रहेनन् हाइड्रो, न भेटिए कामदार

आफन्तमा बढ्यो आक्रोश, उद्धारमा चुनौती

काठमाडौं । विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहमा फसेका र सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा उल्लेख्य प्रगति हुन सकेको छैन ।  सुरुङभित्र पसेको लेदो र थुप्रिएको माटो, निरन्तर बढिरहेको नदीको सतह तथा घटनास्थलसम्म आवश्यक भारी उद्धार उपकरण पुर्याउन नसक्दा उद्धार टोलीले कठिन चुनौती सामना गरिरहेको छ । उद्धारमा खटिएका अधिकारीहरूका अनुसार कतिपय स्थानमा उद्धार थाल्नुअघि पहुँचमार्ग नै निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

जलविद्युत् आयोजनाबाट हराइरहेकाको अवस्था सात दिन बितिसक्दा पनि अज्ञात छ । बाढीका कारण क्षति पुगेका जलविद्युत आयोजनाहरूको उद्धार र खोजी कार्यमा निकै कठिनाइ भइरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।

इप्पानका अध्यक्ष मोहन डाँगी विशेषगरी माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङभित्र बाढी पसेका कारण ठूलो मानवीय र भौतिक क्षतिको आशंका गरिएको बताउँछन् । अध्यक्ष डाँगीका अनुसार भौगोलिक विकटता, बाटोको असुविधा र भारी उपकरण पुर्याउन नसक्दा उद्धार टोली अहिलेसम्म सुरुङभित्र पस्न सकेको छैन ।

अध्यक्ष डाँगीले माथिल्लो त्रिशूली-१ को १० किलोमिटर लामो सुरुङमध्ये करिब ४ किलोमिटरसम्म बाढी पसेको जानकारी दिए । ‘त्यो ४ किलोमिटर खण्डमा बाढीसँगै आएका मेसिन र अन्य सामग्रीहरू अड्किएका छन्, जसले गर्दा सुरुङ पुरैभरिएको छ,’  उनले विकासन्युजसँग भने ।

उक्त ४ किलोमिटर क्षेत्रमा कार्यरत कामदारहरूको अवस्था निकै चिन्ताजनक रहेको र उनीहरू जीवितै हुने सम्भावना न्यून रहेको उनको संकेत छ । यद्यपि सुरुङको बाँकी ६ किलोमिटर क्षेत्रमा रहेका कामदारहरू भने सुरक्षित रूपमा निस्कन सफल भएका छन् ।

सुरुङभित्र पसेर उद्धार गर्न नेपाली सेना र विज्ञ टोली खटिए पनि भौगोलिक कारणले गर्दा ठूला स्क्याभेटर र मेसिनहरू घटनास्थलमा पुर्याउन सकिएको छैन । हेलिकप्टरबाट सामान ओसार्ने प्रयास गरिए पनि त्यसको क्षमता कम हुँदा पर्याप्त उपकरण पुग्न नसकेको डाँगीले बताए । निजी क्षेत्रका तर्फबाट उपकरण लैजाने प्रयास भइरहे पनि प्राविधिक कारणले ती प्रभावकारी हुन सकेका छैनन् ।

उद्धार कार्यलाई तीव्रता दिन भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोलीहरू घटनास्थलमा खटिएका छन् । अध्यक्ष डाँगीका अनुसार भारतबाट ११ जना, चीनबाट ९ जना र कोरियाबाट ३/४ जनाको टोली उद्धारमा संलग्न छ ।

यसैगरी, सुरुङभित्र र वरपर बेपत्ता भएकाहरूको शव पहिचान गर्न पोखराबाट चारवटा तालिमप्राप्त कुकुरहरू पनि ल्याइएको छ । ‘ती कुकुरहरूले शव भएको स्थान ट्रयाक गर्न मद्दत गर्ने विश्वास लिइएको छ,’  डाँगीले थपे । 

