कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण

काठमाडौं । कान्ति बाल अस्पतालमा जडान गरिएको अत्याधुनिक स्वचालित एकीकृत बायोकेमिस्ट्री तथा केमिल्युमिनेसेन्स इम्युनोएस्स मेसिन अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा प्रयोगशाला सेवा प्रभावहीन बन्दै गएको छ । अस्पताल व्यवस्थापनले यो मेसिन सञ्चालनमा आएपछि अधिकांश परीक्षण अस्पतालमै हुने र बिरामीले निजी प्रयोगशाला धाउनुपर्ने अवस्था अन्त्य हुने दाबी गरेको थियो । तर, व्यवहारमा भने ठीक उल्टो अवस्था देखिएको छ । पहिले बिरामी आफै नमुना बोकेर निजी प्रयोगशाला पुग्थे, अहिले अस्पतालले नै नमुना संकलन गरेर बाहिर पठाउने गरेको पाइएको छ । गत वर्ष असोज २४ गते सेरो डाइग्नेष्टिक कम्पनीसँग सम्झौता गरी करिब १० करोड रुपैयाँ लागतमा उक्त मेसिन जडान गरिएको थियो । फागुन महिनादेखि सञ्चालनमा ल्याइएको यो इन्टिग्रेटेड प्रणालीले अस्पतालमै बहुआयामिक परीक्षण सेवा दिने दाबी गरिएको थियो ।  तर, विकासन्युज डटकमलाई प्राप्त कागजात अनुसार अहिलेसम्म पनि अस्पतालको प्रयोगशाला सेवा निजी प्रयोगशालामै निर्भर रहेको देखिन्छ । अस्पतालका प्रमुख डा. पंकज राय भने मेसिन सञ्चालनमै रहेको दाबी गर्छन्।  प्रयोगशाला विभाग प्रमुख डा. मोनी सुवेदीले उक्त मेसिनले ६६ प्रकारका परीक्षण सम्भव भएको दाबी गरेकी छन्। यद्यपि, वास्तविकता फरक देखिन्छ । अस्पताल स्रोतका अनुसार एकीकृत प्रणालीको महत्त्वपूर्ण हिस्सा ‘स्पेसिफिक प्रोटिन एनालाइजर’ नै जडान नभएकाले मेसिन पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । यसको प्रत्यक्ष असर सेवामा परेको छ, जहाँ मेसिनले करिब एक तिहाई मात्र काम गरिरहेको बताइएको छ । यसका कारण विशेष प्रकारका परीक्षणका लागि बिरामीका नमुना बाहिरी निजी प्रयोगशालामा पठाउनुपर्ने बाध्यता कायम रहेको छ । गत चैत १ गतेदेखि वैशाख २ गतेसम्म मात्रै एक हजारभन्दा बढी नमुना निजी प्रयोगशालामा पठाइएको विवरण विकासन्युजलाई प्राप्त भएको छ । तीमध्ये अधिकांश नमुना निदान अस्पताल र रिलाएबल डाइग्नेष्टिक सेन्टरमा पठाइएको देखिन्छ । अस्पताल स्रोतका अनुसार ती दुवै प्रयोगशालाहरू आपूर्तिकर्ता कम्पनी सेरोसँग नजिक सम्बन्धमा छन्, जसले थप आशंका जन्माएको छ । अस्पतालका एक प्राविधिकका अनुसार यो अवस्था सामान्य प्राविधिक कमजोरी मात्र नभई गम्भीर व्यवस्थापकीय त्रुटिको परिणाम हो ।  उनका अनुसार अपूर्ण प्रणालीमै मेसिन जडान गरिँदा यस्तो समस्या सिर्जना भएको हो ।  ‘अस्पताल र आपूर्तिकर्ताबीचको मिलेमतोमा पूर्ण सेटअप बिना नै मेसिन जडान गरिएको हो, जसका कारण अहिले पनि नमुना बाहिर पठाउनुपर्ने अवस्था आएको हो,’ ती प्राविधिकले विकासन्युजसँग भने । अझ महत्वपूर्ण विषय अस्पतालले निजी ल्याबमा परीक्षण गरेर आफ्नै लेटरहेडमा बिरामीलाई रिपोर्ट दिने गरेको छ । अस्पताल आफैले नमुना कलेक्सन गरेर निजी ल्याबमा पठाउने र निजी ल्याबले रिपोर्ट पठाइसकेपछि त्यसलाई ‘कपी-पेष्ट’ गर्दै कान्तिले आफ्नो लेटरहेडमा रिपोर्ट बनाएर बिरामीलाई उपलब्ध गराउने गरेको खुलेको छ ।  