इरानी मिसाइल हमलाको डरले ट्रम्पले चुपचाप बदलेका थिए विमान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्किने क्रममा आफूले चुपचाप विमान परिवर्तन गरेको बताएका छन् ।

सम्भावित सुरक्षा जोखिमका कारण गोप्य रूपमा विमान परिवर्तन गरिएको उनको भनाइ छ ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले सिक्रेट सर्भिस र सेनाको सुझाव पालना गरेको बताए । 

उनले भने, ‘म सिक्रेट सर्भिस र सेनाको कुरा मान्छु। उनीहरूले मलाई अर्को उडान र अर्को विमानबाट जान भनेका थिए । मैले उनीहरूले भनेअनुसार गर्नुपर्थ्यो ।’

यो जानकारी जुलाई ८ मा ट्रम्प टेलिभिजन क्यामेराको उपस्थितिमा ‘एयर फोर्स वन’ मा चढेको देखिएको घटनासम्बन्धी रिपोर्टहरू सार्वजनिक भएपछि बाहिर आएको हो । त्यसपछि उनलाई क्याटरिङ ट्रकमार्फत एउटा सैन्य विमानमा लगिएको थियो ।

अन्तिम समयमा विमान परिवर्तन गरिएको घटनाले ट्रम्पलाई देखावटी रूपमा ‘एयर फोर्स वन’मा चढाइएको थियो कि भन्ने प्रश्नसमेत उठेको छ । 

उक्त विमानमा रहेका पत्रकार र ह्वाइट हाउसका कर्मचारीलाई राष्ट्रपति विमानमा नरहेको जानकारीसमेत दिइएको थिएन ।

तर ट्रम्पले मंगलबार आफूपछि चढेको सैन्य विमान नै ‘झन् बढी जोखिममा’ रहेको बताए ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजलाई अधिकारीहरूले दिएको जानकारीअनुसार इरानले विमानमा क्षेप्यास्त्र आक्रमण गर्न सक्ने आशंका थियो । त्यसैको सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्रम्पलाई गोप्य रूपमा अर्को विमानमा सारिएको थियो ।

ट्रम्पले टर्कीको राजधानी अंकारामा भएको नेटो सम्मेलनका क्रममा आफू इरानको ‘टार्गेट नम्बर एक’ रहेको यसअघि नै बताएका थिए ।

मंगलबार उनले भने, ‘मेरो अनुमानमा कुनै खतरा थियो । मैले त्यसबारे धेरै जानकारी मागिनँ। मलाई धेरै धम्की आउँछन् ।’

‘यस्ता धेरै धम्की आउँछन् जसबारे तपाईंहरूलाई समेत थाहा हुँदैन,’ उनले थपे ।

यो गोप्य सुरक्षा कदम अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता भंग भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य हमला सुरु गरेको समयको हो । त्यसको भोलिपल्ट ट्रम्पले विमान परिवर्तन गरेका थिए ।

ट्रम्प कतारले उपलब्ध गराएको नयाँ बोइङ ७४७–८ विमानबाट टर्की पुगेका थिए । तर उनले ‘पुराना दिनको सम्झनाका लागि’ पुरानो एयर फोर्स वनबाट फर्किने बताएका थिए ।

जुलाई ८ मा सार्वजनिक भिडियोमा ट्रम्प अंकारा विमानस्थलमा राष्ट्रपति सवार हुने विमानमा चढिरहेको देखिएका थिए । तर ‘द वासिङ्टन पोस्ट’ का अनुसार त्यसपछि ट्रम्प एयर फोर्स वनबाट क्याटरिङ ट्रकमा गए । उक्त ट्रकलाई विमानको तहसम्म उठाइएको थियो ।
 
त्यसपछि उनलाई गोप्य रूपमा सानो सी–३२ए सैन्य विमानमा लगियो । यो बोइङ ७५७ को परिमार्जित संस्करण हो, जसलाई प्रायः अमेरिकी उपराष्ट्रपतिले प्रयोग गर्छन् ।

