न्यूरोड मोबाइल महोत्सवमा तीन दिनमा १० करोड रुपैंयाभन्दा बढीको कारोबार
काठमाडौं, १५ पुस । नेपाल मोबाइल व्यवसायी संघले पुस १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा ग्राहकहरुको अधिक चहलपहल देखिएको छ । महोत्सव शुरु भएको तेस्रो दिनसम्म ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोनहरु भारी छुटमा अफरसहित किनिरहेका छन जहाँ १० करोड रुपैंया भन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । मोबाइल महोत्सवमा ग्राहकहरुले आफूले चाहेको मोबाइल फोन सूपथ मूल्यमा किन्न पाएको अनुभव सुनाए । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा भव्यरुपमा शुरु भएको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिजका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको छ । पुस १९ गतेसम्म आयोजना हुने मोबाइल महोत्सवमा ग्राहकहरुको सहभागिता उल्लेखनिय हुँदा उत्साहित भएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । “यो मोबाइल महोत्सवमा मोबाइल किन्ने मात्र नभई ग्राहकहरुलाई विभिन्न आकर्षक अफर पनि दिएका छौं, जसले हाम्रो अनुमान भन्दा पनि बढि ग्राहकहरुको भीड देखियो” उनले भने, “महोत्सवमा नयाँ प्रविधि सहितका मोबाइल फोनहरुमा ग्राहकहरुको रुचि अधिक देखिएको छ ।” संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा क्षेत्रमा आयोजना भईरहेको मोबाइल महोत्सवमा सडकलाई पनि सजाईएको छ भने ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न मोबाइल ब्राण्डहरुले उपहार योजनाका साथमा विभिन्न छुट पनि प्रदान गरिरहेका छन् । महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड क्षेत्रमा प्रवेश गर्ने हरेक ग्राहकहरुले उपहार प्राप्त गर्ने जानकारी दिए । उनले भने, “हामीले हात खाली नहुने अफर ल्याएका छौं जसमा ग्राहकहरुले विभिन्न सामाग्री तथा उपहारहरु प्राप्त गर्नेछन् ।”
बीमा समिति अध्यक्षको दौड, कसकाे नाम छ प्रधानमन्त्रीको खल्तीमा ?
काठमाडौं, १५ पुस । बिहिबार मध्यान्हपछि पोखरा विश्व विद्यालयका निर्देशक डा. रबिन्द्र घिमिरेको फेसबुकमा एकाएक बधाईको ओइरो लाग्यो । मन्त्रिपरिषद् बैठकले घिमिरेलाई बीमा समितिको अध्यक्ष नियुक्त गरेको भन्दै उनको फेसबुक वालमा प्रशस्तै बधाई सन्देशहरु आए । केहि सञ्चार माध्यमहरुमा पनि घिमिरे बीमा समितिको अध्यक्ष नियुक्त भएको खबर आए । तर घिमिरे स्वंयले भने नियुक्तीको औपचारिक जानकारी नपाएको बताए । ‘मलाई बीमा समितिको अध्यक्षमा नियुक्ती गरिएको बारे औपचारिक जानकारी पाएको छैन’, घिमिरेले विकासन्युजसँग भने । अर्थमन्त्रालयमा बीमा समिति समेत हेर्ने संस्थान समन्वय महाशाखाका प्रमुख आनन्द ढकालले पनि बीमा समितिको अध्यक्ष नियुक्तीको सम्बन्धमा औपचारिक जानकारी आफूलाई नभएको जानकारी दिए । मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार अर्थमन्त्रीले प्रस्ताव ल्याएका थिए तर निर्णय हुन सकेन । ती मन्त्रीका अनुसार महराले डा. रबिन्द्र घिमिरे, चिरञ्जीवी चापाँगाईँ र रमेश कुमार भट्टराईको नाम पेश गरेका थिए । तर प्रचण्डले यो बिषयमा पछि फाइनल गरौँला भनेर बिषयान्तर गरेकाे ती मन्त्रीले विकासन्युजसँग भने । मुख्य सचिव डा. सोमलाल सुवेदीका अनुसार बीमा समितिको अध्यक्ष नियुक्तीबारे मन्त्रिपरिषद बैठकमा कुरा उठेको हाे तर निर्णय पुस्तिकामा लेखिएको छैन । ‘अर्थमन्त्रीज्युले बीमा समितिको अध्यक्ष नियुक्तीका लागि केहि नाम प्रस्ताव गर्नुभएको थियो तर माइन्युट भएको छैन् ।’ मुख्य सचिव डा. सुवेदीले विकासन्युजसँग भने । स्राेतका अनुसार अर्थमन्त्री महराले रबिन्द्र घिमिरेलाई बीमा समिति अध्यक्ष बनाउन चाहेका छन् । उनले पेश गरेको सूचिमा पनि घिमिरेको नाम एक नम्बरमा छ । तर माओवादी केन्द्रकै अर्का नेता दिनानाथ शर्मा लगायतको अर्काे समूहले भने चापागाइँलाई नियुक्ती दिलाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । अनुभवीहरूकाे अनुसार यस्तो अवस्थामा प्रधानमन्त्रीले चाहेको व्यक्ति नियुक्त हुने गरेको छ । प्रधानमन्त्री प्रचण्डले तीन जनामध्ये एक जनालाई नियुक्त गर्छन वा प्रधानमन्त्रीको खल्तीमा अरु कोही व्यक्तिको नाम छ ? त्यो भने अनिश्चित छ । पुस ७ गतेदेखि बीमा समितिको अध्यक्ष पद खाली छ । कार्यकारी अध्यक्ष पद खाली हुँदा बीमा समितिको दैनिक काम प्रभावित भएको छ । बीमा कम्पनीहरुको वार्षिक साधारणसभा लगायत नियमित गतिविधि रोकिएका छन् । बीमा एजेन्टहरुको हड्तालले जीवन बीमा कम्पनीहरुको नयाँ कारोबार पूर्ण रुपले बन्द भएको छ ।
न्यूरोडमा मोबाइल व्यवसायीबीच लडाइँ, ‘माथिको आदेश’ले सडक महोत्सव रोकियो
काठमाडौं, १५ पुस । न्यूरोडमा मोबाइल व्यवसायीबीच सुरु भएको लडाइँले नयाँ वर्षका अवसरमा आयोजीत मोबाइल मेला नै प्रभावित भएको छ । न्यूरोड क्षेत्रका मोबाइल बिक्रेता र होल सेलर व्यवसायीबिचको विवादका कारण नयाँ वर्ष सन २०१७ का अवसरमा आयोजीत मोबाइल मेलाका दौरान आयोजना गर्ने भनिएको सडक महोत्सब र कन्सर्ट स्थगित भएको हो । नेपाल मोबाइल व्यवसायी संघले पुस १३ गतेदेखि १९ गतेसम्म न्युरोड पाको क्षेत्रमा न्युरोड मोबाइल मेला आयोजना गरिरहेको छ । मेलालाई थप आकर्षक बनाउन कन्सर्ट आयोजना गर्ने भनिएको थियो तर ट्राफिक प्रहरीले सडकमा कार्यक्रम गर्न नपाउने भन्दै रोकेको अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ‘हाम्रो कन्सर्ट किन रोकियो भनेर सोधेका थियौं, प्रहरीले माथीको आदेश भनेको छ ।’, बस्नेतले विकासन्युजसँग भने । प्रहरीले नयाँ बर्षको अवसरमा हुलदंगा बढ्ने कारण देखाउँदै कन्सर्ट नगर्न निर्देशन दिएको पनि उनले जानकारी दिए ।‘नयाँ बर्षमा हुलदंगा भयो भन्ने प्रहरीको दावी छ, न्युरोडमा आयोजना भएका यस्ता कन्सर्टमा कहिल्यै त्यस्तो भएको रेकर्ड छैन तर प्रहरीले कार्यक्रम गर्न दिएन, हामी आश्चर्य चकित भएका छौं’, अध्यक्ष बस्नेतले भने । संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा लगायतका क्षेत्रहरुमा मेला आयोजना गरेको हो । श्रोतका अनुसार मोबाइल होल सेलर र खुद्रा बिक्रेतका बिचमा विवाद उत्पन्न भएपछि यस्तो अवस्था आएको हो । सुरुमा होलसेलर व्यवसायीले मोबाइल मेलाको आयोजना गर्न लागेका थिए तर खुद्रा बिक्रेताले आफुहरुले मेला आयोजना गर्ने अडान कसे । त्यतिबेला नै गठन भएको मोबाइल आयात कर्ता संघले खुद्रा व्यवसायीको पक्ष लियो । र पुरुषोत्तम बस्नेत नेतृत्वको खुद्रुा व्यवसायीले मोबाइल मेलाको आयोजना गरे । मेला आयोजना गर्न नपाएको झोँकमा डिलर व्यवसायीले ट्राफिक मार्फत सडक महोत्सव रोक्न लगाएको आरोप लागेको छ ।