हाल अस्पतालले आफ्नै शुल्कमा बिरामीबाट नमुना संकलन गरी आन्तरिक रूपमा निजी प्रयोगशालामा पठाउने गरेको छ । प्रयोगशाला विभाग प्रमुख डा. सुवेदीले केही नमुना बाहिर पठाइएको स्वीकार गरेकी छन् । ‘केही नमुना बाहिर पठाइएको हो । तर, यो प्राविधिक समस्या हो । मेसिनको क्यालिब्रेसनमा समस्या आएका बेला बिरामीलाई अतिरिक्त आर्थिक भार नपरोस् भनेर अस्पतालले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइएको हो,’ उनले भनिन् । उनले यसमा अस्पतालको कुनै गलत मनसाय नभएको बताइन् । देशकै केन्द्रीय बाल अस्पतालमा उपलब्ध नभएको वा गर्न नसकिने परीक्षण सामान्य निजी प्रयोगशालामा कसरी सम्भव भयो ? भन्ने प्रश्नले भने गम्भीर आशंका उब्जाएको छ । यस जिज्ञासामा अस्पताल प्रमुख डा. राय र डा. सुवेदी दुवैले स्पष्ट जवाफ दिन चाहेनन्।  आपूर्तिकर्ता सेरो डाइग्नेष्टिक कम्पनीका प्रबन्ध निर्देशक भक्तबहादुर बस्नेतले पनि आफू प्राविधिक विषयमा जानकार नभएको प्रतिक्रिया दिएका छन् । यस घटनाले सार्वजनिक स्वास्थ्य संस्थामा उपकरण खरिद, प्रयोग र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले यो विषयमा प्रतिक्रिया दिँदै भने, ‘सामान्य मेशिनरी समस्या भएर यस्तो भएको हो भने खासै ठूलो विषय होइन । तर, नियोजित रूपमा यस्तो गरिएको भए यो बेइमानी हो ।’  उनका अनुसार मन्त्रालयले यस विषयमा छानबिन गर्नेछ । यसैबीच सम्बन्धित निकायबाट सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पनि उठ्न थालेको छ । अस्पतालको खरिद प्रक्रिया, उपकरणको गुणस्तर, आपूर्तिकर्ताको भूमिका र अस्पताल व्यवस्थापनको निर्णय प्रक्रियामाथि समेत प्रश्न उठेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस प्रकरणमा चासो देखाउँदै प्रारम्भिक छानबिन सुरु गरेको बुझिएको छ । 

६ बैंकको वितरणयोग्य नाफा ३४ अर्ब ऋणात्मक, ३ बैंकको लाभांश क्षमता २० प्रतिशत माथि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको ३४ अर्ब रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । चालु आवको चैतसम्म एनआइसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), कुमारी बैंक र सिटिजन्स बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।  बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म ६ बैंकको मात्रै वितरणयोग्य नाफा ३४ अर्ब १ करोड १३ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ ।  चैत मसान्तसम्ममा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । एनआईसी एशियाको १३ अर्ब ६५ करोड ८२ लाख १४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । जबकि गत वर्षको चैतमा बैंकको ३ अर्ब ५६ करोड ९२ लाख २ हजार रुपैयाँ मात्रै वितरणयोग्य नाफा ऋणात्मक थियो ।  यस्तै, हिमालयन बैंकको १० अर्ब ४६ करोड ७९ लाख १७ हजार रुपैयाँ, प्रभु बैंकको ४ अर्ब २८ करोड ८१ लाख ५८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब) ३ अर्ब १० करोड ३० लाख ८५ हजार रुपैयाँ, कुमारी बैंकको १ अर्ब ९८ करोड ९५ लाख ९ हजार रुपैयाँ र सिटिजन्स बैंकको ५० करोड ४४ लाख ५४ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।  