीन हुँदैन,’ उनले भने, ‘सुशासन र जोखिमलाई कायम राख्दै व्यवसाय गर्ने हो । त्यसरी नै दीर्घकालीन र टिकाउ व्यवसाय हुन्छ ।’ बजगाईंका अनुसार संस्थाको सुशासन, अनुपालन र जोखिम व्यवस्थापनप्रतिको प्रतिबद्धताले ग्राहक तथा व्यापारिक समुदायमा पनि विश्वास निर्माण गर्छ । यही विश्वास दीर्घकालीन व्यवसाय विस्तारको आधार बन्ने उनको भनाइ छ । सुशासन र अनुपालनलाई व्यवहारमा उतार्न बैंकले विभिन्न नीतिगत व्यवस्था गरेको छ । बैंकमा कर्जा जोखिम व्यवस्थापन नीति, सुशासन नीति र सञ्चालन जोखिम व्यवस्थापन नीतिलगायतका व्यवस्था छन् । यिनै नीतिगत संरचनामार्फत बैंकका विभिन्न गतिविधि सञ्चालन र निगरानी हुने गरेको बजगाईंले बताए । कर्जा स्वीकृतिमा पनि विभिन्न तहको जाँच र सन्तुलनको व्यवस्था गरिएको छ । बैंकमा कर्जा समिति रहेको र २ अर्ब रुपैयाँसम्मका कर्जा प्रस्ताव उक्त समितिबाट स्वीकृत हुने व्यवस्था छ । २ अर्ब रुपैयाँभन्दा माथिका कर्जा प्रस्ताव भने सञ्चालक समितिमा पुग्छन् । साना कर्जाका लागि छुट्टै कर्जा समिति रहेको उनले बताए । ‘सबैको आ-आफ्नो धारणा हुन्छ । यो ठीक हो, त्यो बेठीक हो भनेर छलफल हुन्छ । सञ्चालन, व्यवसाय र जोखिमको पनि प्रतिनिधित्व हुन्छ । व्यवसायले ल्याएको फाइलमा जोखिम पक्षले यो ठीक छैन भन्न सक्छ, अनुपालन पक्षले पनि प्रश्न उठाउन सक्छ,’ उनले भने, ‘बैंकले बनाएका नीति, समिति र संरचना कार्यान्वयन भए-नभएको नियमित लेखापरीक्षणमार्फत परीक्षण गरिन्छ । कुनै प्रक्रिया पूरा नभएको वा नीतिअनुसार काम नभएको अवस्थामा लेखापरीक्षणले त्यसबारे टिप्पणी गर्ने र सुधारका लागि प्रक्रिया अघि बढाउने व्यवस्था छ ।’ लेखापरीक्षणको प्रतिवेदन सञ्चालक समितिसम्म पुग्ने र देखिएका कमजोरी सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाइने बजगाईंले बताए । उनका अनुसार बैंकले बनाएका नीति र प्रक्रिया निरन्तर पालना गर्दै जाने हो भने संस्थाभित्रको निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन र अन्य संरचना आफै सन्तुलित हुँदै जान्छन् । डिजिटलबाट लागत घटाउने नबिल बैंकले आगामी दिनमा खुद्रा कर्जा तथा साना तथा मझौला उद्यमका कर्जा डिजिटल माध्यमबाट प्रवाह गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । कर्जा आवेदनदेखि मूल्यांकन र स्वीकृतिसम्मको प्रक्रिया डिजिटल बनाउन सके शाखाको सञ्चालन खर्च घटाउन सकिने बैंकको अपेक्षा छ । बैंकले खुद्रा तथा साना तथा मझौला उद्यमका कर्जालाई डिजिटल माध्यमबाट मूल्यांकन गर्न सकिने गरी कर्जा मूल्यांकन प्रणाली विकास गर्ने तयारी गरेको छ । कृत्रिम बाैद्धिकता (एआई) को सहयोगमा कर्जा योग्यताको मूल्यांकन गर्ने र ग्राहकले आफ्नै मोबाइल फोन वा कम्प्युटरबाट कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था विस्तार गर्ने बैंकको योजना छ । यस्तो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा कर्जाका लागि ग्राहकले शाखामै पुग्नुपर्ने आवश्यकता कम हुनेछ । त्यससँगै बैंकले शाखाको संख्या र सञ्चालन संरचनाको समेत पुनरावलोकन गर्दै सञ्चालन खर्च घटाउने योजना रहेको डीसीईओ बजगाईं बताउँछन् । ‘बैंकिङ प्रणालीमा १५ खर्बभन्दा बढी रकम थुप्रिएर बसेको अवस्थामा ब्याजदर निरन्तर घट्दै जाँदा बैंकहरूले आधारदर आसपासमै कर्जा दिनुपर्ने अवस्था आएको छ । अर्कोतर्फ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिने विभिन्न