जसले आफ्नो कलेजोको टुक्रा काटेर बुवाको प्राण जोगाए
काठमाडौं । ‘बेलाबेला हातखुट्टा झमझम हुन्छ अनि एलर्जी जस्तै पनि हुँदो रहेछ, अरू त सबै नर्मल भइसक्यो, तर अझै बेडरेस्टमा छु,’ बिहीबार नेपाल मेडिसिटी अस्पतालमा भेटिएका आयुष कार्कीले भने । आयुष जसले आफ्नो कलेजाको टुक्रा काटेर बुवाको कलेजोमा जोडेका छन् । उनैको कलेजोले बुवाको प्राण जोगिएको छ । २४ दिन अगाडि बिना हिचकिचाहट आयुषले यो कदम नचालेका हुँदा हुन् सायद उनले बुवा गुमाइसक्नुपर्थ्यो । आफ्नै अङ्गले बुवाको प्राण जोगिँदा उनी निकै खुसी छन्। भन्छन्, ‘बुवाले दिएको यो जीवन बुवाकै लागि चाहिन्छ भने हरेक अंग दिन तयार छु, जसले कलेजको टुक्रा भन्दै हुर्काए, त्यही टुक्राले आमाको सिन्दुर र बुवाको श्वास जोगाउन पाउनु मेरा लागि सबैभन्दा खुसी हो । सबै सन्तान यस्तै हुँदैनन्, कसैले चाहेर पनि गर्न सक्दैनन्, कसैको चाहना नै हुँदैन । धेरैमध्ये कमै सन्तान आयुषजस्तै भाग्यमानी बन्न सक्छन्, जो आफ्ना बाआमाको लागी शरीर चिरेर दिन तयार हुन्छन् । आयुषको घर पोखरा हो । उनी अहिले २६ वर्षका भए । आजभन्दा सात वर्षअघि उनका बुवा ५६ वर्षीय ईश्वर कार्कीको कलेजोमा समस्या देखिएपछि आयुषले आफ्नो अङ्ग दिने निर्णय गरेका थिए । ईश्वर अहिले मेडिसिटी अस्पतालमै आराम गरिरहेका छन् । व्यक्तिको शरीर यस्तो चतुर हुन्छ कि उसलाई आफ्ना र अरूको अंग मजाले छुट्याउन सक्छ । अरूको अंगलाई आफ्नो अंगसम्म मिसाउन समय लाग्छ । त्यो बेलासम्म प्रायः बिरामी चिकित्सकको निगरानीमा बस्नुपर्छ । आयुष बुवाआमा खुसी भएकोमा निकै हर्षित छन् । भन्छन्, ‘ ‘बुबाको आँखामा हेर्छु आँसु र हाँसो सम्मीश्रण पाउँछु, आमाको अनुहारमा हेर्छु उस्तै देख्छु, ७ वर्षको प्रयासपछि हाम्रो परिवारमा खुसी फर्किएको छ,’ उनले भने । उनी घरको जेठो सन्तान हुन् । उनका एक भाइ छन् । पोखरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका उनले बुवाको उपचारका लागि पढाइ छोड्नुपर्यो । ७ वर्ष अगाडिको त्यो घटना ७ वर्ष अघि माघ २५ गते आयुषको परिवार चितवन घुम्न गयो । पोखराबाट चितवन जाँदा ईश्वरले नै गाडी चलाएका थिए । घुमेर फर्किने बेलामा ईश्वरलाई असहज महसुस भयो । पटकपटक बान्ता हुन थाल्यो । गाडी आयुष आफैले चलाएर घर फर्के । त्यो दिन अस्पताल नगई घरमै आराम गरे । ईश्वरलाई विस्तारै फरक लक्षण देखापर्न थाल्यो । उनले मोबाइल हातमा हुँदा कता गयो भन्न थाले, गाडी पार्किङमै हुँदा पनि खोइ कता छ ? भनेर सोध्न थाले । उनका क्रियाकलापले सबैजना छक्क परे । त्यसपछि उनलाई पोखराको ग्यालेक्सी अस्पतालमा लगियो । त्यहाँ जाँच गर्दा उनलाई सिरोसिस रोग लागेको पत्ता लाग्यो जुन कलेजोको खराबीका कारण भएको हो । ईश्वरले समस्या निदान हुँदा रोग तेस्रो चरणमा पुगिसकेको थियो । त्यही भएर डाक्टरहरूले छिटै उपचार गर्न सल्लाह दिए । त्यसपछि आयुषले ढिलो नगरिकन बुवालाई ललितपुरको नक्खुमा रहेको अस्पतालमा ल्याए । आयुषलाई