सेयर बजारको दुस्मन कम्युनिष्ट पार्टी र प्रचण्डलाई पत्याउने नेपाली पुँजीपति
काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा गर्दैछन् । उनले राजीनामा गर्छन भन्ने पक्कापक्की हुँदा सेयर बजार रातो भएको छ । सेयरको मूल्य घटिरहेको छ । नेकपा (माओवादी केन्द्र) नेपालभित्रका कम्यूनिष्ट पार्टीहरु मध्ये खरो पार्टीको रुपमा चिनिन्छ । यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि आफूलाई खाँटी कम्यूनिष्ट पार्टीको नेता भन्न रुचाउँछन् । तिनै कम्यूनिष्ट पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा गर्दैछन् र आफूलाई लोकतन्त्र र पुँजीबादको पर्यायवाची भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । अर्थमन्त्री पनि नेपाली काँग्रेसले नै पाउँदैछ । तर सेयर बजार किन रोइरहेको छ ? संसारभर कम्युनिष्टहरु खुल्ला बजार अर्थतन्त्रका बिरोधी मानिन्छन् । अझ उनीहरुले सेयर बजारलाई त पुँजीपतिको जुवाघर भन्दै आएका छन् । नेपालमै पनि सेयर बजार प्रति कम्युनिष्ट पार्टीका नेताहरुको दृष्टिकोण नकारात्मक छ । तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले पनि नेपालको सेयर बजार जुवा घर जस्तै देखिएको टिप्पणी गरेका थिए । यस्तो सोच र धरातलमा रहेको सेयर बजार नेकपा माओवादी केन्द्रका अध्यक्षले पद त्याग गर्दा किन हरियो भएन ? किन रातो भयो ? वास्तवमा तर्क र तथ्यबीच गज्जबको बेमेल छ । १० वर्ष युद्ध गरेर राजनीतिक मुलधारमा आएका प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा सेयर बजारले नयाँ र सकारात्मक रेकर्ड कायम गरेको छ । उनी प्रधानमन्त्री भएकै बेलामा नेप्से परिसूचक उच्चतम विन्दुमा पुगेको छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ साल भदौमा नेप्सेले इतिहासकै सर्वाधिक उच्चतम विन्दु ११७५ छोएको थियो । उनी दोस्रो पटक २०७३ साउनमा प्रधानमन्त्री चुनिए । सोही महिना सेयर बजारले अर्को इतिहास रच्यो, नेप्सेले १८८१ अंकमा टेक्यो । २०६५ देखि २०७३ को बीचमा नेप्से परिसूचक झरेर २९२ अंकमा पनि पुगेको थियो । २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनबाट नेकपा(माओवादी) सबैभन्दा ठूलो पार्टीका रुपमा उदायो । तत्काल सेयर बजार डरायो र घट्न थाल्यो । ठिक त्यति नै बेला प्रचण्डले पत्रकार सम्मेलन गरेर आफूहरु खुल्ला बजार अर्थतन्त्रको पक्षपाती भएको बताए र सेयर बजारलाई उचाल्न सहयोग गरे । नेपालका कम्यूनिष्ट पार्टीहरुले अझै पनि खुल्ला बजार अर्थतन्त्रलाई भित्रैदेखि स्वीकार नगरेको भन्ने आरोप लाग्दै आएको छ । तर कम्यूनिष्ट दलले सत्ता समालेकै बेलामा पुँजीपतिहरुले सेयर बजारमा पैसा खन्याएको पनि देखिन्छ । अर्को तथ्य के पनि छ भने २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा छोटो अवधिमा दुई दर्जन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका थिए । दोस्रो पटक उनी प्रधानमन्त्री भएको बेलामा एक दर्जन बीमा कम्पनीहरुलाई लाईसेन्स दिने निर्णय गराए । यी दुई तथ्यले पनि प्रचण्ड प्रधानमन्त्री भएको बेलामा नेपाली पुँजीपतिहरुले लगानी विस्तार गर्ने निर्णय लिएको देखिन्छ ।