शुल्कमा समेत कडाइ गरेको छ । कुन सेवा शुल्क लिन पाउने र कुन शुल्क लिन नपाउने भन्नेमा नियामकीय व्यवस्था कडा बन्दै गएपछि शुल्कबाट हुने आम्दानीमा समेत दबाब परेको छ । यस्तो अवस्थामा बैंकका लागि सञ्चालन खर्च घटाउनु महत्वपूर्ण बनेको छ,’ उनले भने । नबिलले पछिल्लो समय डिजिटल प्रविधिलाई आफ्नो प्राथमिकतामा राखेको छ । विगतमा कागजी रूपमा हुँदै आएका धेरै काम कम्प्युटर प्रणालीमा रूपान्तरण भइसकेका छन् भने एआईको प्रयोग बढ्दै गएको छ । बैंकका अनुसार नबिलमा अहिले करिब ९० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट हुने गरेको छ । डिजिटल कारोबारको हिस्सा यति धेरै भइसकेपछि बैंकले प्रविधिको प्रयोगलाई सेवा प्रवाहमा मात्र नभई सञ्चालन खर्च घटाउने रणनीतिसँग पनि जोडेको छ । यसका लागि कर्मचारीको डिजिटल क्षमता अभिवृद्धिलाई समेत बैंकले प्राथमिकतामा राखेको छ । कर्मचारीलाई विभिन्न डिजिटल साक्षरता तथा प्रविधिसम्बन्धी पाठ्यक्रम अध्ययन गराउने र नयाँ प्रविधिसँग अभ्यस्त बनाउने काम भइरहेको बजगाईंले बताए । ‘हामीले सबै कर्मचारीलाई डिजिटल साक्षरता गराएर क्षमतावान बनाउने, छिटो काम गर्ने र सजिलोसँग काम गर्ने दिशामा व्यापक रूपमा तालिम दिइरहेका छौं । यसले कर्मचारीको सीपको स्तर बढाउँछ, काम छिटो हुन थाल्छ र अन्ततः सञ्चालन खर्च घट्छ। समयको पनि बचत हुन्छ,’ उनले भने । डिजिटल कारोबारको विस्तारसँगै नबिलले आफ्नो शाखा सञ्जालको आवश्यकता र उपयोगितामाथि पनि अध्ययन थालेको छ । विगतमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा शाखा विस्तार गरिएको भए पनि अहिलेको डिजिटल कारोबारको अवस्थाले शाखाको संरचनामाथि पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । छोटो दूरीमै धेरै शाखा रहेका कारण ती शाखालाई निरन्तर सञ्चालन गर्दा लाग्ने खर्च र त्यसबाट ग्राहक तथा बैंकलाई हुने लाभबारे अध्ययन भइरहेको बजगाईं बताउँछन् । ‘विगतमा सरकारले सबै ठाउँमा शाखा हुनुपर्छ भनेर सबै ठाउँमा शाखा खोलियो। जहाँ एक-दुईवटा शाखा छन्, त्यहाँ ठीकै छ । तर काठमाडौंमा गल्लीपिच्छे शाखा छन् । कारोबार नै ९० प्रतिशत डिजिटल माध्यमबाट भइरहेको छ भने शाखाको आवश्यकता रहन्छ कि रहँदैन, के गर्दा ग्राहक र बैंकलाई फाइदा हुन्छ भनेर अध्ययन गरिरहेका छौं,’ उनले भने । राष्ट्र बैंकले पनि धेरै शाखा भएका स्थानमा शाखा समायोजन गर्न सकिने गरी सहजीकरण गरिसकेको छ । सोहीअनुसार नबिलले केही महानगर क्षेत्रमा शाखा समायोजन गरिसकेको छ भने थप शाखा समायोजनका लागि दोस्रो चरणको अध्ययन अघि बढाएको छ । छिट्टै लाभांश दिने नबिल बैंकको लाभांश इतिहास हेर्दा विगतमा सेयरधनीले उच्च प्रतिफल पाउँदै आएको देखिन्छ । गत आर्थिक वर्ष २०८२/८३ मा बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ रहेको छ । यही आधारमा बैंकको लाभांश वितरण क्षमता १९.१० प्रतिशत रहेको छ । वास्तविक लाभांश भने सञ्चालक समितिको निर्णय र नियामकीय स्वीकृतिपछि मात्रै तय हुनेछ । बैंकले छिट्टै नै साधारण सभा गरेर सेयरधनीलाई लाभांश वितरण गर्ने योजना बनाएको छ । त्यसका लागि सञ्चालक समितिले लाभांश प्रस्ताव गर्नुपर्नेछ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि साधारण सभाबाट अनुमोदन गर्नुपर्नेछ । ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकले यसपटक कति प्रतिशत लाभांश वितरण गर्ला भन्ने चासो सेयरधनीमा देखिएको छ ।