रक्षामन्त्री पीट हेगसेथ पनि छुट्टै बाहिरी भर्याङबाट सी–३२ एमा चढेका थिए । यसबाट उडान सामान्य रूपमा भइरहेको देखाउने प्रयास गरिएको थियो ।

यसैबीच पत्रकार र ह्वाइट हाउसका केही कर्मचारी भने एयर फोर्स वनमै बसे । उनीहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्न भनिएको थियो । राष्ट्रपति विमानमा नरहेको कुरा उनीहरूलाई थाहा थिएन ।

एयर फोर्स वनमा रहेका एक पत्रकार टोलीका सदस्यका अनुसार उडानका क्रममा असामान्य रूपमा पत्रकारहरूलाई झ्यालका पर्दा बन्द राख्न भनिएको थियो । 

एक फोटोग्राफरले केही समयका लागि पर्दा खोलेपछि तत्काल बन्द गर्न भनिएको थियो ।  उनलाई यो राष्ट्रपति सुरक्षामा खटिएको सिक्रेट सर्भिसको अनुरोध भएको बताइएको थियो ।

ह्वाइट हाउस संवाददाता संघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पत्रकारहरू विमानमा पुग्दा विमानको अगाडि र पछाडि दुईवटा क्याटरिङ ट्रक देखिएका थिए । 

विमानस्थलमा पत्रकारहरूलाई बोक्ने सवारीसाधन पनि राष्ट्रपतिको सवारीभन्दा निकै पछाडि राखिएको थियो, जसका कारण उनीहरूले ट्रम्प विमानमा चढेको तस्बिर खिच्न सकेनन् ।

प्राविधिक रूपमा अमेरिकी राष्ट्रपति सवार जुनसुकै विमानको कलसाइन ‘एयर फोर्स वन’ हुन्छ । तर उक्त अवसरमा सी–३२ए विमानले ‘रिच १८’ कलसाइन प्रयोग गरेको थियो । 

पत्रकारहरूलाई बोकेको विमानले भने ‘एएफ १’ कलसाइन नै प्रयोग गरिरह्यो, ताकि राष्ट्रपति अझै त्यही विमानमा रहेको देखियोस् ।

ट्रम्प त्यसपछि अमेरिका फर्किने क्रममा बेलायत पुगे। त्यहाँ उनले पुरानो एयर फोर्स वनमा पुनः यात्रा गरे । आरएएफ मिल्डेनहलमा विमान अवतरण गरेपछि उनलाई त्यसबाट ओर्लिएको देखिएको थियो। तर सी–३२एबाट उनी कसरी पुरानो एयर फोर्स वनमा पुगे भन्ने स्पष्ट छैन ।

त्यसपछि ट्रम्प कतारले उपलब्ध गराएको नयाँ एयर फोर्स वनमा चढेर वासिङ्टन फर्किएका थिए ।

त्यस उडानमा उनले विमानमा रहेका पत्रकारहरूसँग कुरा गरेका थिए । उनले इरानबाट उत्पन्न हुन सक्ने खतराबारे उल्लेख गरे पनि आफूले टर्कीबाट फर्किँदा विमान परिवर्तन गरेको विषय भने बताएनन् ।

टर्कीबाट उडेको विमानमा पत्रकारहरूलाई झ्यालका पर्दा बन्द राख्न किन भनिएको थियो भन्ने प्रश्नमा ट्रम्पले त्यतिबेला भनेका थिए, ‘सायद तपाईं खतरनाक उडानमा हुनुहुन्छ । हामीले सामना गर्नुपर्ने घटिया मानिसहरूका कारण ।’

उनले आफ्नो ज्यानलाई ‘हरेक समय खतरा’ रहेको र इरानको ‘सूची’ मा आफू ‘नम्बर एक’ मा रहेको समेत बताएका थिए । (बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित)

Share News