आयोजना निर्माणमा दक्ष कामदारको अभाव, मासिक ५० हजार कमाउँने जनशक्ति विदेशीदा निर्माणमै ढिलाई

काठमाडौं १९, पुस । निर्माणसँग सम्बन्धित दक्ष कामदार विदेश पलायन हुने क्रम बढेपछि दक्ष कामदार अभाव हुँदै गएको छ । स्वदेशको तुलनामा मेकानिक र अपरेटरले विदेशमा आकर्षक पारिश्रमिक पाउने भएकाले उनीहरूको रोजाइ वैदेशिक रोजगारी हुने गरेको निर्माण व्यवसायीको भनार्इ छ । यसरी दक्ष कामदार विदेशिदा आयोजना निर्माण कार्यमा ढिला भएको छ । दक्ष, अनुभवी मेकानिक र अपरेटर वैदेशिक रोजगारीमा गएपपछि गुणस्तरीय काम गर्न कठिनाइ परेको हो । अनुभवी अपरेटर विदेश पलायन हुने क्रम बढेपछि दक्ष कामदार अभाव हुँदै गएको हो । नेपालको निर्माण क्षेत्रमा एक लाखभन्दा बढीले रोजगारी पाएका छन् । नेपाली कामदार विदेशिदा भारतबाट चर्को मूल्य तिरेर कामदार ल्याउनु परेको छ । यस क्षेत्रमा निरन्तर काम नुहुने हुनाले अर्थात वर्षमा करिब ९ महिना जतिमात्र काम हुने भएकोले पनि १२ महिनानै काम गर्न कामदारहरु विदेशिएका हुन् । साउन, भदौ, असोजमा वर्षातका कारण काम प्रभावित हुने गरे पनि कात्तिकदेखि असारसम्म काम नियमित हुने गर्दछ । चैत्र, वैशाख, जेठमा अत्यधिक काम हुने हुँदा अपरेटरको कमाइ आकर्षक हुने गर्दछ । तर, चार महिनाको आकर्षक तलवले वर्ष धान्न नपुग्नेको असर निर्माण व्यवसायमा परेको हो । नेपालको निर्माण क्षेत्रमा एक लाखभन्दा बढीले रोजगारी पाएका छन् भने ठूलो संख्यामा माग यस्ता कामदारको माग छ । तर, दक्ष तथा काम सिकेर अनुभव हासिल गरिसेका यस्ता कामदार विदेशीदा नेपालमा यस्ता कामदारको अभाव बढ्दै गएको हो । हाल नेपालमा काम गरिरहेका काममध्ये ४० हजारभन्दा बढीले मेसिनसँग प्रत्यक्ष जोडिएर काम गर्छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरका अनुसार मेकानिक मासिक करिब ५० हजार रुपैयाँ कमाउँछन् । निर्माण क्षेत्रमा उनीहरुले न्यूनतम १० हजार मासिक तलब, दैनिक १५ सय भत्ता र खान बस्न पाउँछन् । कुँवरले मेकानिक तथा अपरेटरलाई आकर्षक तलब दिए पनि दक्ष र अनुभवी कामदार पाउन कठिन भएको बताए । काम सिकेका अनुभवी अधिकांश कामदार वैदेशिक रोजगारीमा जाने चलन बढेकाले निर्माण क्षेत्र अर्धदक्षको भरमा सञ्चालन गर्नु परेको उनले बताए । नेपालमा अत्याधुनिक मेसिन भित्रिए पनि कम्प्युटरबाट त्रुटि पत्ता लगाउने अपरेटर नहुँदा समस्या बढ्दै गएको कुँवरको जानकारी दिए । ‘सिष्टममा केही तलमाथि पर्यो कि काम नै ठप्प गरेर बस्नु पर्छ उनले भने ‘अनुभवीलाई रोक्न हामीले राम्रो सेवा सुविधा दिने गरेका पनि छौं, तर पनि उनीहरूको रोजाइ वैदेशिक रोजगारी हुने गरेको छ’ , कुवँरले भने । महासंघका अनुसार एक्साभेटर, ब्याकहो लोडर, क्रेन, रोलर, ग्रेडर, बुल डोजर, बे्रकर लगायतका १० हजारवटा मेसिन नेपाल भित्रिएका छन् । एउटा मेसिनमा मेकानिक, अपरेटर, हेल्पर, रेखदेखमा गरी १० जना कामदारले काम पाउँछन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले कामदारको अभावमा निर्माण क्षेत्र प्रभावित भएको बताए । ‘विकास निर्माणमा मजदुरको भूमिका महत्वपूर्ण हुने र उनीहरुकै कारणले आयोजना समेत प्रभावित हुने गरेको छ ।’ त्यसैले पनि आयोजना निर्माणमा ढिला सुस्ती हुने गरेको उनले बताए । हुन त महासंघले समस्या बढ्दै गएपनि कामदारलाई दक्ष बनाउन विभिन्न समयमा तालिम दिने गरेको छ ।

बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाई नियुक्त, बीमा सेवाको पुहुँच विस्तार, नीतिगत सुधार र प्रभावकारी नियमनमा जोड दिइने

काठमाडौं, १८ पुस । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाई नियुक्त भएका छन् । गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री कृष्णवहादुर महराले चापागाई, डा रविन्द्र घिमिरे र रमेश भट्टराईको नाम सिफारिस गरेका थिए । चापागाईलाई नियुक्त गर्ने निर्णय गत विहीबार कै मितिमा भएको र त्यसमा आफूले सोमबार हस्ताक्षर गरेको मुख्यसचिव सोमलाल सुवेदीले विकासन्युजलाई बताए । नवनियुक्त चापागाई नेपाल राष्ट्र बैंकका निर्देशक हुन् । उनी हाल पोखारा शाखाको प्रमुखको रुपमा कार्यरत छन् । उनी विगत २७ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत छन् । बाग्लुङमा जन्मेका चापागाईले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पछि पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीए (दोस्रो) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । नेपालको सशक्त नियमनकारी निकाय राष्ट्र बैंकमा २७ वर्ष काम गरेको अनुभव बीमा क्षेत्रमा प्रयोग गर्ने चापागाईले बताए । विकासन्युजसँग संक्षिप्त कुरा गर्दै उनले भने–‘राष्ट्र बैंकमा ७ वर्ष रेगुलेशन डिपार्टमेन्टमा काम गरको अनुभव छ । पाँचौ राष्ट्रिय पारिवारिक सर्वेक्षणको सफल नेतृत्व गरेको अनुभव छ । आफ्नो क्षमता र अनुभव बीमा क्षेत्रमा प्रयोग गर्छु ।’ बीमा सेवाको पुहुँच विस्तार, नीतिगत सुधार र प्रभावकारी नियमनमा आफूले जोड दिने उनले बताए ।

काठमाडौं-बिरगञ्ज रेल वेः ग्लोबल टेण्डरको समय एक हप्ता थपियो

काठमाडौं, १८ पुस । काठमाडौं-बिरगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीका लागि जारी गरिएको ग्लोबल टेण्डरको म्याद एक हप्ता थपिएको छ । रेल विभागले गत मंसिर १९ गते सम्भाव्यता अध्ययनका लागि उपयुक्त कम्पनी छान्न भन्दै ग्लोबल टेण्डर आव्हान गरेको थियो । ‘काठमाडौं–बिरगञ्ज रेल मार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरिएको ग्लोबल टेण्डरको समय एक हप्ता थपेका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले विकासन्युजसँग भने । सरकारले आर्थिक बर्ष २०७३/७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो । सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ ।विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको बताएको छ । समय सिमा भित्र आवेदन दिने कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने उपाध्यायले बताए । यसरी अधिकतम ४ महिना भित्र काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । सो कम्पनीले ६ महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट विभालाई बुझाउने छ र त्यसकै आधारमा विभागले नयाँ प्रक्रिया मार्फत डिपिआर निर्माणको काम अघि बढाउनेछ । यद्यपी सन २०१७ को अप्रिल महिना भित्र रिपोर्ट बुझाउनुपर्ने विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।