नेपालको आर्थिक विकासमा भारत साधक र बाधकः विश्व बैंक
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक विकासमा भारत साधक र बाधक दुबै बन्न सक्ने बताएको छ । विश्व बैंकले मंगलबार राजधानीमा सार्वजनिक गरेको मध्यम आय तर्फ नेपाल नामक अध्ययन प्रतिवेदनमा नेपालको आर्थिक विकासमा भारत साधक र बाधक दुबै बन्न सक्ने उल्लेख गरेको हो । विश्व बैंकले आफ्नो अध्ययन प्रतिवेदनको मुख्य सारांशमै नेपालको आर्थिक विकासमा भारतको भूमिका समेटिएको टिप्पणीलाई समावेश गरेको छ । ‘नेपाल बिशेष ढंगले भारत प्रति खुल्ला छ र यसको आर्थिक विकासका पाइला पनि सकारात्मक र नकारात्मक रुपले भारत प्रति नै निर्भर छन’, विश्व बैंकको रिपोर्टमा भनिएको छ । अर्थ विद डा. पोषराज पाण्डेले विश्व बैंकको प्रतिवेदनमा नेपालको वास्तविकता उजागर गरिएको टिप्पणी गरे । उनले नेपालको अािर्थक विकासमा भारतको ठुलो योगदान रहने र उसले नचाहाँदा नेपालको आर्थिक विकासको गतिमा सुस्तता आउन सक्ने बताए ।‘नेपाल र भारतको मुद्रा सटही दर स्थिर छ, वैदेशिक व्यापारको हिस्सा पनि ठुलो छ, आपसी सहयोग पनि उस्तै छ, नेपालको विकासमा साधक बन्न सक्छ’, डा. पाण्डेले भने । उनले नेपाल भूपरिवेष्ठित मुलुक भएको र भारत तर्फबाट अन्तराष्ट्रिय व्यापारमा प्रवेश गर्न सहज भएकाले उसको असहयोगमा नेपाललाई अप्ठेरो पर्ने बताए । उता, अर्का अर्थविद डा. चन्द्रमणि अधिकारीले पनि नेपाल भुपरिवेष्ठित मुलुक भएको र तीन तर्फ भारतसँग सिमा जोडिएकाले नेपालको आर्थिक विकासमा भारतको योगदान हुनु स्वभाविक रहेको बताए । उनले पनि जसले विकासमा सहयोग गर्न सक्छ उसले नचाहाँदा विकास रोक्न पनि सक्ने तथ्यलाई भुल्न नहुने उनको भनाई छ ।‘भारतसँग हाम्रो ठुलो परनिर्भरता छ, ठुलो वैदेशिक व्यापार पनि छ, भारतले चाहदाँ हाम्रो विकासको गति बढ्न सक्छ र उसले नचाहाँदा गति घट्न पनि सक्छ’, डा. अधिकारीले भने । भारतले नाका बन्दी गर्दा नेपालको अर्थतन्त्रमा परेका प्रभावहरुलाई हेर्दा पनि नेपालको आर्थिक विकासमा भारतको सहयोग र असहयोगको भूमिका स्पष्ट हुन्छ ।
स्मार्ट टेलिकमले पायो फोरजीको अनुमति, फोरजीमा अब एनटीसी, एनसेल र स्मार्टबीच प्रतिस्पर्धा
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले चौथौ पुस्ताको मोवाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनको अनुमति पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको संचालक समितिले स्मार्टलाई १८ सय मोगाहर्जमा प्रविधि ततस्थता गरेर तीब्र गतिको मोवाइल इन्टरनेट सञ्चालनको अनुमति दिएको हो । प्राधिकरणका प्रवत्ता मीनप्रसाद आर्याले स्मार्टले फोरजीको अनुमति पाएको भएपनि यसले सेवा सञ्चालन भने आगामी साउन १५ पछि मात्रै गर्नुपर्ने भएको छ । यो कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नवीकरण शुल्क सबै चुक्ता गरेर