यी बैंकको वितरणयोग्य नाफा धनात्मक  चालु आवको असोजसम्ममा १४ वटा बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार नबिल बैंकको ४ अर्ब ३७ करोड ३६ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको ४ अर्ब ४ करोड ८५ लाख ६९ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ अर्ब ५४ लाख ७९ हजार रुपैयाँ, सिद्धार्थ बैंकको २ अर्ब ९९ करोड ९४ लाख ८४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस्तै, सानिमा बैंकको २ अर्ब १४ करोड १५ लाख २७ हजार रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ३५ करोड ४७ लाख ४७ हजार रुपैयाँ, नेपाल एसबिआइ बैंकको १ अर्ब २ करोड ६२ लाख ३९ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ, कृषि विकास बैंकको १ अर्ब २५ करोड १४ लाख ४२ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । एनएमबि बैंकको ९२ करोड ८९ लाख ४० हजार रुपैयाँ, प्राइम बैंकको ७७ करोड ३० लाख ३ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३१ करोड ६१ लाख ५७ हजार रुपैयाँ, नेपाल बैंकको ३२ करोड १३ लाख ३४ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ५१ करोड ६१ लाख ३९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । ३ बैंकको लाभांश क्षमता २० प्रतिशत बढी  चालु आवको ९ महिनासम्मको तथ्याङ्क अनुसार ३ बैंकको लाभांश क्षमता २० प्रतिशत भन्दा बढी रहेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार एभरेष्ट बैंकको ३९.३४ प्रतिशत, नबिल बैंकको २१.१६ प्रतिशत र सिद्धार्थ बैंकको २०.९८ प्रतिशत लाभांश क्षमता रहेको छ ।  यस्तै, सानिमा बैंकको १८.५७ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको १७.६९ प्रतिशत, नेपाल एसबिआई बैंकको १०.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०.५० प्रतिशत, माछापुच्छ्रे बैंकको ७.८१ प्रतिशत, कृषि विकास बैंकको ७.७८ प्रतिशत, एनएमबि बैंकको  ५.३४ प्रतिशत लाभांश क्षमता रहेको छ ।  यस्तै, प्राइम बैंकको ४.७६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.८० प्रतिशत, नेपाल बैंकको २.९२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १.९३ प्रतिशत लाभांश क्षमता छ । 

कुलतको हब बन्दै काठमाडौं

घटना-१ : लागुऔषध र खैरो हेरोइनजस्तो देखिने १५ ग्रामसहित इलाम, सन्दपुर गाउँपालिका २ का २२ वर्षीय प्रोमिश राई पक्राउ परे । शुक्रबार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र. ०१ ००२ ख ०९४ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले चेकजाँच गर्दा उनी पक्राउ परे ।  घटना-२ : बिहीबार धादिङ, थाक्रे गाउँपालिका १ का १९ वर्षीय सुमन तामाङ पक्राउ परे । चन्द्रागिरि नगरपालिका २ नागढुङ्गास्थित प्वाइन्टमा धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५९९५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा समेतको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परे ।   घटना-३ : लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्रामसहित  २२ वर्षीय रोहित महरा र २६ वर्षीय अशोक अधिकारी पक्राउ परे ।  गत बिहीबार काठमाडौंको प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले २ जनालाई चेकजाँच तथा खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७.