चन्द्र ढकालको आइएमई मोटर्सको आम्दानी साढे ३ अर्ब, नयाँ गाडी दर्ता रोक्दा व्यवसायमा दबाब

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षमा उतारचढावपूर्ण देखिए पनि पछिल्लो दुई आर्थिक वर्षमा भने वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३४ करोड ७० लाख, आव २०७९/८० मा १ अर्ब ७५ करोड १० लाख, आव २०७८/७९ मा ३ अर्ब १४ करोड, आव २०७७/७८ मा २ अर्ब ६३ करोड १० लाख, आव २०७६/७७ मा १ अर्ब ८३ करोड २० लाख र आव २०७५/७६ मा २ अर्ब ९५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

आइएमई मोटर्स नेपालमा हिन्दुजा ग्रुपअन्तर्गतको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्ड लिमिटेडको आधिकारिक एकमात्र वितरक हो । सन् २०१० मा स्थापना भएको कम्पनीले अशोक लेल्यान्डका बस, हलुका तथा मध्यमस्तरीय व्यावसायिक सवारीसाधन, ट्रक र टिपरलगायतका सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ ।

कम्पनी सुरुमा एलटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको थियो । त्यतिबेला कम्पनीले डिजिटल टेलिभिजन सेवा प्रदायक डिसहोमको विक्रेता कारोबार गर्दै आएको थियो । सन् २०१५ देखि अशोक लेल्यान्डको आधिकारिक विक्रेताका रूपमा कारोबार सुरु गरेको कम्पनीको नाम सन् २०१७ मा परिवर्तन गरी आइएमई मोटर्स प्रालि राखिएको हो ।

आइएमई मोटर्सको प्रवर्द्धन मुख्य रूपमा आइएमई ग्रुपसँग आबद्ध व्यक्तिहरूले गरेका छन् । नेपालका वित्तीय क्षेत्रलगायत विभिन्न क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि स्थापित आइएमई ग्रुपको व्यावसायिक पृष्ठभूमिले कम्पनीलाई वित्तीय तथा सञ्चालनगत रूपमा सहयोग पुर्याउँदै आएको छ । चन्द्रप्रसाद ढकाल आइएमई ग्ररुपका अध्यक्ष हुन् भने निशान ढकाल आइएमई मोटर्सका कार्यकारी अध्यक्ष हुन् ।

सरकारले सन् २०२६ मेमा जारी गरेको परिपत्रमार्फत नयाँ व्यावसायिक सवारीसाधन दर्तामा अनिश्चितकालीन रोक लगाएपछि भने कम्पनीको आगामी व्यवसायमा दबाब पर्न सक्ने जोखिम देखिएको छ । व्यावसायिक सवारीसाधनमा केन्द्रित कम्पनी भएकाले दर्तामा लगाइएको रोक लामो समयसम्म कायम रहेमा यसको प्रत्यक्ष असर बिक्री, आम्दानी तथा समग्र व्यावसायिक प्रदर्शनमा पर्न सक्ने देखिएको हो ।

यद्यपि, रोक लाग्नुअघि आयात गरिएका सवारीसाधनको मौज्दात तथा खोलिएका प्रतीतपत्रले निकट अवधिको कारोबारलाई केही हदसम्म सहयोग गर्ने अपेक्षा गरिएको छ । तर, सन् २०२६ अक्टोबरको अन्त्यतिर प्रमुख चाडपर्वपछि सुरु हुने व्यावसायिक सवारीसाधनको उच्च मागको समयमा समेत दर्तामा रोक कायम रहेमा कम्पनीको व्यवसायमा थप दबाब पर्न सक्ने जनाएको छ ।

त्यस्तै, भारत स्टेज छ उत्सर्जन मापदण्डको अनिवार्य कार्यान्वयनले प्रतिइकाइ बिक्रीबाट प्राप्त हुने रकम बढाउने भएकाले कम्पनीको कारोबार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, व्यावसायिक सवारीसाधनको कारोबार विस्तारसँगै कम्पनीलाई थप चालु पुँजी आवश्यक पर्ने भएकाले वित्तीय व्यवस्थापनमा चुनौती थपिन सक्ने देखिन्छ ।

नेपालमा अशोक लेल्यान्डका व्यावसायिक सवारीसाधनको एकमात्र राष्ट्रिय विक्रेताका रूपमा करिब ११ वर्षको अनुभव भए पनि कम्पनीले बजारमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । टाटा मोटर्स, भारतबेन्ज र आइचरजस्ता स्थापित ब्रान्डका आधिकारिक विक्रेताबाट हुने प्रतिस्पर्धा कम्पनीको व्यवसायका प्रमुख चुनौतीमध्ये रहेका जनाएको छ । साथै, कम्पनीले पाएको विक्रेता अधिकार नवीकरण नहुने जोखिम पनि कायम छ ।

व्यावसायिक सवारीसाधनको माग स्वभावतः चक्रीय हुने भएकाले पछिल्लो समय आम्दानी तथा नाफामा देखिएको सुधार दीर्घकालसम्म कायम रहने विषयमा समेत जोखिम रहेको छ । बजारमा माग बढ्दा कारोबार र नाफा बढ्ने तथा माग घट्दा त्यसमा गिरावट आउने भएकाले कम्पनीको व्यावसायिक प्रदर्शनमा उतारचढावको सम्भावना रहन्छ ।

विद्युतीय व्यावसायिक सवारीसाधनको बढ्दो प्रयोग पनि कम्पनीका लागि अर्को चुनौतीका रूपमा देखिएको छ । कम्पनीको विद्युतीय व्यावसायिक सवारीसाधन क्षेत्रमा हालसम्म उल्लेख्य उपस्थिति नरहेकाले आगामी दिनमा विद्युतीय सवारीसाधनको बजार विस्तार हुँदा त्यसको असर कम्पनीको व्यवसायमा पर्न सक्ने देखिन्छ ।

कम्पनीको तरलता अवस्था पनि दबाबमा रहेको छ । लामो समयसम्म ग्राहकबाट रकम उठाउनुपर्ने अवस्थाका कारण चालु पुँजीमा कम्पनीको निर्भरता उच्च छ । आर्थिक वर्ष २०८२/८३ को मध्य जुलाईसम्म कम्पनीको चालु पुँजीको आवश्यकता सञ्चालन आम्दानीको करिब ७१ प्रतिशत रहेको थियो । उच्च चालु पुँजी आवश्यकताका कारण कम्पनी अल्पकालीन बाह्य वित्तीय स्रोतमा समेत निर्भर रहेको छ ।

आइएमई मोटर्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये १ अर्ब ३० करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ११ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।

Share News