बुढीगण्डकी बनाउन पेट्रोलियम कारोबारबाट उठ्यो ४ अर्ब, ६ गाबिसका प्रभावितलाई ७ अर्ब मुआब्जा

काठमाडौं, २० पुस । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नका लागि पेट्रोलियम कारोबारबाटै ४ अर्ब ८ करोड रुपैंयाँ लगानी जुटेको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा पुर्वाधार कर लगाएको थियो । गत आर्थिक बर्षको जेठ १५ गते नै बजेट वक्तव्य आएकाले सोही महिनाको जेठ १६ देखि असार मसान्त सम्ममा एक अर्ब १६ करोड रुपैंयाँ संकलन भएको थियो । त्यस्तै, चालु आर्थिक बर्षको पाँच महिनामा अर्थात मंसिर १५ गतेसम्ममा थप २ अर्ब ९२ करोड रुपैंयाँ संकलन भएको हो । सरकारले बजेटमै बुढीगण्डकी आयोजना निर्माणका लागि ५ अर्ब ३३ करोड बजेट विनियोजन गरेको थियो । मुआब्जा वितरण अघि बढ्यो बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार गोरखाको तीन गाबिसमा मुआब्जा वितरण अघि बढेको छ । गोरखाको घ्याल्चोक, भम्लीचोक र दर्बुङ गाबिसको २१ सय कित्ता जमिन अधिग्रहण अघि बढेको हो । ३५ दिने सूचना प्रकाशित गरिएकोमा हालसम्म एक हजार कित्ता बराबरको निवेदन आइसकेको छ । २१ सय कित्ता जमिनको मुआब्जाका लागि २ अर्ब ६६ करोड रुपैंयाँ विनियोजन गरिएको कार्यकारी निर्देशक बस्नेतले विकासन्युजलाई जानकारी दिए । धादिङको पनि जग्गा वर्गिकरण सकियो धादिङको पनि जग्गा वर्गिकरण पनि सम्पन्न भैसकेको बस्नेतले जानकारी दिए । त्यहाँ पनि ११ प्रकारमा जमिनको वर्गिकरण गरिएको छ । आयोजनाले धादिङको सलाङ, खरि र मैदी गाबिसको जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गर्दैछ । मुआब्जाका लागि साढे चार अर्ब रुपैंयाँ लाग्ने पनि बस्नेतले जानकारी दिए । आयोजना विकास समितिले गोरखा र धादिङको ६ गाबिसको जमिन अधिग्रहणका लागि ७ अर्ब १६ करोड रुपैंयाँ मुआब्जा वितरण गर्न लागेका हो । यसैबिच, उर्जामन्त्री जनार्दन शर्माले कम्पनी मोडलमा बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सरकार आफैंले गर्ने घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रममा उनले बुढीगण्डकी, तमोर, अरुण, उत्तरगंगा, दुधकोशी लगायतका ठुला आयोजना कम्पनी मोडलमा नेपाल आफैंले बनाउने बताएका हुन् ।

वायुसेवा निगमलाई वाइडबडी उडाउन कोरियाले दियो अनुमति, सातामा दुईवटा उडान भर्ने

काठमाडौं २०, पुस । नेपाल वायुसेवा निगमलाई वाइडवडि जहाज आउनु अघि नै कोरियाले उडान अनुमति स्वीकृति दिएको छ । वायुसेवा निगमले आगामी असोजसम्ममाा एउटा र त्यसको ६ महिनामा अर्को वाइडवडी जहाज ल्याउने गरी तयारी गरिरहेको छ । निगमको वाइडवडी खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको र निगम संचालक समितिमा छलफलमा रहेको छ । निगमको लामो दूरीको उडान क्षमतको वाइडवडी जहाज आउने भएपनि कोरियाली सातामा दुईवटा उडानको अनुमति नै स्वीकृति दिएको वायुसेवा निगमका कर्पोरेट निर्देशक तथा प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार कोरियाले आइतबार र बुधबार गरी सातामा दुईवटा उडान तालिका स्वीकृत गरेको छ । काठमाडौबाट बेलुका ७ बजेर २० मिनेटमा उड्ने र भोलीपल्ट कोरियाबाट ८ बजेर १५ मिटेनमा काठमाडौं आउने गरी उडान तालिका स्वकृत गरेको जानकारी निगमलाई आएको शर्माले बताए । उनका अनुसार वायुसेवा निगमले २८० सिट क्षमतासम्मको दुईवटा वाइडवडी जहाज खरिद प्रक्रिया थालिसकेको छ । जहाज ल्याउन अमेरिकी कम्पनी एआआरले ११ अर्ब ३५ करोड रुपैयाँमा नै एउटा जहाज दिने गरी प्रस्ताव पनि हालिसेको छ । सोही जहाजको प्रस्तावमा बोर्डमा छलफल भइरहेको र निर्णयको चरणमा रहेको पनि शार्माले जानकारी दिए । बायुसेवा निगमले ठूलो दुईवटा जहाज ल्याएर अस्टेलिया, अमेरिका, जापान, कोरियासहितका मुलुकमा उडानको तयारी गरिरहेको छ । निगमले दुई वटा वाइडवडिका लागि २५ अर्ब रुपैयाँको जोहो थालिसकेको छ । निगमसँग हाल एयरवसका दुईवटा न्यारोवडि जहाज छन् ।

बैंक अफ काठमाण्डू लुम्बिनीले करिब ६० लाख कित्ता नयाँ सेयर निष्काशन गर्ने

काठमाडौं, १९ पुस । बैंक अफ काठमाण्डू लुम्बिनीले नयाँ सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । बैंकले करिब ६० लाख कित्ता प्रमोटर सेयर निष्काशन गर्न लागेको हो । यस बैंकमा हाल प्रमोटर सेयर करिव ४६ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार प्रमोटर सेयर कम्तिमा ५१ प्रतिशत हुनुपर्छ । सोही अनुपात मिलाउन बैंकले नयाँ सेयर निष्काशन गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बताए । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज हुँदा राष्ट्र बैंकले प्रवद्र्धक सेयर र साधारण सेयर अनुपात ५१ र ४९ प्रतिशत कायम गर्न दिएको निर्देशन अनुसार नयाँ सेयर निष्काशन गर्ने तयारी भएको उनले बताए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार नयाँ सेयर निष्काशन गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने तयारी भएको छ । साधारणसभाको स्वीकृति, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामकको स्वीकृति लिएर आगामी असार मसान्तअघि नै नयाँ सेयर जारी गरिसक्ने बैंकको योजना रहेको छ । नयाँ सेयरको प्रिमियम मूल्य नियामक निकायसँगको समन्वय र सहमतिमा तय गरिने उनले बताए । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ छ । बैंकले प्रस्ताव गरेको २३ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ हुनेछ । नयाँ सेयर निष्काशन पछि थपिने सेयर पुँजी, त्यसबाट आउने प्रिमियम र चालु आर्थिक वर्षको नाफाबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने योजना रहेको उनले बताए । असोज मसान्तसम्ममा बैंकको संचित कोषमा ४ अर्ब २० करोड रुपैयाँ छ ।