घटना भएको सात दिन बितिसक्दा पनि धेरै कामदारहरू अझै बेपत्ता छन् । अध्यक्ष डाँगीले अबको प्राथमिकता शव फेला पार्ने र यदी भेटिएन भने कानुनी प्रक्रिया पुर्याएर अघि बढ्ने बताए ।  

null

‘सास नभेटिए पनि कम्तीमा लास भेटियोस् भन्ने सबैको चाहना छ, त्यसपछि मात्रै संस्कार र अन्य कानुनी प्रक्रिया
सुरु हुनेछ,’ उनले विकासन्युजसँग भने । 

हाल जलविद्युत आयोजनाहरूमा भएको क्षतिको यकिन विवरण संकलन गर्ने र उद्धार कार्यलाई निरन्तरता दिने काम भइरहेको इप्पानले जनाएको छ ।

बाढीले क्षति पुर्याएका १३ विद्युत् आयोजनामध्ये कोरियाली लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली-१ बाट नै सबैभन्दा धेरै सम्पर्कविहीन छन् । बाढीपछि ५७३ जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ । 

२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा फसेकाहरूमध्ये सोमबार तीन जनाको मात्र उद्धार भएको थियो । हालसम्म उद्धार र सम्पर्क आएकाहरूको संख्या ८७३ छ । यसैगरी ,परामर्शदाता कम्पनी, ठेकेदार कम्पनीसहित आयोजनाका कर्मचारीहरू गरी ५७३ हराइरहेका छन् । 

यसमध्ये ३०० जना सुरुङभित्र काम गर्नेहरू हराइरहेका छन् । उनीहरू सुरुभित्र बसेर काम गरिरहेका थिए वा भित्र प्रवेश गर्न बाँकी थियो भन्ने यकिन भएको छैन । सो दिन आयोजनामा करिब साढे १४०० सय जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ ।

लाङटाङका ४१ जना अझै बेपत्ता

बाढीका कारण २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको कम्पनीका प्रबन्ध निर्देशक तथा इप्पानका सचिव विजयमोहन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार विपद्पछि अहिलेसम्म ४१ जना कामदार तथा स्थानीयहरू अझै बेपत्ता रहेका छन् ।

बाढी आएपछि सुरुमा ६० जना व्यक्तिहरू सम्पर्कविहीन भएका थिए । तीमध्ये १८ जनालाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ भने एक जना आफै सम्पर्कमा आएका छन् । बाँकी ४१ जनाको खोजी कार्य जारी छ ।

उनका अनुसार अहिले नेपाली सेना र प्राविधिक टोली आयोजनाको सर्भिस टनेल क्षेत्रमा पुगिसकेका छन् । करिब १५० मिटर लामो उक्त सुरुङभित्र १० देखि १२ जना कामदारहरू फसेको हुनसक्ने अनुमान गरिएको छ । 

‘हाम्रो प्राविधिक टोली र सेनाको टोली त्यहाँ पुगिसकेको छ, आजदेखि थप उपकरणहरू प्रयोग गरेर सुरुङभित्र खोजी र उद्धारको काम सुरु हुँदैछ,’ उनले विकासन्युजसँग भने ।

बाढीले आयोजना स्थल जोड्ने पुल र बाटाहरू पूर्ण रूपमा बगाएका कारण पैदल जान सक्ने अवस्था छैन । उद्धार टोली र आवश्यक उपकरणहरू हेलिकप्टरमार्फत एयरलिफ्टिङ गरेर पुर्याइएको छ । 

भौगोलिक विकटताका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको सचिव भट्टराईले जानकारी दिए । बाढीको प्रकृति सुनामी जस्तै अचानक र अत्यन्तै तीव्र भएको उनले बताए । जल तथा मौसम विज्ञान विभागको स्टेशन र बाढीको पूर्वसूचना दिने अलार्म प्रणालीलाई समेत बाढीले एकैपटक बगाएका कारण कसैले पनि सतर्क हुने मौका नपाएको उनको भनाइ छ । 