७३ ग्रामसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटना-४ : दुई साताअघि ४ हजार ६८० क्याप्सुल ट्रामाडोलसहित २४ वर्षीय सुनिल चिम्से भन्ने सुनिल गोलेलाई पक्राउ ग¥यो । गत चैत १८ गते नागार्जुन नगरपालिका ३ मा एक घरमा डेरामा बस्ने गोलेलाई कोठा खानतलासी गर्दा लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना-५ : चैत ४ गते काठमाडौंको नरेफाँटबाट सन्तोषकुमार झालाई प्रहरीले २२.८५० ग्राम लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको थियो । उनले काठमाडौंका विभिन्न स्थानमा लागु औषध कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।  पछिल्लो समय काठमाडौं लगायत देशैभर लागुऔषध कारोबारी तथा प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । काठमाडौंमा प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउनेको संख्या बढ्दै गएको बताएको छ ।  समाजमा दुर्व्यसनीकाे संख्या बढ्दै गएपछि प्रहरीले पनि उत्तिकै चासो दिएर निगरानी गरिरहेको छ । केही सातादेखि प्रहरीले काठमाडौं लगायत विभिन्न सहरबाट आयात हुने लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरमा मात्र ६ आर्थिक वर्षमा ३ हजार ४४३ लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा २ सय ४० जनालाई मुद्दा दर्ता भएको थियो । सोही वर्ष ३ सय ३४ जना पक्राउ परेका थिए । आर्थिक वर्ष (आव) २०७८/०७९ मा ३३९ विरुद्ध मुद्दा र ४९२ जना पक्राउ परेका थिए । २०७९/०८० मा ३६८ जनालाई मुद्दा दर्ता गराइएको र ५९८ जना पक्राउ परेका थिए । २०८०/०८१ मा ३६३ जनाविरुद्ध दर्ता भएको र ६ सय ४ जना पक्राउ परेका थिए । आव २०८१/०८२ मा ४३१ जना मुद्दा दर्ता र ७२५ जना पक्राउ परेका थिए । त्यसैगरी, २०८२/०८३ मा ४३३ जनाविरुद्ध मुद्दा दर्ता र ६९० जना पक्राउ परेका थिए । नुर्फिन (एम्पुल), डाइजापाम (एम्पुल), पोलेन (ग्राम) नाइट्राभेट (ट्याब्लेट), खैरो हेरोइन, चरेश, गाँजा, फेनारगन, ब्राउन सुगर, ट्रामाडोल, कोरेक्स, ओपोट्याब, एपीनडोल, प्रोमेथओजिन, ट्रमानिल, आइस (ग्राम), स्पामो, अफिम, कोकिन र अन्य लागुऔषधसहित प्रहरीले काठमाडौबाट ६ आर्थिक वर्षमा प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पाँच वर्षमा मात्रमा देशभरबाट ३१ हजार २३ जनालाई विभिन्न लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ८५६ मुद्दा दर्ता भएको थियो । पुरुष ५ हजार ३२१, महिला २४७, भारतीय पुरुष १९८, महिला ५, अन्य विदेशी पुरुष ३ र महिला १० जना पक्राउ परेका थिए । उक्त वर्ष कुल ५ हजार ७८४ व्यक्तिहरू पक्राउ परेका थिए । आव २०७९/०८० मा ६ हजार १८७ व्यक्तिहरू पक्राउ परेका थिए ।  नेपाली पुरुष ५ हजार ६३५, महिला ३२४, भारतीय पुरुष १९४ र महिला ११,विदेशी पुरुष १५ र महिला ८ जना पक्राउ परेका थिए । सोही वर्ष ४ हजार १०२ मुद्दा दर्ता भएको थियो । त्यसैगरी, २०८०/०८१ मा ४ हजार ३९९ मुद्दा दर्ता भएको थियो । नेपाली पुरुष ६ हजार ७२ र महिला ३५१, भारतीय पुरुष २ सय ४९, महिला २०, विदेशी पुरुष १७ र महिला ६ जना पक्राउ परेका थिए । सोही वर्ष ६ हजार ७१५ व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा ७ हजार ८९० व्यक्ति पक्राउ परेका थिए । नेपाली पुरुष ७ हजार १४६ र महिला ४१९, भारतीय पुरुष २८३ र महिला २२, विदेशी पुरुष १३ र महिला ७ जना पक्राउ परेका थिए । सोही वर्ष ५ हजार ६१ मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ को माघसम्म २ हजार ८५१ मुद्दा दर्ता भएको छ । नेपाली पुरुष ४ हजार ४, महिला २१८, भारतीय पुरुष २०६, महिला ११, विदेशी पुरुष ६ र महिला २ जना पक्राउ परेका थिए । सात महिनामा देशभरबाट ४ हजार ४४७ व्यक्तिहरु पक्राउ परेका थिए । लागू औषध कारोबार तथा सेवन गर्नेहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरू रहेका छन् । १८ वर्षदेखि ६१ वर्षसम्मका व्यक्तिहरू लागुऔषधका मुद्दामा पक्राउ पर्ने गरेका छन् । ब्यूरोका अनुसार विभिन्न पेशामा आवद्ध व्यक्तिहरू लागुपदार्थको कुलतमा छन् । कृषि पेशा, सार्वजनिक यातायातका चालक तथा सहचालक,  ज्यामी मजदुर, बेरोजगार, विद्यार्थी, गृहिणी, व्यापार व्यवसाय, कर्मचारी, वैदेशिक रोजगारीमा गएकाहरु र अन्य व्यक्तिहरू लागू पदार्थको कुलतमा फस्ने गरेको ब्यूरोको भनाइ छ ।  शिक्षित व्यक्तिहरू नै कुलतमा  काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले काठमाडौंमा १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू लागु पदार्थ सेवन गर्ने गरेको पाइएको बताए । उनका अनुसार लागु औषध सेवनकर्ताहरू शिक्षित, विद्यार्थी, मेडिकल क्षेत्रमा आबद्धहरू, इन्जिनिरियङ, बेरोजगार र अन्य पेशामा रहेकाहरू बढी छन् । लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरू पटके अपराधमा संलग्न, पारिवारिक विखण्डनमा परेका र  सामाजिक प्रतिष्ठा गुमाएकाहरू हुने गरेको भट्टराईले बताए । नेपाली युवा युवतीहरु माध्यमिक शिक्षा पार गरेका र वैदेशिक रोजगारीमा पुगेर फर्केकाहरू कुलतमा फस्ने गरेको उनको भनाइ छ । ‘काठमाडौंमा महिलाको तुलनामा पुरुषहरू कुलतमा लागेको पाइएको छ,’ उनले भने, ‘काठमाडौंमा भित्रिने तराईका जिल्ला र भारतबाट लागू पदार्थ भित्रिने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।’ काठमाडौंका विभिन्न स्थानमा नेपाली लगायत विदेशीसमेत लागुपदार्थ कारोबारीमा भेटिने गरेको उनले बताए ।  कोशी प्रदेशमा लागुऔषधको कारोबारी बढे लागु औषध नियन्त्रण ब्यूरोका सह–प्रवक्ता जीवन निरौलाले बेरोजगार हुँदाको परिणाम र साथी संगतको लहैमा लागेर दुव्र्यसनीमा फसेको बताए । उनका अनुसार अभिभावकको माया नपाएका र प्रत्यक्ष निगरानीमा नरहेकाहरू बढी दुव्र्यसनीमा फसेका छन् ।  मुलुक बाहिर रहेका अभिभावकका सन्तानहरू दुव्र्यसनीनमा लागेको निरौलाले उल्लेख गरे । एक्लै बस्ने सन्तान र परिवारका ठूला सदस्यहरूको साथ नपाएकाहरू कुलतमा फस्ने गरेको उनको भनाइ छ । निरौलाले कोशी प्रदेशमा सबैभन्दा बढी लागू पदार्थ कारोबारी र प्रयोगकर्ता रहेको जानकारी दिए । झापा, मोरङ्ग र इलाममा बढी प्रयोगकर्ता हुने गरेको उनी बताउँछन् । मधेस प्रदेशको सिराहामा बढी दुव्र्यसनी रहेको उनले जानकारी दिए ।  ‘काठमाडौंमा भित्रिनेहरूले धेरैजसोले हेरोइन जस्ता लागुऔषध ल्याउने गरेका छन्,’ निरौलाले भने, ‘मँहगा–मँहगा लागुपदार्थहरू भारतबाट आयात गर्छन् । उनीहरूले काठमाडौंमा बिक्री गर्ने र सेवन गर्ने उद्देश्यले भित्र्याउने गरेका छन् ।’ इलामका व्यक्तिहरू उपचार गर्न आउने उद्देश्य लागुपदार्थहरू बोकेर काठमाडौं आउने गरेको उनले जानकारी दिए । उपचार गर्ने आर्थिक स्रोत अभाव हुँदा लागुपदार्थ बिक्री गर्ने गरेको एक अनुसन्धानबाट खुलेको निरौला बताउँछन् । अधिकांश लागुऔषध अहिले काठमाडौंमा कोशी र मधेस प्रदेशबाट भित्रिने गरेको उनले जानकारी दिए । यस अघि काठमाडौंमा लागू औषध वीरगञ्ज र नेपालगञ्जबाट ल्याइने गरेको थियो । साठीको दशकमा बढी लागुऔषध वीरगञ्ज क्षेत्रबाट आउने गरेको उनले जानकारी दिए ।   बेरोजगारी हुनु नै मुख्य कारण दुर्व्यसनमा फस्नु रहेको समाजशास्त्री सुदीप नकर्मी बताउँछन् । फुर्सद हुँदा पनि कुलतजन्य व्यवहारमा फस्ने गरेको उनको बुझाइ छ । ‘परिवार तथा साथीभाइसँगै बसे पनि एक्लो महसुस गर्नेहरु लागुपदार्थको कुलतमा लाग्ने गरेका छन्,’ उनले भने, ‘साथीभाइको संगत र सांस्कृतिक प्रभावको कारण एक हुन सक्छ । सांस्कृतिक व्यवहार कतिपय अवस्थामा दैनिक व्यवहार बन्ने गरेका छन् ।’ परिवारभित्र भए पनि पारिवारिक अंग नबनेको महसुस गर्ने दुव्र्यसनीमा लाग्ने गरेको नकर्मीले बताए । समाज र परिवारबाट अलग भएको महसुस गर्नेहरू फरक व्यवहार गर्ने गरेको उनको बुझाइ छ ।  पुँजीवादी समाजमा मूल्य मान्यताको क्षयीकरण हुँदा मानिसहरू कुलत जन्य गतिविधिमा लाग्ने गरेको समाजशास्त्री नकर्मीले बताए । समाजमा आफूले गर्नुपर्ने योगदानको महत्व बुझ्न नसक्नेहरू आफ्नो मात्र संसार रहेको बुझ्नेहरू कुलतमा लागिरहेको उनले उल्लेख गरे ।  पारिवारिक वातावरण भएमा र व्यक्तिको आफ्नो महत्त्व बुझाउन सकेमा कुलतमा युवाहरू नफस्ने उनले सुनाए । काममा व्यस्त हुने र युवाहरूलाई समय–समयमा मनोपरामर्श गरिदिँदा लागुऔषधबाट टाढा जान सक्ने उनले बताए । मनोरञ्जनले कुलतमा  लागू पदार्थममा लागेकाहरू सुरुमा मनोरञ्जनका लागि सेवनकर्ता हुने तर पछि कुलतमा फस्ने नमस्ते फाउण्डेसनका अध्यक्ष रोशनसिंह लामा बताउँछन् । साथीसंगत र मनोरञ्जनकै कारण लागुऔषधको सिकार हुने गरेको उनको बुझाइ छ । ‘पारिवारिक तनाव, प्रेम सम्बन्ध बिग्रेपछि, आर्थिक कारोबार बिग्रदा र साथीको संगतका कारणले कुलतमा फस्ने गरेका छन्,’ सुधार गृहका सञ्चालक लामा भन्छन्,’ कुलतमा फसेकाहरू जुनसुकै समयमा प्रयोग गरिरहन्छन् । शौचालयमा जाँदादेखि निद्राबाट ब्युझँदासम्म सेवन गरिहाल्छन् ।’ रिकभर भएर घर फर्केका ९५ प्रतिशत व्यक्तिहरू कुलतमा फस्ने गरेको लामाको अनुभव छ । सुधार गृहमा बस्दासम्म अनुशासन जीवनमा हुने घर पुगेपछि स्वतन्त्र हुँदा कुलतमा लाग्ने गरेको उनले बताए । सुधार गृहमा पुग्नेहरू गाँजा, ब्राउन सुगर, इन्जेक्सन र मिश्रण औषधी खानेहरू पुग्ने उनको भनाइ छ । अधिकांश कुलतमा फसेकाहरू युवायुवती हुने र श्रमिक हुने गरेको उनले बताए ।अधिकांश कुलतमा फसेकाहरु भारतबाट आयात भएको लागुऔषध प्रयोग गर्ने गरेको लामाले जानकारी दिए । यस्ता छन् असर  लागुऔषधको सेवनले एचआईभी एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने गरेको चिकित्सकहरु बताउँछन् ।  यसको प्रयोगले एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने र नकारात्मक भावनाको श्रृजना हुने गर्छ । यस्तै, यसले पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दुरि बढने, अनैतिक कार्यमा संलग्न हुने गर्दछ ।