साउन १५ पछि देशैभर सेवा सञ्चालन गर्न पाउने पनि उनले जानकारी दिए । प्राधिकरणले समयसमयमा दिने निर्देशनको पूर्ण पालना गर्नुपर्ने, हरेक तीनतीन महिनामा प्रगति विवरण बुझाउनुपर्ने, सेवा विस्तार र गुणस्तको विषयमा प्राधिकरणबाट हुने अनुगममा कमजोर सेवा हुन नहुनेसहितका सर्त राखेर अनुमित दिएको पनि अर्यालले बताए । उनका अनुसार स्मार्टले सेवा विस्तारको क्रममा काठमाडौंमा मात्रै १ सयभन्दा बढी टावर राखिसकेको छ भने यसका देशैभर ४ सय भन्दा बढी टावर रहेका छन् । प्रतिस्पर्धा टेलिकम र एनसेलसँग स्मार्टले मोवाइल सेवाको प्रमुख बजार हिस्सा ओगटेको एनसेल र नेपाल टेलिकमसँग प्रनिस्पार्धा गर्नुपर्ने भएको छ । यी दुई कम्पनीकै बजार हिस्सा टेलिफोनमा ९८ प्रतिशत रहेको छ । इन्टरनेटमा पनि यी दुई कम्पनीकै पकड रहेको छ । स्मार्टले अब नयाँ रणीति र आकर्षक योजना ल्याएर नेपाल टेलिकम र एनसेलसँग फोरजीको सेवामा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । टेलिकमले गत पुस १७ देखि फोरजी सेवा संचालन गरेको थियो । एनसेलले यही जेठ १८ बाट सेवा संचालन गर्दै छ भने स्मार्टले पनि साउन १५ बाट फोरजी सेवा दिन पाउँछ । यस अघि वितरण भएको टेलिकम र एनसेललाई दिएको फोरजी पनि प्रविधि ततस्थता अर्थात एउटै फ्रिक्वेन्सीमा जुनसुकै प्रविधिबाट सेवा दिन पाइने व्यवस्थाको आधारमा अनुमति दिएको पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार नेपालमा सञ्चालित टेलिकम सेवाप्रदायबीच फोरजी सेवामा हुने तीब्र प्रतिस्पर्धाले आम उपभोक्तलाई लाभ हुन्छ भने सेवाको गुणस्तर पनि बढ्छ । प्रतिस्पर्धा भएपछि सेवाप्रदायबीचमै सस्तो, विश्वसनिय र गुणस्तरीय सेवा बाध्यात्मक हुने पनि उल्लेख छ । फोरजीको सेवा सुरु गर्ने पहिलो कम्पनी नेपाल टेलिकमले काठमाडौं र पोखरामा सेवा दिइरहेको छ । यसले थप सहरमा सेवा विस्तारको तयारी गरिरहेको छ । फोरजी सेवामा आक्रामक बजार रणनीति बनाउँदै एनसेल एनसेलले आक्रामक रणनीतिका साथ फोरजी सेवा सञ्चालन गर्ने भएको छ । यो कम्पनीले एकैपटक काठमाडौंसहित पाँच सहरबाट सेवा सुरु गर्दै छ । नसेलले यही जेठ १८ बाट सेवा संचालन गर्न अावश्यक सबै तयारी गरीरहेकाे छ । एनसेलले टेकिलकमको भन्दा ५ महिना ढिलो फोरजी सञ्चालन गर्न पाउने भएकोले पनि यसले सुरुमै ठूलो दायरा समेट्न खोजेको हो । एनसेलले काठमाडौं, पोखरा, दमौली, धरान र विराटनगरबाट सेवा सञ्चालन गर्न पाउने गरी अनुमति दिइसकेको छ । त्यसपछी तुरुन्तै थप १५ वटा सहरमा फाेरजी दिने तयारीमा एनसेल जुटीरहेकाे छ । फोरजीको पर्खाइमा युटीएलपनि युनाइटेड टेलिकम लिमिटेड (युटीएल)ले पनि फोरजीको अनुमति मागेको छ । फोरजी मार्फत देशैभर सेवा दिने उद्देश्यले यो कम्पनीले अनुमति माग गरेको भएपनि आवश्यक प्रक्रिया भने पूरा नभएकोले प्राधिकरणले अनुमति दिएको छैन । युटीएलले पनि एकीकृत सेवा सञ्चालनको अनुमति भने पाइसकेको छ । यसले फोरजीको लागि दिएको अनुमतिमा प्राधिकरणले आवश्यक मूल्यांकन गरिरहेको उल्लेख छ ।