उपचार गर्दा ठिक भइहाल्छ होला भन्ने लाग्यो । अस्पताल ल्याएर उपचार गरी औषधी खाँदा ठीक भएजस्तै देखिन थाल्यो । यतिबेलासम्म पनि सामान्य नै लागेको थियो । एक–दुई महिना सञ्चो हुने फेरि समस्या हुनेक्रम बढ्दै गयो । यो क्रम लामै समसम्म चल्यो । काठमाडौं आऊजाऊ गरेको देख्दा धेरैजनाले आयुषलाई भारतमा गएर उपचार गर्न सल्लाह दिए । उनका आफन्तहरू भारतमा पनि थिए । अहिले पनि धेरैजसो नेपाली बिरामी हुँदा उपचारका लागि भारत नै जान्छन् । ईश्वरलाई पनि भारतमै लिएर उपचार गर्न गाउँ आफन्तहरूले सल्लाह दिए । ‘छिमेकी तथा आफन्तीको सल्लाहबमोजिम मैले बुवालाई लिएर बुवालाई इण्डिया उपचार गर्न गएँ,’ उनले भने । आयुषले बुवालाई भारतको गंगाराम अस्पताल लगे । त्यहाँ जाँच गर्दा चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने उल्लेख गर्दै तत्कालै नगरे पनि हुने जानकारी दिए । नेपालमा गएर काजगपत्र बनाएर बिस्तारै आउनु भन्दै फर्काइदियो । नेपाल फर्किसकेपछि ६ महिनासम्म ईश्वर निको भयो । फेरि ६÷७ महिनापछि उस्तै समस्या सुरु भयो । आयुषले फेरि मेडिसिटी अस्पताल ल्याए । धेरै समय नेपाल अनि भारतका अस्पताल धाउने क्रम चलिरह्यो । फेरि आफन्तहरूले भारतको अपोलो अस्पताल पनि राम्रो भन्दै एक पटक त्यहाँ जान सल्लाह दिए । आयुषले फेरि बुवालाई बोकेर भारत गए । त्यहाँ जाँदा फेरि अर्को तनाव थपियो । चिकित्सकले कलेजोमात्र नभइ मिर्गौला पनि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘अपोलोमा अर्को पीडा थपियो अनि नेपाल आएर सोच्नुपर्छ भन्दै घर फर्कियौं,’आयुषले भने । अनि भयो प्रत्यारोपण कहिले काठमाडौं, कहिले पोखरा, कहिले भारतका अस्पताल धाउँदा आयुष र आमाको बेहाल भइसकेको थियो । मेडिसिटीका चिकित्सकहरूको सल्लाहमा कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो । कागजात मिलाउनु पर्ने प्रक्रिया उत्तिकै झन्झटिलो हुन्छ । अंग प्रत्यारोपण गर्न भने जति सजिलो छैन । परिवारभित्रैको अंग दिन चाहनेहरूले पनि चाहाना राखेरमात्र हुँदैन, यसका लागि रगतदेखि हरेक कुराहरू मिल्नुपर्ने हुन्छ । वडाको सिफारिस, पालिकाको सिफारिस, नाता प्रमाणीकरणदेखि लिएर हरेक कागजात तयार पार्नुपर्छ । ‘कागजात, रगत जाँच गर्न समय लाग्यो यो बीचमा बाबा पनि बिरामी भइरहनु भयोे, एकातिर प्रत्यारोपणको तयारी चलेको थियो अर्कोतिर बुवालाई आईसीयुमै राखेका थियौं, सारै नै तनावको अवस्था थियो,’ उनले भोग्नुपरेको पीडा सुनाए । यो तयारी गरिसकेपछि आयुषले आफ्नो स्वास्थ्यको पनि उत्तिकै हेरचाह गरे । चिकित्सकको सल्लाहपछि बल्ल जेठ ८ गते मेडिसिटी अस्पतालमा आयुषले आफ्नो कलेजेको टुक्रा काटेर बुवाको कलेजोमा जोडिदिए । १३ घण्टा लामो अप्रसेनपछि बाउ–छोराको अप्रेसन सफल भएपछि आमा र भाइको मुहारमा खुसी फर्कियो । चिकित्सकहरूले अंग प्रत्यारोपण जोखिम हुन सक्ने पहिल्यै भनेका थिए । तर बुवाका लागि जस्तोसुकै जोखिम लिन आयुष तयार थिए । भन्छन्, ‘मेरो आँट, बुवाको धैर्यता, आमाको मिहिनेत र चिकित्सकको प्रयासले ७ वर्षपछि बुवालाई कलेजो झिकेर दिन सफल भएँ ।’ सबैलाई यस्तो अवसर मिल्दैन आयुष आफ्नो शरीरको अंग चिरेर आफ्नै जन्मदातालाई दिने अवसर सबैलाई नमिल्ने बताउँछन् । यो मानेमा आफूलाई निकै भाग्यमानी भन्छन् । बुवालाई कलेजो दिने निर्णयले उनलाई धेरैले धेरैथरिका कुरा सुनाए । धेरैले सानै उमेर छ, अहिले नै अंग दिए भोलि के होला, बिहे पनि भएको छैन भन्नसमेत भने । तर उनले कसैका कुरा सुनेनन् । आफ्नो निर्णयमा अडिग रहिरहे । र अन्ततः बुवाको प्राण पनि बचाए । किड्नीको समस्या आफै निको शरीरका एक अर्को अंगको सम्बन्ध कति हुँदो रहेछ भन्ने कुरा ईश्वरमा देखिएको स्वास्थ्य समस्याले पनि थाहा हुन्छ । कलेजोमा खराबी आउँदा मिर्गौलामा समेत समस्या भएको भन्दै मिर्गौलासमेत प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। कलेजो प्रत्यारोपण गरेसँगै अहिले मिर्गौलाले पनि काम गर्न थालेको छ । जति स्वस्थ हुँदा काम गर्थ्यो त्यो मात्रामा नगरेपनि तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ ।
हबिबलाई बाहिरिन गभर्नरको ‘ग्रिन सिग्नल’, मूल्य १७.२ रुपैयाँ घटाइयो
काठमाडौं । लामो समयदेखि सेयर बिक्री गरेर हिमालयन बैंकबाट बाहिरिन खोजिरहेको पाकिस्तानको हबिब बैंकले पुनः सुरुदेखि नै प्रक्रिया थालेको छ । यसअघि पटक-पटक सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गरेर सेयर खरिद बिक्रीको कुरा गर्दै आएको हबिबले यस पटक बैंकलाई सूचना नै निकाल्न लगाएर पुनः सुरुदेखि नै औपचारिक प्रक्रिया अगाडि बढाएको हो । शुक्रबार बैंकले सेयर खरिदको सूचना निकालेको छ । हबिबले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गरी लिन पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरूलाई दिनुपर्नेछ । सोही व्यवस्था अनुसार उक्त सेयर खरिदका लागि हिमालयन बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । तर, ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । उसो त हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्नुअगावै पनि सेयर खरिदको लागि सूचना निकालेको थियो । तर, पछि नेपाल राष्ट्र बैंकले सेयर खरिद बिक्रीको अनुमति नदिएपछि प्रक्रिया नै रोकिएको थियो । हिमालयन बैंकमा रहेको हबिबको सेयर खदिरका लागि हिमालयन रिइन्स्योरेन्स खरिद गर्न तयार रहेको चर्चा पनि भएको थियो । हबिबले सेयर खरिदका लागि विदेशी खरिदकर्ता नपाएपछि स्वदेशी खरिदकर्ता अर्थात् हिमालयन रिइन्स्योरेन्सलाई तयार पारेको थियो । ‘राष्ट्र बैंकले सेयर खरिद गर्ने भए विदेशी खरिदकर्ता चाहिन्छ भनेको थियो, हामीले पाएनौं, त्यसपछि स्वदेशी खरिदकर्ता हिमालयन रिइन्स्योरेन्सलाई तयार पारेका थियौं। तर, राष्ट्र बैंकले त्यसलाई पनि अनुमति नदिएपछि प्रक्रिया रोकिएको थियो,’ हिमालयन बैंक स्रोतले भन्यो । स्वदेशी खरिदकर्ता पाएपनि त्यसको फिट एण्ड