काठमाडौं । देश विकासमा उल्लेखनीय, अनुकरणीय र दीर्घकालीन योगदान पुर्याएका व्यक्ति तथा संस्थाको पहिचान गरी सम्मान गर्ने उद्देश्यसहित विकास नायक २०८३ का लागि मनोनयन खुला गरिएको छ । गत वर्षझैं यस वर्ष पनि विकासन्युजले विभिन्न १० क्षेत्रबाट १० जना विकास नायक छनोट गर्ने गरी मनोनयन आह्वान गरेको हो ।
विकास नायक छनोटका लागि पूर्वअर्थमन्त्री रामेश्वर खनालको संयोजकत्वमा विकास नायक निर्णायक समिति समेत गठन गरिएको छ । समितितमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी, त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्रा. डा. कुन्दन अर्याल र इक्रा नेपालकी कार्यकारी प्रमुख वर्षा श्रेष्ठ सदस्य छन् । विकासन्युजका सम्पादक सन्तोष रोकाया समितिका सदस्य सचिव छन् । समितिको पहिलो बैठकले २१ दिनकाे समयावधि राखेर विकास नायक मनोनयनका खुला गर्ने निर्णय गरेको हो ।
विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नूहोस्
देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलिरहेका, नवीनतम् काम गरिरहेका र अरूका लागि प्रेरणाको स्रोत बनेका व्यक्ति तथा संस्थालाई सार्वजनिक पहिचान दिलाउने लक्ष्यसहित विकासन्युजले विकास नायकको खोजी गरिरहेको हो ।
देश विकासलाई केवल आर्थिक वृद्धिमा सीमित गरेर हेर्न सकिँदैन । प्रभावकारी नीति निर्माण, सुशासन, न्यायमा पहुँच, गुणस्तरीय शिक्षा र स्वास्थ्य, उत्पादन तथा रोजगारी वृद्धि, आधुनिक कृषि, पूर्वाधार विस्तार, प्रविधिको विकास, खेलकुद, कला तथा साहित्य क्षेत्रको विकास एवं उन्नयन पनि महत्त्वपूर्ण आधार हुन् । यी क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्ति तथा संस्थाको योगदानको अभिलेखीकरण र प्रचारप्रसार गर्दै सकारात्मक अभ्यासलाई समाजका अन्य क्षेत्रसम्म पुर्याउनु यसको मुख्य उद्देश्य हो ।
१० क्षेत्रबाट १० विकास नायक छनोट गरिने
विकास नायक निर्णायक समितिले देश विकासका विभिन्न आयामलाई समेटेर १० वटा क्षेत्र निर्धारण गरेको छ । ती क्षेत्रबाट उत्कृष्ट योगदानकर्ताका रूपमा १० जना विकास नायक छनोट गरिनेछ ।
निर्धारित क्षेत्रहरूमा नीति निर्माण तथा पैरवी, सार्वजनिक सेवा (प्रशासन, सुरक्षा र न्याय) मानव विकास (शिक्षा, स्वास्थ्य तथा सीप), वित्तीय क्षेत्र (बैंक, बीमा, पुँजीबजार, सहकारी), उद्योग (उत्पादन तथा निर्यातमूलक उद्योग), सेवा तथा व्यापार क्षेत्र, सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई), पूर्वाधार तथा हरित उर्जा विकास, कृषि आधुनिकीकरण र कला, साहित्य, चलचित्र तथा खेलकुद रहेका छन् ।
यी विधाले समेट्ने क्षेत्रहरूमा व्यक्तिले गरेको कामको प्रभाव, त्यसबाट सिर्जना भएको अवसर, अपनाइएको नवीनता र समाजमा परेको सकारात्मक परिवर्तनलाई छनोटको आधार बनाइनेछ ।
मनोनयनका लागि सम्बन्धित क्षेत्रका व्यक्ति वा संस्थाले गरेको काम र त्यसको प्रभावबारे सूचना तथा विवरण उपलब्ध गराउन सकिनेछ । प्राप्त सिफारिस, सम्बन्धित स्रोतबाट संकलित विवरण र विकास मिडियाको अध्ययनका आधारमा सम्भावित विकास नायकको सूची तयार गरिनेछ ।
व्यक्ति वा संस्थाको कामले अर्थतन्त्र र समाजमा पारेको प्रभाव, नवीनता, सहभागिता, समावेशिता, पारदर्शिता, नैतिकता, दीर्घकालीन स्थायित्व र अरूलाई प्रेरित गर्न सक्ने क्षमतालाई विकास नायक छनोटको आधार मानिनेछ।
फारम भर्न क्यूआर कोड स्क्यान गर्नूहोस् ।

छनोट भएका विकास नायकले गरेका काम र त्यसबाट प्राप्त उपलब्धिबारे विकासन्युज डटकम तथा देशविकास म्यागेजिनमा विस्तृत सामग्री प्रकाशन गरिनेछ । यसबाट सफल अभ्यास, नवीन सोच र अनुकरणीय कार्यका अनुभवलाई व्यापक पाठकवर्गसम्म पुर्याउने अपेक्षा गरिएको छ ।
विकास नायक अवार्डले विकासमा योगदान गर्ने व्यक्तिहरूको पहिचान मात्र गर्ने छैन, उनीहरूले अपनाएका सफल अभ्यासबाट अरू व्यक्ति, संस्था र समुदायलाई अनुसरण गर्न प्रेरित गर्ने छ । स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म भइरहेका सकारात्मक प्रयासलाई सार्वजनिक बहसको विषय बनाउँदै विकासप्रतिको उत्साह र जिम्मेवारी बढाउनु पनि यसको उद्देश्य हो ।
विकास मिडियाले विकास नायक २०८३ को घोषणा तथा सम्मानका लागि आगामी पुस १९ गते सार्वजनिक समारोह आयोजना गर्ने तयारी गरेको छ । उक्त समारोहमा छनोट भएका विकास नायकलाई सम्मान गरिनेछ ।
विकास नायक छनोट प्रक्रियामा सहभागी हुन चाहने व्यक्ति, संस्था तथा सरोकारवालाले सम्भावित योगदानकर्ताको नाम सिफारिस गर्न र उनीहरूले गरेका कामबारे सूचना उपलब्ध गराउन सक्नेछन् । मनोनयन फारम २०८३ कात्तिक १४ गतेसम्म भरिसक्नुपर्नेछ ।
सिधा सम्पर्क: [email protected], whatsapp 9801130454