‘बाढी बुलेट जस्तै गतिमा आयो, जसले गर्दा मोबाइलमा अलर्ट आउने वा अलार्म बज्ने समय नै पाइएन,’ उनले थपे ।

यो २० मेगावाटको आयोजना निर्माण सम्पन्न भई परीक्षण उत्पादनको अन्तिम चरणमा थियो । परीक्षणको समय भएकाले आयोजनामा नियमित समयमा भन्दा कम कामदारहरू उपस्थित थिए, जसले गर्दा मानवीय क्षति केही कम भएको हुनसक्ने आकलन गरिएको छ ।

सामान्य अवस्थामा त्यहाँ ३०० देखि ४०० जनासम्म मानिसहरू हुने गर्दथे । सचिव भट्टराईले यो राष्ट्रिय विपद्को समय भएकोले यसमा कुनै राजनीति नगरी सबै पक्षलाई एकजुट भई उद्धार र राहतमा जुट्न अपिल समेत गरेका छन् । बेपत्ताहरूको खोजीका लागि सरकार र सरोकारवाला निकायले थप तदारुकता देखाउनुपर्नेमा उनले जोड दिएका छन् ।

चिलिमे जलविद्युतको सुरुङमा ६ जना कर्मचारी बेपत्ता 

बाढीका कारण चिलिमे जलविद्युत आयोजनामा कार्यरत ६ जना कर्मचारीहरू सुरुङभित्रै बेपत्ता भएका छन् । आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले दिएको जानकारी अनुसार बाढी र पहिरोका कारण सुरुङभित्र उद्धार टोली पुग्न नसक्दा उनीहरूको अवस्था अझै अज्ञात छ ।

प्रबन्ध निर्देशक महर्जनका अनुसार घटनाको समयमा आयोजना स्थलमा कुल ७० जना कर्मचारीहरू कार्यरत थिए । तीमध्ये ६४ जना सुरक्षित रूपमा सम्पर्कमा आएका छन् भने २२ मेगावाटको उक्त आयोजनाको सुरुङभित्र रहेका ६ जना अझै सम्पर्कविहीन छन् । 

उद्धार कार्यमा देखिएका चुनौतीबारे चर्चा गर्दै महर्जनले विकासन्युजसँग भने, ‘भौगोलिक कारणले गर्दा सुरुङभित्र छिर्न निकै कठिन भइरहेको छ । नदी किनारमा पर्याप्त जग्गा नभएका कारण हेलिकप्टरमार्फत उपकरणहरू अवतरण गराउन (ल्याण्ड गर्न) समेत ठाउँको अभाव छ ।’ सुरुङको मुख र बाटोहरूमा थुप्रिएको लेदो र ढुङ्गाका कारण मेसिनहरू भित्र लैजान नसकिएको उनले बताए । 

null

भारतीय सेनाको सहयोग र म्यानुअल उद्धार 

अवरोध हटाउन र बेपत्ताहरूको खोजी गर्न अहिले भारतीय सेनाको विशेष टोली घटनास्थलमा खटिएको छ । मेसिनरी उपकरणले मात्र नभई म्यानुअल (हातैले) रूपमा पनि लेदो र अवरोध हटाउने प्रयास भइरहेको महर्जनले जानकारी दिए । 

‘हामी विभिन्न किसिमका इक्विपमेन्टहरू लगाएर सुरुङ खुलाउने प्रयासमा छौं, तर अवस्था निकै जटिल छ,’ उनले थपे । सुरुङभित्रको अवरोध नहटाएसम्म बेपत्ता भएका कर्मचारीहरूको अवस्थाबारे केही भन्न नसकिने व्यवस्थापन पक्षको भनाइ छ ।