प्रोपर टेष्ट तथा क्षमतामाथि नियामक नेपाल राष्ट्र बैंकले प्रश्न उठाएको थियो । हबिबले हिमालयन रि-इन्स्योरेन्सलाई सेयर बिक्री गरेर बाहिरिन चाहेको भन्दै स्वीकृतिका लागि २०८० मंसिर १४ गते राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दर्ता भएको थियो । हबिब बैंक र हिमालयन रिइन्स्योरेन्सबीच बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय ३० रुपैयाँमा खरिदबिक्री गर्ने गरी सम्झौता भएको थियो । तर, अहिले मूल्य घटाएर राखिएको छ । २०८० मंसिरमा १३० रुपैयाँमा सेयर खरिद बिक्रीका लागि हबिब र हिमालयन रिइन्स्योरेन्स तयार भएका थिए । तर, अहिले प्रतिसेयर मूल्य ११२.८० रुपैयाँ राखिएको छ । यसअघि राष्ट्र बैंकले सेयर खरिद बिक्रीको आवश्यक प्रक्रिया पूरा नभएको भन्दै रोकेको थियो । अहिले पुनः प्रक्रिया सुरु भएको हो । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले राष्ट्र बैंकले सुरुवाती चरणबाटै प्रक्रियामा आउन निर्देशन दिएपछि सूचना जारी गरेको बताए । ‘हामीलाई फेरि सुरुवाती चरणबाटै प्रक्रियामा आउन भनियो, हामीले सोहीअनुसार सूचना निकालेका हौं, अब अन्तिमममा खरिद बिक्रीको लागि स्वीकृति दिने/नदिने काम राष्ट्र बैंकको हो,’ उनले भने । उनले यसअघि हिमालयन रि र हबिबबीच प्रतिकित्ता १३० रुपैयाँमा सम्झौता भए पनि अहिले मूल्य घटेको बताए । उनले यसको कारण र तर्क भने दिएनन् । ‘मूल्य घट्ने/घटाउने भन्ने विषय बिक्रेता र खरिदकर्तामा निभर्नर हुने विषय हो, यो हामीलाई थाहा हुँदैन,’ उनले भने । हिमालयन बैंकको सञ्चालक समितिले हबिबको सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि बढाउने सम्पूर्ण जिम्मेवारी उच्च व्यवस्थापनलाई दिएको बैंकका एक सञ्चालकले बताए । ‘हामीले सेयर खरिदबिक्रीको सम्पूर्ण टाक्सफोर्स व्यवस्थापनलाई दिएका छौं, अहिले राष्ट्र बैंकले केही ग्रिन सिग्नल दिएकै कारण प्रक्रिया अगाडि बढेको होला,’ हिमालयन बैंकका एक सञ्चालकले भने । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसअघि नै बैंक नेपालबाट बाहिरिने योजना हबिबले बनाइरहेको थियो । तर, त्यसबेला राष्ट्र बैंकले स्वीकृति नदिने संकेत पाएपछि हबिब हच्कियो । बैंकले बाहिरिन खोजेपछि यसअघिका गभर्नर महाप्रसाद अधिकारीले हबिब बैंकका अधिकारीहरूलाई पाकिस्तानमा पनि भेटेका थिए । एउटा कार्यक्रममा सहभागी हुन पाकिस्तान पुगेका अधिकारीले त्यतिबेला हबिबका अधिकारीहरूसँग भेटेर हिमालयनबाट नबाहिरिन आग्रह गरेका थिए । अधिकारीले विदेशी बैंकको अभ्यास नेपाली बैंकमा अहिले पनि आवश्यक रहेकोले सेयर बिक्री नगर्न हबिबलाई अनुरोध गरेको बुझिएको थियो । सेयर बिक्री नै गर्ने भएपनि अन्तर्राष्ट्रिय खरिदकर्ता ल्याउनु पर्ने सर्त उनले राखेका थिए । गभर्नर अधिकारीको उक्त आग्रहपछि हबिबले विदेशी खरिदकर्ता पनि खोजेको थियो । हबिबले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) ले सेयर खरिद गर्ने सम्झौता गरेको थियो । तर, पछि विषय बिचमै रोकियो । त्यसपछि हबिबले संस्थापक सेयरधनीलाई आग्रह गरेपनि कुनै पनि संस्थापक सेयरधनी सेयर खरिद गर्न तयार भएनन् । अहिले हबिबलाई सेयर खरिद गराउनका लागि राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ग्रिन सिग्नल दिएपछि बैंकले प्रक्रिया सुरु गरेको हो ।
नबिल, ग्लोबल र एनआईएमबिबीच कडा प्रतिस्पर्धा, १० बैंकको नाफा घट्दा नेपाल बैंकको ४५७ प्रतिशत बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १.६७ प्रतिशत अर्थात् ८१ करोड २० लाख रुपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको वैशाखसम्ममा २० वटा बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छ । गत वर्षको वैशखमा ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । १० महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको वैशाखमा यस बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा २.५८ प्रतिशत अर्थात् १४ करोड १३ लाख रुपैयाँ बढेको हो । ग्लोबल आइएमई बैंकले वैशाखसम्ममा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २९.८९ प्रतिशत अर्थात् १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो । यस्तै, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकले ३३.१४ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ९८ लाख रुपैयाँ बढी नाफा गरेको हो । यस अवधिमा नेपाल बैंक नाफा वृद्धिमा आक्रामक देखिएको छ । नेपाल बैंकको १० महिनामा खुद नाफा ४५७ प्रतिशत अर्थात् २ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ बढेर ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकको नाफा ५९ करोड ३ लाख रुपैयाँ मात्रै थियो । १० महिनाको अवधिमा एभरेष्ट बैंकको ३०.९६ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १०.१९ प्रतिशत बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकका अनुसार १० महिनामा सानिमा बैंक ७.१० प्रतिशत बढेर १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकको ५.५५ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, यस अवधिमा विभिन्न १० बैंकको नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । एनआईसीको ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, हिमालयन बैंकको ६९.३३ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकको ६६.२७ प्रतिशत घटेर ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ३५.७३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३०.९२ प्रतिशत घटेर १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ, प्रभु बैंकको २०.०९ प्रतिशत घटेर २ अर्ब १४ लाख रुपैयाँ नाफा गरेका छन् । यस्तै, सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, प्राइम बैंकको १९.८४ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।