प्रबन्ध निर्देशक महर्जनले सुरुङभित्र कसरी पस्ने र कसरी खोजी कार्य अघि बढाउने भन्ने विषयमा अझै पनि प्राविधिक अन्योल कायमै रहेको बताए । विदेशी विज्ञ टोली र स्थानीय उद्धारकर्मीहरूको समन्वयमा बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिइएको चिलिमे जलविद्युत आयोजनाले जनाएको छ ।

१११ मेगावाटको आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण जुटाएर खोजी तथा उद्धारलाई अघि बढाउने प्रयास भइरहेको जनाएको छ । तर, एक सातासम्म पनि हराइरहेकाहरूको खोजी प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि आफन्तहरूमा आक्रोश र बेचैनी बढ्दै गएको छ ।

आयोजनास्थलमा प्रोटोकलमा रहेका व्यक्तिबाहेक अन्यलाई प्रवेश गर्न नदिइएकाले उद्धार तथा राहत कार्य अपेक्षित रूपमा अघि बढ्न नसकेको गुनासोसमेत रहेको कम्पनीले बताएको छ । कम्पनीले स्काभेटर खरिद गरेर बुधबार रसुवा पुर्याएको छ । 

null

यसैगरी, ३७ मेगावाटको त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा पनि हराइरहेकाहरूको खोजी तथा उद्धार जारी रहेको छ । प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीका अनुसार निर्माण कम्पनी, परामर्शदाता तथा प्रवद्र्धक कम्पनीमा कार्यरत कर्मचारी अझै सम्पर्कविहीन छन् । दिन बित्दै जाँदा आफन्तको आशा र चिन्ता दुवै चुलिँदै गएको छ भने, सुरुङभित्र थुप्रिएको लेदो र डेब्रिज हटाउँदै हराइरहेकासम्म पुग्नु उद्धार टोलीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

के भन्छन् मन्त्री ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एक सातासम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए । 

सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको उनको भनाइ छ । 

‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने । 

खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएको उनले जानकारी दिए । 

उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्ति र स्रोतको कुनै कमी हुन नदिइएको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताए ।

सरकारले कठिन परिस्थितिमा पनि खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले परिवारजनलाई धैर्य नगुमाउन आग्रह गरे । 

‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ । अझै आशा मार्ने बेला भएको छैन । प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौं,’ उनले भने । 

मन्त्री श्रेष्ठले सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको उल्लेख गर्दै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

कोरियाबाट आयो ४४ सदस्यीय विशेष उद्धार टोली

सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा सघाउन दक्षिण कोरियाबाट दक्ष ४४ सदस्यीय कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) बुधबार नेपाल आइपुगेको छ । विशेषगरी सम्पर्कविहीन भएका कोरियाली नागरिकको खोजीलाई प्राथमिकता दिँदै टोली अत्याधुनिक खोज तथा उद्धार उपकरणसहित नेपाल आएको बताइएको छ । 

दक्षिण कोरियाली वायुसेनाको केसी-३३० ‘सिग्नस’ मल्टिरोल एरियल ट्यांकर विमानमार्फत आएको टोली बुधबार बिहान नेपाल पुगेको हो । 

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयअन्तर्गत विकास सहयोगका महानिर्देशक ली क्यु-होको नेतृत्वमा आएको केडीआरटीमा राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना दक्ष कर्मचारी छन् । 

टोलीमा परराष्ट्र मन्त्रालय र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) का अधिकारीसमेत सहभागी छन् । उद्धार टोलीले पाँचवटा विशेष खोज तथा उद्धार कुकुर पनि साथमा ल्याएको छ ।

त्यस्तै, भग्नावशेषभित्र फसेका मानिसको अवस्था पत्ता लगाउन उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण र थर्मल इमेजिङ प्रविधि लगायतका अत्याधुनिक सामग्री प्रयोगमा ल्याइनेछ ।

अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिसहित नेपाल आइपुगेको केडीआरटीले भग्नावशेषमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धारमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share News